प्रिय बाबु किरण,
जीवनमा पहिलो चोटि तिमीलाई यो पत्र लेख्दैछु । आज धेरै दिन पछि तिमीलाई यो पत्र लेख्ने जमर्को गरेको छु । बाबु तिमी कहाँ छौ, के गर्दै छौ । तिमी साथ नहुँदा तिम्रो सम्झनामा झन् बढी पीडा हुँदो रहेछ । तिमीले छोडेर गएको पनि झन्डै दुई महिना पुग्न लागेछ । लाग्छ , तिमी फर्केर आउने छौ । ढोकामा टुप्लुक्क आएर मलाई अङ्कमाल गर्ने छौ भन्ने सपना मैले नदेखेको सायद कुनै रात छैन ।
मानिसहरू भन्दछन् कि तिमी सदा–सदाका लागि बिदा भएका छौ । तर मलाई विश्वास छैन । तिमी हामी सबलाई यसरी एक्लो पारेर जान सक्दैनौ भन्ने मेरो विश्वास हो । तर दुनियाँ भन्छ कि मैले यो अन्तिम सत्य स्विकार्न गर्नै पर्छ । नाता कुटुम्ब र साथीभाइ मलाई सम्हालिन आग्रह गर्छन् । तर कसरी सम्हालिउँ बाबु ?
किन बाबु तिमी यति छिटो छोडेर गयौ ? तिमी मेरो भाइ भएर जन्मे पनि भाइ थिएनौं । जन्म नदिए पनि मेरो छोरा जस्तै थियौ । सानै देखि मेरो रेखदेखमा हुर्केका थियौ । मैले अहिले पनि तिमीलाई नुहाइदिएको झल्झल्ती याद आउँछ । खाना पकाउँदा पोलेर परेको डाम मेरो सम्झनामा अझै ताजै छ । याद छ कि छैन तिमीलाई, एक पटक पैसा नभएर अन्डाको सुप खाएको तर त्यो कुरा बा आमालाई नभनेको ?
हाम्रो यस्तो दौंतरी हुँदा हुँदै मेरो के गल्ती थियो र तिमीले मलाई यति छिटो छोडेर गयौ ! तिमीले आफ्नै सपना पनि त पूरा गर्नु थियो नि, होइन र ? तिमी भन्ने गथ्र्याै, दाइ तपाईँ अब गरिब दुखीको सेवा गर्न नेपाल जानुस, छोरीहरुको हेरचाह म गर्छु । तिमी आफै भन अब म कसलाई छोडेर जान सक्छु नेपाल । कसरि गर्न सक्छु ती गरिब र दुःखीको सेवा ?
मैले तिमीलाई म १८ वर्षको हुँदा देखि हुर्काएं, बढाएँ र पढाएँ । तर अचानक तिमीले मलाई छोडेर गयौ । तिमी मेरो मुटु थियौ । तिमीले जीवनभर मसँग केही पनि मागेनौं । मसँग सबै कुरा खुलस्त गर्थ्याै । केही गर्नु पर्दा पनि मलाई नसोधी कहिल्यै पनि गर्दैनथ्यौ । तर अब मलाई त्यसरी सोध्ने कोही छैन ।
म आफै बा आमासँग बोल्न सकेको छैन । तिमी भन त बाबु साँच्चै तिमी नआउने गरी गएका हौ ? किन बाबु मैले के पाप गरेको थिएँ र यस्तो सजाय पाउँन । दुई दिन अगाडी फोन गरेका थियौ, मलाई बोलाएका थियौ तर म आएँ तर तिमी मसँग बोलेनौ । सदाका लागि तिमी अर्कै संसारमा गयौ, हामीलाई टुहुरो बनाएर । तिमी भन त म अब नेपाल जाँदा के भन्ने ? अनि के लिएर जाने ?
तिमी हाम्रो सन्तान, परिवार, नातागोता र नाम्जुंग कै तारा थियौ, आशाका किरण थियौ । बाबु आज त्यो सबै छिनाएर गयौ । एक शब्द पनि नसोधी गयौ । आखिर किन बाबु ? मेरो मुटु प्रिय बाबु, तिमीलाई बालकमा मैले नुहाउँदा, तिमीलाई साबुन लगाउँदा काठमाडौँको जाडोमा मट्टीतेलको स्टोभ बालेर पानी तताएर र तिमीलाई नुहाइदिएको । तिम्रो शरीरमा मैले छोएको अझै ताजा छ । तिमीलाई मन पर्ने गुन्द्रुक र भात अब म कसलाई खुवाऊँ ? तिमि मेरो भाइ थिएनौं । मेरो छोरीहरू भन्दा प्रिय थियौ मेरा लागि ।
बाबु, छोरी कृतिमा र इच्छाले तिमीलाई मलाई भन्दा माया गर्थे । हामी सँग रिसाउँदा तिमीलाई फोन गरेर कुरा लगाउँथे । आज तिनीहरूको हालतको के कुरा गरौँ । भाउजू मालाको तिमीलाई गर्ने मायाको बारेमा म के भनौं, २४ सै घण्टा तिम्रो यादमा बस्छिन । बाबु राजीको बारेमा म के भनौं ? भगवानको सुन्दर बस्ती स्वर्गबाट तिमी आफैंले देखेका हौला । उनको हालत के छ म स्वंय उनीसँग बोल्न सक्ने अवस्थामा छैन । बाबु पत्र लामो भयो भनेर दिक्क नमान, यही पत्र नै तिम्रो लागि मेरो पहिलो र अन्तिम हुनेछ ।
मैले आफू नपढेर पनि तिमीले मेरो परिवारको सान थियौ । तिमीलाई मैले कति दुःख गरेर पढाएँ । राति १०–१२ बजे सम्म काठमाडौँमा ट्युसन पढाएँ । आज तिमीले गर्ने बेलामा किन थाकेर मलाई छोडेर गयौ ? तिमीलाई मेडिकल डाक्टर बनाउने मेरो रहर थियो । तर मेडिकल डाक्टर बनाउन नसके पनि पिएचडी डाक्टर वैज्ञानिक बनाएँ । यसमा त मेरो बाटो देखाउने मात्र काम थियो, तिमि स्वंयले धेरै दुःख मेहेनत गरेर पढ्यौ ।
दाइ म डालसमा काम खोज्दै छु, छिट्टै डालस आउँछु भन्थ्यौ । तर कहिल्यै नआउने गरी गयौ । काठमाडौँ र डालसको बसाइमा म जहिले पनि मर्दा र पर्दा अगाडी सरेर सहयोग गर्न पुग्थें र मेरो आँसु रोकिदैन्थ्यो । तर अपसोच, मैले तिम्रो शरीरमा एक थोपा पनि आँसु चुहाउन पाइन ।
राशी र छोरालाई अभिभावकत्व प्रदान गर्न म हरतरहले प्रयास गर्नेछु । म यस मानेमा खुसी छु । छोराले मलाई बाबा र भाउजूलाई आमा भन्छ । बाबु आज सम्म तिमी गएको कुरा छोरालाई भनेको पनि छैन । कहिले काहीं रिसाउँदा डालस बाट कोलम्बिया (उसको भाषामा अमेरिका) जान्छु भन्छ । राति म सँगै सुत्छ । म सामाजिक कार्य र मिटिंगबाट आउँदा ढिलो हुन्छ अनि रिसाउँछ । तर म उसलाई घोडा चढेर खेलाउंदै ढाडमा सुम्सुम्याउन्दै निदाउँछ ।
दिनभरि फोनमा फ्रेस टाइम गर्दै बाबा भन्छ अनि मेरो मुटु भारी हुन्छ । तिमीलाई सम्झी आँखा भरी आँसु बनाइ बस्छु । आजसम्म हामी परिवार कसैको पनि आँखा ओभाएको छैन । सायद यो जिन्दगी भरि आँसु रोकिएला जस्तो लाग्दैन ।
बाबु म आमालाई के भनुँ भेटेपछि ? तिमीले बुधवार कुरा गर्दा आमाको भिसाको कुरा गरेका थियौ । यो निष्ठुरी अमेरिकी दूतावासले आमालाई यस्तो पीडामा पनि भिसा दिएन । बाबु तिमीले बेलाबेलामा काललाई पनि जितेर आएका थियौ । दुई दुई चोटि टेक्सासमा काललाइ पाखा लगायौ । नेपालमा हुँदा पनि ठूलो हेलिकप्टर दुर्घटनाबाट बाँचेका थियौ । तर यतिबेला तिमीले थाहै नदिएर गयौ ।
तिमीले बाबा आमालाई के वाचा गरेका थियौ बाबु ? तिमी ती वाचाबाट कता गयौ ? किन यस्तो गरेका ? तिमी हाम्रो सन्तान परिवार इष्टमित्र सबैको तारा थियौ ? बाबु भन त तिमी कहिले फर्केर आउँछौ, म ढोकामा कुरेर बसेको छु ।
तिमीलाई के थाहा तिम्रो अन्तिम संस्कारमा कति दाइभाइ इष्टमित्र आए तिम्रो अन्तिम दर्शनका लागि । सामाजिक सञ्जाल, पत्रिका अनि टिभीमा तिमी मात्र छाएका थियौ । तिमी यतिका प्रिय हुँदा हुँदै किन गएको ? बाबु तिम्रो सट्टामा म जान तयार थिएँ । किन मलाई नभनेको, किन यति छिटै थाकेको ? तिम्रो लागि मेरो यो जीवन केही थिएन । अब म यस धर्तीमा बाँच्नुको केही अर्थ छैन तिमी बिना । म तिम्रो लागि आफ्नो जीवन दिन सधैँ तयार थिएँ । तिमीले ती सब बिर्सियौ, हाम्रो परिवार माथि परेको पीडा । सायद तिमी चीर निद्रामा थियौ । तर यो दुनियाँ जागा बसेर तिम्रो स्वर्गबास होस् भनी कामना गरी रहेका थिए । कति साथी भाइले फोन गर्न सकेनन्, पत्याउन पनि सकेनन् ।
बाबु, तिमीले हामीलाई छोडेर गएपनि आफ्नो चिनोको रूपमा दुई छोराहरुलाई छोडेर गएका छौ । तिमीलाई लाग्ला कि तिम्रा ती साना नानीहरूको के हुन्छ भनेर । तर बाबु, तिम्रो यो दाइ जीवित रहन्जेलसम्म तिमी सरह नै यी दुई आँखाका नानीलाई माया दिनेछु । तिम्रो माया अब म यिनीहरूलाई नै हेरेर पूरा गर्नेछु । तिमी जहाँ भए पनि शान्तिका साथ रहनु । यो नीरिह र अभागी दाजुको को यही नै अन्तिम इच्छा छ ।
उही दाजु,
कृष्ण लामिछाने
र, यो पनि
अमेरिकामा वैज्ञानिक किरणको सडक दुर्घटनामा निधन भएसंगै नथामिएको बुबाआमाको आंशु
हे दैब ! छोराको क्रिया कसैलाई बस्न नपरोस्
The post स्वर्गीय भाइका नाममा दाजुको मनै रुवाउँने वकपत्र appeared first on नेपाल आज.
from Nepal123.com -
स्वर्गीय भाइका नाममा दाजुको मनै रुवाउँने वकपत्र