सिंहका सामु कोही नटिक्ने, देउवा पक्षले सबुजलाई सघाउने
५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा भीमसेनदास प्रधान र सबुज बानियाँको उम्मेदवारी परेको छ । तर, सबुज र भीमसेनलाई देखाएर पर्दा पछाडि भने संस्थापनपक्षकै दुई गुटको ‘प्रोक्सी वार’ हुँदैछ । यो ‘प्रोक्सी वार’मा एकातिर महामन्त्री प्रकाशमान सिंह छन् भने अर्कोतिर संस्थापन पक्षका धेरै नेता सहभागी छन् ।
कांग्रेस काठमाडौंको जिल्ला नेतृत्वमा संस्थापन पक्षकै दुई समूहवीच रस्साकसी हुँदैछ । तर, अर्को रोचक पक्ष के छ भने यसमा देउवा पक्षकोसमेत भित्री संलग्नता देखिएको छ । यही भित्री साँठगाँठका कारण देउवा पक्षले काठमाडौं जिल्ला सभापतिमा उम्मेद्वामरी नदिएको हो ।
भीमसेन दासलाई उभ्याएर प्रकाशमान सिंहलाई काउन्टर गर्न चाहने टीममा नरहरि आचार्य, गगन थापालगायतका नेताहरु छन् । उनीहरुले संस्थापनकै नजिक रहे पनि जिल्ला पार्टीभित्र प्रकाशमानविरुद्ध ‘शुद्धीकरण अभियान’ चलाइरहेका छन् ।
नरहरि अहिले न्यूरो अस्पतालमै छन् । अघिल्लो मंगलबार पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको निधन भएपछि कोइरालानिवास पुगेका आचार्य त्यहीँ अस्वस्थ भएका थिए । पूर्वमन्त्री समेत रहेका आचार्यको स्वास्थ्यमा क्रमिक सुधार भए पनि अझै बोली फुटेको छैन ।
त्यसैले अहिले काठमाडौं कांग्रेस सभापतिको चुनावलाई प्रकाशमान र गगनको ‘प्रोक्सी वार’ पनि भन्न सकिन्छ । उसो त महामन्त्री प्रकाशमानको विपक्षमा स रहेको समूहले यसलाई ‘मनी भर्सेज माइन्ड’का रुपमा समेत प्रस्तुत गरेको छ । उनीहरु सबुजलाई पैसावाल उम्मेदवार भन्छन् । वर्तमान सभापति एवं सांसद समेत रहेका प्रधान भने प्राध्यापक हुन् ।
काठमाडौं कांग्रेसमा वरिष्ठ नेता शेरबहादुर देउवा समूहले भने उम्मेदवारी नै दिएन । देउवा समूहले नरोत्तम बैद्यलाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, अन्तिममा उम्मेदवारी नै दर्ता गरेन ।
कांग्रेस काठमाडौं जिल्ला समिसितमा देउवा समूह निकै कमजोर मानिन्छ । झण्डै १३ सय मतदाता रहेको काठमाडौंमा देउवा समूह निर्णायक छैन । त्यसैले संस्थापन पक्ष आपसमा लड्दै आएका छन् ।
किन रोजे प्रकाशमानले सबुजलाई ?
संस्थापन पक्षका नेताहरुले काठमाडौंका पूर्वसभापतिसमेत रहेका महामन्त्री प्रकाशमानलाई साझा उम्मेदवार बनाउन आग्रह गरेका थिए । उनीहरुले सांसद राजन केसी, अर्का सांसद दीपक कुईंकेलदेखि धर्मराज गौतम लगायतको नाम अघि सारेका थिए ।
एक नेताका अनुसार प्रधानलाई केन्द्रमा लैजाने र क्षेत्र नं १० मा प्रचण्डलाई हराएर सांसद बनेका राजन केसीलाई काठमाडौंको सभापति बनाउने सम्भावना थियो । तर, महामन्त्री सिंहले सबुजलाई रोजे । एक नेताले अनलाइनखबरसँग भने, प्रकाशमान दाइसँग धेरै विकल्प थिए तर, उहाँले सबुजलाई नै रोजेपछि संस्थापन पक्ष आपसमै भिड्ने अवस्था आयो ।’
गोंगुब गाविस निवर्तमान अध्यक्ष सबुज जग्गा कारोबारी हुन् । जग्गा कारोबारमा कमाएको पैसाको बलमा प्रकाशमानको विश्वासपात्र बनेको प्रकाशमान इत्तरका नेताहरुको दाबी । उनीहरुले सबुजलाई ‘प्रकाशमानको स्पोन्सर’ समेत भन्ने गरेका छन् ।
तर, सबुज यो आरोप स्वीकार गर्दैनन् । ‘कसैलाई मन परेन र प्रतिस्पर्धा गर्न सकिएन भनेर यस्तो भनिएको हो । यो उनीहरुको खराव मानसिकताको उपज हो’ जिल्ला सभापतिका उम्मेवार सबुजले भने । तर, उनले आफू सिंह निकट भएको स्वीकार गरे ।
भीमसेनदास को हुन् ?
सबुजविरुद्ध उभिएका भीमसेनदास प्रधान भने प्राध्यापक हुन् । प्राध्यापक संघ हुँदै कांग्रेस काठमाडौंमा आएका उनी अघिल्लो पटक राजन केसीलाई हराएर काठमाडौं जिल्ला सभापति भएका थिए ।
प्रधानलाई गशेणमान सिंहको कर्मपुत्र समेत भन्ने गरिन्छ । प्रकाशमानले जग्गा कारोबारीलाई काठमाडौं सभापति बनाउन लागेको भन्दै नरहरि आचार्य, गगन थापा लगायतले निष्ठाको राजनीति गर्ने र बौद्धिक व्यक्तित्वका रुपमा प्रधानलाई नै दोहोर्याउन खोजेका हुन् ।
विपक्षीहरुले भने प्रधानमाथि पाँच वर्षे कार्यकालमा अपेक्षाअनुसार काम गर्न नसकेको बताउँछन् ।
देउवाको गोप्य साँठगाँठ
भीमसेनदास निकटवर्तीहरुका अनुसार शेरबहादुर देउवा समूहले काठमाडौंमा सघाउने सहमति भइसकेको थियो । स्रोतका अनुसार काठमाडौंमा देउवा समूहसँग ५ क्षेत्रीय सभापतिसहित करिब ५०/६० भोट छ ।
तर, देउवाका क्षेत्रीय सभापतिहरु एकाएक प्रकाशमानको पक्षमा उत्रिए । स्रोतका अनुसार उनीहरुले देउवालाई भेटेरै आफूहरु देउवासँगै प्रकाशमान सिंहको पनि मान्छे भएको भन्दै केन्द्र वा जिल्ला मध्ये एक रोज्न भने ।
योपटक जसरी पनि केन्द्रीय सभापति हुने दाउमा रहेका देउवाले सभापतिमा आफूलाई झण्डै ५०/६० भोट थपिने देखेपछि जिल्लाको दाबी छोडे । एक नेता भन्छन्, केन्द्रमा भोट पाउने सर्तमा देउवाले क्षेत्रीय सभापतिको आग्रहलाई रोक्न सक्नुभएन । र, उनीहरु देउवाकै सहमतिमा प्रकाशमान र सबुजतिर गएका छन् ।’
सिंहमाथि ‘पर्सनालिटी किलर’को आरोप
प्रकाशमान सिंह कांग्रेसको संस्थापन पक्षका प्रमुख नेतामध्ये एक हुन् । उनी गणेमानका पुत्र पनि हुन् । सुशील कोइरालाको निधनपछि संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बन्न रामचन्द्र पौडेल र कृष्ण सिटौलासँगै सिंह पनि दौडमा छन् । तर, सिंगो संस्थापनकै नेता बन्ने दौडमा रहेका सिंह काठमाडौंमा भने ‘पर्सनालिटी किलर’को भूमिका उभिएको आरोप समेत संस्थापन पक्षका नेताहरुले लगाएका छन् ।
‘लामो समयदेखि काठमाडौंमा राम्रा नेताहरु टिक्क सक्दैनन्, तिनीहरुलाई कि हराइन्छ, कि खेदिने गरेको छ’ स्रोत भन्छ- ‘यसका उदाहरण हुन्, मार्सल जुलुम शाक्य । कांग्रेसका पाका नेता शाक्य योपटक वडा तहमै पराजित भए । उनी हारेको भन्दा हराइएको हो भन्नेहरु धेरै छन् ।’
यस्ता नेताहरुको सूचीमा विश्वनाथ कर्मचार्य, श्यामलाल श्रेष्ठ, दामोदर गौतम लगायतको नाम आउँछ । पछिल्लो समय काठमाडौं कांग्रेसको सभापति भएका प्रकाशमान मात्रै माथिल्लो पदमा पुगेका छन् । अरुलाई कुनै न कुनै रुपमा पाखा लगाइएको छ ।
नवीन्द्रराज जोशी अहिले सांसद छन् । तर, उनलाई पनि कुनै समय यसरी नै लखेटिएको थियो । कृष्णप्रसाद भट्टराईले जोशीलाई मेयरको टिकट दिए । तर, प्रकाशमानले विरोध जुलुस निकाल्दै टिकट खोसेर मनमोहन भट्टराईलाई दिए । परिणामतः भट्टराई काठमाडौंको मेयरमा केशव स्थापितसँग पराजित भए ।
अहिले राजन केसीलाई सभापति बनाउन छाडेर सबुजलाई रोज्नुले पनि सिंहमाथि यो आरोप लागेको छ । ‘राजन केसी, भीमसेन दासहरु अगाडि आएपछि आफूलाई थ्रेट हुन्छ भन्ने लागेर होला, सिंहले ‘एस म्यान’ सबजुलाई रोज्नुभएको जस्तो देखिन्छ’ संस्थापनका एक नेता भन्छन्, होइन भने उहाँ किन संस्थापन पक्षमै सहमति खोज्नेतिर जानुभएन ?’
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment