Monday, March 28, 2016

भ्रामक हल्ला पत्याउँदा उपभोक्तालाई नै सास्तीःआयल निगम

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएर फर्किएलगत्तै पम्पहरुमा उपभोक्ताको लामो लाइन देखिएको छ । फेरि नाकाबन्दी हुने अफबाहलाई पत्याउँदै धेरै उपभोक्ता पेट्रोलपम्पहरुमा सवारी लिएर लाइन बसेका हुन् ।

तर, नेपाल आयल निगमले बजारमा फैलिएको तेल अभाव भएको भ्रामक हल्लाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले भारतबाट मागअनुसार तेल आइरहेको बताए । ‘एक्कासी पम्पहरुमा भीड देखियो। बाहिर हल्ला भएजस्तो आपूर्तिमा कुनै समस्या छैन’ उनले भने-‘माग अनुसार बजारमा तेल पठाइरहेका छौं । हल्लाको भरमा पर्दा उपभोक्ता आफैंले सास्ती पाए ।’

आयल निगमले आइतबार काठमाडौंको थानकोट डिपोबाट ४ लाख लिटर पेट्रोल वितरण गरेको थियो । सोमबार ६ लाख लिटर पेट्रोल पम्पहरुलाई उपलब्ध गराएको आयल निगमले जनाएको छ ।

‘भारतीय आयल कर्पोरेशनको रक्सौल डिपोले माग अनुसार पेट्रोल दिइरहेको छ । डिजेलको समस्या पनि समाधान हुने स्थितिमा छ । यस्तो बेलामा उपभोक्ताले हल्लाको पछि लाग्दा झन समस्या हुन्छ’-प्रवक्ता घिमिरेले भने ।

भारतीय आयल कर्पोरशनले होलीको सार्वजनिक विदामा दुई दिन अन्य समयभन्दा कम तेल लोड दिएको थियो । त्यही आपूर्तिका आधारमा आयल निगमले केही दिन बजारमा केही कम तेल पठाउने बित्तिकै अभावको हल्ला भएको हो ।

नाकाबन्दीपछि भारतबाट एक दिन मात्रै आयात कम हुँदा बजारमा त्यसको असर देखिने गरेको छ । भारतीय नकाबन्दी फेरि दोहोरिने डरले उपभोक्ता अनावश्यक सञ्चितिमा लाग्दा तेल आपूर्तिमा प्रभाव परिरहेको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment