८ फागुन, जाजरकोट । बहुविवाहको आरोपमा जेल सजाय भोग्दै आएका आफ्ना अभिभावकसँग सात महिनाकी नाबालिकाले जेलभित्र बस्नुपर्ने अवस्था आएको छ ।
भेरी मालिका नगरपालिका–११ कुदुकी सात महिनाकी नाबालिका विन्दु सुनारलाई जेलभित्र बस्नुपर्ने अवस्था आएको हो ।
बहुविवाहको मुद्दामा उनका बुबा टेकेन्द्र सुनार र आमा लक्ष्मी सुनारले जेलको सजाय पाएपछि आमासँगै विन्दुलाई जेलमै बस्नुपर्ने स्थिति सिर्जना भएको छ ।
सदरमुकाम खलङ्गा नजिकैको कुदु गाउँका टेकेन्द्र र लक्ष्मीले बहुविवाह गरेको अभियोगमा जेल सजाय पाउने भएका छन् ।
घरमा श्रीमती हुँदाहुँदै कान्छी बिहे गरेको भन्दै टेकेन्द्रकी जेठी श्रीमती काली सुनारले बहुविवाहको मुद्दा हालेपछि दुवैले अदालतको फैसलाबाट जेल सजाय पाएका हुन् ।
टेकेन्द्रलाई जिल्ला कारागार जाजरकोटमा राखिएको छ भने लक्ष्मीलाई प्रहरी कार्यालयकै हिरासतमा रखिएको छ ।
नाबालिकासहित लक्ष्मीलाई भोलि नै बर्दिया जिल्ला कारागारमा पठाउन लागिएको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।
अदालतले टेकेन्द्रलाइ १४ महिनाको र लक्ष्मीलाई ११ महिनाको जेल सजाय सुनाएपनि विशेष छुट भन्दै टेकेन्द्रले ११ महिना र लक्ष्मीले नौ महिनाको जेल जीवन बिताउनुपर्ने भएको छ ।
सामान्य परिवारकी लक्ष्मीले डेढ वर्षअघि टेकेन्द्रसँग प्रेम गरी भागी विवाह गरेकी थिइन् । घरमा स्याहार गरिदिने कोही पनि नभएपछि आमाको दूध खाइरहेकी विन्दुलाई आफूसँगै राख्नुपरेको लक्ष्मीको भनाइ छ ।
जता आमा उतै विन्दुको बसाइँ छ । जिल्लामा बहुविवाहका घटना धेरै भए पनि त्यति उजुरी नपर्ने जाजरकोटमा अधिकांश घटना लापर्वाही र जनचेतनाको अभावमा बाहिर नआउने गरेको महिला तथा बालबालिका कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्लामा खुल्ला समाज र बहुविवाह गरे पनि के हुन्छ भन्ने गलत सोचका कारण बहुविवाह धेरै हुने र उजुरी नपर्ने गरेको पाइएको छ ।
बहुविवाह र बालविवाहका कारण समाजमा विकृति गम्भीररुपले बढे पनि कानुन कार्यान्वयन गर्ने र पीडित पक्षले बेवास्ता गरेका कारण समस्या परेको अधिकारकर्मी दिनेशकुमार श्रेष्ठले बताए ।
आफू पीडित भएको कुरा बाहिर भन्न नसक्ने र सरोकारवालाले पनि चासो नदिने गरेका कारण बालविवाह र बहुविवाहका घटना बढ्दोरुपमा रहेको श्रेष्ठको भनाइ छ ।
बहुविवाह गर्नेलाई नेपालको मुलुकी ऐनसम्बन्धी कानुनले एक वर्षदेखि तीन वर्षसम्म जेल सजाय अथवा रु पाँच हजारदेखि २५ हजार जरिवाना वा दुवै सजाय गर्नसक्ने व्यवस्था गरेको छ । रासस
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment