उपेन्द्रमान सिंह, नेपाली फुटबलले पाएको अहिलेसम्मकै उत्कृष्ट गोलकिपर हुन् । राष्ट्रिय टोलीका पूर्वकप्तान उपेन्द्र अहिले राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकको भूमिकामा छन् । एक महिनाअघि बंगबन्धु गोल्डकप जित्दाका गोलकिपर प्रशिक्षक उपेन्द्र साग गेम्समा भने आफ्नै कारणले प्रशिक्षकको भूमिकामा गुवाहटी जान पाएनन् ।
उनै उपेन्द्रसँग नेपाली फुटबल, सागमा फुटबलतर्फ नेपालले स्वर्ण जित्दाको प्रदर्शन र उनकै विधा गोलकिपरतर्फ विकेशको प्रदर्शनबारे गरिएको कुराकानी :
१२औं सागमा हामीले जम्मा तीन स्वर्ण जित्यौँ, त्यसमा एउटा फुटबल हो । फुटबलमा स्वर्ण जित्दा तपाईंलाई कस्तो महसुस भएको छ ?
फुटबलले १२औं साग गेम्समा स्वर्ण जित्यो । यसले सबै नेपालीले साग गेम्स नै जितेको जस्तो महसुस गरिरहेका छन् । फुटबल नेपालमा मात्रै अथवा दक्षिण एसियामा मात्रै नभई विश्वभर नै लोकप्रिय खेल हो । महत्त्वपूर्ण खेलमा नेपालले जित हासिल गर्दा सबै नेपाली जनता खेलको माध्यमबाट भारतलाई हराउन सकेकोमा गौरव गरेका छन् । समस्याका बाबजुद जनता खुुसी छन् ।
तपाईं २३ वर्षअघि सागमा नेपालले स्वर्ण जित्दाको टोलीको सदस्य हुनुहुन्थ्यो । त्यतिबेलाको अनुभव कस्तो थियो ?
यो अहिले मात्रै होइन कि साग गेम्समा पहिलेदेखि नै यस्तै भइरहेको छ । म तपाईंलाई १९९३ को सागमा हामीले स्वर्ण जित्दाका अनुभव बाँड्न चाहन्छु । त्यस सागमा हामीले अन्य खेलबाट गोल्ड जित्न सकेका थिएनौँ, अन्तिम खेल फुटबल थियो र हामीले स्वर्ण जित्न सक्यौं । नेपालले फुटबलमा मात्र स्वर्ण पदक जितेको थियो । त्यसबेला पनि अन्य खेलमा हारेको परवाह नगरी नेपालले फुटबलमा स्वर्ण जित्दा अन्य सबैलाई डेमिनेट गरेको थियो । अहिले पनि त्यस्तै भएको हो ।
सागभन्दा अघिको बंगबन्धु गोल्डकपमा तपाईं गोलकिपर प्रशिक्षक हुनुहुन्थ्यो, सागमा तपाईं प्रशिक्षकको भूमिकामा रहनुभएन, स्वर्ण जितेको क्षणलाई मैदानमै हुन पाएको भए जस्तो लागेन ?
त्यस्तो लागेन, हामीलाई जित आवश्यक थियो । त्यो खेलाडीले पूरा गरे । हामीले सागमा फुटबलबाट स्वर्ण जित्न २३ वर्ष कुर्नुपर्यो । हामी टेक्निकल मान्छेहरू हौं, हामीले नै टिम हेर्नुपर्छ भन्ने हुँदैन । हामीले सिकाएका खेलाडीले राम्रो फुटबल खेलोस् भन्ने चाहना हुन्छ, हामीले शुभकामना दिएर पठाएका थियौं । त्यसअनुरुप उनीहरूले राम्रो खेले । हाम्रै योजनाअनुसार खेले, हामीले सिकाएको सीप कार्यान्वन गरे र जित्न सफल भए ।
तपाईं आफ्नो समयको उत्कृष्ट गोलकिपर हुनुहुन्थ्यो र अहिले पनि गोलकिपर प्रशिक्षकको भूमिकामा हुनुहुन्छ । यस सागमा तपाईंकै उत्पादन विकेश कुथुले नेपालको पोस्ट सम्हाले । कस्तो थियो उनको प्रदर्शन ?
विकेशले बंगबन्धु र यस सागमा पहिलो रोजाईमा नेपालको पोस्ट सम्हाल्ने अवसर पाए । मेरो विचारमा यी दुवै प्रतियोगिताको उपाधि दिलाउनुमा सबैभन्दा उत्कृष्ट योगदान विकेशकै छ, जस्तो लाग्छ । प्रतियोगितामा हामीले उत्कृष्ट खेल्यौं गोल पनि गर्यौं । तर, एकदम अप्ठेरो अवस्थामा विकेशले जसरी बचाउ नगरेका भए हामीले यो सफलता हासिल गर्न सक्ने थिएनौं । यी दुई प्रतियोगितामा विकेशले आफूलाई प्रमाणित गरेका छन् । यो उनको लगन र परिश्रमको प्रतिफल हो ।
विकेशले २०१२ मै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । त्यसयता सन् २०१४ को एसियाली खेलकुदमा पनि बेन्चमै रहनुपर्यो । त्यसपटक उनको प्रदर्शनलाई नजरअन्दाज गरिएको थियो ? या उनी परिपक्क भइसकेका थिएनन् ?
त्यस्तो होइन, उनीभन्दा अघि किरणलगायत गोलकिपर पनि निकै प्रतिभावान हुन् । उनीहरूको अभ्यासको प्रदर्शनको आधारमा छनोट गर्ने हो । त्यतिबेला विकेश परिपक्व भएका थिएनन् । किरण अनुभवी थिए । किरणलाई पनि मैले एकेडेमीदेखि नै प्रशिक्षण दिएको हुँ । जुनियर भएकाले उनले अवसर पाएको थिएनन्, तर जब उनले अवसर पाए, आफूलाई प्रमाणित गरेका छन् ।
प्रशिक्षकको नजरबाट विकेशले आफूलाई अझै निखार ल्याउनका लागि के-कस्ता कमजोरीमा सुधार ल्याउनुपर्छ ?
म समग्र नेपालका गोलकिपरलाई आफूजस्तै बनाउने लक्ष्य लिएर हिँडिरहेको छु । विकेश मात्र होइन कि सबैलाई आफूजस्तै बनाउनु छ । विकेशलाई मैले मध्यपुरबाट अवसर दिएको हो । मध्यपुरमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । अहिले त उनले उत्कृष्ट टोली नेपाल आर्मीबाट अवसर पाएका छन् । अझै उत्कृष्ट प्रदर्शन गर्छन् भन्नेमा म विश्वस्त छु ।
विकेशले सुधार गर्नुपर्ने धेरै कुरा बाँकी छन् । एयर बल र क्रसिङ बल उनका कमजोरी हुन् । त्यसलाई सुधार ल्याउनु जरुरी हुन्छ । गोलकिपर जति खेल्दै गयो, त्यति निखारिँदै जाने हो । त्यसैले अनुभवले पनि खेलाडीलाई उत्कृष्ट बनाउँदै लैजान्छ ।
अबको करिब दुई वर्ष नेपालको राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय खेल तालिका छैन । राष्ट्रिय टोली फुर्सदमा हुँदा प्रदर्शनमा कस्तो असर पर्ला ?
सागपछि नेपालले खेल्ने अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता सन् २०१७ को डिसेम्बरमा हुने साफ हो । हामी विश्वकप र एसिया कपको सुरुवाती चरणबाटै बाहिरिइसकेका छौं । त्यसैले त्यसमा अवसर हुने कुरा भएन ।
राष्ट्रिय टोलीलाई व्यस्त बनाउन र अहिलेको प्रदर्शनलाई एकरूपता दिनका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितामा ध्यान दिनुपर्छ । जस्तो, भारतमा हुने नेहरु कप, बंगलादेशको बंगबन्धु, मलेसिया थाइल्यान्डका प्रतियोगितामा सहभागिताका लागि पहल गर्नुपर्छ । साथै, मैत्रीपूर्ण खेलको आयोजना र विशेष गरी घरेलु लिगलाई नियमित बनाउनुपर्छ ।
घरेलु लिग नियमित छैन । खराब मैदानमा सञ्चालन भइरहेका मोफसलका विभिन्न राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा खेलाडी घाइते हुन पनि सक्छन् । खेलाडीलाई फिट कसरी राख्ने ?
हो, मोफसलमा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप भन्ने तर भौतिक पूर्वाधारमा एकदमै लापरबाही छ । यतिसम्म कि कतिपय मैदानमा दुबो पनि पाइँदैन । यसले खेलाडी घाइते हुने सम्भावना हुन्छ । यसै पनि पछिल्लो तीन-चार महिना निरन्तर खेलले अधिकांश खेलाडीमा घुँडाको समस्या छ ।
यस्ता समस्यालाई समाधान गर्नका लागि नियमनकारी निकाय एन्फाले पूर्वाधार अनुगमन नगरीकन मोफसलका प्रतियोगितालाई मान्यता दिनुहुन्न । राष्ट्रिय खेलाडी स्वयं पनि यसबारे चनाखो हुनुपर्छ । म सबैलाई भन्न चाहन्छु कि मोफसलका कतिपय मैदानमा मैले फुटबल सिकाइरहेको मध्यपुर टोलको मैदानभन्दा खराब छन् ।
लामो समयसम्म अन्तर्राष्ट्रिय खेल नभएको अवस्थामा बंगबन्धुजस्तै प्रतियोगिता नेपालले आयोजना गर्न सक्दैन ?
गर्नुपर्ने त हो । तर, हामीसँग राम्रो रंगशाला छैन । भएको एउटा रंगशालाको हालत पनि त्यस्तो छ । हामीसँग ४०-५० हजार दर्शक क्षमताको रंगशाला हुन्थ्यो भने, हामी तीन-तीन महिनामा प्रतियोगिता आयोजना गर्न सक्थ्यौं । जसले गर्दा खेलाडी व्यस्त रहन्थे, सँगै एन्फालाई पनि फाइदा हुन्थ्यो ।
पहिले पनि एन्फाले शुभजन्मोत्सव कप, कोकाकोला कप, प्रधानमन्त्री कप लगायत प्रतियोगिता आयोजना गरिसकेको छ । तर, भौतिक पूर्वाधार अभावले पनि खेलाडीलाई व्यस्त बनाउन नसकिएको जस्तो देखियो ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment