Tuesday, February 23, 2016

मधेस आन्दोलन सकिएलगत्तै प्रहरी नियमित कार्यमा फर्कियो  

एसके शान

११ फागुन,सप्तरी । तराई मधेसमा चलेको पछिल्लो ६ महिना लामो आन्दोलनले प्रहरीको ध्यान पनि त्यसमै केन्दि्रत रह्यो । यो बीचमा हरेक किसिमको राजस्व प्रभावित हुनुका साथै सर्वसाधारणको मुद्दा, मामिला समेत प्रभावित भए । आन्दोलनका क्रममा पहिलो सहादत दिने सप्तरीमा त प्रहरी पूर्ण रुपमा आन्दोलनमै केन्दि्रत हुनुपर्यो ।

‘हो, योबीचमा अन्य कार्यमा ध्यानै दिन पाइएन,’ जिल्ला प्रहरी प्रमुख उपरीक्षक भीमप्रसाद ढकाल भन्छन्, ‘प्रमुखको मुख्य काम, कर्तव्य र अधिकार आन्दोलनका क्रममा निभाउन पाइएन । अब त्यतातिर ध्यान दिँदै छु ।’

कानुन पालना गराउनेदेखि राजस्व चुहावट हुन नदिन, शान्ति सुव्यवस्था कायम गराउनेतर्फ प्रहरीले पाइला उनी बताउँछन् । भन्छन्, ‘अब जिल्लाको चारैतिर प्रहरी खटिसकेका छन् । अब पूर्ववतः तरिकाले काम गर्नेछौं ।’

नेपाल प्रहरी एक्लै नभई सशस्त्र प्रहरी र अनुसन्धानसँगै मिलेर काम थालिएको उनको भनाइ छ । ‘हामी एकजुट भएर कामको थालनी गरिसकेका छौं,’ उनले भने, ‘अस्तव्यस्त भएको अवस्था चाँडै सामान्यतर्फ उन्मुख हुनेमा विश्वस्त छौं ।’

अहिले ट्राफिक नियम पालना गर्न, अपराध नियन्त्रण गर्न, तस्करी र कालोबजारी रोक्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

सीमामा निगरानी

आन्दोलनका बेला सीमा क्षेत्रमा खट्न नपाएको सप्तरी प्रहरीले अहिले त्यसतर्फ ध्यान दिएको छ । सीमामा प्रहरी नहुँदा तस्करी अत्यधिक बढेर राजस्व संकलनमा कमी आएको थियो । सीमामा प्रहरी खटिनेबित्तिकै दैनिक रुपमा भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिन थालिएको छ ।

त्यस्ता सामानमा किराना सामानदेखि हार्डवेयर, लत्ता-कपडा लगायत छन् । ‘भन्सार छलेर ल्याइएका हरेक किसिमका सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउन थालेका छौं,’ एसपी ढकालले भने, ‘आन्दोलन स्थगित भएदेखि हालसम्म ४० लाखभन्दा बढीको सामान नियन्त्रणमा लिएर भन्सारमा बुझाइसकिएको छ ।’

नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीले पनि दैनिक रूपमै भन्सार छलेर भारतबाट ल्याइएका सामान नियन्त्रणमा लिन थालेको छ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय राजविराजका प्रमुख उपरीक्षक दमन थापाले सबै सिमा नाकामा कडाई गरिएको बताउँदै आन्दोलन स्थगनसँगै लाखौंको सामान नियन्त्रणमा लिई भन्सारमा बुझाइसकिएको बताए ।

धेरै ठाउँमा सशस्त्र र नेपाल प्रहरी मिलेरै भन्सार छल्ने प्रवृत्तिलाई रोक्नेतर्फ ध्यान दिइएको छ ।

हटाइएका चौकी पुनस्र्थापित

राई/मधेस आन्दोलनका क्रममा सप्तरीका आधा दर्जनभन्दा बढी प्रहरी चौकी खाली भएका थिए । असुरक्षाको महसुस गर्दै खाली गरिएका चौकीमा प्रहरी टोली खटाइसकिएको प्रहरी उपरीक्षक ढकालले बताए ।

‘स्थानीय जनताकै विशेष चाहनामा प्रहरी टोली चौकीमा खटाइएको छ,’ उपरीक्षक ढकालले भने, ‘चौकी खाली भएपछि सम्बन्धित ठाउँका स्थानीयले चाँडो पठाइदिन भनेबमोजिम सबै खाली प्रहरी चौकीमा टोली पठाइएको छ ।’

आन्दोलनका क्रममा जिल्लाको तरही, कोइलाडी बर्साइन, रामनगर, गम्हरिया प्रवाहा, डिमन, पकरी, देउरी, सिस्वाबेल्ही र त्रिकौल प्रहरी चौकीबाट टोली बोलाइएको थियो । जिल्ला प्रहरी कार्यालयसहित ४८ युनिटमा अहिले प्रहरी रहेको ढकालले बताए । ‘चौकीहरुलाई थप मजबुत बनाउँदै प्रहरी सक्रिय हुनेछ,’ ढकालले भने, ‘यसका लागि स्थानीयसँग अन्तक्रिर्या गरी सुझाव संकलन गरेर त्यसअनुरुपको काम, कारबाहीलाई अगाडि बढाइनेछ ।’

खुला पेट्रोल बन्द, पम्पलाई चेतावनी

आन्दोलन सुरु हुनु भएदेखि नै पानीको बोतलमा कम परिमाणको पेट्रोल राखेर चर्काे मूल्यमा बिक्री गरिँदै आइएको थियो । खुला पेट्रोलमा मिसावट समेत पाइएपछि प्रहरीले यस्ता पेट्रोलपम्पमा पूर्ण रुपले बन्देज लगाएको छ ।

‘उपभोक्तालाई ठग्ने कार्यलाई बन्द गराइसकेका छौं,’ एसपी ढकाल भन्छन्, ‘सदरमुकाम राजविराजसहित जिल्लाका अन्य ठाउँमा पनि खुला पेट्रोल बिक्री गर्ने कार्यलाई आन्दोलन स्थगनलगत्तै बन्द गराइएको छ ।’

यस्तो तरिकाले पेट्रोल बिक्री गरेको पाइएमा जफत गरेर कारबाही गरिने बताउँदै उनले पेट्रोलपम्प सञ्चालकलाई कालो व्यापार नगर्न सचेत गराएको बताए । ‘उपभोक्तालाई नदिई सीधै कालोबजारी गर्ने जनगुनासो आइरहेको सन्भर्दमा सबै सञ्चालकलाई बोलाएर यस्तो नगर्न सचेत गराएका छौं,’ उनले भने, ‘कति पेट्रोल, डिजेल आयो, कति बिक्री भयो, कति मौज्दात छ, त्यसको दैनिक रुपमा तथ्यांक लिएर उपभोक्तालाई मात्र दिन भनेका छौं । यसो नगरेमा पम्प सञ्चालकलाई पनि कारबाहीको दायरामा ल्याइनेछ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment