Monday, April 25, 2016

कसरी बेचबिखनमा पर्छन् नेपाली? यस्ता छन् गिरोहले प्रयोग गर्ने तरिका

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले सोमबार सार्वजनिक गरेको मानव बेचबखिन सम्बन्धी राष्ट्रिय प्रतिवेदनले नेपालमा मानव बेचिबखन अवस्था डरलाग्दो रहेको उल्लेख गरेको छ।
आर्थिक वर्ष २०७०/७१ र २०७१/७२ तथा भूकम्पपछिको ३ महिनाको अवस्थाको अध्ययनपछि आयोगले सार्वजजनिक गरेको प्रतिवेदन अनुसार वर्षमा ८ देखि साढे ८ हजार जना बेचबिखनमा परेका छन्। भूकम्पपछि यसको दर अझ बढेको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।

स्वेदश तथा विदेशमा आकर्षक जागिरको प्रलोभनमा नेपालबाट मानव बेचबिखन हुँदै आएको छ। नेपालमा सक्रिय गिराेहहरु निकै संगठित र तुरुन्तै पीडितलाई प्रभावित पार्न सक्ने खालका देखिएका आयोगले जनाएको छ। उनीहरुले अधिकांश प्रभावितहरुलाई दिउँसोको समयमा नाका कटाउने गरेका छन्। गिरोहले बेचविखनमा नेपाल भारत र नेपाल तिब्बतको औपचारीक मार्ग प्रयोग गर्ने गरेका पनि आयोगले जनाएको छ। आयोगले नेपालमा मानव बेचबिखन हुने मुख्य ५ तरिका पहिचान गरेको छ। जुन यसप्रकार छ :

१. मनोरञ्जन उद्योगमा जागिर

मनोरञ्जन उद्योग अर्थात डान्स बार, मसाज पार्लर, क्याबिन रेष्टुरामा काम लगाइदिने बाहनामा बेचबिखन र ओसारपसार भएको छ। काठमाडौंमै रहेका मनोरञ्जन उद्योगहरुमा उल्लेख्य संख्यामा श्रमिक महिलाहरु कार्यरत रहेको र उनीहरु आर्थिक रुपले ठगिएका र बेचबिखन तथा ओसारपसारको जोखिममा रहेको आयोगले उल्लेख गरेको छ।

‘उनीहरु आर्थिक रुपले ठगिएका, यौन दुर्यबहार, शोषण र बेचविखन तथा ओसारपसारको जोखिममा रहेको पाइएको छ’ आयोगले भनेको छ ‘यो क्षेत्र ग्रामीण महिलाहरुको गन्तब्यको रुपमा र अन्तरदेशीय बेचविखनको बिशेष गरी खाडी मुलुकमा हुने बेचबिखनको स्रोतको रुपमा देखिएको छ।’

२. कोरिया र चीनमा विवाह

दक्षिण कोरिया र चीनमा विवाहको बाहनामा पनि धेरै नेपाली महिलाहरु बेचबिखनमा पर्ने गरेका छन्। दक्षिण कोरियाका नागरिकसँग बिवाह गरेमा त्यहाँ आकर्षक आम्दानी हुने जागिर पाइने प्रलोभन देखाइ यस्तो धन्दा बढेको छ। आयोगले यस्तो प्रवृत्ति सन् २००५ यता निकै बढेको जनाएको छ।

सन् २००५ देखि २०१३ सम्म एक हजार जना विवाह गरेर कोरिया पुगेको आयोगले उल्लेख गरेको छ। जसमध्ये ३०० जनामात्र खुशी रहेको र बाँकीले दासतापूर्वक बस्नुपरेको उल्लेख गरिएको छ। पछिल्ला केही वर्षदेखि भने चीनका युवकहरुसँग नेपाली युवती विहे गराउने क्रम पनि बढेको छ। नेपालमा विवाह गराइदिने एजेन्सी ८३ वटा रहेका छन्।

३. धर्मपुत्र धर्मपुत्री

आयोगले धर्मपुत्र र पुत्री बनाएर पनि नेपालबाट मानव ओसारपसार भएको देखिएको बताएको छ। सामन्यतया धर्मपुत्र वा पुत्रीको सम्बन्ध कायम गर्नुलाई ओसापसारसँग जोडिँदैन। तर आयोगले धर्मपुत्र पुत्री ग्रहण र बेचबखिनबीच सम्बन्ध देखिएको उल्लेख गरेको छ।

अघिल्ला वर्षहरुमा यो संख्या करिब ५० को हाराहारीमा रहेपनि अहिले सरकारले कडा शर्त ल्याएका कारण केही कम भएको आयोगले उल्लेख गरेको छ। त्यस्तै सेरोगेसी मदर अर्थात आमाको कोख भाडामा लिने प्रचलन नेपालमै देखिएका कारण धर्मपुत्र र पुत्री ग्रहणको क्रम घटेको हुनसक्ने आयोगले उल्लेख गरेको छ।

४. भूकम्पपछिको गरिबी

२०७२ बैशाख १२ को भूकम्पपछि धेरै नेपालीहरु घरबारबिहीन भए। धेरैको आम्दानीको श्रोत टुट्यो भने पहिलेकै जीवनस्तरमा फर्किन अतिरिक्त आम्दानी गर्नुपर्ने अवस्था सिर्जना भयो। यो अवस्थालाई गिरोहहरुले मानव बेचबिखनको मौकाको रुपमा लिएका छन्। भूकम्पको ३ महिनाको अवधीमा १२३३ जना महिला र बालबालिकाहरु हराएका प्रहरीको अभिलेखमा उल्लेख छ।

उनीहरु बेचबिखनमा परेको हुनसक्ने आयोगको अनुमान छ। आयोगका अनुसार भूकम्पपछि बेचविखन तथा ओसारपसारको क्रम १५ देखि २० प्रतिशतले बढेको छ। भूकम्पपछि गरिबी बढेको, शैक्षिक संस्थाहरु भत्किएको फाइदा बेचबिखनमा संलग्न गिरोहहरुले उठाइरहेका छन्। बढ्दो गरिबी र रोजगारीको वातावरण सिर्जना नहुनु र बालबालिकाको स्कुल जाने संख्या कमी भएका कारण बेचबिखनको जोखिम बढेको आयोगले उल्लेख गरेको छ।

५. हराएका बालबालिका र महिला

हराइरहेको बालबालिकालाई बेचबिखनसँग जोडिँदैन तर बालबालिका हराउनु र बेचबिखचको सम्बन्ध देखिएको आयोगले उल्लेख गरेको छ। आयोगले भारतको उच्च अदालतको उदाहरण दिँदै यस विषयमा गम्भीर हुन सचेत गराएको छ। भारतको उच्च अदालतले मे १०, २०१३ मा यदि हराएका बालबालिका जाहेरी दर्ता भएको ४ महिनासम्म फेला नपरे मानब बेचविखन बिरुद्धको इकाईमा लगिने र बेचविखन भएको मानी विस्तृत अनुसन्धान गर्नुपर्ने आदेश दिएको थियो।

आर्थिक वर्ष २०७०/२०७१ मा ८ सय ३७ र २०७१/२०७२ मा ७८६ जना बालबालिका हराएका बालबालिका खोजतलास केन्द्रमा अभिलेख छ। जसको ५६ प्रतिशत बालिका र ३१ प्रतिशत बालकहरु अझै फेला पर्न सकेका छैनन्। महिला तथा बालबालिका सेवा निर्देशनालयमा २०७०र२०७१ मा ५ हजार १ सय ६८ जना मानिस हराएको अभिलेख छ। जसमध्ये ७५ प्रतिशत महिला र ४० प्रतिशत बालिकाहरु रहेका छन्। आयोगले हराएका बालबालिका र महिलाहरु नभेटिनुलाई बेचबिखन भएको हुनसक्ने आँकलन गरेको छ।

आयोगकी सदस्य तथा प्रवक्ता मोहना अन्सारीले एकीकृत तथ्यांक प्रणालीको अभावमा बेचविखनका बिभिन्न स्वरुपहरुको परिमाणलाई यकिन गर्न कठिन रहेको जनाएकी छन्। बैदेशिक रोजगारीका नाममा मानव बेचविखन हुने आधार र प्रमाणहरु भेटिएको भन्दै उनले यसमा निगरानी र अनुगमन प्रभावकारी हुन नसकेको बताएकी छन्। ‘वैदेशिक रोजगारीका नाममा बेचबिखनमा परेकाहरुको उद्दार, स्वदेश फिर्ति जस्ता कार्यहरु पनि प्रभावकारी सकेको छैन’उनले उल्लेख गरेकी छन्।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment