अनिता खड्का
कयौं पटक आकाश छुने कल्पना गरे कयौं पटक स्वर्णीम सपनाका महलहरू उने जहाँ म, मेरो प्रेम अनि सुन्दर परिवार हुन्थ्यो। आखिर सपना त सपना न हो। ब्युँझिदा केवल शुन्यता। भन्छन्–सपना त केवल रातमात्रै देखिन्छ तर मैले त दिउँसै सपनाहरू बुन्थे उसको उपस्थितिमा।
जमल नजिकै सानो कोठा भाडामा लिएर बसेका थियौ। बुबाको मृत्यु म सानो छदा भएपछि मेरो आमाले मलाई र सानो भाइलाई लिएर काठमाडौं आउँदा म केवल ८ वर्षकी थिए। मेरी आमाले सानो भाइलाई काखमा च्यापेर घर बनाउने ठाउँमा ढुङ्गा र गिटीसंग आफूलाई मार्दै हाम्रा लागि छाक टारेको परिस्थतिले मेरो आँखालाई सहन नसकने बनाउँथ्यो। कोठाको भाडा समेत तिर्न नसक्दा घरबेटीले कोठामा साँचो लगाइदिएर तथानाम गाली गेरेको सुन्दा मेरो बाल मस्तिष्कमा हुनुसम्मको पीडा हुन्थ्यो।
राजधानी ठूलाठूला घर अनि चिल्ला गाडीहरू, मेरो उमेरका मेरै कोठा छेउकै साथीहरू पढ्न स्कुल जाँदा आफूलाई भने आमासंगै काममा जानु पर्थ्यो। धेरै पटक रहर लागेर स्कुल जाँदा गेटपालेले स्कुलभित्र छिर्न नदिँदा आमाको काखमा आफ्नो टाउको राखेर खुब रोएँ। विचरा! मेरी आमा साहुको डरले म रूदासमेत आफ्नो मायाको आँचलमा मलाई बेर्न सक्दिन्थिन्। अभावको जीवनमा गरिबीलाई बुझ्दै थिए म। मेरा कलिला हातहरू ढुङ्गा र गिटीसंगै कडा भइसकेका थिए र शरीर पनि उमेरसँगै विकास हुँदै थियो। म किशोरावस्थामा पुग्दा रविनको प्रेममा परेको पत्तै पाइनँ। ऊ मलाई गरिबी र अभाबको दुनियाँबाट विलासिताको कल्पनामा पुर्याउँथ्यो। म पनि उसले देखाएका सपनामा पौडिन्थे। ऊ मलाई ढुंङ्गा र गिटीको मेरो संसारबाट महलकी रानी बनाउँथ्यो। ऊसंग बिताएका हरेक पलहरूमा कल्पनामै भएपनि म आफूलाई खुशी र आन्नदित भएको महसुस गर्थे। एकदिन उसले मलाई बिहेको प्रस्ताब राख्यो र भागौं भन्यो। आमालाई यो कुरा भन्न पनि सकिनँ तर म भागें। मलाई विश्वास थियो ऊ मलाई देखाएका सपनाहरूलाई साकार रूप दिन्छ।
उसले मलाई भद्रकाली मन्दिरमा लगेर सिन्दुर हाल्यो, न कुनै जन्ती न कुनै भोज। पहिलो पटक यस्तो बिहे आफ्नै देखें। बिहेपछि आफ्नो घर लग्ला भनेको त फेरि भाडाको कोठामा पुर्यायो। त्यही पनि उसलाई पाएकोमा धेरै खुशी थिए। ऊ दिउँसभरि काममा जान्थ्यो म कोठामा उसका लागि खाना बनाएर कुरेर बस्थें। ति दिनहरूमा मेरा हातहरूले विश्राम पाएका थिए। एउटा अनौठो दुनियाँ जहाँ प्रेम थियो जुन प्रेम मैले मेरो जीवनमा कहिले अनुभुति गरिनँ। सायद यस्तै प्रेमको प्रतिक्षामा थियो मेरो जीवन। रविनले मलाई उसले बनाएको सपनाको महलमा रानी बनाएर राखेको थियो।
कयौं पटक उसलाई उसको परिवारसंग भेटाऊ भनेर बिन्ति चढाएँ तर उसले कहिल्यै मानेन। तिमीलाई मेरो परिवारले स्वीकारदैन म तिमीलाई उनीहरूबाट अपमानित बनाउन चाहन्न। उसले यसरी सम्झाउँथ्यो कि उसलाई जबरजस्ती गर्न मनैले मान्दैन्थ्यो।
बित्दै थियो मेरो प्रेममय जीवन म अब आमा बन्दै थिए अनि ऊ बाउ। हुन पनि त हो एउटी नारीलाई आमा बन्दा किन खुशी नहोस्। मेरी आमा र मेरो भाइपनि एकदमै खुशी थिए। अब त भाइले पनि फोहर बटुल्ने काम गर्न सक्ने भएको थियो। आमालाई अलि सजिलो भएको थियो।
मेरो बच्चा हुने दिन नजिकिँदै थियो तर रविनको व्यवहारमा एकाएक बदलाब आइरहेको थियो। ऊ मलाई पहिला जस्तो प्रेम गर्न छोडिसकेको थियो। म अब उसले देखाएको सपनाको महलबाट बाहिरिसकेकी थिए। ऊ मसँग सधै झगडा गर्थ्यो। म प्रसबको पीडामा छट्पटाइ रहँदा पनि ऊ घर आएन। मेरी आमाले थापाथली हस्पिटल पुर्याइन र मैले छोरीलाई जन्मदिए। ऊ हाम्रो प्रेमको सौगात हाम्रो छोरीलाई भेट्न हतारिएर आउँछ भन्ने मनमा सपना सजाएर बसे तर ऊ आएन। मेरी आमाले मलाई स्याहारिन्, यता मन अझै उसको प्रतिक्षामा थियो। मेरो छोरी मेरो प्राण थिइन् जन्मदा साथ उसले निकालेको रूद्र आवाजले पुरै प्रसबको पीडा अन्त्य गरेको थियो। एउटी आमालाई उसको बच्चा कति प्यारो हुन्छ पहिलो पटक अनुभुति गरेकी थिएँ।
रविन प्रन्ध दिनपछि कोठामा आयो मेरो खुशीको कुनै सीमा नै थिएन हतारिएर सुतेकी छोरीलाई हातमा राख्दै उसलाई देखाएँ। उसलाई बाऊ बन्नुको कुनै अनुभुति नै थिएन। म छोरीलाई सुताएर लुगा धुन बाथरूम छिरे। लुगा धोएर कोठामा आए छोरीलाई दुध खुवाउन समात्न खोज्दा हलचल नै गरिन्। के भयो होला भनेर रविनलाई भने ऊ केही बोलेन। मेरी आमाले र मैले कान्ति बाल अस्पताल पुर्यायौं तर डाक्टरले बच्चालार्इ मृत घोषित गर्दा म त्यही बेहोस भएर लडेछु। आमाले मलाई कोठामा पुर्याइन् कोठामा आउँदा रविन थिएन। मेरो छोरीको प्राण लिएर ऊ भाग्यो। म एक्ली भएकी थिएँ। अव मलाई रविनदेखि घृणा पलाएर आयो भेटे भने उसलाई कारवाही गराएरै छाड्छु भन्ने संकल्प गरे। तर मन भने मेरी प्यारी छोरीबिना अन्धकार भएको थियो। अब बाच्न पनि गाह्रो हुन थाल्यो। फेरि फर्किए, रविनले देखाएको सपनाको महलबाट ढुंङ्गा र गिटीको दुनियाँमा।
पीडामाथि अर्को पीडा थपियो, आमालाई प्यारालाइसीस भयो। मेरो भाइलाई र मलाई आमाको उपचार गर्दै ठिक्क हुन्थ्यो। काम गरेको पैसा पनि साहुले समयमै नदिँदा कति सास्ती झेलेकी थिए। भाइपनि कहिले न घरमा आउँदैनथ्यो न त कमाएको पैसा दिन्थ्यो। म के गर्ने के नगर्ने यो गरिबीको दुनियाँदेखि बाक्क थिए। एक दिन मेरी साथीले मलाई पैसा कमाउने उपाय बताइ पहिला त मानिन्, गर्दिन भने तर आमाको उपचारका लागि भएपनि म रत्नपार्कमा मेरो शरीरको मोल गर्न थाले। हरेक दिन म आफ्नो शरीर बेच्न्न विवश भएँ। रविनलाई सम्झदा मनमा आगो बलेर आउँथ्यो। उनीहरूले बोलाएका हरेक ठाउँमा पुग्छु म। प्रत्येक घण्टा प्रत्येक दिन म मेरो शरीर बेच्छु। तर मेरो त्यो मेरो रहर होइन बाध्यता थियो, गरिबीको। त्यति मात्र कहाँ होर बेश्या भन्छन्-मलाई चिन्नेहरू। तर बुझ्न खोज्दैनन् मलाई आखिर म किन वेश्या भए?
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment