७ चैत, काठमाडौं । ‘उहाँ हामीबाट बिदा हुनुभएको ६ वर्ष बितेको छ, यो ६ वर्ष कति छिटो बित्यो हामीलाई पत्तै भएन ।’
भूतपूर्व कांग्रेस सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको छैटौं स्मृति दिवसका दिन आयोजित अन्तक्रिर्या कार्यक्रम उद्घोषकले यस्तो अनर्थ लाग्ने अभिव्यक्तिबाट सुरु गरे । राष्ट्रिय नाचघरमा खचाखच दर्शकले त्यसलाई आफ्नै हिसाबले बुझेर ताली बजाए ।
‘गिरिजाप्रसादले सिकाएको सहकार्य र नेपाली राजनीति’ शीर्षकमा आयोजित कार्यक्रममा कांग्रेस युवा नेताको बाक्लो उपस्थिति थियो । यद्यपि कोइराला वंशका उत्तराधिकारी तथा हालै निर्वाचित महामन्त्री शशांक कोइराला भने अनुपस्थित रहे । पछिल्लो कालखण्डमा आफ्ना हरेकजसो भाषणमा गिरिजालाई सम्झिन खोज्ने एमाओवादी अध्यक्ष प्रचण्ड पनि आइदिएनन् । जब कि कार्यक्रममा दुवैको उपस्थिति रहने भनिएको थियो ।
गुरुङले खादा लगाउन मानेनन्
मञ्चमा बसेका करिब दुई दर्जन अतिथिलाई कार्यक्रमको प्रारम्भमा सबै अतिथिलाई खादा लगाएर स्वागत गरियो । तर, एकजनाले लगाउन मानेनन् । उनी थिए, युवा नेता धनराज गुरुङ ।
सुरुमा उनले खादा नलगाउनुको कारण बुझिएन । तर, आफ्नो भाषणमा गुरुङले यसको तार्किक कारण प्रस्तुत गर्ने प्रयास गरे । उनले भने, ‘देश एउटा भिखारीजस्तो हालतमा छ । प्रधानमन्त्री कहिले यो देश कहिले त्यो देश गएर हात पारिरहनुभएको छ । हामी यहाँ के के नै उत्सवझैं गरी कहिले माला र कहिले खादा लगाएर मुसुमुसु गरिरहेका हुन्छौं ।’
गुरुङले देशको धराशयी अर्थतन्त्रलाई जोगाउन स-साना कुरामा पनि ध्यान दिनुपर्ने सोचले आफूले खादा नलगाएको उल्लेख गरे । नेपालले वाषिर्क १० करोडको माला र १५ करोडको खादा आयात गरेको गरेको उल्लेख गर्दै गुरुङले भने, ‘हामी माला र खादा नलगाउँदा वाषिर्क २५ करोड जोगिन्छ राज्यको ।’
पञ्चायतलाई ‘शुभकामना’
‘म के भन्छु भने, म जे भन्छु त्यो गर्छु र म जे गर्छु त्यो भन्छु,’ उनले यसरी गिरिजालाई उडाउँदै गर्दा हलभित्र खचाखच कांग्रेसीहरू खुलेर हाँस्न सकेनन् ।
काठमाडौं कांग्रेसका पूर्वसभापति भीमसेनदास प्रधानले सबैभन्दा पहिलो भाषण गरे । उनले गिरिजाका बारेमा केही रोचक प्रसंग सुनाएका थिए । ‘उहाँको राजनीतिक जीवन सधैँ विवाद र मतान्तरहरूको सेरोफेरोभित्र बित्यो,’ प्रधानले भने । बीपीको मेलमिलाप नीतिमा कोइरालाको प्रारम्भिक मतान्तर रहेको उनको भनाइ थियो ।
‘पञ्चायतको २५ वर्ष पुगेको अवसरमा सरकारलाई कोइरालाले शुभकामना पत्र पठाएको र त्यही निहुँमा गणेशमानसँग कडा विवाद उब्जेको श्रेष्ठले उल्लेख गरे । ‘शुभकामना पठाएको थाहा पाएपछि गणेशमानले तुरुन्तै गिरिजाबाबुलाई कारबाही गर्न किसुनजीलाई आग्रह गर्नुभो, तर किसुनजीले गिरिजा यस्तै हो भनेर विवाद टालटुल पार्नुभो,’ श्रेष्ठले सुनाए ।
‘तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री पदका लागि दर्खास्त खोलेका बेला कोइरालाले तीर्थराम डंगोल र मलाई शशांकको घरमा बोलाउनुभो । आफ्ना सहयोगी बालकृष्ण दाहाललाई बाहिर पठाउनुभो र हामीलाई बेडरुममा लैजानुभो । त्यसपछि खुसुक्क सोध्नुभो, बाहिर के हल्ला छ ? म प्रधानमन्त्री बन्दा के हुन्छ ?’ मैले तत्कालै भनेँ, ‘गिरिजाबाबु बाहिर तपाईंले कुनै हालतमा दर्खास्त दिनु हुँदैन । बाहिर सबैले यही भनिरहेका छन् । तीर्थरामजीले भने ठाडै यसो भन्न नसकेर दुई प्रश्न कोइरालासँग राख्नुभो । उहाँले सोध्नुभो, होलेरीकाण्डका बेला दरबारले असहयोग गर्दा तपाईंले राजीनामा दिनुपरेको थियो । माओवादी जनयुद्ध अहिले पनि जारी छ । के प्रधानमन्त्री भएर माओवादी समस्या समाधान गर्न सक्नुहुन्छ ?’
उहाँको दोस्रो प्रश्न थियो, ‘के हामीले उठाउँदै आएको संसद पुनस्र्थापनाको एजेन्डालाई पूरा गराउन सक्नुहुन्छ ?’ त्यसपछि गिरिजाबाबुले जवाफ दिनुभयो, ‘माओवादी समस्या त तुरुन्तै समाधान गर्न सक्छु ।’
उहाँको प्रधानमन्त्री बन्ने मनसाय बुझेर हामी त्यहाँबाट हिँड्यौं । तर, त्यही दिन बसेको एमाले बैठकले माधव नेपाललाई प्रधानमन्त्रीमा दर्खास्त दिने निर्णय लियो र उहाँले दर्खास्त दिनुभयो । त्यसपछि गिरिजाबाबुले दिनुभएन । आखिरमा न गिरिजाबाबु प्रधानमन्त्री बन्नुभयो, न माधव । राजाले शेरबहादुरलाई रोजे ।’
विश्वप्रकाशले देखाए तीन नेपालीका अनुहार
कार्यक्रममा कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले निकै मन छुने भाषण गरे । यद्यपि, सुरुमा उनले कोइरालाको बढाइँचढाइयुक्त तारिफबाट सुरु गरेका थिए ।
‘कुनै विद्वान्ले भनेका छन् कि यस्तो किताब लेख जुन वर्षौंसम्म पढियोस्, पढून् । अथवा यस्तो कर्म गर, जसका बारेमा युगौंसम्म किताबहरू लेखिऊन् । गिरिजाप्रसादले आफ्नो जीवनमा कुनै किताब त लेख्नुभएन, तर यस्तो कर्म गर्नुभयो, जसका बारेमा भविष्यमा थुप्रै किताबहरू लेखिन सक्छन्,’ शर्माले भने, ‘नेपालमा सबैभन्दा बढी पुत्ला गिरिजाप्रसाद कोइरालाकै जलाइयो । सिंगो कम्युनिस्ट आन्दोलनले आफ्नो समय उहाँको आलोचनामा बितायो । गिरिजाप्रसाद पनि कम्युनिस्ट आन्दालनको कट्टर आलोचक रहनुभयो । तर जब उहाँ जमिनबाट बिदाइ हुनुभो, त्यतिबेला हामीले मात्र होइन, कम्युनिस्टहरूले पनि भने, हामीले अभिभावक गुमायौं । हामी मात्र होइन, उनीहरू पनि रोए ।’
त्यसपछि विषयान्तर भएर शर्माले पार्टीका सभापति देउवालाई तीनथरी नेपाली अनुहारहरू हेर्न यसरी सुझाव दिए-
एउटा अनुहार रुकुमबाट निर्वाचित भएर आउनुभएको थियो, गोपाल शर्मा । माओवादीले उहाँको दुवै आँखामा तेजाब हालिएकाले उहाँ देख्न सक्नुहुन्न । तर आफ्नो अन्तरदृष्टिले राम्रो कांग्रेस र राम्रो देश देख्नुहुन्छ । उहाँजस्तै माओवादी द्वन्द्वकालमा राज्पक्षबाट वा विद्रोहीबाट प्रताडीत भएका युवा हुन्, उनीहरूको अनुहार हाम्रो पार्टी सभापतिको स्मृतिमा पहिलो नम्बरमा आउनुपर्छ ।
दोस्रो, गरिब आमाबाबुले गाँस काटेर पढाएको छोरो हातमा सर्टिफिकेट बोेकेर जागिरका लाठ सोर्स खोज्दै छ । सभापतिज्यु, यो देशको युवाले जागिर खानलाई यो वा त्यो पार्टीको ढोका चहानुपर्ने बाध्यता दुःखद र पीडादायी छ । तपाईंले कार्य-सम्पादन गर्दै गर्दा त्यो युवाको अनुहार पनि सम्झिनुपर्छ ।
तेस्रो, युवा नेपालमा कुनै अवसर नभेटिएपछि त्रिभुवन विमानस्थलमा पुगेको छ, सपनाहरूको खोजी गर्न । उसले दुःख गरेर रेमिट्यान्स पठाएको छ, हामी रोटी खाइरहेका छौं । तर उसैलाई थाहा छैन, भोलि खादा लगाएर नेपाल आउँछ वा बाकसमा भरिएर लास भएर आउँछ ।
त्यसपछि शर्माले एउटा कवितांश सुनाए-
म त सगरमाथाको देशको मान्छे
भयो यो कुरा फेरि भविष्यमा गरौंला
अहिले त म जीवनको उचाई खोज्न खाडीमा ओर्लिएको छु
म खाडीमा आउनलाई बिदाइ गर्दा
मेरी श्रीमतीले बगाएको आँसुलाई सीधै टर्बाइनमा हालेर
मेरो देशको एक मेगावाट बिजुली उत्पादन गरियो अरे
म त त्यो देशको मान्छे
एउटा चित्रकारले संसार पूरै रंग्याउन पर्यो भने
मेरो देशको लालीगुराँससँग सापटी लिन सक्दैनन्
तर म त मेरी बूढी आमाको अनुहारको रंग खोज्नलाई खाडीमा आएको छु
कार्यक्रमकै बीचमा नक्कली गिरिजा
गम्भीर विषयमा भएको अन्तक्रिर्या कार्यक्रमको बीचमा एउटा हास्यास्पद प्रयोग पनि गरियो । एमाले महासचिवको भाषणअघि उद्घोषकले भने, ‘आजका दिनमा गिरिजाप्रसाद हाम्रो बीचमा हुनुभएको भए के हुन्थ्यो होला ? यदि यो कार्यक्रममा उहाँ भाषण गर्न आउनुभएको भए के भन्नुहुन्थ्यो होला ? आउनुस् हामी तपाईंहरूको कौतुहल समाधान गरिदिन्छौं ।’
नभन्दै गिरिजाको भेषमा एक व्यक्ति आएर ड्यासमा ठडिए । उनी गिरिजाकै हाउभाउ र आवाजमा बोल्न थाले ।
‘म के भन्छु भने, म जे भन्छु त्यो गर्छु र म जे गर्छु त्यो भन्छु,’ उनले यसरी गिरिजालाई उडाउँदै गर्दा हलभित्र खचाखच कांग्रेसीहरू खुलेर हाँस्न सकेनन् । मञ्चमा बसेका नेताले पनि खासै स्वाद मानेनन् ।
‘म जय नेपाल भन्छु तपाईंहरू पनि भन्नुस्’ भन्दै सिम्खडा हिँडेपछि बुहारी नामको किताब विमोचन गराउन पनि भ्याए आयोजकले ।
कोइरालाको प्रशंसामा देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई अथक परिश्रमी नेताको संज्ञा दिए । उनले भने, ‘बरु हामी युवा थाक्थ्यौं, उहाँ बिहानदेखि बेलुकासम्म खट्दा पनि थाक्नुहुन्थेन ।’
देउवाले ०२४ सालमा नख्खु जेलमा बस्दा कोइरालासँग आफ्नो चिनजान भएको सम्झिए । त्यसयता निरन्तर आफूहरूको सहकार्य रहेको भन्दै उनले बीचमा एकपटक आफूलाई पार्टीबाट निकालेको पनि उल्लेख गरे ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment