चितवन, ११ साउन– चितवनको रत्ननगरमा सोमबार बिहान ट्रकमा आगजनी गरेको आरोपमा पक्राउ परेका नेकपा माओवादी (विप्लव) का दुई कार्यकर्ताविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।
उनीहरुविरुद्ध सोमबार मुलुकी ऐन आगजनीको महलअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला अदालत चितवनबाट म्याद थप गरिएको चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।
तीनजना पक्राउ परेकामध्ये दुईजना विरुद्ध मुद्दा दर्ता भएको र एक जनाको संलग्नता नदेखिएको पाइएकाले अनुसन्धान पछि छाडिने उनले बताए ।
यसरी म्याद थप गरिएकामा विप्लव माओेवादीको चितवन जिल्ला सदस्य रमेश लामिछाने र कार्यकर्ता डायमण्ड तामाङ रहेका छन् । उनीहरुलाई रत्ननगरबाट पक्राउ गरिएको थियो ।
यस्तै, माडीबाट पक्राउ परेकी हरिमाया महतोलाई भने अनुसन्धानपछि छाडिने प्रहरीले जनाएको छ । सोमबार बिहान रत्ननगरको निपनी चोकमा औषधि बोकेर काठमाण्डु जाँदै गरेको ना ५ ख ७४३२ नम्बरको ट्रकमा आगजनी भएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
from Nepal123.com - बन्द सफल पार्न ट्रक जलाउने विप्लवका दुई कार्यकर्ताविरुद्ध मुद्धा
No comments:
Post a Comment