नविन अर्याल
७ चैत, काठमाडौं । चीनको सहयोगमा नेपालमा दर्जनौं उद्योग र परियोजनाहरु खुलेका छन् । तथापि हामीले ती धेरैजसो परियोजनाहरु सदुपयोग गर्न सकेनौं । अहिले फेरि नेपाल सरकारको टोली थप सहयोगको अपेक्षा गर्दै चीन भ्रमणमा गएको छ ।
सरकारी अक्षमताका कारण बाँसबारी छालाजुत्ता उद्योग बन्द भएको छ । ट्रलीबस, हरिसिद्धी टायल उद्योग, भृकुटी कागज कारखाना, हेटौंडा कपडा उद्योग हिमाल सिमेन्ट बन्द भइसकेका छन् ।
चिनियाँ सहयोगमा निर्माण भएका यी उद्योगहरू केही सरकार मातहतमै रहँदा बन्द भए भने केही निजीकरण गरेपछि बन्द भए । नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको आर्थिक उदारीकरणको नीतिसँगै सरकारी स्वामित्वका धेरै उद्योग कलकारखानाहरु निजीकरण भएका हुन् ।
ट्रली बस थन्क्याएर इलेक्ट्रिक बसको माग
चार दशकअघि विद्युतीय ट्रलीबस सञ्चालन हुँदा काठमाडौंमा रौनक थपिएको थियो । ट्रलिबस चलेपछि तत्कालीन समयमा राजधानीको यातायात धेरै सहज बनेको थियो । सहज यातायातका लागि मात्र होइन्, राजधानीकै सान बनेको थियो, ट्रलीबस ।
तर, अहिले ट्रलीबस पूर्ण रुपमा बन्द भइसकेको छ । नयाँ पुस्ताका लागि ट्रलीबस इतिहास बन्न पुगेको छ । चिनियाँ सहयोगमा ट्रलीबस सञ्चालनमा आएको थियो । जुन चक्रपथ र सूर्य विनायकदेखि कलंकीसम्म चल्थ्यो ।
राम्रोसँग चलिरहेको ट्रलीबस कमजोर व्यवस्थापनका कारण बन्द भयो । ०३२ सालमा स्थापित ट्रलीबस ०४५ सालसम्म नाफामै चलिरहेको छ । प्रजातन्त्रको उदयसँगै संकटमा परेको ट्रलीबस ०६६ सालदेखि पूर्णरुपमै बन्द भयो । अहिले ट्रलीबसहरु काम नलाग्ने अवस्थामा पुगेका छन् ।
नेपालले अहिले चीन सरकारसँग इलेक्ट्रिक बसहरु मागिरहेको छ । यस्तो बेलामा चीनले इलेक्टि्रक बस दिएमा सरकारले चलाउन सक्ला ? जबसम्म हाम्रो संस्कार परिवर्तन हुँदैन, तबसम्म यस्तो सहयोगको सदुपयोग नहुने बताउँछन्, आर्थिक पत्रकार मधुसुदन पौडेल ।
राजनीतिले खायो सिमेन्ट र कपडा उद्योग
चीन सरकारको सहयोमा स्थापित हिमाल सिमेन्टले तत्कालीन समयमा ६५ प्रतिशत सिमेन्टको माग पूरा गर्थ्यो । यो पनि राजनीतिक चलखेलकै कारण स्थानीयलाई संघर्षमा उतारेर बन्द गरियो । यो उद्योग निजीकरण गरिए पनि राम्रोसँग नियमन हुन सकेन ।
हेटौंडा कपडा उद्योग बन्द हुनुको कारण पनि राजनीतिक हस्तक्षेप नै थियो । १५ सयभन्दा बढीलाई रोजगारी दिएको यो उद्योगमा कार्यरत कर्मचारीले सेवा सुविधा र शेयर समेत माग गरेर पटक-पटक आन्दोलनमा उत्रिएपछि समस्या देखिएको हो । यो उद्योगको संरचना औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा छ ।
चिनियाँ सहयोगमा बनेका आयोजनाहरुको अवस्था
राम्रोसग चलेका | जेनतेन चलेका | सिकिस्त अवस्था | बन्द भएका |
---|---|---|---|
पोखरा-बाग्लुङ सडक | निजामति अस्पताल | आयुर्वेदिक अनुसन्धान केन्द्र | बाँसबारी छालाजुत्ता उद्योग |
पोखरा-काठमाडौं सडक | अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र | हरिसिद्धी टायल उद्योग | |
काठमाडौं-तातोपानी सडक | बनेपा पोलिक्लिनिक | भृकुटी कागज कारखाना | |
लुम्विनी चिनी कारखाना | हेटौडा कपडा उद्योग | ||
भक्तपुर इँटा कारखाना | हिमाल सिमेन्ट | ||
सेती सिँचाइ ड्याम | ट्रली बस |
चीन सरकारको प्राविधिक सहयोग रहेको बुटवल धागोग कारखाना पनि बन्द भइसकेको छ । तर, यो उद्योग पुनः सञ्चालन गर्ने चर्चा चलिरहेको छ । यो चर्चा चलिरहँदा उद्योगका संरचना कामै नलाग्ने गरी विग्रिन थालिसकेका छन् । यो उद्योगमा धेरैले रोजगारी पाएका थिए ।
हरिसिद्धी इँटा टायल कारखाना बन्द भएको दुई दशक पुगेको छ । सरकारले यो कारखाना लक्ष्मी बहादुर श्रेष्ठ र जीत बहादुर श्रेष्ठलाई बिक्री गरेको थियो । ५२० रोपनी क्षेत्रफलमा फैलिएकवो यो उद्योगको जग्गा प्लटिङ गरेर बेच्न लागिएको छ । कारखानाको २७ रोपनी जग्गा नेपाल क्यान्सर अस्पताललाई बिक्री गरिएको छ ।
बाँसबारी छालाजुत्ता उद्योग पनि सरकारले जोगाउन सकेन । निजीकरण गरिएको यो उद्योग बन्द भएको धेरै भयो । स्वदेशी जुत्ता चप्पल उद्योगको विकासमा बाँसबारी उद्योगको योगदान रहेको थियो ।
सम्मेलनस्थलमा संसद बैठक
चिनियाँ सहयोगमा नयाँ बानेश्वरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाइयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ठूला सभा समारोह आयोजना गर्ने उद्देश्यले सम्मेलन केन्द्र बनाइएको थियो । तर, अहिले यो भवन राजनीतिक दलहरुले कब्जा गरेका छन् ।
पहिलो संविधानसभाको चुनावसँगै यो सम्मेलन केन्द्र राजनीतिक कब्जामा परेको हो । अहिले यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन होइन, सांसदहरुको सम्मेलन हुन्छ । सर्वसाधारण यहाँ सहज प्रवेश गर्न पाउँदैनन् ।
‘सम्मेलन केन्द्र जुन प्रयोजनका लागि बनाइएको थियो, त्यसका प्रयोग हुन सकिरहेको छैन’ पत्रकार पौडेलले भने- ‘त्यसमाथि चीनले बनाइदिएको संरचनामा हामीले केही पनि थप्न सकेका छैनौं ।’
नयाँ बानेश्वरको निजामति हस्पिटल चिनियाँ सहयोगमा बनेको हो । तर, यो हस्पिटल पनि संरक्षण हुन नसक्दा विस्तारै जिर्ण बन्दै गइरहेको छ । हस्पिटलमा थप संरचना र सेवा सुविधाहरु बनाइनु त परै जाओस, भएको संरचनालाई पनि जोगाउन नसकेको पूर्वअर्थसचिव खनालको गुनासो छ ।
चिनियाँ सहयोगमै किर्तिपुरको त्रिभुवन विश्वविद्यालय परिसरमा आयुर्वेदिक अनुसन्धान केन्द्र बन्यो । तर, अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । प्रयोगमा नआउँदै यो अस्पताल सिकिस्त विरामी अवस्थामा परेको छ ।
राम्रै चलेका परियोजना
चिनियाँ सहयोगमा बनेका गौरव गर्न लायक परियोजना निकै कम छन् । गौरव गर्न लायक परियोजना सडकमात्र भएको खनाल बताउँछन् । काठमाडौं-पोखरा सडक, काठमाडौं-तातोपानी सडक र पोखरा बाग्लुङ सडक चिनियाँ सहयोगमा बनाइएको हो ।
‘चीनले काठमाडौं-पोखरा सडक ३ मिटरको बनाइदिएको थियो, पछि हामीले विस्तार गरेर १० मिटरको बनाइयो’ पूर्वअर्थसचिव रामेश्वर खनाल भन्छन्- ‘सडक पूर्वाधार अत्यावश्यक भएको हुँदामात्र जोगिन पुगेका हुन् ।’ पोखरा-बाग्लुङ र काठमाडौं-तातोपानी सडक पनि राम्रोसँग चलिरहेका छन् ।
पोखरा विमानस्थलदेखि जहाजसम्म
चीनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सहुलियत ऋण र अनुदान सहयोग गर्दैछ । प्रधानमन्त्रीको चीन भ्रमणको समयमा चिनियाँ एक्सपोर्ट-इम्पोर्ट (एक्जिम) बैंकसँग ऋण सम्झौता हुँदैछ । यो विमानस्थल बनाउनका लागि चीनले १४ अर्ब सहुलियत ऋण र करिव ७ अर्ब अनुदान सहयोग दिन लागेको छ ।
यसैगरी चीनले राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई आन्तरिक उडानका लागि ६ वटा जहाज दिएको छ । चीनले २ वटा जहाज अनुदान र ४ वटा जहाज सहुलियत ऋणमा दिएको हो । जसमध्ये २ वटा अनुदानका जहाज नेपाल आएर व्यवसायिक उडान गरिरहेका छन् । बाँकी ऋण सहयोगका जहाज ल्याउन बाँकी छ ।
चिनियाँ जहाज व्यवसायिक उडानका लागि सन्तोषजनक नभए पनि चीनले सहयोग भने गरेकै हो । चीन र नेपालबीच जहाजको सम्झौता गर्दा तत्कालीन नाइकेहरुले सजगता अपनाउन नसक्दा जहाज उडाउन समस्या परेको छ । बाँकी ४ जहाजमा चीनले नेपालको माग बमोजिम गरिदिने बताएको छ ।
किन हुँदैन विदेशी सहयोगको सदुपयोग ?
‘हामीले चिनियाँ सदासयता र सदभावको सदुपयोग गर्न सकेनौं, राम्रोसँग चलिरहेका परियोजना पनि कुसंस्कार र भ्रष्टाचारका कारण बन्द भए’ पूर्वअर्थसचिव रामेश्वर खनालले अनलाइनखबरसँग भने- ‘यस्तो हालतमा विदेशी राष्ट्रले जति सहयोग गरे पनि केही हुनेवाला छैन ।’
चिनियाँ सहयोगमा निर्मित उद्योग, अस्पताल तथा अन्य परियोजनाको व्यवस्थापन कहिल्लै राम्रोसँग नभएको पूर्वसचिव खनाल बताउँछन् । ‘त्यहाँ नियुक्ति राम्रो भएन, राजनीतिक हस्तक्षेप बढ्यो, राजनीतिक भर्तीकेन्द्र बनाइयो, व्यापक भ्रष्टाचार भयो, जसले गर्दा चिनियाँ सहयोगको सदुपयोग भएन’ उनले भने ।
विदेशी सहयोग र सदभागका परियोजनाहरु बन्द हुनुको प्रमुख कारण राजीतिक दल नै हुन् । यस्ता परियोजनालाई राजनीतिक भर्तीकेन्द्र बनाई व्यापक भ्रष्टाचार गरिदिँदा उद्योग कलकारखाना बन्द हुन पुगेको पूर्वसचिव खनाल बताउँछन् ।
राजनीतिक हस्तक्षेपका कारण व्यवस्थापनमा अक्षम व्यक्तिको प्रवेश हुनु, मजदूर समस्या बढ्नु, कुसंस्कारको विकास हुनु, भ्रष्टाचार हुनु, कर्मचारीको भर्ती राजनीतिक रङका आधारमा गरिनु सरकारी स्वामित्वका परियोजना धरासायी हुनुका प्रमुख कारणहरु हुन् ।
‘विदेशी सहयोगका परियोजनप्रति हाम्रो सोचाइ नै गलत भइदियो’ खनालले भने- ‘जसले गर्दा उद्देश्य उद्योग तथा अन्य परियोजनहरु राम्रोसँग सञ्चालन गर्न सकिएन ।’
खनालको विचारमा चीन साम्यवादी मुलुक हो । चीनले उद्योग धन्दालाई हुने नाफाभन्दा पब्लिकलाई हुने लाभ बढी हेर्छन् । त्यसो हुँदा उनीहरुले उद्योग स्थापना गर्दा व्यवसायिक लाभ नहेरी जनताको अवश्यकताका आधारमा उद्योग धन्दा तथा अन्य परियोजना खडा गरिदिए । जसले गर्दा पनि उद्योगले आफ्नो लागत धान्न नसकेर बन्द हुन पुगे ।
यसको उदाहरणका रुपमा लुम्विनी चिनी कारखाना, भुकुटी कागज कारखाना र गोरखकाली रबर उद्योग, हरिसिद्धि इँटा टायल उद्योगलाई लिन सकिन्छ । यदि यी उद्योहरु राम्रोसँग चलेको भए पनि फाइदा नहुने अवस्था रहेको पूर्वसचिव खनालको भनाइ छ ।
उद्योगको डिजाइन गर्दा चिनियाँहरुले व्यवसायिक सम्भावना हेरेनन् । गोरखकाली टायरको पनि चिनियाँहरुले डिजाइन गरिदिएको हुँदा नाफामा जान नसकेको खनालले बताए ।
कस्तो सहयोग लिने ?
अब हामीले विदेशी सहयोग लिँदा अत्यावश्यक क्षेत्रमा मात्र लिनुपर्ने बताउँछन्, पूर्वसचिव खनाल । उनका अनुसार निजामति हस्पिटल, काठमाडौ-पोखरा, पोखरा-बाग्लुङ र काठमाडौं-तातोपानी सडक जोगिनुको कारण पनि अत्यावश्यक भएरै हो ।
‘सडक हाम्रो आवश्यकता भएका कारण जोगिएर बसेको छ, हस्पिटल हाम्रै कारणले जोगिको हो’ खनालले भने- ‘हामीले विदेशी सहयोग लिँदा सडक वा त्यस्ता पूर्वाधारमा लिनुपर्यो, जुन हामीलाई नचलाई सुखै छैन ।’
अहिले नेपालमा उर्जाको समस्या रहेको हुँदा हाइड्रो प्रोजेक्टमा सहयोग माग्दा उपलब्धीमुलक हुने खनालको तर्क छ । त्यसका साथै सडक र विमानस्थल पनि हाम्रो प्राथमिकताका क्षेत्र हुन् ।
रिङरोड लगायतका यातायातसँग जोडिएका पूर्वाधारमा सहयोग ल्याउन सकेमा त्यस्तो सहयोगले जनतालाई प्रत्यक्ष लाभ पुर्याउने खनालको बुझाइ छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment