गौतम श्रेष्ठ
११ फागुन, रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा एक बस चालकले पाँच केजी चरेस बुझाएका छन् । मकवानपुरको हेटौडाबाट सर्लाहीको लालबन्दीका लागि छुटेको बा ३ ख २०३३ नम्बरको यात्रुबाहक बसमा एक तस्करले लिएर आएको चरेस बस चालक राजु बुढाथोकीले रौतहट प्रहरीलाई बुझाएका हुन् ।
‘हेटौडाबाट चढेको एक यात्रुले बाराको निजगढमा झोला हरायो भनेर विवाद गरे,’ घटनाक्रम बताउँदै चालक बुढाथोकीले भने, ‘झोला खोजी गर्ने क्रममा बेवारिसे एउटा झोला फेला पर्यो । यात्रुले त्यही झोला आफ्नो भएको दाबी गरे । त्यसपछि बसमा भएका यात्रुहरुले झोला यात्रुलाई जिम्मा लगाउनुभन्दा पहिले जाँच गर्न भनेपछि त्यसमा चरेस फेला परेको थियो ।’
चरेस फेला परेपछि तस्करले झोला आफ्नो नभएको बताउँदै बसबाट ओर्लिएर भागेका थिए । त्यसपछि ४० यात्रुसहितको बसलाई चालक बुढाथोकीले सिधै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ल्याएको बताए ।
१० वटा प्लास्टिकको पोकामा प्याक गरिएको सो चरेसका विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी मनोजकुमार यादवले बताए । बस चालकले चरेस बुझाएपछि निजगढमा ओर्लिएका ति यात्रुको हुलियाको आधारमा अनुसन्धान अगाडि बढाएको डिएसपी यादवले बताए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment