चैत्र ७, २०७२- प्रधानमन्त्री केपी ओली अन्तत: नीजि एरलाईन्सबाटै चीन भ्रमणमा निस्केका छन् । प्रधानमन्त्री सहितको झण्डै सय जनाको नेपाली टोलीलाई लिएर चिनियाँ र नेपाली व्यवसायीको संयुक्त लगानीमा सुरु हिमालय एयरलाइन्सले सित्तैंमा चीन घुमएर ल्याइदिने भएको छ ।
प्रधानमन्त्री केपी ओलीसहितको नेपाली टोलीलाई लिएर आइतबार बेइजिङ उडेको छ । एयरलाइन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले काठमाडौं–बेइजिङ उडानलाई कमर्सियल नभई ‘नन रेभेन्यु चार्टर फ्लाइट’ भएको बताए । ‘हामीले नेपाल सकारलाई सित्तैमा उडाएको चार्टर उडान हो, एक रुपैयाँ पनि लिने छैनांै,’ उनले भने । यो कम्पनीले गत फागुन २६ गते ल्याएको पहिलो जेट विमानबाट प्रधानमन्त्री ओलीसहित सरकारी प्रतिनिधिमण्डल आइतबार बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उडेको हो ।
विमान नेपाली समयअनुसार ४ बजे बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । विमानलाई हिमालयका विदेशी पाइलटहरूले उडाएर लगेका थिए । चीनको छेन्दुबाट १२ दिनअघि तिब्बत एयरलाइन्सका पाइलटहरूले उडाएर ल्याएको यो जेट विमान युरोपेली कम्पनी एयरबसको ‘ए–३२० सिरिज’ हो । उडानमा यस एयरलाइन्सका बोर्ड अध्यक्ष आङछिरिङ शेर्पा र कम्पनीका अध्यक्ष चिनियाँ नागरिक चेङ हुई पनि गएका छन् । अध्यक्ष शेर्पा यती एयरलाइन्सका प्रबन्ध निर्देशक पनि हुन् । यो विमान प्रधानमन्त्री नेपाल नफर्कुन्जेल बेइजिङमै बस्ने कम्पनीले जनाएको छ ।
नेपाल वायु सेवा निगमले हालै ल्याएका दुइटा एयरबस सरहकै यो विमानमा पनि १ सय ५८ सिट छन् । तीमध्ये ८ वटा बिजनेस र बाँकी १ सय ५० वटा इकोनोमी श्रेणीका छन् । यसले काठमाडौं विमानस्थललाई हब बनाउँदै सुरुमा भारतको राजधानी दिल्ली र कतारको राजधानी दोहामा कमर्सियल उडान भर्ने छ । तर, मिति तय भइनसकेकाले टिकट बिक्री खुला गरिसकेको छैन । यी दुई स्थानपछि चीनको ल्हासा, चेंगदु र बेइजिङ उडान योजनालाई दोस्रो चरणमा राखेको छ ।
यस एयरलाइन्समा नेपाली कम्पनी यती इन्भेस्टमेन्ट समूह र चिनियाँ वायुसेवा कम्पनी तिब्बत एयरलाइन्स आबद्ध छन् । कम्पनीमा नेपाली साझेदारको ५१ र तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment