काठमाडौं— दुस्मन मुलुकहरु भारत र पाकिस्तानबीच पर्यटकीय नगरी पोखरामा वार्ता हुने भएको छ। भारतीय विदेशमन्त्री सुष्मा स्वराज र पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजीजबीच सार्क परिषद बैठकको दौरान वार्ता हुने भएको हो।
१७ मार्चमा भारतीय र पाकिस्तानी पक्षबीच वार्ता हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। पोखरामा मार्च १६ र १७ मा हुने दक्षिण एशियाली सहयोग संगठन (सार्क) को परिषद बैठक हुँदैछ। सो बैठकमा भाग लिन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सुष्मा स्वराज नेपाल आउँदैछिन्। बैठकमा सहभागी हुन पाकिस्तानी प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार सरताज अजीज पनि आउँदैछन्।
दुई देशबीच तिक्तता बढेको अवस्थामा यो वार्ताको तयारी भएको हो। पाकिस्तानी पक्ष वार्ताको पक्षमा रहँदै आएको छ। भारतीय पक्षले पोखरा वार्ताको आधिकारिक पुष्टि गरेको छैन।
बहुपक्षीय मञ्च सार्क सधैँ भारत र पाकिस्तानबीचको तनाबका कारण प्रभावित बन्दै आएको छ। सार्कका अन्य राष्ट्रका हितमा कुनै निर्णय हुन लागेमा भारतीय पक्षले सधैँ पाकिस्तान मुद्दा उठाएर त्यसलाई छायाँमा पार्ने गरेको छ।
नेपाल, भारत, अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान र बंगलादेश ८ सदस्य राष्ट्र रहेको सार्कको इन्टर समिट सेसन पोखरामा आजदेखि सुरु भएको छ। समिटको अन्तिम दिन विदेशमन्त्री स्तरीय बैठक हुनेछ। स्तरीय इन्टर समिट सेसन सार्क मिनी सम्मेलनको रूपमा चिनिन्छ।
आगामी सार्क समिट पाकिस्तान गर्ने विषयमाथि यी बैठकहरुमा छलफल हुने बताइएको छ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment