Saturday, March 26, 2016

काठमाडौँमा सडक फराकिलो पार्ने भाइकाजी तिवारी ‘रिटायर्ड’ भएपछि….

५८ वर्षे उमेर हदका कारण यही चैत ८ गते सरकारी जागिरबाट अवकास पाएका छन् काठमाडौंको मुहार फेर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उपत्यका शहरी विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले । तिवारीले काठमाडौंका सडक फराकिलो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । धेरै धाकधम्कीको सामना गरी उनले काठमाडौं मुहार नै फेरिदिए । लमजुङको चिती गाविसमा जन्मिएका भाइकाजी तिवारी पहिलोपटक एसएलसी फेल भएका थिए । दोस्रोपटकमा एसएलसी पास गरेका तिवारीले इन्जिनियरिङमात्रै गरेनन, पीएचडीसम्म गरे । २०४४ सालमा नेपाल कागज उद्योग लिमिटेडबाट सरकारी जागिरे यात्रा सुरु गरेका तिवारी २०४५ साल मंसिर २४ गतेबाट नेपाल सरकार राजपत्रांकित तृतीय श्रेणी इन्जिनियर पदमा नियुक्त पाएका हुन् । २०६० पुसमा आइपुग्दा उनी राजपत्रांकित द्वितीय श्रेणीमा वढुवा भएका थिए । २०६२ सालमा नगर नियोजक तोकिएका उनी त्यही बेलादेखि १० वर्षसम्म एउटै कार्यालयमा रही काठमाडौं उपत्यका शहरी विकास प्राधिकरणको प्रमुख आयुक्तका रुपमा अवकास पाए । काठमाडौं उपत्यका प्राधिकरणको आयुक्त हुँदा उनले देखेको सपना के थियो ? कतिको पूरा भयो ? यो बीचमा के कस्ता धम्कीका सामना गर्नुप¥यो ? उनले मनको वह यसरी पोखेः

भुत्ते बनाइयो प्राधिकरण

मन्त्रालयमा आउँदा देखेको सपना केही हदसम्म पूरा भयो तर मेरो चाहना सबै पूरा हुन सकेनन् । प्राधिकरणलाई लंगडो पार्ने काम भयो । त्यसमा पनि विविध वहानावाजी हुँदै कामहरु रोकिए । समयमा बजेट कहिल्यै निकासा भएन । तत्कालीन काठमाडौं उपत्यका नगर विकास समितिमा रहँदा जब कामले गति लिँदै थियो त्यही समयमा समितिलाई खारेज गरियो । प्राधिकरण बनाइयो । त्यही कुर्सीमा दाँयाबायाँ नगरी काजमा खटाइयो । यहीँबाट प्रस्ट हुन्छ स्तर कसरी खस्काइयो ?

Bhaikaji-tiwari

जब प्राधिकरण बनाइयो, भएका सरसामान फिर्ता गर्नु अनि नयाँ सामाग्री आउँछ भन्ने आश्वासन देखाइयो । न त सामाग्री आयो न भनेको समयमा बजेट । प्रधानमन्त्री, मुख्य सचिव, विभागीय मन्त्रीलाई समेत भेट्दा बजेट रोकिँदैन, काम गर्नुहोस् भन्ने ‘ओठे’ आश्वासन त देखाए तर कहीँ कतैबाट समयमा बजेट आउन सकेन । विस्तारको क्रममा रहेको जोरपाटी–शाँखु सडकखण्डका जग्गाधनीले क्षतिपूर्ति पाएको खण्डमा ‘हाम्रो जग्गा खुशीसाथ दिन्छौं, सरकार आउ’ भनेर बोलाएका छन् । तर सरकार कानमा तेल हालेर बसेको छ । यो सडक विस्तारका लागि मुआब्जाका लागि मात्र कम्तिमा १४ करोड रुपैयाँ लाग्दछ । त्यस्तै त्रिपुरेश्वर–नागढुंगा सडकको हालत पनि उस्तै छ ।

२०५८ सालदेखि निरन्तर

२०५८ सालदेखि काठमाडौं उपत्यका नगर विकास समितिमा डल्लु आवास नगर विकास समितिको योजना प्रमुख, कीर्तिपुर जग्गा एकीकरण आयोजना (जो सबैभन्दा छोटो समयमा सकिएको आयोजनामध्ये पर्दछ), सिनामंगल जग्गा एकीकरण आयोजनामा रही काम सम्पन्न गरिसकेको अनुभव थियो । वागमतीनगर जग्गा एकीकरण आयोजना, दिव्यश्वरी नगर विकास आयोजना, धोवीखोला करिडोर १३ किमी काम सम्पन्न भइसकेको छ । राजाको प्रत्यक्ष शासनकालमा नगर नियोजक तोकिएर यता आएको थिएँ । सरकारले दिएको जिम्मेवारीबाट भाग्न मिल्दैनथ्यो । आफूसँग भएको सीमित स्रोत र साधनको अधिकतम् प्रयोग गरी काम गर्दै गए ।

२ सय ६२ किमी सडक विस्तार

म काठमाडौं उपत्यका शहरी विकास प्राधिकरणको प्रमुख रहँदा काठमाडौंभित्रको २ सय २५ किमी सडक चौडा भइसकेको छ । म रिटायर्ड भएर जाने समयसम्म पनि काम चलिरह्यो । ललितपुरमा ३० किमी र भक्तपुरमा ७ किमी गरी काठमाडौं उपत्यकाभित्र २ सय ६२ किमी सडक विस्तार भइसकेको छ । अरु विस्तारका लागि २ सय किमी सडक पहिचान भएका छन् । चाबहिलदेखि जोरपाटी हुँदै सुन्दरीजल, ललितपुरमा कर्मनशादेखि गोदावरीसम्म, सातदोवाटोदेखि लेले, टियु गेटबाट दक्षिणकालीसम्म पहिचान भएको छ । सायद अव आउने प्रमुखले यसलाई निरन्तरता दिनुहोला भन्ने अपेक्षा राख्दछु । कमलपोखरीमा कमिला हिँड्थ्यो । अहिले कमलपोखरी पुग्दा सबैको मन रमाउँछ । नारायणचौरलाई पार्कका रुपमा विकसित गरेको, टोखामा सपना तीर्थ मन्दिर, चण्डेश्वर मन्दिर, नाट्यश्वर मन्दिरलगायतका हजारौं मन्दिर सुधार यी सबैको पछाडि मेरै हात छ ।

भनिन्छ, मूल राम्रो भयो भने खोला पनि सग्लो हुन्छ । राजधानीमा गरेका कामको प्रतिविम्व पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेको छ । यसैगरी केन्द्रमा राम्रो कामको सुरुवात भएको खण्डमा अरु क्षेत्रमा पनि विकास गर्दै जान सकिँदोरहेछ ।

नयाँ हाकिमलाई चुनौती

भाईकाजी तिवारीलाई सरकारले २०७० सालमा सर्वाेत्कृष्ठ कर्मचारीका रुपमा पुरस्कृत पनि ग¥यो । ‘साथीभाई रिसाउलान् मैले यसो भन्दा यो कुर्सीमा भाइकाजी मात्र बसेन । म १८ औं हाकिम हुँला ।’ यही नियम, कानुनले काम गर्न सकिँदो रहेछ । वस् खाँचो रहेछ इच्छाशक्ति । म जागिरे मात्र बन्न रुचाइनँ । नतिजामुलक काम गरी देखाउँछु भन्ने अठोट लिएर यो क्षेत्रमा प्रवेश गरेको थिएँ । प्राधिकरणलाई स्रोत/साधनविहीन बनाएर अपांग बनाउँदा समेत यो देश विकास र जनताको हितमा के गर्न सक्दछु भन्ने सोच सदैव रही रह्यो । जिम्मेवारीबाट पन्छिँन । आजै गर्ने सकिने कामलाई भोलि÷भोलि भन्दै पन्छाईनँ । नहुने कामलाई हुँदैन भन्दै उल्टै नमस्कार गरेरै विदा गरियो ।

बेहिसाव धम्की

यो बीचमा आएको दवाव धम्की बेहिसाव रह्यो । अवकास पाउनु अघिल्लो दिनसम्म पनि आफ्नै कार्यकक्षमा ज्यादती भए । तँलाई कुनै पनि समय सिद्धाउँछुसम्म भने । घर घेर्ने कति आए कति ? चोक–चोकमा काला अक्षरले लेखियो । अपराधी करार गर्ने प्रयास गरियो । तर हिम्मत हारिँन । मेरो व्यक्तिगत हितका लागि बाटो विस्तारको काम गरेका काम थिईंन । तर, पछिल्लो समयमा आएर जसले हिजो विरोध गरेका थिए उनीहरुलाई आत्मग्लानी भएको छ । अपवादको रुपमा चामल पिस्दा घुन पिसिएको हुन सक्दछ ।

नेताको थग्नै गार्‍हो पर्ने दबाब

नेताहरुबाट पनि दवाव आए । अरु त परको कुरा आफ्नै विभागीय मन्त्रीले फोन गरेर त्यो काम रोकिदिनुहोस् भन्ने आग्रह गर्दथे । म कडा स्वभावको भएकाले कडै जवाफ फर्काउँथें । ‘मेरो हातबाट बन्दुक पड्किसक्यो, अव गोली फर्कंदैन मन्त्रीज्यू’ भनेर फोन राखिदिन्थें । सचिवले तँ ठूलो कि म ठूलो भन्दै धम्काए÷तर्साए । विकास आयुक्तले पनि तर्साए । संसद्को पूर्वाधार समितिमा समेत उभ्याइयो । तर म आफ्नो कदमबाट पछाडि हटिन । ऐन कानुन पल्टाएँ, मौजुदा नियम कानुन यो छ भन्दै देखाएँ । कानुन ठीक छैन भने त्यसलाई संशोधन गर्नुहोस्, होइन भने कानुन अनुसार काम गरेको हुँ, काम गर्न दिनुहोस् भनें । माननीयहरुलाई सहयोग गर्नुहोस् भन्ने कडा जवाफ दिएँ । कसैले जवाफ फर्काउन सकेनन् ।
एउटै केसमा काग्रेस, एमाले, माओवादीका शीर्षस्थ नेताहरुको फोन समेत रिसिभ गरेको छु । सकेसम्म धम्क्याउने, नसके तर्साउने, त्यहाँबाट पनि पार नलागे अदालतमा पुगी मुद्धा मामिला गर्ने, त्यहाँबाट पनि हारेसँगै यहाँ, फलानोले भष्ट्राचार ग¥यो भन्दै अख्तियारमा उजुरी हाल्ने जस्ता काम पनि भए ।

कति धान्छ काठमाडौंले ?

मुलुकी ऐनको दफामा लेखिएको छ– आफ्नो जग्गा छ भने जहाँ पनि घर बनाउन सकिन्छ । हो, यही ऐनमा टेकेर पछिल्लो चरणमा विदेशमा गएर आठ÷दश लाख कमाएर ल्याइ, काठमाडौंको जग्गामा हालिहाल्ने र घर बनाइहाल्ने प्रवृत्ति मौलाउँदै गएको छ । म एकान्तमा अझै ठण्डा दिमागले सोच्छु हरित शहर र स्मार्ट सिटी कसरी बनाउन सकिएला ?
सडक विस्तार गरेर मात्र राजधानी व्यवस्थित हुँदैन । स्याटलाइट सिटीहरुको निर्माण गर्ने र नयाँ काठमाडौं निर्माण गर्ने सकेको खण्डमा सडकको भीडभाड कम गर्ने सकिन्छ भन्ने योजनालाई राष्ट्रिय योजना आयोगबाट स्वीकृत त गराएँ । तर पुनर्निर्माण प्राधिकरणमा पुगेर त्यो अल्झिरहेको छ । अव यो कस्ले खोज्छ ?

वावुराम र सडक

सडक विस्तारसँगै जोडिएर आउने नाम हो– पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराई । उनी अर्थमन्त्री भएसँगै सरकारी कर्मचारीहरुलाई बोलाएर सोधे– ‘नयाँ नेपाल बनाउन तपाईंहरु के गर्न सक्नुहुन्छ ?’ यही प्रश्नले मेरो दिमाग रन्थनियो । साघुँरा मोड फराकिलो पार्ने पचासौँ करोड लाग्ने देखेसँगै मैले सुजाएको योजना हो सडक विस्तार गर्ने । जसको सुरुवात भैरवनाथ गणदेखि डिल्लीबजारसम्मको सडकबाट ग¥यौं । दुई वटा सरकार परिवर्तन भए तर पनि योजना लागु भयो । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी २ सय ६७ किमी सडक विस्तार भएको छ । सर्वसाधारणहरु बाटोमा हिँड्दा घण्टौ जाममा पर्नुपर्ने समस्यामा केही हदसम्म कमी आएको छ । यो सबैको पछाडि हात कसैको छ भने मेरै छ ।

अवकासपछिको योजना

५८ वर्षीय उमेर हदका कारण सरकारी जागिरबाट अवकास पाएको छु । अब तत्काल केही दिन आराम गर्ने सोच बनाएको छु । त्यसपछि सरकारले केही जिम्मेवारी दिए त्यो बहन गर्ने सोचसमेत बनाएको छु । सरकारले कुनै काम नदिए निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने तयारी गर्ने छु ।

बिदाईको त्यो क्षण

सरकारी जागिर खाएपछि अवकाश त लिनै पर्छ । तर, डा. तिवारीको बिदाईमा भने आफ्ना मातहतका कर्मचारीमात्र हैन्, सडक विस्तारमा संलग्न काठमाडौँ महानगरपालिका, विद्युत प्राधिकरणका कर्मचारी पनि भाबुक थिए । काठमाडौँको नयाँ बानेश्वर र लाजिम्पाटमा छुट्टाछुट्टै कार्यक्रम गरेर उनको बिदाई गरियो । बिदाईमा खादा र मालाले भाइकाजीका शिर भरिएको थियो भने बिदाईमा आएकाहरु भाबुक देखिन्थे । सडक विस्तारको जिउँदो बाघको बिदाई भइरहँदा सडक मिचेर घर बनाइरहेका र गलत कार्यलाई बचाउन संगठित भइरहेकाहरुलाई भने सास्ती मिलेको छ । तर, जनमानसमा भने एउटा प्रश्न छ– अब भाइकाजीका अनुभावलाई सरकारले सही ठाउँमा उपयोग गर्ने मौका दिन्छ कि दिन्न ?

– प्रस्तुति: हरि गजुरेल


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment