Tuesday, February 23, 2016

कसरी रोकियो तराईको त्रास ? यथार्थ के हो ?

भारतले वीरगन्ज नाका खुकुलो पारिदिएसँगै काठमाडौं ‘मधेस आन्दोलन तुहिएको’ विश्लेषण गर्न थालेको छ । गत असोज ३ गते संविधानसभाले संविधान घोषणा गर्नुअघि नै सुरु भएको मधेस आन्दोलन चिर्नका लागि नेकपा एमालेको युवा संगठन ‘युवा संघ नेपाल’ले तराईका जिल्ला केन्द्रीत मधेस जागरण तथा संवाद अभियान चलायो । आफ्नो ज्यानको बाजी राखेर मधेसका होमिएका युवा संघका सारथीहरु कार्यक्रम सकाएर राजधानी फर्किएका छन् । मोरङको रंगेली घटनापछि युवा संघका केन्द्रीय सचिव परशुराम बस्नेत फेरि चर्चामा छन् । पूर्वाञ्चलको नेतृत्व गरेका परशुराम बस्नेत विराटनगरका स्थायी बासिन्दा हुन् । मधेसबाट राजधानी आइपुगेका उनै बस्नेतका आँखाले देखेको मधेसको तस्वीर उनकै शब्दमा यसरी पस्किए–

इतिहासको मूल्यांकन

माओवादीका नाममा सुरु भएको १० वर्षे जनयुद्धको समयमा वामपन्थी भन्ने वित्तिकै अराजक समूहको रुपमा चिनिन्थ्यो । हत्या, हिंसा, आतंक मच्चाउने संगठन रहेछ भन्ने गलत छाप आम मानिसमा बस्न पुगेको थियो । त्यो दागलाई मेटाउनका लागि नै जन्मिएको हो– युवा संघ । एमालेको युवा संगठन अर्थात् युवा संघले वाम आतंकलाई निरुत्साहित पार्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्यो । त्यसको नेतृत्व महेश बस्नेतले गरेका थिए । उनले युवा संघमार्फत् जागरण अभियान सञ्चालन गरेका थिए । त्यसैगरी अहिले राष्ट्रियता एकदमै कमजोर भएको समयमा युवा संघले नै मधेस जागरण अभियान सञ्चालन गरेको छ । त्यसको नेतृत्व लिएका छन् युवा संघका अध्यक्ष राजीव पहारीले । आन्दोलनको भूमरीमा परेको मधेसमा युवा संघले गरेको कामको मूल्यांकन इतिहासको कालखण्डले गर्ने नै छ । लामो समय देखि सुस्ताएको यूवा संघ फेरि व्युँझिएको अनुभुति गर्न थालिएको छ । राजीव पहारीले नेतृत्व सम्हालेसँगै संगठनभित्रको गुटगत विवादसमेत अन्त्य भएको अनुभव गर्न थालिएको छ ।

कसरी शुरु भयो मधेस जागरण अभियान ?

झण्डावाल नेताहरु जान डराइरहेको मधेसमा हामी ज्यानको वाजी लगाएर होमिएका हौं । मधेसका विभिन्न जिल्लामा जागरण तथा संवाद अभियान चलायौं । ठाँउ–ठाँउमा हामी माथि आक्रमण भए । तर कार्यक्रमपछि धेरै स्थानीयले मधेसका मठाधीशहरुले चलाएको आन्दोलन गलत रहेछ भन्ने बुझे । हामीले बुझाउन पनि सक्यौं । कार्यक्रपछि धेरै स्थानबाट स्थानीयहरु नेकपा एमाले पार्टीमा प्रवेश समेत गरे । यो खुशीकै कुरा हो । युवा संघ नेपालले सामाजिक सद्भाव, राष्ट्रिय एकताका लागि मधेस जागरण अभियानको सुरुवात मंसिर २८ र २९ गते सर्लाहीबाट सुरु गरेको थियो । नयाँ संविधानबारे जनतालाई बुझाउने, जनतासँग अन्तक्र्रिया गर्ने, मधेसमा व्याप्त सामाजिक, सांस्कृतिक कुप्रथाविरुद्ध जनजागरणको काम गर्ने गरी हामीले अभियान सुरु गरेको हौं ।

आन्दोलनको वास्तविकता के थियो ?

आन्दोलन चर्काइरहेका केही मठाधीसहरुले मधेसी जनतामा गलत हल्ला फिंजाइरहेका थिए । २०६४ सालपछि लिइएका नागरिकता खारेज हुन्छ भन्ने हल्ला फिंजाइएको थियो । भारतबाट विवाह गरी ल्याइएका बुहारीले नागरिकता पाउँदैन भन्ने भ्रम फैलाइएको थियो । अब जन्मने बच्चाले नागरिकता पाउँदैनन् । अंगीकृत नागरिकता लिएकाले अब राजनीति गर्न पाउँदैनन, गाविस अध्यक्षसमेत लड्न पाउँदैनन् भन्नेसम्मको हल्ला फिंजाईएको थियो ।

संविधानसभामा पराजित भएकाहरुले संविधानसभाका बारेमा उल्टो हल्ला चलाइरहेको अवस्था थियो । युवा संघमार्फत् त्यो भ्रम चिर्नु आवश्यक थियो । जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयन गराउनुपर्दछ भन्ने उद्देश्यले नै हामीले मधेश रोजेका हौं । तराई मधेस संवाद तथा जनजागरण अभियान विभिन्न जिल्लामा चलाईरहेका थियौं । प्रत्येक जिल्लामा यूवा संघका पदाधिकारी उत्प्रेरकको रुपमा खटिने काम भइरहेको थियो ।

रंगेली यसकारण रोजियो

मोरङमा उत्प्रेरकको रुपमा म आफैं खटिएको थिएँ । जागरण अभियान सञ्चालनका लागि हामीले मोरङको रंगेलीलाई छनोट गरेका थियौं । रंगेलीनै रोज्नुको कारण सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको सबैभन्दा बढी प्रभावमा यही स्थानमा थियो । त्यसैले कार्यक्रमका लागि सोही स्थान रोज्यौं । हामीले संवाद कार्यक्रम कालीमन्दिर अगाडि राखेका थियौं । पछि आन्दोलनमा रहेका मधेस केन्द्रित दलहरूको आग्रहपछि रंगेली चौकी छेउमा राख्यौं । तर हामीले शान्तिपूर्ण संवाद गरिरहँदा मधेसी मोर्चाका कार्यकर्ताले २ सय ५० जना जतिको समूह बनाएर हातमा लाठी, भाला, खुकुरी, भरुवा बन्दुक लिएर हाम्रो सभा विथोल्न अघि बढे । त्यहाँ प्रहरीले उनीहरूलाई रोक्न खोज्यो । जब मधेसी मोर्चाको तर्फबाट फायरिङ सुरु भयो, त्यसपछि प्रहरीले जवाफी फायरिङ गर्दा रंगेलीमा दुई र डायनियामा एकजनाको ज्यान गयो । त्यसबीच रंगेली अनेमसंघकी अध्यक्ष उषा ठाकुर, रंगेली एमाले अध्यक्ष रबीन्द्र ठाकुरलाई मधेसी मोर्चाका कार्यकर्ताले अपहरण गरी बन्धक बनाए । सन्तोष साहको घरमा आगजनी गरे । डायनियामा हाम्रा साथीहरूलाई घेराबन्दी गरे । तर हामीले शान्तिपूर्ण वैचारिक अभियानभन्दा बाहिर जान हुँदैन भनेर संयमता अपनायौं । हामीले संयमता नअपनाएको भए उनीहरू २ सय ५० जना थिए, हामी सात हजार थियौं । त्यहाँ जे पनि हुन सक्थ्यो तर हामीले गर्न चाहेनौं ।

अर्काे टीकापुर हुनबाट बच्यौं

हामी संयम नभएको र राज्यले आफ्नो उपस्थिति महत्वपूर्णसँग नदेखाएको भए अर्काे टीकापुर, कैलाली भन्दा भंयकर ठूलो दूर्घटना हुन सक्थ्यो । राज्यले संयम अपनायो । हामीले संयम अपनायौं । राज्यले त्यहाँको प्रशासनले हामीलाई जुन साथ र सहयोग प्रदान गर्यो त्यस्लाई जति धन्यवाद दिए पनि कम नै हुन्छ । हामी निहुँ खोज्न गएकै थिएनौं र युवा संघ नेपाल निहुँ खोज्दै हिंड्ने संगठन होइन बरु निहुँ खोज्न आउनेलाई सम्झाई बुझाइ गरेर पठाउने दायित्व हामीले बोकेका थियौं । दोस्रो कुरा रंगेली भनेको नेकपा एमाले निहुँ खोज्न जानुपर्ने ठाउँ पनि होइन । मधेस आन्दोलनले राष्ट्रविखण्डन गराउन सक्ने भएकाले हामीले त्यसलाई निरुत्साहित गर्ने प्रयास गरेका थियौं । मधेस आन्दोलन भनेर जे बितण्डा भइरहेको थियो त्यहाँ सद्दे मान्छे थिएनन् । गोरु तस्कर, इन्धन तस्करहरूले आन्दोलन थेगिरहेका थिए । किन कि यसबाट उनीहरूको तस्करी चलिरहेको थियो । मधेसी मोर्चाले शान्तिपूर्ण कार्यक्रम हुन नदिन तस्कर र भाडाका अपराधी लगाएर जुन हिंसा मच्चायो, त्यसको जिम्मा मोर्चाले लिनुपर्छ ।

सिके र राजेन्द्र महतोको दुस्मनी

तराईलाई विखण्डन गराउनुपर्छ भन्दै हिँड्ने सिके राउत र आन्दोलनरत एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीचकै अवस्था राम्रो छैन भन्ने कुरा पनि हामीले त्यहाँ रहँदा बुझ्यौं । सिके राउतले मधेश बेग्लै देशको कल्पना गरेका थिए । पहाडियाहरुलाई मधेशबाट भगाउनै पर्दछ भन्ने खालको भ्रम फैलाइरहेको अवस्था थियो । जयप्रकाश गुप्ता, राजेन्द्र महतो, उपेन्द्र यादवहरुको छुट्टै मोर्चा थिए । अवस्था यस्तोसम्म थियो कि सिके राउत र राजेन्द्र महतो यी दुशै पक्ष एउटासँग अर्काे डराइ रहेको अवस्था थियो । राजेन्द्र महतोको चरित्र सिके राउतले राम्रैसँग बुझेको अभाष थियो । मधेशका जिल्लामध्ये सबैभन्दा बढी समस्या पर्सा, सिरहा, सप्तरी र रौतहटमा बढी देखिन्थ्यो । सरकारी कार्यालय खुल्ला थिएनन् । आन्दोेलनकारीहरुको खर्चको व्यवस्था अन्य कुनै गिरोहले नै गरिरहेको देखिन्थ्यो ।

संविधान किनेर पढ्न थाले

युवा संघको यो कार्यक्रमपछि अहिले त्यहाँका जनताले मधेसी मोर्चाले चालेको आन्दोलनको अर्थ रहेनछ भन्ने बुझेका छन् । पहिला संविधान जलाउनेहरु नै अहिले किनेर पढ्न थालेका थिए । यो अभियान सुरु भएपछि तराईमा एक प्रकारको सचेतना बढेको थियो । हामी ज्यानको बाजी लगाएर मधेस गएका थियौं । मधेसका जनता भ्रमबाट बाहिर आए भने मधेसका मठाधीशहरुको राजनीति सकिन्छ । जनताको संविधान जनताको हातमा भन्ने कार्यक्रम त तय गरियो ? तर खोई त राज्यले तराईमा कार्यक्रम गर्न त्यहाँका जनतालाई बुझाउन सकेको ?

morangतराईमा कसरी रोक्ने त्रास ?

ठूला राजनीतिक दलहरुले तराईमा कार्यक्रम नगर्ने र आफ्नो उपस्थिति नदेखाउने हो भने स्थिति विकराल आउन सक्ने अवस्था थियो । सबै राजनीतिक पार्टीका गतिविधी तराईमा हुनु अति आवश्यक थियो र अहिले पनि छ । राज्यको पहुँच तराईमा भएन भने ठूलै दुर्घटना हुन सक्ने अवस्था थियो । यो विषयमा युवा संघले सबै ठूला दलका नेतालाई बुझाउने कार्यक्रम हामीले राखेका थियौं । मधेसमा एमालेका नेताहरु पनि छन् । ३७ सिट त मधेशबाट जितेका छन् । मधेशमा आगामी चुनावमा एमाले नै पहिलो पार्टी हुनुपर्दछ । त्यसका लागि मधेश रोज्नैपर्ने थियो । हामीले त्यहाँ कार्यक्रम गर्नैपर्ने थियो । नेपाली कांग्रेस, एकीकृत माओवादी, राप्रपा नेपालगायतका दलका युवा संगठन तराईमा पुगेकै थिएनन् । उनीहरुले त्यहाँ कुनै कार्यक्रम गर्न नसकिरहेको अवस्था हामीले जनतामा रहेको त्रास हटाउन पनि कार्यक्रम गर्नैपर्ने अवस्था थियो । हामीले कार्यक्रम शुरु गरेर अरु दलका युवा संगठनलाई पनि तराईमा जाने वातावरण बनाउनुपर्ने थियो । तराईका जनतामा त्रास हटाउनुपर्ने थियो । हामी त्यसमा सफल भएका छौं ।

प्रधानमन्त्रीका महत्वाकांक्षी योजनाबारे

तराई मधेसमा आन्दोलन जारी रहेकै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही महत्वाकांक्षी योजना सार्वजनिक गर्नुभयो । प्रधानमन्त्री ओलीले हावाबाट विजुली निकाल्ने, एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने, काठमाडौंमा मेट्रो रेल चलाउने, फोहोरबाट उर्जा निकाल्ने, घरघरमा पाइपमार्फत् ग्यास वितरण गर्नेलगायतका महत्वाकांक्षी योजना सार्वजनिक गर्नुभएको थियो । उहाँले सार्वजनिक गरेका योजनामा बुद्धिजीवी भनिएकैहरुले असहमति जनाए । उहाँलाई हांस्यको पात्र बनाउने काम पनि भयो । तर विस्तारै उहाँले बोलेका कुराले सार्थकता पाउने दिशामा मुलुक अगाडि बढेको छ । कसैले कल्पनासम्म नगरेको कुरा कार्यकारी प्रधानमन्त्रीले बोलेर जनतामा केही आशाका किरण छर्नुभएको छ र काम पनि अगाडि बढाउनुभएको छ । मुलुकलाई विकासको पथमा अगाडि बढाउन सक्रिय प्रधानमन्त्रीले आधुनिक युगमा आएर यस्ता कुरामा चासो दिएर नबोले नेपाली जनतालाई कसरी आधुनिकताको पथमा लैजान सकिन्छ ? यसअघिका सरकारले केही गर्न नसकेको र आफूले पनि केही गर्न नसके के गरेर बस्ने त (?) भन्दै उहाँले महत्वाकांक्षी योजना सार्वजनिक गर्नुभएको हो । यो आधुनिक युगका नेताले बोल्ने कुरा नै हो । प्रधानमन्त्रीले गरेका घोषणामा उत्साह थप्नुपर्छ । उहाँले दुरगामी भिजन प्रस्तुत गर्नुभएको छ । सबै जनताले साथ दिएर राष्ट्रिय एकता कायम राख्दै प्रधानमन्त्रीको भिजन पूरा गर्न सहयोग गर्नु पर्ने छ । त्यसमा युवा संघको सधैं साथ र सहयोग रहने छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment