मर्जर नीतिको प्रभुले गर्यो भरपुर उपयोग
पुष्प दुलाल
५ फागुन, काठमाडौं । फाइनान्स कम्पनीलाई विकास बैंक हुँदै वाणिज्य बैंकसम्म स्तरोन्नति गरी एक दशकमै बैंकिङ व्यवसायमा छलाङ मारेको छ, प्रभू समूहले । राष्ट्र बैंकको मर्जर नीतिको भरपुर उपयोग गर्दै छोटो अवधिमै बैंकिङ व्यवसायमा स्थापित हुन सफल भएको बैंकका अध्यक्ष देवीप्रकाश भट्टचन बताउँछन् ।
‘हामी ठूलो जोखिम लिएर मर्जरमा गएका थियौं, जोखिम लिने हिम्मत गरेकै कारण अहिले यो सफलता हात पारेका हौं,’ भट्टचनले अनलाइनखबरसँग भने ।
नौ वर्षअघि ३ करोड रुपैयाँ चुक्ता पुँजी राखेर प्रभु फाइनान्सबाट बैंकिङ व्यवसायमा प्रवेस गरेको यो समुहद्वारा प्रवर्द्धित प्रभु बैंकसँग हाल ५ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी छ । ०७७ सालमा १२ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने बैंकको लक्ष्य छ ।
०७७ सालसम्ममा बैंक सबै वित्तीय सूचकांकका आधारमा ‘टप टेन’मा पर्ने प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन बताउँछन् । अहिले पनि बैंक शाखा सञ्जाल, सेयरधनी, कर्मचारी संख्यालगायतमा पहिलो नम्बरको निजी बैंक हो भने नाफामा ‘टप टेन’भित्रै छ ।
विकास बैंकले पनि वाणिज्य बैंकलाई गाभेर आफ्नै ब्राण्डमा सञ्चालन गर्न सक्छ भन्ने यो समुहले प्रमाणित गरेर देखाइसकेको छ ।
तत्कालीन प्रभु विकास बैंकले तत्कालीन किष्ट बैंकसहित अन्य तीन विकास बैंकलाई गाभेर ०७१ भदौ ३० गतेदेखि प्रभु बैंककोरुपमा कारोबार सुरु गर्यो । विकास बैंकले वाणिज्य बैंक गाभेर आफ्नै नाममा सञ्चालन गरेको यो पहिलो नेपाली घटना हो । बैंकले खारेजीमा गएको नेपाल विकास बैंक पनि किनिसकेको छ ।
त्यसो त, फाइनान्सबाट विकास बैंकमा स्तरोन्ति हुँदा एक विकास बैंक र एक फाइनान्स कम्पनीलाई पनि गाभेको थियो । गत शुक्रबारमात्रै अर्को वाणिज्य बैंक ग्राण्ड बैंकलाई गाभेर प्रभुकै नाममा एकीकृत कारोबार सुरु गरेको छ । योसहित प्रभुले आठ वटा संस्थालाई गाभिसकेको छ ।
यस्तो छ, पाँच वर्षे रणनीति
भट्टचनले बैंकका सेयरधनीमाझ बैंकको आगामी पाँच वर्षे रणनीति सार्वजानिक गरिसकेका छन् । जसअनुसार ०७७ सालमा बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २५ अर्ब रुपैयाँ कर्जा विस्तार गर्ने लक्ष्य राखिएको छ । हाल बैंकले ५१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
व्यवसायको आकार बढेसँगै बैंकको नाफा पनि बढ्ने अपेक्षा गरिएको छ । ०७७ असार मसान्तमा बैंकले ३ अर्ब ५९ करोड रुपैयाँ खुद नाफा कमाउने भट्टचनले सार्वजानिक गरेको रणनीतिमा उल्लेख छ ।
०७७ भित्र बैंकको चुक्ता पुँजी १२ अर्ब र सञ्जित कोषहित बैंकको कोर क्यापिटल भने १६ अर्ब पुर्याउने लक्ष्य छ । नियामक राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार ०७४ असार मसान्तसम्ममा बैंकले न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने छ । ग्राण्ड बैंकलाई गाभेपछि यो बैंकको चुक्ता पुँजी ५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । सञ्चालक समितिले प्रस्ताब गरेको हकप्रद सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब ६ रुपैयाँ पुग्ने छ ।
पुँजीको आकार ठूलो हुने भएकाले पाँच वर्षपछि बैंकले लगानीकर्ताको लगानीमाथि दिने प्रतिफल अहिलेको तुलनामा कम हुने बैंकको प्रक्षेपण छ । अहिले २७.५७ प्रतिशत रहेको रिटर्न अफ इक्वीटी ०७७ असार मसान्तमा २२.२१ प्रतिशत हुने बैंकको लक्ष्य छ ।
सूचकांक | ०७१/०७२ | ०७२/०७३ | ०७३/०७४ | ०७४/०७५ | ०७५/०७६ | ०७६/०७७ |
---|---|---|---|---|---|---|
कोर क्यापिटल | ३ अर्ब ४१ करोड | ६ अर्ब ७ करोड | १० अर्ब | ११ अर्ब ७६ करोड | १३ अर्ब ६९ करोड | १६ अर्ब ३ करोड |
निक्षेप | ४२ अर्ब १३ करोड | ६५ अर्ब | ८५ अर्ब | १ खर्ब ५ अर्ब | १ खर्ब २५ अर्ब | १ खर्ब ४५ अर्ब |
कर्जा | २९ अर्ब ६८ करोड | ५३ अर्ब | ७२ अर्ब | ८९ अर्ब | १ खर्ब ६ अर्ब | १ खर्ब २५ अर्ब |
खराब कर्जा (%मा) | ७.३३ | ६.०५ | ४.११ | ३.०४ | २.८४ | २.६३ |
पुँजी पर्याप्तता अनुपात (%मा) | १०.६१ | ११.८० | १३.८५ | १३.५२ | १३.४५ | १३.५२ |
खुद व्याज आम्दानी | १ अर्ब ५४ करोड | २ अर्ब ६४ करोड | ३ अर्ब ६३ करोड | ४ अर्ब ८३ करोड | ५ अर्ब ८० करोड | ६ अर्ब ८९ करोड |
गैरव्याज आम्दानी | ३५ करोड | ५२ करोड | ६० करोड | ६५ करोड | ७१ करोड | ७७ करोड |
खुद नाफा | १ अर्ब १ करोड | १ अर्ब ७४ करोड | १ अर्ब ९५ करोड | २ अर्ब ६६ करोड | २ अर्ब ९२ करोड | ३ अर्ब ५९ करोड |
रिटर्न अन इक्विटी (%मा) | २७.५७ | २६.०० | १९.३ | २२.५० | २१.२५ | २२.२१ |
स्प्रेड दर (%मा) | ४.८४ | ४.७१ | ४.४१ | ४.७५ | ४.७९ | ४.७७ |
अझै पनि मर्जर र एक्वायर नै प्राथमिकता
नेपालजस्तो देशमा मर्जरको सफल अभ्यास स्थापित गर्न चुनौति भए पनि प्रभु समूहले मर्जरबाट नै छोटो समयमा केही गर्न सकिन्छ भनेर देखाउन सफल भएको बैंकका सीइओ शेरचनले बताए ।
‘जोखिम लिएकै कारण छोटो समयमै उल्लेख्य प्रगति हासिल गर्न सफल भएका हौं’ उनले भने- ‘अझै पनि मर्जर र एक्वायरलाई पनि प्राथमिकताका साथ लगिने छ ।’
हकप्रद र बोनस सेयरबाट बैंकले राष्ट्र बैंकले तोकेको समयमा चुक्ता पुँजी बढाउने र त्यसपछि पनि वाषिर्क १० प्रतिशतका दरले बोनस सेयर दिएर पुँजी बढाउने शेरचनले बताए । तर, अब प्रभुले वित्तीय अवस्था नराम्रो भएका संस्थाहरुसँग मर्जरमा नजाने उनले बताए ।
विग्रेका संस्था नगाभ्ने
पुँजीको आधार भएका र मर्जर वा एक्वायरपछि केही ‘भ्यालु एड’ हुने संस्था प्रभुको रोजाइमा पर्ने शेरचनले बताए । ‘पुँजी बढेपछि मात्रै व्यापार बढाउन पाइन्छ र बैंकहरुका लागि अबको चुनौति पनि यही हो । त्यसैले हामी पुँजीको आधार बलियो भएका संस्थाहरु रोज्छौं । किष्ट र ग्राण्डजस्ता नेगेटिभ संस्थाहरु ऋब हामी किन्दैनौं,’ उनी भन्छन् ।
खराब ऋण उठाउन सक्छौं भन्ने हिम्मतले नै किष्ट र ग्राण्डलगायतका संस्थामा हात हालेको उनले बताए । ग्राहकलाई सकारात्मक बाटोबाट एप्रोच गएर अहिले ऋण तिर्दा हुने फाइदा र पछि ऋण तिर्दा हुने बेफाइदाको बारेमा बुझाउन सफल भएकाले रिकोभरी गर्न सफल भएको उनले सुनाए ।
‘किष्ट र ग्राण्डलगायत हामीसँग गाभिएका संस्थाहरुको वित्तीय अवस्था नराम्रो थियो । हामीलाई त्यसको व्यवस्थापन गरी सही ट्रयाकमा ल्याउन अझै केही वर्ष लाग्छ,’ शेरचनले भने ।
अरुसँग प्रभुको प्रतिस्पर्धा हुँदैन
अन्य बैंक तथा वित्तीय संस्थाहरुलाई प्रभु बैंक प्रतिस्पर्धी नभएको सोच्न बैंकका अध्यक्ष भट्टचनको आग्रह छ ।
‘हामीले कसैलाई पनि प्रतिस्पर्धी संस्था ठानेका छैनौं र हामीलाई पनि अरुले प्रतिस्पर्धी नसोचुन्’ उनले भने- ‘अहिले प्रभु बैंकको कूल निक्षेपभन्दा बढी त प्रभु मनी ट्रान्सफरबाट रेमिट्यान्स भित्र्याइरहेका छौं ।’
कर्मचारीको वृत्ति विकास नै मूख्य चुनौति
सीइओ शेरचनका अनुसार कर्मचारीको वृद्धि विकास नै मुख्य चुनौति हो । कर्मचारीले आफूलाई कसरी समय अनुसार विकास गर्न सक्छ । क्षमता, ज्ञान, आत्म विश्वासको विकासले छोटो समयमा नै धेरैठूलो परिवर्तन ल्याउन सक्छ ।
सीइओ शेरचनका अनुसार बैंकलाई बिजनेस ल्याउने खासै चुनौति छैन । कर्मचारीहरु सक्रिय भइदिए भने रिकोभरिमा समस्या आउँदैन । किनभने ती खराब ऋणीको सूचनाहरु कर्मचारीहरुसँग जति हुन्छ, त्यति सूचना उच्च व्यवस्थापनसँग हुँदैन ।
‘पाँच वर्षमा ९० अर्ब रुपैयाँ निक्षेप बढाउनुपर्ने हुन्छ, जुन वर्षमा १८ अर्ब रुपैयाँले बढाउनुपर्ने देखिन्छ, अहिलको अवस्थामा यो वृद्धि हासिल गर्न अप्ठ्यारो छैन,’ उनले भने ।
अबका पाँच वर्ष आन्तरिक व्यवस्थापन मै जोड दिइने उनले सुनाए । शेरचनका अनुसार कर्मचारीहरु काम गर्न तयार छन् कि छैन्न भन्ने कुरा बुझेर क्षमताअनुसारको दिइने छ । ‘शैक्षिक योग्यता राम्रो छ र काम गर्ने मनस्थिति छ भने जुनसुकै संस्कारबाट आएका कर्मचारीको व्यवस्थापन गर्न पनि समस्या हुँदैन,’ उनले भने ।
तर, यस्ता विशेषता नभएका कर्मचारीको व्यवस्थापन गर्न अलि कठिन भएपनि समस्या नहुने उनले बताए । ‘हामीसँग यतिधेरै शाखा छन्, यति धेरै काम छन कि हामीले ती सबैखाले मान्छेलाई काममा लगाउन सक्छौं,’ उनले भने- त्यसैले पनि मर्जपछि कर्मचारी व्यवस्थापनको विषयलाई लिएर हामीकहाँ समस्या भएन ।’
अब कर्मचारी बढ्दैनन्
हाल बैंकमा १३ सय कर्मचारी छन् । अटोमेसन बढ्दै जाँदा जनशक्तिको काम घट्दै जाने भएकाले पाँच वर्षपछि कर्मचारीहरु घट्न सक्ने शेरचनले बताए ।
‘मोवाइल बैंकिङ, शाखारहित बैंकिङ बढ्दै जाँदा शाखाहरुको संख्या घट्दै जाने र कर्मचारीहरु पनि कटौति गर्दै जानुपर्छ’ उनले भने । तर, तत्कालै शाखारहित बैंकिङमा नजाने उनले सुनाए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment