ल्होसार मनाउने कार्यक्रममा नेपालीको ‘अन्तर्राष्ट्रिय बेइज्यत’
५ फागुन, कुवेत । रोजगारीका लागि विदेशमा रहेका नेपालीले गर्ने औपचारिक कार्यक्रममा विभिन्न गुनासा व्यक्त हुनु सामान्यजस्तै भएको छ । तर, शुक्रबार खाडी मुलुक कुवेतमा राजदूत प्रमुख अतिथि भएको कार्यक्रममा नेपालीहरु घरेलु हतियारसहित कुटाकुटमा उत्रिए ।
कुटाकुटको परिणामस्वरुप अब कुवेतमा नेपाली समुदायले कुनै पनि कार्यक्रम गर्न नपाउने गरी प्रतिबन्धसमेत लागेको छ ।
सोनाम ल्होसार मनाउन भन्दै कुवेतको फिनटास वेडिङ हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि थिए, कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमाल । तर, सदभावना आदान प्रदान गर्ने चाडपर्व मनाउने कार्यक्रममा सहभागी दुई समूहबीच एकाएक झडप सुरु भयो र घरेलु हतियारसमेत प्रहार हुन पुग्यो ।
ल्होसारको शुभकामना दिन पुगेका राजदूत र अतिथिहरु कार्यक्रम नै छाडेर भाग्नुपर्यो । भिडन्त रोक्न कुवेत सरकारका प्रहरीले बल प्रयोग नै गर्नुपर्यो ।
झडपपछि आयोजक तामाङ घेदुङका अध्यक्षसहित १० जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । तर, पक्राउ परेका आयोजक संस्थाका अध्यक्षसहितका नेपालीलाई पछि दूतावासकै अनुरोधमा छुटाइएको छ ।
नेपालीलाई कार्यक्रम गर्न प्रतिबन्ध
घटनापछि कुवेतस्थित नेपाली दूतावासले सूचना जारी गरेर नेपाली समुदायलाई कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गर्न रोक लगाएको छ । कुवेत सरकारको आग्रहमा दूतावासले यस्तो सूचना जारी गरेको हो ।
‘कार्यक्रमस्थलमा केही उच्शृंखल तत्वले घरेलु हतियारसहित सांघातिक हमला गरेकाले प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएका महामहिम राजदूतसहित सहभागीमा आतंक र असुरक्षाको वातावरण बन्न गयो,’ दूतावासले विज्ञप्तिमा भनेको छ, ‘यस घटनालाई दूतावासले अत्यन्त गम्भीर रुपमा लिएको छ ।’
विगतमा पनि विभिन्न कार्यक्रममा यस्तै घटना हुने गरेको र कुवेतको शान्ति सुरक्षामा खलल पुगेको भन्दै त्यहाँको सरकारले नेपाली कार्यक्रममाथि रोक लगाउन आग्रह गरेको दूतावासले जनाएको छ ।
कुवेत प्रशासनको आग्रहअनुसार नै दूतावासले आगामी दिनमा नेपाली समुदायलाई कुनै पनि कार्यक्रम आयोजना गर्न रोक लगाएको बताएको छ ।
‘यस अनुरोधलाई अटेर वा बेवास्ता गरी कुनै कार्यक्रम आयोजना गरेमा र कुनै अवाञ्छित घटना घटेमा कुवेतको कानुनअनुसार आयोजक नै जिम्मेवार हुनुपर्ने छ,’ दूतावासले भनेको छ ।
यस्तो अवस्था आएमा दूतावासले कुनै पनि सहयोग गर्न नसक्ने स्पष्ट पार्दै भनेको छ, ‘यस विषयमा दूतावासले सम्बद्ध अन्तर्राष्ट्रिय सन्धिबमोजिम कन्सुलर कार्यबाहेक अन्य केही पनि गर्न नमिल्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
कुवेत प्रशासनले पछिल्ला केही वर्षदेखि नेपालीका कार्यक्रममा हुँदै आएको भिडन्तप्रति दूतावासलाई पटकपटक सचेत गराउँदै आएको थियो । स्वयं राजदूत सहभागी कार्यक्रममा राजदूत नै असुरक्षित हुनेगरी भिडन्त भएपछि बाध्य भएर दूतावासले कार्यक्रम आयोजनामा रोक लगाउनुपरेको दूतावासले जनाएको छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment