अरुण बराल
६ चैत, काठमाडौं । नेपाली समाजमा पुरानो आहानै छ, ल्हासामा सुन छ, कान मेरो बुच्चै । तर, हिमालपारिको चीनले हासिल गरेको वैभववाट हामी नेपालीले सिक्ने हो भने हाम्रो कान बुच्चै भइरहनुपर्ने कुनै कारण छैन ।
नेपाली समाजमा एउटा पुरानो गीत पनि त छ- राङकेबुङको राँगोलाई ताप्लेजुङमा ताकेर, कालेबुङमा काटेर, फूलै लाउँला केसरी, खाउँला बेसरी । तर, नेपालीहरुले अहिलेसम्म यस्तो गीतको कल्पना गरेका छैनन्, ताप्लेजुङको खसीलाई दार्चुलामा काटेर, खाउँला बसेर ।
केही महिनाअघि चीन ग्रामीण क्षेत्रको भ्रमणमा निस्कँदा अनौठो परिकल्पना गर्न पाइयो । हाम्रो देश पनि चीनजस्तै आधुनिक विकासतर्फ अघि बढेको भए ताप्लेजुङबाट एकाबिहानै एक किलो मासु बोकेर रेल चढेको नेपाली दिउँसो भात खाने बेलामा दार्चुला पुग्न सम्भव हुने रहेछ ।
कर्णालीको मान्छे एकाबिहानै गोजीमा दुई/चार हजार रुपैयाँ च्यापेर काठमाडौंतिर लाग्यो भने उसैदिन बेलुका घर फर्कन सम्भव हुने रहेछ । यो पनि विमानमा होइन, स्थलमार्गबाटै ।
यस्तो कुरा सुन्दा उट्पट्याङ गफजस्तो लाग्न सक्छ हामी नेपालीहरुलाई । काठमाडौंबाट सडक मार्ग हुँदै एक/डेढ घण्टामै सहजै बारा पुग्न सकिन्छ भन्यो भने मानिसहरुले पागल भन्न सक्छन् ।
२१औं शताब्दिमा धरानदेखि स्थलमार्गबाटै बढीमा २० मिनेटभित्र धनकुटाको मूलघाट पुग्न सम्भव छ भन्यो भने अहिले कसैले पत्याउँदैनन् । तर, यो सम्भव रहेछ भन्ने शुद्धी चीनको भ्रमण गरेपछि हामीमा प्रकट भयो ।
एकै दिनमा कर्णाली-काठमाडौं यात्रा कसरी ?
काठमाडौंदेखि विमान चढेर ल्हासा हुँदै चेङदूसम्म पुगेको हाम्रो टोलीको उद्देश्य संसारकै सबैभन्दा बढी विद्युत उत्पादन हुने २२ हजार मेगावाटको थ्री गर्जेज विद्युत गृह हेर्नु थियो ।
तीन ठूला नदी जडान गरी निर्माण गरिएको हाइड्रो पावर भएको स्थानसम्म पुग्नका लागि हामीले चेङ्दुदेखि सुदुर पूर्वमा रहेको यिचानसम्म अर्को विमान समात्नुपथ्र्यो । र, यिचानबाट करिब ६ घण्टा बस चढेर पश्चिमतर्फ फर्किनुपथ्र्यो, जहाँ हुबेई प्रान्तमा थियो थ्रीगर्जेज हाइड्रो । तर, हामीले चेङ्दुबाट प्लेनको साटो बुलेट रेल समात्यौं ।
हामी चढेको बुलेट रेल करिब ६ घण्टासम्म पहाडी प्रदेशमा दौडियो । त्यो रेल दौडिएको बाटोको भूगोल नेपालको पहाडी लोकमार्गजस्तै डाँडाकाँडाले ढाकिएको थियो ।
नेपालका डाँडाकाँडामा नागबेली आकारका सडक बनाइएका छन् । तर, चिनियाँहरुले पहाडमा त्यस्ता घुमाउरा बाटाहरु बनाउँदैनरहेछन् । पहाडलाई छेडेर तेर्सा सडकहरु बनाउँदारहेछन् । र, रेलको लिक त झनै उकालो-ओरालो हुने कुरै भएन ।
तीव्रगतिमा चेङदूबाट पूर्वतिर दौडिएको बुलेट रेलभित्र बस्दा हामीले कतिवटा सुरुङमा छिर्यौं भनेर गन्ने प्रयास गर्यौं । तर, त्यो सम्भव भएन ।
रेल एकैछिनमा पहाडको फेदीमा भएको फाँटमा निस्कन्थ्यो र तत्कालै पहाडको सुरुङभित्र छिरिहाल्थ्यो । एकैछिनमा बुलेट ट्रेन बेंसीजस्तो ठाउँमा पुग्थ्यो र फेरि पहाडको चट्टानभित्र पस्थ्यो । ठाउँ-ठाउँमा बजारहरु भेटिन्थे, जहाँ यात्रुहरु रेलमा चढ्ने र ओर्लने गर्थे ।
एवं रीतले हामीले अनकण्टार पहाडमा ६/७ घण्टा रेलको यात्रामा बितायौं, जुन यात्रा ताप्लेजुङ र दार्चुलाभन्दा दोब्बर थियो ।
यो यात्राका क्रममा हामीले कल्पना गरेको कुरा के हो भने हाम्रोजस्तो सानो देशमा चीनको जस्तो भौतिक विकास हुने हो भने कर्णाली र काठमाडौं दूरी केही घण्टाको मात्रै हुन सम्भव रहे छ । त्यहाँको जडीबुटी र बालीनाली दुरह विषय होइन रहेछ । कर्णालीका जनताले तराईकै भाउमा नुन र चामल किनेर खान पाउने रहेछन् । त्यहाँ खोलिने विद्युतगृह विश्व विद्यालयले कर्णालीलाई सुगम र काठमाडौंलाई चाँहि मोफसलजस्तो बनाइदिन सम्भव रहेछ ।
मुस्ताङको स्याउ स्थलमार्गबाटै केही घण्टामा दार्जीलिङ वा सिलिगुडीसम्म पुर्याउन सहजै सम्भव रहेछ । हाम्रा नेताले पो हामीलाई अहिलेसम्म १८ औं शताब्दीमा राखेका रहेछन् ।
पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाले आफ्नो गृहजिल्ला धनकुटामा धरानबाट मोटरबाटो खनाए । त्यसबेलासम्म धनकुटाबासीलाई भीरमा बस चल्छ भन्ने पत्यारै लाग्दैनथ्यो ।
धरान-धनकुटाको पहाडमा चढ्ने र ओर्लने मोटरबाटोको दुरी ५२ किलोमिटर छ । शायद सूर्यबहादुर थापा यतिबेला युवावस्थामा हुन्थे भने उनले शायद भेडेटार र कार्कीछापको नागबेली बाटोको साटो चिउरीबासबाट सुरुङ खन्ने योजनाबारे सोच्ने थिए होला, जसले गर्दा धरानको अमरहाटबाट पहाडमा छिरेको गाडी १५/२० मिनेटमै मुलघाटमा निस्कने थियो ।
यसरी सुरुङमार्ग प्रयोग गर्दा भीरमा हुने दुर्घटनामा पनि कमी आउने थियो । तमोर गडतिरको कृषिजन्य उत्पादन धरान ल्याउन केही मिनेटमै सम्भव हुने थियो । र, धनकुटाका विद्यार्थीहरु धरानमा पढेर बेलुका घर र्फकन पाउने थिए । मूलघाटबाट सुरुङको बाटो हुँदै तेर्सै तेर्सो पैदलै हिँडेर पनि एकाध घण्टामा धरान आउन-जान सकिन्थ्यो । चिनियाँ बुलेट रेल र त्यसपछि बसमा चढेर करिब एक हजारवटा सरुङहरुमा छिरेपछि हामीले यस्तै-यस्तै कल्पना गर्यौं ।
नेपालीका लागि यो स्वैर कल्पना हो । तर, चिनियाँहरुले यो आफ्नो जीवनमै भोगिरहेको यथार्थ पनि हो ।
हामीले तिब्बतको ल्हासादेखि सिगात्सेसम्म रेलको यात्रा गर्न त पाएनौं । तर, पूर्वतिरको रेलयात्राबाट पहाडमा बुलेट ट्रेनको अनुभव संगाल्ने अवसर राम्रैसँग पायौं ।
रेलबाट ओर्लेपछि र हाइड्याम हेरिसकेपछि हामीले ६ घण्टासम्म बसको यात्रा गर्यौं । त्यो बस पनि पहाडमा कतै पनि उकालो-ओरालो गुडेन । रेलजस्तै बस पनि पहाडको प्वालमा छिर्दै निस्कँदै तेर्सोबाटोमा मात्रै गुड्यो । चीनमा पहाडलाई ताछेर हैन, दूलो पारेर सडक बनाइँदोरहेछ ।
पहाडको नदी, पैसाको बोट
थ्री गर्जेज हाइड्रोपावर भएको ठाउँमा पुग्दा हामी अर्को आश्चर्यमा पर्यौं । संसारकै सबैभन्दा धेरै क्षमताको विद्युतगृह भएकाले मात्रै होइन कि दैनिकरुपमा सो ड्याम हेर्न आउने मानिसहरुको भीड देखेर हामी थप चकित परेका हौं ।
दिनमा २० औं हजारले टिकट काटेर ड्याम हेर्दारहेछन् । त्यसबाट उठ्ने पैसा सरकारको खातामा जम्मा हुँदोरहेछ । त्यहाँ चल्ने गाडीको भाडा, थ्रीजगर्जेजले हुबेईमा खोलेका पाँचतारे होटल सबैको आम्दानीले देशकै अर्थतन्त्र सिँचित हुँदोरहेछ । आयोजनाबाट विस्थापित जनतालाई अग्लाअग्ला घरहरु बनाएर सुविधायुक्त ठाउँमा राखिएको रहेछ । नदीमा समुद्रका जस्तै ठुल्ठुला डुंगाहरु पनि चल्दा रहेछन् ।
र, त्यसबाट हामीलाई के अनुभव भयो भने विजुली निकाल्दा विद्युतबाट मात्रै होइन, पर्यटनबाट पनि देशलाई निकै ठूलो आम्दानी हुँदोरहेछ ।
हाम्रो देशमा पनि कर्णालीदेखि कोशीसम्म त्यस्ता स्थानहरु भएको अवस्थामा शायद डडेलधुराको मानिस रेल चढेर अरुण नदीसम्म हनिमुन मनाउन जाँदो हो । च्याङथापुको मान्छे दार्जीलिङको साटो कर्णालीको ड्याममा पुग्दो हो । त्यसबेला पहाड हाम्रा लागि कहर हैन, स्वर्गजस्तै सुन्दर बन्दो हो । हाम्रा नदीनालाहरु कामधेनु गाईजस्ता बन्दा हुन् ।
हामीले यस्तो सोच्यौं चीनको एउटा छोटो भ्रमणमा । र, हामीलाई के लाग्यो भने अरुण तेस्रो, सप्तकोशी उच्चबाँध, माथिल्लो कर्णाली जस्ता आयोजनाहरु हामी आफैंले, नेपालीहरुकै सामुदायिक लगानीमा बनाउन सक्यौं भने यसले देशको अर्थतन्त्रलाई ज्यामितीय फाइदा दिँदोरहेछ ।
चीनः घुम्ने मात्रै कि केही सिकेर आउने ?
के हाम्रा नेताहरुले चीनको यस्तो वैभव देखेका छैनन् ? धेरैपटक देखेका छन् । के हाम्रा नेताहरुले युरोप अमेरिकाको भौतिक विकास हेरेका छैनन् ? अवश्यै हेरेका छन् । तर, उनीहरु यसबारे जनतालाई बताउन चाँदैनन् । जनतालाई अँध्यारैमा राख्न चाहन्छन् । र, राज्यसत्तामा दलालसँग मिलेर भ्रष्टाचार अनि कमिसनतन्त्रमा रम्न चाहन्छन् । गफमात्रै गर्न चाहन्छन् ।
सरकारी पैसा खर्चेर विदेश घुमेका नेपालका नेताहरुको डायरीमा विकासको एजेण्डा नै छैन । विकास भनेको राजधानीमा वर्षेपिच्छे जेठ-असारमा पीच गर्ने र ठेकेदारहरुबाट कमिसन खाएर पार्टी चलाउनेमात्रै हो । त्यो फाष्ट ट्रयाकमा कमिसन खाएर भारतलाई बेच्ने षड्यन्त्र होस् या अरुण तेस्रो तुहाउने या कर्णाली परियोजनाको लाइसेन्स कौडीको भाऊमा विदेशीलाई बुझाउने नै किन नहोस् ।
प्रधानमन्त्री केपी शर्मा ओली फेरि एकपटक चीन भ्रमणमा लागेका छन् । उनी पहिलोपटक चीन गएका होइनन् । प्रधानमन्त्री ओलीले चीनबाट के सिकेर आउलान् ? के लिएर आउलान् ? सि जिनपिङसँग एकप्रति फोटोमात्रै खिचाएर आउँछन् या चीनको वैभवबाट केही सिकेर पनि आउँछन् ? आशा गरौं, भर नपरौं ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment