११ फागुन, कुस्मा । विद्युत उत्पादनको क्षेत्रका रुपमा चिनिएको पर्वत जिल्लामा पनि लोडसेडिङ भएको भन्दै पर्वतबासी संघर्ष समिति नै गठन गरी सडकमा उत्रिएका छन् । लोडसेडिङ विरुद्ध आन्दोलनमा उत्रिएका पर्वतबासीले बुधबार जिल्लाका सबै सरकारी कार्यालय बन्द आह्वान समेत गरेका छन् ।
पटक-पटक लोडसेडिङ न्यूनिकरण गर्नको लागि भद्र सहमति भएता पनि विद्युत प्राधिकरणले सहमतिलाई तोडेको भन्दै पर्वतबासीले मंगलबार कुश्मामा रहेको विद्युत प्राधिकरणको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनकारी र प्रहरीबीच ढुंगा हानाहान हुँदा स्थिति तनावग्रस्त भयो ।
सदरमुकामको बडागाउँदेखि निस्किएको जुलुसमा सहभागीहरुले पर्वतलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न माग गर्दै प्राधिकरण कार्यालय अगाडि पुगेर नाराबाजी गरेका थिए ।
जिल्लामा अघिल्लो बर्षभन्दा यो बर्षमा लोडसेडिङ बढी भएको र प्राभावित क्षेत्रमा पनि लोडसेडिङ गरेको भन्दै पर्वतबासीले पटक-पटक प्राधिकरण कार्यालय अगाडि आन्दोलन गर्दै आएका थिए । विगतमा भएका सहमति कार्यान्वयन नभएपछि पर्वत जिल्लाबासी संघर्ष समिति नै गठन गरी आन्दोलनमा होमिएका छन् ।
महिलामाथि दुर्व्यवहार
विद्युत प्राधिकरणको कार्यालय अगाडि सुरक्षा दिई बसेका प्रहरीले महिलामाथि दुर्व्यवहार गरेको भन्दै आन्दोलनकारीले प्रहरी प्रशासनविरुद्ध समेत नाराबाजी गरेका थिए ।
सो क्रममा प्रहरी र आन्दोलनकारीबीच केहि समय ढुंगा हानाहान भएको थियो जसका कारण प्राधिकरण अगाडिको क्षेत्र तनाबग्रस्त भएको थियो ।
सरकारी कार्यालय बन्द आहृवान
लोडसेडिङ विरुद्ध आन्दोलनमा उत्रिएका पर्वतबासीले बुधबार जिल्लामा रहेका सरकारी कार्यालय बन्दको आहृवान समेत गरेको छ । पटक-पटकको सहमतिलाई सम्बोधन गर्नको लागि सम्बन्धी निकाय नै उदासिन रहेको भन्दै जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालय ठप्प पार्ने संघर्ष समितिले जनाएको छ ।
सहमति कार्यान्वयन नभए र जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न सरोकारवाला निकायले ध्यान नदिए थप कार्यक्रम सार्वजनिक गरी आन्दोलनलाई कडा बनाउने संघर्ष समितिले जनाएको छ ।
– महेन्द्र केसीबाट
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment