Saturday, March 26, 2016

कथाः सपनाकी बेहुली

– सविता सापकोटा

छोरी भएर जन्मिसकेपछि पराईको घरलाई आफ्नो सम्झेर जानुपर्ने विधाताको नियमलाई कसैले पनि हत्कडी लगाउन नसक्दो रहेछ । रातो साडी, रातै चुरा सबै रातो पहिरनमा सजिएर बेहुलीबन्दा सबैको मुहार मोतीझैं चम्केको देखिन्छ । बाबाआमाको न्यानो काख र मायामोह त्यागेर पराईको अँगालोमा रमाउनुपर्ने नियमले साथीभाइ, आफन्त सबैलाई बिरानो बनाउँदो रहेछ । लामो यात्रामा अदम्य साहस बटुलेर एक्लै होमिएको मेरो मन निकै चिन्तित थियो । सधैं बसमा सँगै यात्रा गर्ने साथीको यादले एउटा पीडा थियो भने खाली रहेको सिटमा कस्तो मान्छे पर्ला भन्ने अर्को पीर थियो ।

कोहीसँग चाहेर पनि जीवन बिताउन नपाउने र कोहीसँग नचाहँदा–नचाहँदै पनि जीवन जिउनुपर्ने दैवको खेल देख्दा पनि अचम्म लागेर आउँछ, मन भारी हुन्छ र म सुस्केरा हाल्न पुग्छु । केही बेरको समयपछि मेरो छेउको खाली सिटमा एउटा अधबैंसे युवक आइपुग्यो र यो सिट खाली हो भनी बस्यो । वर्षांैसम्म सँगै साथ बिताएकी साथीको विवाहमा जान आँटेकी म मनमा धेरै कुरा खेलाउँदै थिए । रहर भनूँ वा बाध्यता, पराईको अँगालोमा बेरिएर हाँस्नुपर्ने कठोर जीवनलाई म आफ्ना कल्पनाको किताबमा पाना पल्टाउँदै थिए । घरमा सधैँ पढ्नु छ भन्दै खाएको थालमा चुठ्ने बानीले मनमनै आफैंलाई गिज्याइरहेको थियो । यो जाडो याममा चिसो पानीले भाँडा माझ्दै गरेको सम्भिँmदा पनि मन नै बरफ भएर आएको थियो । ओहो † अरूका बाबा–आमाले कस्तो व्यवहार देखाउने हुन् । सबै मानिस एकै हुँदैनन् । हुनत हाम्रा हातका ५ औंला त बराबर हुँदैनन् । कतिपय घरमा बुहारीलाई नोकर नै सम्झन्छन् भने कोही घरमा माया र स्नेहले सजाएर राखेका हुन्छन् । यो सबै भाग्यकै खेल हो जस्तो लाग्छ । आफ्नो भाग्यमा जे लेखेर आएको छ त्यो भोग्नैपर्छ र ढिलो या चाँडो जहिले भए पनि पराईको घरमा जानैपर्छ । भाग्यको खेललाई न इरेजरले मेटाउन मिल्छ, न त कटरले नै चुच्चो बनाउन । उफ † यो चिसो मौसममा कसैले पनि विवाह नगरोस् । मेरो सोच पनि कस्तो ? त्यो भन्दैमा विवाहका लागि उपयुक्त मानिने मंसिर महिनामा लगन जुरे पनि विवाह नै नगरी बस्नु त ।

विवाहको दिनमा रातो पहिरनमा सजिँदा मोतीजस्तै टल्किन्छन् सबै बेहुली । विधाताको नियमलाई न कसैले बाँध्न सक्छ न त कसैले रबर चुटाएजसरी चुटाउन । जुनसुकै केटीलाई पनि आफ्नो भावी श्रीमान् असल परोस्, आफ्नो भावना बुझोस्, दु:खसुखमा साथ देओस्, लक्ष्य चुम्न मद्दत गरोस् भन्ने लाग्छ ।

पुरुषको मस्तिष्क त म पढ्न सक्दिनँ, तैपनि मैले सुनेअनुसार पुरुषहरूलाई पनि आफ्नी श्रीमती अरूभन्दा स्मार्ट होस् भन्ने लाग्छ रे । सम्मान भन्ने चिज दुवैले दुवैलाई दिनुपर्छ जस्तो लाग्छ ।
कहालीलाग्दो यो जीवन देखेर पनि यो मन त्यसै भारी भएर आउँछ । हातमा हत्कडी र नेलसरह चुरा लगाउनुपर्ने, घाँटीमा गाई–गोरुलाई दाम्लो बाँधेसरह पोते लगाउनुपर्ने, सिउँदोदेखि लिएर आँखा, ओठ सबै सजाउनुपर्ने । मन नलागेर भए पनि रातो पोसाकमा आफूलाई सजाउनुपर्ने । के एक नयाँ बन्धनमा बाँधिन मैले यी सबै गर्नुपर्ने हो र ? के मेरो जिन्दगीको गन्तव्य यही हो ? यसरी मैले नचाहेर भए पनि उसलाई साथ दिनुपर्छ भनेर सबैले सिकाउँछन् । छोरी भएर यो धर्तीमा जन्म लिएपछि आफ्ना इच्छा–आकांक्षालाई एकातिर कुजाएर जिन्दगी नै अरूका निम्ति तर्पन गर्नुपर्दा मन नै बरफ जमेजसरी चिसिन पुग्छ । जीवनको लामो यात्रामा एकल जीवन जिउने यात्रीहरू पनि यो दुनियाँमा छन् । के उनीहरूले यी सबै सपना सजाएका हुँदैनन् ?

विविध सोचको भुमरीमा डुब्दै म त सपनीमा आफूलाई बेहुलीका रूपमा सजाउन पुगेछु । आफ्नै नजिक बसेको युवकलाई बेहुलाको भेषमा ऊसँगै रातो साडीमा सजिएर हिँडेको सपनी देखेछु । विवाहका लागि कुनै सोच नबनाएको यो मनले अचानक बेहुली बनेको सपना देख्दा म झसङ्ग भए । के विवाहपूर्व कुनै मोडमा सबै नारीले यस्तै सपना देख्छन् र ? खाजा खाने ठाउँमा बसको ब्रेकसँगै बिउँझिएकी म आफूलाई पाइन्ट–टिसर्टमा पाउँदा झसङ्ग भए । खोई कस्तो दिवासपनामा रुमलियो मेरो मन । म त दिनमा सुत्ने र रातमा ब्युँझिने उल्लूजस्तै भएछु ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment