सधैंझै नयाँ बर्ष आउने गर्छ, आपसमा शुभकामना आदान-प्रदान गर्ने गरिन्छ । आगामी दिन सबैको शुभ होस्, उन्नती-प्रगती, सुख-शान्ति होस् जस्ता अनेकन शब्दावली प्रयोग गरेर आत्मियता, मित्रवत सम्बन्ध देखाईन्छ । पक्कै पनि भविष्यप्रति सकारात्मक हुनु आफैमा सकारात्मक सोच, मान्यता, दृष्टिकोणको विकास गर्नु अवस्यनै राम्रो हो । प्रत्येक नागरिक र देश चलाउने नेतृत्व पंक्तिले भविष्यलाई सकारात्मक तवरबाट हेर्नै पर्छ तथापि विगत र वर्तमानको यथार्थतालाई पनि नजर अन्दाज भने गर्नु हुँदैन । विगत र वर्तमानबाट निश्चित पाठ सिकेर आगामी दिनका लागी निश्चित अठोट र आत्मविश्वासका साथ योजनाबद्ध ढंगबाट अगाडी बढ्न सकेमा मात्र नागरिकको व्यक्तिगत जीवन र देशको रुपरेखा बदल्न सकिन्छ ।
यति भनिरहँदा विगतमा नेपालमा भएका अनेकन राजनैतिक परिवर्तनहरुबाट जनता र देशको रुपरेखा त केही हदसम्म बदलिए होला तर विदेशी परनिर्भरता, विचलन, व्यक्तिगत स्वार्थ, वैदेशिक हस्तक्षेप, सुशासनको कमि, भ्रष्टाचारको बिगबिगी, नेतृत्वमाथि विश्वासको कमि, ईमान्दारिता र अनुशासनको कमि जस्ता कुराहरु दिन प्रतिदिन बढ्दै गएको जो कोहीले महशुष सजिलै गर्न सकिन्छ ।
कम्तीमा राणाहरु र पंचायती शासकहरु त देशको राष्ट्रिय अखण्डता, सार्भभौमसत्ता, आत्मनिर्भरता जस्ता कुराहरुमा सचेत थिए तर वर्तमान समयमा आफुलाई प्रजातन्त्र र लोकतन्त्रको ठेकेदार मान्ने शासकहरु पदलुप्तता, व्यक्तिगत स्वार्थ र हैकमवाद, विदेशी ईशारा र भक्तीभाव, परनिर्भरता र नेतृत्व क्षमताको कमि जस्ता अनेक मनोदशाबाट ग्रस्त भएर देशलाई नै विदेशीको शरणमा भित्र-भित्रै जिम्मा दिएको झै आभाष र गतिविधी बढिरहेको छ ।
प्रजातन्त्र वा लोकतन्त्र वा गणतन्त्र आफैमा जादूको छडी र परिवर्तन एवं समृद्धीको कडी हैन । यो त केवल शासन पद्दती मात्र हो, आफैमा वरदान होईन । यो तव वरदान सावित हुन्छ जव शासनको बागडोर सम्हाल्ने वर्ग र यो व्यवस्थामा आस्था र भरोसा राख्नेहरुले अवलम्बन गर्ने नीति, कार्ययोजना र दुरदर्शीतापुर्ण कार्यव्यवहारले देखाउने परिणाम देश र जनताको जीवनस्तर उकास्ने र देशलाई आत्मनिर्भर एवं शान्ती, सुरक्षा र अमन-चयन कायम गर्न सक्ने अवस्था देखिन्छ तव मात्र यस किसिमको राजनैतिक व्यवस्थाको औचित्य र महत्व उल्लेखनिय हुन्छ । अन्यथा एक दलीय निरंकुश शासन भनिने मुलुकहरुमा समेत जनताको जनजिविका राम्रो र उन्नत छ भने त्यसलाई उपयुक्त मान्न सकिन्छ । केवल बोल्न र भुक्न पाउने प्रजातन्त्र र चाकडी गर्नु पर्ने लोकतन्त्रको कुनै अर्थ र महत्व हुन सक्दैन ।
जनताले आफ्नै वैयक्तिक विकास र देशको समग्र विकास र उन्नती कायम गर्नको लागी पटक-पटक ज्यानको आहुति दिने बलिदानीपुर्ण त्याग र समर्पणबाट आएको लोकतन्त्र -गणतन्त्रमा केवल जनताको हित विपरित हुने काम मात्रै गर्न उद्दत नेताहरु र सत्तामा पुगे पछि व्यक्तिगत लाभको लागी जस्तोसुकै काम गर्न अघि सर्ने आचरणले गर्दा देश विदेशीहरुको प्रयोगशाला र रणसंग्राम अघोषित रुपमा भईरहेको छ । जनता र जनजिविकालाई प्राथामिकता दिदै काम गर्ने उद्घोषका साथ सत्ता सम्हालेका परिवर्तनगामी पार्टीकै उच्च नेतृत्वमा पुगेका सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने नेताहरु आज विश्वमा चर्चित अन्तर्राष्ट्रिय पत्रिकाहरुमा विश्वका अति भ्रष्ट र विलासिताको जीवन विताउनेको लाईनमा लाम्बद्ध हुनु लाजमर्दो कुरा हैन र ? यसको वारे कही कतैबाट बोल्ने र विरोध गर्ने साहस हुन नसक्नु र अझै पनि उनीहरुकै बोलीमा बोली मिलाएर परिवर्तन र विकाशको आशा गरेर बसिन्छ भने हामीहरु जस्तो पठलन्ठुहरु को हुन् सक्ला ? अझै नयाँ पार्टी र नयाँ शक्तीहरु भन्दै जनताहरुको आँखामा छारो हाल्न खोज्नु र त्यसमा विश्वास गरेर लाग्नु कति दुर्भाग्य होला हामी नेपाली जनताहरुको ? आफुलाई सक्कली प्रजातन्त्रवादीको दुहाई दिएर नथाक्ने पार्टी नदीनाला सबै भारतलाई नामसरी गरेर दिदा र भ्रष्टहरुलाई फुलमाला लगाएर फेरी नेतृत्वमा पुर्याउने र अझै उनीहरुको भाषणमा विश्वास गरेर बस्ने हामी जनता कति सोझा छौ विचार गरौ त !
सर्वहारा र श्रमजीवीको उत्थान गर्न भनि लागेको पुरानो नाममात्रको “कम्युनिस्ट” पार्टीको नेतृत्व समालेकाहरु देश-विदेशमा भ्रमण गर्दाको तडकभडक देख्दा र बेहुली लिन जन्ती गएको शैलीमा विदेश भ्रमण गर्ने एवं सामान्य ग्यास्ट्रिकको उपचार गर्न बेलायत, अमेरिकानै जानुपर्ने, सत्तामा पुगेर भत्तामात्रै पचाउन फुर्सद नभएका, भुकम्प जस्तो महाविपत्ती भएको एक बर्ष पुग्दा कानमा तेल राखेर बस्नेले कसरी सामान्य जनताको उत्थान गर्न प्रयासरत छन् ती पार्टी र विचारका नेताहरु भनेर हामी सर्वसाधरण जनताले बुझ्ने, आधार खै ? देशको बारे सानो निर्णय गर्दा भारत र चीनको डर र भयबाट ग्रसित बन्ने र अठोटपूर्ण र जनहितको निर्णय लिन नसक्ने आजका तमाम राजनैतिक नेताहरुले कसरी देशलाई समृद्ध र आत्मनिर्भर बनाउन सक्छन् भनि विश्वस्त हुन सकिन्छ । थोरै राजनैतिक निर्णय र परराष्ट्र सम्बन्धी निर्णय लिनु भन्दा पहिला भारतिय राजदुत र विभिन्न दुतावासहरुमा धाउने नेताबाट देशले के आशा गर्ने ?
देश विखण्डन गर्नेहरुलाई खुल्लमखुल्ला छोडि दिने, प्रजातन्त्रलाई के उत्कृष्ट व्यवस्था मान्ने ? यी र यस्तै प्रश्न र आक्रोसहरु तमाम जनताहरुको घर-आँगन र देश -विदेशमा बस्ने नेपालीहरुको रहेको छ । यती हुँदा पनि नेताहरुको चेत/होश खुलेको छैन । भारतले विना कसुर त्यती लामो समय आर्थिक नाकावन्दीबाट नेपालको अर्थतन्त्रलाई तहसनहस पारि दियो । लाखौ नेपाली दशकौ देखि भारतको सेवा गरिरहेका छन्, चाहे गोर्खाली पल्टनमा सेना भएर रगत र पसिना बगाएर होस् वा चाहे भारतिय कम्पनीहरुमा चौकीदार र वाचमेन भएर होस् वा निजी होटल र रेष्टुरेन्टमा काम गरेर होस् अनेक तवरबाट ज्यानको बाजी लगाएर काम गरिरहेका छन् । बेलायतले भारतमा शासन गरे देखे अहिले सम्म नेपालीहरुको धेरै रगत र पसिना भारतमा बगिरहेको छ त्यसको बदला भारतले दिनका दिन नेपाललाई लुटिरहेको छ । सिमा लुटेको छ, नदी-नाला लुटि सक्यो, लाखौ भारतियलाई नेपाली नागरिकता लिन सफल बनाएर नेपालको तराईलाई नेपालबाट अलग बनाएर लैजाने दाउमा तराईमा आन्दोलनको नाउँमा वितण्डा मच्चाएको छ । उसकै ग्राईण्ड डिजाईनमा तराईका विभिन्न राजनितिक पार्टीका नेताहरु विभिन्न अधिकार प्राप्तीको नाममा जनता भड्काउन लागी परेका छन् । तर हामी भारतले दुई चार वटा एम्बुलेन्स, दुई चार वटा स्कुल भवन र दुई चार अरव पैसा सहयोग गरेको देख्दैमा ताली पिटिरहेका छौ ।
यस्तै प्रवृती रहने हो र भारत लगायत अन्य देशहरुसँग निश्चित अडानको साथ निर्धक्क देशको सार्भभौमसत्ता जोगाउन र देशको अस्तित्व स्थापित गर्न नलाग्ने हो भने निकट भविष्यमा नै नेपाल विश्व मानचित्रबाट हराउन नसक्ला भन्न सकिदैन । अत: यस तर्फ सबै जनता सतर्क हुनै पर्छ र अहिलेका राजनैतिक दलहरु सुध्रिन नसके अन्य वैकल्पिक बाटो अपनाएर भएपनि नेपाल र नेपालीको अस्तित्व जोगाउनै पर्ने हुन्छ।
हाम्रो देश अथाह प्राकृतिक सौन्दार्यता र प्राकृतिक साधनहरुले भरिपुर्ण देश हो । नेपाल जलस्रोतको धनि देश, आकर्षक हिमाल, पहाड, नदीनाला, ताल, झरना, वनजंगल, सांस्कृतिक धरोहर,अनेकन खनिज पदार्थ र जागिरला युवाशक्ती भएको देश हो । यी सबै खाले प्राकृतिक स्रोत, सम्पदा, मानव संसाधनलाई उपयोग गर्न सके देशलाई विकास गर्न र जनताको जिवनस्तर उकास्न लामो समय कुर्नु पर्दैन । सबैले भन्दै आएको लगानीको समस्या छ नेपालमा भन्ने कुरा केही हदसम्म सत्य भएपनि पुर्ण सत्य भने हुन सक्दैन किनकी सरकारले उदार अर्थनिती र वैदेशिक लगानीलाई संरक्षण गर्ने नीति-नियम निर्माण गरि कार्यान्वयन गर्ने हो भने विदेशमा बस्ने व्यवसायिक क्षेत्रमा आवद्ध नेपाली र विकसित देशका लगानी कर्ताहरुको ओहिरो नै लाग्न सक्छ । हामी धेरै टाढा जानु पर्दैन चीनले खुल्ला अर्थनिती लिएर विदेशी लगानी र विस्व बजारमा आफ्नो वस्तु तथा सेवाको प्रवेश बाट छोटो समयमै अमेरिका जस्तो शक्तीशाली देशलाई समेत झण्डै आर्थिक विकास र प्राविधिक विकासमा उछिनेर अगाडी बढ्न थालिरहेको छ ।
एशियाली मुलुकहरु जस्तै मलेसिया, दक्षिण कोरिया, कतार, दुवई लगायतका मुलुकहरुले पनि छोटो समयमा द्रुत आर्थिक विकास गरिरहेको देखिरहेका छौ । तसर्थ दृढ़ संकल्प र दुरदर्शी एवं लोभी-पापी नहुने नेताहरु हुन सक्ने हो भने देशको समग्र आर्थिक विकास हुन सक्छ । केवल देशको धरातलिय अवस्था र वर्तमान परिस्थितीलाई आधार बनाएर नेपालको विकास गर्न कठिन छ भन्नु, मात्र ईच्छा शक्ती र साहसको कमीले गर्दा हो । अन्यथा स्वीजरल्याण्ड जस्ता धेरै मुलुकहरु पहाडी र भुपरिवेष्ठित मुलुक भएर पनि विकसित मुलुक बनेका छन् । तसर्थ देशको भौगोलिक अवस्थालाई दोष नदिईकन त्यसबाट के कति लाभ लिन सकिन्छ त्यसमा विचार गरेर अनेकन विकासका कदम अवलम्वन गर्न सकिन्छ ।
नेपालमा सबैभन्दा राम्रो संभावना भनेकै टुरिजमको राम्रो विकास गरेर सजिलै विदेशी मुद्रा आर्जन गर्न सकिन्छ र त्यसबाट आवस्यक कलकारखाना, उद्योगधन्दा स्थापना र संचालन हुन सक्छ जसबाट लाखौ युवाहरुले प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी पाउन सक्छन् र नेपालबाट उत्पादित वस्तु तथा सेवा विश्व बजारमा निर्यात गरि थप आय आर्जन गर्न सकिन्छ। यसर्थ नेपालमा विकास गर्ने सबै खाले आधार हुँदाहुँदै पनि कुनै निश्चित जालोमा सबै राजनैतिक नेतृत्व वर्ग, कर्मचारीतन्त्र, नीति निर्माताहरु फसेको कारणलेनै देशले निकास र विकास पाउन सकिरहेको छैन । अव यस तर्फ सबै तह र तप्काबाट ध्यान दिनु जरुरी छ । हामी नेपालीहरुको ठुलो कमजोरी भनेकोकै आफ्नो आस्था रहेको राजनैतिक दलले गर्ने कमिकमजोरीमा बोल्न र औला ठड्याउन वा विरोध गर्न नसक्नु एवं नेतृत्वमाथि बढी भरोसा र अन्धभक्त रहनु नै हो ।
यस्तो प्रवृतीबाट नै नेपालका तमाम पार्टीका नेताहरुले जनतालाई गुमराहमा राखेर आफ्नो व्यक्तिगत स्वार्थमा जे पनि गर्न तयार रहे र उनीहरुले आफु एवं आफ्ना सन्तती, नातापाताबाहेक जनताहरुको समस्या र अभावमा कुनै चासो र समाधानको प्रयास गर्नै चाहेनन् । यसको ज्वलन्त उदाहरण त भूकम्पपछिको दिनमा भए, गरेका कामहरु र अहिले उनीहरु (भुकम्पपीडित वर्ग) को समस्या र पीडा अनि राज्यबाट देखाईएका वेवास्ताहरु नै काफी छ । यतिका धेरै विदेशबाट सहयोग र सद्भाव पाउँदा समेत ती पीडित वर्गले समयमै सामान्य ओत, भोटो र रोटो, औषधीमुलो नपाउनु कति सम्म राज्यको लज्जास्पद र निर्लज्ज काम होला । एक बर्षसम्म कानमा ठेडी कोचेर बस्ने, भाषणमा आकाशको चन्द्रमा धर्तिमै झारेर ल्याउने जस्ता मिठा र जोसिला कुरा गरेर कुनै अर्थ एवं उपलब्धी हुन सक्दैन ।
नेतृत्वमा हुनेले चर्को भाषण भन्दा पनि सुदृढ नेतृत्व क्षमता र ‘बोल्ड डिसिजन पावर’ हुनु आवस्यक छ । राम्रो कामको लागी कही कतैबाट विरोध र अवरोध आए पनि हिम्मतका साथ अघि बढ्न सक्ने आँट, साहस र लगाव हुनै पर्छ तर अहिलेको सरकारको पनि यस विषयमा निकै कमजोरी देखिएको छ । केही कतै सामान्य राम्रा कामहरु भए होलान् तर यस्ता कामहरु सत्ताको बागडोर सम्हाल्दा हुनु त्यति नौलो कुरा र ठूलो उपलब्धि हैन । जुन कामबाट जनताका तत्कालिन सरोकार र आवस्यकता सम्बोधन हुन सकेमा र दीर्घकालसम्म फाईदा दिन सक्ने योजनाहरु तर्जुमा र कार्यान्वयन हुने काम अगाडी बढ्न सकेमा, देशमा सुशासन र भ्रष्टाचारमा शुन्य सहनशीलता कायम हुन सकेमा र जनताको प्रतिव्यक्ति आय एवं जिवनस्तर सुधार हुन सकेमात्र त्यस्तो काम गर्न अभिप्रेरित सरकार र नेतृत्व पंक्तिलाई नै सबैले हार्दिकतापूर्वक स्वागत र प्रसंशा गर्दै अझै अघि बढ्न सहयोग एवं साथ दिनु सबैको कर्तव्य हुन आउँछ तर त्यस्तो किसिमको नौलो आयाम थप्ने काममा वर्तमान सरकार पनि अघि बढेको महसुस पटक्कै गर्न सकिएकाे छैन ।
अत: यो नयाँ बर्षमा आम नागरिक र नेतृत्व गर्ने नेताहरुको सवुद्धि पलाउन सकोस् । जनताको अभाव, पीडा र समस्यालाई सही रुपमा आत्मसात गरेर उचित तवरबाट समाधान गर्ने प्रयास अविलम्ब थालियोस् । विदेशीहरुको ईशारामा हैन की आफ्नो अन्तरआत्माबाट देशको वास्तविक धरातलमा टेकेर वास्तविक राष्ट्र हितका निर्णयहरु हुन सकुन । भाषणले जनताहरुलाई सपना बाँढ्नु भन्दा वास्तविक फिल्डमै काम गरेर देखाउने प्रवृतीको विकास हुन सकोस् । कम्तीमा ५ बर्ष सत्तामा पुग्नेलाई काम गर्न दिने वातावरण राजनितिक दलले सृजना गर्न सकून्।
राजनैतिक दल आपसी दुस्मनको रुपमा हैन की मित्रवत व्यवहार र सहकार्यबाट मुलुक निर्माणको महायज्ञमा समाहित हुन सकून् । भ्रष्टहरुलाई कडा कानुनी दायरामा ल्याएर कार्वाही गरियोस् र त्यस्ता आरोपित व्यक्ति अनि भ्रष्टाचारमा अपराधी घोषणा भई जेल सजायँ पाएकालाई सदाका लागि राजनीतिक नेतृत्वबाट मुक्त पार्ने पद्दतीको विकास होस् । खुमे, गोविन्दे र खुर्सानी माईला (चिरंजिवी) हरु जस्ता भ्रष्टाचारीहरु फेरि नेतृत्व सम्हालेर सत्तामा पुगी देश लुट्ने प्रयासहरु रोक्न जनता सफल बनून् । सबैको सहकार्य र सहअस्तित्वबाट नेपाल विश्वमै उत्कृष्ट मुलुक बन्ने अभियान अघि बढ्न सकोस् भन्दै सबैमा नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना छ ।
(हाल बाल्टिमोर मेरिल्याण्ड, अमेरिका)
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment