Monday, March 28, 2016

रञ्जित रेलाई फिर्ता पठाउने हल्ला र वास्तविकता

भारतमा नरेन्द्र मोदी सत्तमा आएपछि नेपाल-भारत सम्बन्ध ठूलो आरोह-अवरोहबाट गुज्रिएको छ । मोदी सरकारकै पालामा राजदुत बनेर नेपाल आएका रञ्जित रे यो आरोह अवरोहका सबैभन्दा प्रमुख शुत्राधार बने । शुरुमा शान्त र सुशील तथा तटस्थ ब्यक्तित्वकोरुपमा छवि बनाउन खोजेका राजदुत रेले समयक्रममा इतिहासमै सबैभन्दा हस्तक्षेपकारी र आक्रमक राजदुत सावित भए ।

नेपालमा कुटनीतिक शैलीमा एउटा कुरा गर्ने तर भारतमा गएर फरक कुरा रिपोर्टिङ गर्ने र आक्रमक कदम चाल्न सुझाव दिने रञ्जित रे नेपालमा संविधान जारी हुने पूर्वसन्ध्यामै सबैभन्दा बढी विवादमा आइसकेका थिए । नेपालमाथि भारतले नाकाबन्दी लादेपछि उनले देखाएका ब्यवहार र बोलेका बोलीका कारण उनी झनै अलोकप्रिय बन्दै गए । समदुरी र समशक्तिको सम्बन्धका देश भएको भए नेपालले भारतीय राजदुतलाई उनको बोली र ब्यवहारका आधारमा ६ महिना अघि नै देश निकाला गरिसक्थ्यो होला तर निरिह तथा भारतनिर्भर देश भएका कारण नेपालले भारतीय राजदुतका गैह्र कुटनीतिक ब्यवहारले नेपाल सकारले टुलु-टुलु हेरेर बस्यो । उनीसँग सामान्य स्पष्टिकरण लिन खोजिएपनि उल्टै कार्यवाहक परराष्ट्रमन्त्री नै राजदुतसँग डराएको चर्चा त्यतिबेला चलेको थियो ।

५ महिना लामो नाकाबन्दी सकिएपछि पनि राजदुत रे नेपालमै कुटनीतिक भूमिकामा छन् । र अहिले पनि उनी आक्रमक ब्यवहार (बोलीमा नभएपनि) मा देखिन्छन् । हालैमात्र उनले मधेशी मोर्चाका नेताहरुलाई दुताबासमा लञ्च मिटिङमा बोलाएर आन्दोलन गरे भारतले सघाउने बचन दिएको कुरा सार्वजनिक भएको छ । यही चर्चाकाबीच राजदुत रेलाई फिर्ता पठाउने तयारी भैरहेको चर्चा पनि चलेका छन् । सन् २००५ मा नयाँ दिल्लीमा सात दल र माओवादीबीच भएको ऐतिहासिक १२ बुँदे सहमतिका पर्दापछाडिका योजनाकारका रुपमा समेत मानिने राजदुत रेलाई सरकारले फिर्ता पठाउने चर्चा पत्यारिलो चर्चा भने होइन ।

ओलीको चीन भ्रमणले भड्किएको माहौल
चीन र नेपालबीच सडक पारवहन तथा बन्दरगाहमा पहुँच दिने सहित १० बुँदे समझदारीमा हस्ताक्षर भए लगत्तै भारतीय विदेशमन्त्रालयले नेपाल र भारतबीचको सम्बन्ध अन्य देशसँग तुलनै नहुने बताएको थियो । भारतीय विदेशमन्त्रालयले भारत र नेपालबीचको सम्बन्ध अन्य देशसँग तुलनै हुन नसक्ने भन्दै नेपालले कुनै मुलुकसँग पनि पारवहन समझदारी गर्न सक्ने भएपनि अहिले भारतसँग अन्य देशसँगका सम्झौताको तुलना हुन नसक्ने जनाएको भोलि पल्ट नेपालमा रहेका भारतीय विदेशमन्त्रालयका प्रितिनिधी राजदुत रञ्जित रेले आन्दोलनरत मधेसी दलका नेताहरुलाई ब्रेकफास्ट छलफलमा बोलाएर आन्दोलनबारे सोधे । दूतावासको इन्डिया हाउसमा भएको भेट मधेस आन्दोलन, सरकारसँग भैरहेको छलफल र प्रधानमन्त्रीको चीन भ्रमणमा केन्द्रीत भएर छलफल भएको खुलासा मधेशी नेताहरुले गरिसकेका छन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा भारतीय विदेश सचिव एस जयशकंर नेपालमा आएर मधेसी मोर्चालाई पहिलो प्राथमिकता दिए । आन्दोलन कहाँ पुग्यो ? के भइरहेको छ ? अब के गर्ने ? भन्ने आन्तरिक मामिलामा खुलेर चासो दिएका जयशंकरले चीनसंग हुने सम्झातौको आधारमा मधेसी मोर्चालाई मधेसमा पुनः आन्दोलन चर्काउन लगाएर सोही कारणलाई बाहना बनाउदै पुनः नाकाबन्दी गर्नेसम्मको योजना सुनाएको मधेशी नेताहरुले नै खुलासा गरिसकेका छन् । मधेसी मोर्चाका एक नेताले केही दिन अघि हेडलाइन्सलाई भनेका थिए –शान्तिपूर्ण आन्दोलन गर्दा पनि सरकारले सुनेन, अन्तिममा नाकाबन्दीसम्मको आन्दोलनमा जानुपर्छ भन्ने मोर्चामा एकमत छ हामी त्यही तयारीमा छौ ।’ ओली चीन भ्रमणको पूर्वसन्ध्यामा भारत गएर फर्किएका मोर्चाका प्रमुख दुई नेता उपेन्द्र यादव र महन्त ठाकुरको अनुपस्थितिमै विदेश सचिव जयशकंर आएर बाँकी रहेका मोर्चाका नेताहरुलाई आन्दोनको लागि तयार रहने निर्देशन दिएका थिए ।

सोही रणनीति अनुसार भारतीय राजदुत रञ्जित रे ले आन्दोलनको तयारी गर्नको लागि मोर्चाका नेताहरुलाई पुनः तालिम दिन थालेका छन् । तर यसो गर्ने राजदुतलाई कारवाही गर्ने कुरा विज्ञ र सर्वसाधारणस्तरमा मात्र होइन मन्त्रीस्तरका ब्यक्तिबाट समेत आएको छ । आइतबार प्रकाशित एक दैनिकसँग उपप्रधानमन्त्री सीपी मैनालीले “भारतीय राजदूतले मोर्चाका नेतालाई उचालेको हिसाबकिताब प्रधानमन्त्री चीनबाट फर्केपछि हुने” बताएको उल्लेख छ ।

फिर्ता पठाउने हल्लामात्र !

हरेक निर्णयमा भारतको प्रमुखता हाम्रो राजनीतिक विरासत नै हो । चाहे त्यो माओवादी विद्रोह अन्त्यका लागि भएको १२ बुँदे सहमति होस् वा पछिल्लो पटक संविधान जारी गर्नका लागि गरिएको १६ बुँदे सहमति होस् । भारतका राजदुत नेपालमा जुन औकातमा विचरण गर्छन् त्यो अन्य कुनै देशमा छिमेकी देशको कुटनीतिज्ञले सायदै पाउने अवसर हो । चाहेको बेला प्रधानमन्त्री देखि हरेक दलका नेतालाई भेट्न सक्ने हैसित भारतीय राजदुतलाई नेपालमा प्राप्त छ ।

यस्ता राजदुतलाई नेपाल सरकारले कारवाही गरेर ‘पर्सना ननग्राटा’ (राजदुतले पाउने कुटनीतिक उन्मुक्ति फिर्ता लिने अन्तराष्ट्रिय अभ्यास) घोषणा गर्दै फिर्ता पठाउने सम्भावना शुन्यप्रायः छ । किन भने नेपालमा भारतका राजदुतसँग निहुँ खोज्नु भनेको आफ्नै सत्ता पल्टाउने खाल्डो खन्नु हो भन्ने कुरा सबैले बुझेको कुरा हो । प्रधानमन्त्री ओलीले यो कुरा नबुझ्ने कुरै भएन । तसर्थ राजदुतलाई कारवाही हुने र फिर्ता पठाउने हल्ला ओलीलाई चीनबाट फर्केपछि अहसज तुल्याउने उनकै पार्टी भित्र र बाहिरका विरोधीहरुको प्रपञ्च मात्र भएको जानकारहरु बताउँछन् । हल्लमा मात्र भनेपनि भारतीय राजदुत फिर्ताको विषय आउनु र यसका पक्षमा एक खालको माहोल बन्नु भने आत्मरतिका लागि राम्रै विषय बनेको छ ।

स्रोतः नेपाली हेडलाईन्स


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment