काठमाडौं, ११ साउन । सामाजिक अभियन्ता महावीर पुन बिहीबार दिउँसोसम्म पोखरामा थिए, लाइन्स क्लबका स्वयंसेवीमाझ । बेलुका ठमेलस्थित नेपाल कनेक्सन सेन्टरमा भेट गर्न पुग्दा भिन्न विचाररदृष्टि लिएर परामर्शमा आएका युवायुवतीमाझ उनी थिए ।
आजको कान्तिपुर दैनिकमा खबर छ – ‘मैले फेसबुकमार्फत राष्ट्र निर्माण संकल्पको एउटा योजना बाहिर ल्याएको मात्रै थिएँ,’ झोला बिसाउँदै पुनले सुनाए, ‘नेपाल सरकारको ढोका कुर्न छाडेर देशप्रेमी नेपालीको ढोकामा पुग्दा पाएको प्रतिक्रिया साँच्चिकै उत्साहप्रद छ ।’ फेसबुक माध्यमबाट पुनले थालेको ‘स्वैच्छिक महादान’ अभियानमा दुई सातामै ५० लाख रुपैयाँ उठिसकेको छ ।
नेपाली जनशक्ति र साधनस्रोत जुटाएर राष्ट्रलाई आवश्यक प्रविधि देशभित्रै निर्माण गर्न तथा राष्ट्र विकासको बृहत् अभियानमा लाग्न पुनले ४ वर्षअघि स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्र अहिले चर्चामा छ । राज्यले नानाथरीका संघसंस्था र ‘भक्ति–केन्द्र’लाई करोडौं रुपैयाँ बाँडिरहेका बेला पुनजस्ता अभियन्ता भने निरन्तर ‘आश्वासन’मै झुलिरहनुपरेको छ । पुन आफैं भने कुनै प्रतिस्पर्धा वा तुलना गर्न चाहिरहेका छैनन् ।
म्याग्दीको नागी गाउँमा जन्मे–हुर्केका ६० वर्षे महावीर आफूले थालेको वायरलेस नेटवर्किङ प्रोजेक्ट वा नागी कनेक्सनजस्ता अभियानलाई अहिले ‘खुद्रामसिना काम’ भन्न थालेका छन् । ‘सिंगो देशकै लागि उपयोगी हुने गरी विज्ञान–प्रविधिको उपलब्धि देखाउन नसकुन्जेल राष्ट्रिय आविष्कार केन्द्रको कुनै अर्थ रहन्न,’ उनले भने, ‘आम संस्थाजस्तै होर्डिङबोर्ड मात्रै झुन्ड्याएर बस्नुको अर्थ छैन ।’
रोमन म्यागासेसे पुरस्कार विजेता तथा ‘अशोका फेलो’ पुनले म्याग्दी र पर्वतका गाउँघरमा ताररहित प्रविधिबाट टेलि–मेडिसिन, इको–टुरिजमका क्षेत्रमा ल्याएको परिवर्तन देश–दुनियाँका लागि सिकोको विषय बनेको छ । ‘मैले अबको चरणमा सिर्जनशील व्यक्तिलाई सहयोग गर्ने र नयाँनयाँ आविष्कार पहिल्याएर आवश्यकताअनुसारका चिजबिज उत्पादन गर्न खोजेको मात्रै हो,’ पुनले भने, ‘तत्कालै रकेट, हवाइजहाज बनाउन भनेर लागिपरेको होइन ।’
The post कठिनाइ आइरहे अनशनमा उत्रिने महाबीर पुनको चेतावनी appeared first on www.khabardabali.com.
from Nepal123.com - कठिनाइ आइरहे अनशनमा उत्रिने महाबीर पुनको चेतावनी
No comments:
Post a Comment