१५ चैत, विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केलगत्तै भावि राजनीतिको दिशाबारे विभिन्न आंकलन भइरहेका बेला सरकारका दुई मन्त्रीका धारणा सार्वजनिक भएका छन् । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अब सरकारले स्थानीय निकायको चुनाव गराउने दावी गरेको भोलिपल्ट प्रधानमन्त्री निकट मानिने कानुनमन्त्री अग्नी खरेलले संविधान कार्यान्वयनमा खतरा रहेको औंल्याए ।
सरकारका प्रवक्तासमेत रहेका राईले आइतबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा संविधानको कार्यान्वयनको लागि सरकार स्थानीय निकायको निर्वाचन गर्ने गरी तयारी पूरा गरेर बसेको बताएका थिए ।
‘चाँडै स्थानीय निकायको निर्वाचन गराउने कार्यलाई सरकारले प्राथमिकताको सुचिमा राखेको छ । यसको लागि आवश्यक तयारी पूरा गरी सबैको सहमती खोजेर बसेको अवस्था हो,’ मन्त्री राईले भनेका थिए ।
यता कानूनमन्त्री खरेलले सोमबार एक कार्यक्रममा भने, ‘प्रमुख राजनीतिक दलहरु सहमतिका साथ अगाडि नबढे नयाँ संविधान कार्यान्वयनमा खतरा छ ।’ उनले संक्रमणकालीन अवस्थाको अन्त्य भइनसकेको अवस्थामा दलहरुबीच राजनितिक सहमति नभए संविधान नै खतरामा पर्ने चेतावनी दिए । यद्यीप, खतरा कोबाट छ भन्ने चाहिँ खुलाएनन् ।
झापाको एक कार्यक्रममा सहभागी हुन आउने क्रममा विराटनगर विमानस्थलमा संचारकर्मीसँगको कुराकानीमा मन्त्री खरेल यस्तो अभिव्यक्ति दिएका हुन् ।
सरकार परिवर्तनबारे
सरकार परिवर्तनका विषयमा चर्चा-परिचर्चा जारी रहँदा दुवै मन्त्रीले यस विषयमा आफ्नो धारणा राखेका छन् । सञ्चारमन्त्री राईले सरकार परिवर्तनको कुरा असान्दर्भिक भन्दै यो सरकार केही महिनाका लागि मात्र नबनेको टिप्पणी गरे ।
‘के कारणले गर्दा सरकार परिवर्तन गर्ने हो ? त्यसको जवाफ दिन सक्छ कांग्रेसले ?’ उनले प्रश्न गर्दै भने, ‘१६ बुँदे सहमति तोड्दै सरकारका लागि प्रतिस्पर्धा गरेर पहिलो गल्ती गरेको कांग्रेसले बर्तमान सरकार ढाल्न खोज्यो भने दोस्रो गल्ती गर्ने छ ।’ उनले अहिलेकै सरकारमा कांग्रेस सहभागी हुनसक्ने बताए ।
कानूनमन्त्री खरेलले पनि कांगे्रेससहितको राष्ट्रिय सरकार निर्माणमा जोड दिए । दलहरुबीच एकता अझै आवश्यक रहेको उल्लेख गर्दै मन्त्री खरेलले भने, ‘सकिन्छ भने अहिलेकै अवस्थामा कांग्रेससहितको राष्ट्रिय सरकार निर्माण गरौं, नभए सहमतिको आधारमा अगाडि बढौं ।’
खरेलले मधेसवादी दलहरुले उठाएको मागहरुलाई छलफल र वार्ताबाट समाधान गर्न सरकार सधैं तयार रहेको पनि बताए ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment