Monday, April 25, 2016

‘हाम्रो गाउँमा बोल्ने भगवान आए’

भुइँचालो आएको एक महिनासम्म विद्यार्थी स्कुल जान सकिरहेका थिएनन्। घर मात्र हैन, स्कुल पनि भत्किएका थिए। 

यस्तैमा सरकारले २०७२ जेठ १७ देखि स्कुल खोल्ने घोषणा गरेको थियो। धुर्मुस–सुन्तली नुवाकोटको ओखरपौवामा चर्पी बनाएर काठमाडौं फर्किने तर्खरमा थिए। नजिकै महाकाली निम्नमाध्यामिक विद्यालय त भत्किएको रहेछ।

‘बालबालिका कहाँ बसेर पढ्लान भन्ने पीर लाग्यो,’ धुर्मुस उर्फ सितारामले भने, ‘हामीले बाँसले बारेर त्यो स्कुल नयाँ बनाइदिन लाग्यौं।’

पुननिर्माण भएको महाकाली निम्न माध्यामिक विद्यालय उद्घाटनको दिन थियो ११ गते। शिक्षा मन्त्रालयका कर्मचारी बल्ल भत्किएको विद्यालय भवनमा स्टिकर टाँस्न पुगे। सरकारको गति यति ढिला थियो, राहत लिएर गएका धुर्मुस–सुन्तलीलाई गाउँलेहरू भन्थे रे, ‘भुइँचालोपछि कोही आएन, तपाईंहरू आउनुभयो हाम्रो सरकार त तपाईंहरू नै हो।’

गाउँलेको विजोग देखेर उनीहरू छट्पटिन्थे। जब गाउँलेले मन छुने गरी धन्यवाद भन्थे, उनीहरूलाई आफ्नो जिम्मेवारी अझ बढेको महसुस हुन्थ्यो। आफ्नो कार्यक्रम हेरेर हाँस्ने दर्शक पिडामा भएको भन्दै उनीहरुले ‘मेरी बास्सै’ बनाएका थिएनन्। ‘जुन दिन दर्शक हाँस्न सक्ने हुन्छन्, त्यहीबेला बल्ल कार्यक्रम बनाउने’ मुडमा उनीहरु पुगेका थिए।

उनीहरू राहत,चर्पी र विद्यालयपछि के गर्न सकिएला भन्ने सोच्दै थिए। सुतली उर्फ कुञ्जनाको मनमा अमेरकामा देखेको एउटा बस्तीको चित्र नाचिरहेको थियो। ‘एउटै रंगका चिटिक्क परेका घरले बनेको त्यस्तै बस्ती नेपालमा भएको भए?’ कुञ्जनाको मनमा कुरा खेलिरहेका थिए।

उनीहरूले नमूना बस्ती बनाउनेबारे छलफल गरे। भुइँचालो प्रभावित एउटा कुनै गाउँलाई एकत्रित गरेर एउटै डिजाइन र रंगका घर बनाउने आइडिया मनमा आएपछि उनीहरुले ठाउँ खोज्न थालेका थिए। सितारामलाई कसैले फोन गरेर काभ्रेको पहरीबस्ती पूरै सखाप भएको जानकारी दिए। सिताराम त्यही दिन पहरीबस्ती पुगे। त्यो गाउँ तल्लो र उपल्लो दुई बस्ती थिए।

तल्लो गाउँ पुगेर आफू यहाँ बस्ती नै बसाइदिन आएको भन्दा कसैले पत्याएनन्। उनी उपल्लो गाउँ गए। त्यहाँका मानिसलाई सम्झाए। कसैले मानेनन्। राति त्यहीँ एउटा पालमा बिताए।

भोलिपल्ट उनी फर्किने सोच्दै थिए, स्थानीय एलिस पहरीले आफ्ना बाबुलाई सम्झाएर ल्याएछन्। पछि गाउँलेले एकीकृत बस्ती बसाउन माने। तर, कसरी बनाउने त त्यत्रा घर?

सिताराम र कुञ्जनाले निर्णय गरे, घर बेच्ने। सँगै उनीहरूले आफ्नो काममा सघाउन आह्वान पनि गरेका थिए। भुइँचालो पीडितका नाममा आएको पैसा खानलाई यसो गरेका भनेर कतिले कुरा काटे पनि उनीहरूले प्रण गरेका थिए नमूना बस्ती बसालेरै देखाउने।

उनीहरुको कामलाई आर्थिक स्रोत जुट्दै गयो। सिताराम आफैं त्यो बस्तीमा गएर पाल हालेर बसे। कुञ्जना भने छोरी भएकाले यताउता गरिरहनुपथ्र्यो।

उनीहरूको टिमले डोजर मगाएर बाटोसमेत बनाइदियो। बाटो भएपछि काठ र सहरबाट लगेका सामान बस्तीसम्म लैजान सजिलो भयो। घरका लागि काठ काट्ने, चिर्ने, जग खन्ने, जग्गा मिलाउने सबै सितारामको नेतृत्वमा भयो।

साउन २७ गतेबाट थालेको काम लगभग ७७ दिनमा ६७ लाख खर्च भएर सकियो। त्यो सबै रकम उनीहरूलाई देश–विदेशबाट शुभचिन्तकले सहयोग गरेका थिए। आफ्नो घर भने उनीहरूले बेच्नुपरेन।

रातो, निलो र सेतो रंग भएका एकतले घर पहरीबस्तीमा लहरै बने। भान्छा, दुईवटा कोठा र चर्पीसहितको एउटा घर बन्यो। सबै घरको पछाडि गाईभैंसी बाँध्ने गोठ बनाउन मिल्ने जग्गा राखे।

नमूना बस्ती बनाएर गाउँलेलाई हस्तान्तरण गरेपछि पुनर्निर्माण प्राधिकरणका तत्कालीन प्रमुख गोविन्द पोखरेल गए। बाबुराम भट्टराई पनि पुगे। उनीहरूलाई धन्यवाद दिए, सबैले। गाउँलेले पनि भने, ‘हामीले फूल चढाउने भगवती त बोल्दिन थिइन् तर बोल्ने भगवान पठाइदिइन्।’

गाउँलेले भावुक हुँदै दिएका यस्ता प्रतिक्रियाले भन्दा उनीहरूलाई सुरक्षित बास बनाइदिन सकेकोमा सिताराम–कुञ्जनालाई बढी आनन्द हुन्छ रे।

‘अहिले तल्लो बस्तीकाले पनि हाम्रो गाउँमा पनि यस्तै बनाइदेउ भनेका छन्, तर त्यहाँ त सकिँदैन होला। सरकारले गरिदिनुपरो नि त्यहाँ त, हाम्रो बर्कतले भ्यायो भने अर्को ठाउँमा पनि नमूना बस्ती बनाउँदैछौं,’ कुञ्जनाले भनिन्।

उनीहरूले अर्को ठाउँमा नमूना बस्ती बनाउने घोषणा गरिसकेका छन्।

वैशाख १२ को भुइँचालोले जुनजुन जिल्लामा धेरै प्रभाव पार्यो, ती क्षेत्रमा तिलगंगा आँखा अस्पतालले आफ्ना केन्द्र खोलेर २५ वर्षदेखि काम गर्दै आएको थियो। वरिष्ठ डाक्टर सन्दुक रुइतका अनुसार अस्पताल टिमले भुइँचालोलगत्तै बैठक बसेर आफूले सकेको राहत पुर्याउने निधो गर्यो।

रुइतले विदेशमा रहेका आफ्ना शुभचिन्तकलाई भुइँचालो पीडितलाई राहतका लागि सहयोग गर्न आह्वान गरे। विभिन्न ठाउँमा आफ्ना सेवाकेन्द्र भएकाले कहाँ कस्तो हालत छ, कस्ता संरचना छन् उनलाई थाहा भैहाल्थ्यो। यति ठूलो भुइँचालोका कारण सबै बस्ती खल्र्याम्मै ढलेका थिए। राहत पुर्याउन जाँदा उनीहरुले धेरै त्यस्ता बस्ती नदेख्ने कुरै भएन। देश–विदेशबाट उनीहरूलाई सहयोगका लागि पैसा पनि आइरहेको थियो। राहत बाँड्ने काम सकियो।

त्यसपछि उनीहरूले भुइँचालोले अलि बढी प्रभाव पारेको र गरिब बस्तीमा अस्थायी घर बनाइदिने निर्णय गरे। ‘त्यसका लागि हाम्रा आँखाकेन्द्रमा काम गर्ने साथीहरूले कहाँ कति क्षति भएको छ भन्ने सूचना दिनुभयो,’ डाक्टर रुइतले भने, ‘हामीले सिन्धुपाल्चोकको दनुवार बस्तीमा यस्ता अस्थायी टहरा बनाइदिने निर्णय गर्यौं।’

त्यसपछि इन्जिनियरिङ क्याम्पस, पुल्चोकका विद्यार्थीले डिजाइन गरेको जस्ताको अस्थायी घर बनाउन उनीहरू दनुवार बस्ती गए। त्यहाँ ४ सयवटा घर बनाइदिए। दनुवार बस्तीमा अस्थायी टहरा बनाएपछि बल्ल डाक्टर रुइतको मनमा स्थायी प्रकृतिको बस्ती निर्माण गर्ने सोच आएको हो।

‘हामीले एउटा एकीकृत गाउँको परिकल्पना गरेका छौं,’ रुइतले भने, ‘गाउँ मात्रै हैन, सहरमा पनि एउटा त्यस्तै बस्ती बसाउने योजनामा छौं, जो भुइँचालो प्रतिरोधी होस् र समुन्नत होस्।’

रुइतका अनुसार करिब डेढसय परिवार भएको सिन्धुपाल्चोकको दुवाचौर गाउँमा स्थायी प्रकृतिका एकत्रित बस्ती बसाउने योजना छ। यसका लागि बस्तीका मानिस मिलेर जग्गाको प्लट किनिरहेका छन्। बस्तीमा बाटो कसरी जाने, खानेपानी कसरी ल्याउने, अस्पताल, स्कुल खाली ठाउँ यी सबै सुविधा कसरी लाने भनेर गाउँलेसँग छलफल गर्दै उनीहरूले यो गाउँ बनाउन लगिरहेका छन्। नसक्नेलाई घर बनाइदिने र सक्नेले आफैं बनाउने गरी यो बस्ती निर्माण हुने छ। रुइतका अनुसार बस्तीका महिलालाई आर्थिक रूपले सबल बनाउनेबारे पनि उनीहरूले केही काम गर्ने छन्।

मंगलबजारको पिलाँचे भन्ने ठाउँमा एउटा चोक नै ध्वस्त भएको थियो। त्यहाँ रुइतको टिमले नयाँ भवन बनाइदिने भएको छ। रुइतका अनुसार नगरपालिकातिरको कानुनी काम सकिइसकेको छ। घरको फाउन्डेसन बनाइसकेका छन्। अब घर बनाउन मात्रै बाँकी हो। ९० घर छन् त्यहाँ।

रुइतको टिमलाई त्यहाँका स्थानीय रमेश महर्जनले सहयोग गरिरहेका छन्। सानो सानो दुईतले घर करिब करिब एउटै खालको हुन्छ, ढुंगाको घरलाई बीचबीचमा रड राखेर बनाएको। बीचमा खाली जग्गासहितका घर हुने छन्, जसको उपल्लो तलामा पर्यटक राख्न सकिनेछ। होमस्टेजस्तो बनाएर आर्थिकोपार्जन गर्न समेत सक्ने खालका घर बनाउने उनीहरूको योजना छ।

‘गाउँ र सहरका एकएक मोडल बनाउन सक्यौं भने पनि हामीलाई केही काम गर्न पायौं भन्ने लाग्ने छ,’ रुइतले भने, ‘दैवले हामीलाई देशवासीसँग मिलेर काम गर्ने अवसर प्रदान गरेजस्तो लागेर यो काम थालेका हौं।’

यी उदाहरण मात्रै हुन्। सरकारको न्यानो हात पुग्न नसकेको ठाउँमा अस्थायी घरहरु बनाइदिने संगठन, संस्था र व्यक्ति धेरै थिए। सरकारले अहिलेसम्म काम थालेको छैन। भुइँचालो पीडित बर्खाको मुखमा सेल्टरमै छन्।

डाक्टर रुइत र सिताराम–कुञ्जनालाई सरकारले अब एकीकृत बस्ती निर्माण गर्नुपर्छ भन्ने लाग्छ।

‘अर्को भुइँचालो आउँदा यस्तो क्षति बेहोर्नु नपरोस भन्ने गरी काम गरे हुन्थ्यो। मलाई लाग्छ एकीकृत बस्ती निर्माण गरे मात्रै गाउँ धेरै हिसाबले सबल हुन्छ। अरू कामका लागि पनि सरकारलाई सजिलो हुन्छ,’ सितारामले भने, ‘अहिलेसम्म सरकारले पुनर्निर्माणको काम नथाल्नु दुखद पक्ष हो।’

डाक्टर रुइत पनि अब पुननिर्माण गर्न धेरै ढिलो भएको बताउँछन्। ‘भुइँचालोले ल्याएको विपत्ति हाम्रा लागि अवसर पनि हो भनेर आर्थिक समृद्धिसहितको नयाँ गाउँ सहर निर्माण गर्न ढिलो हुनै लाग्यो,’ उनले भने, ‘प्राधिकरणले अझै पनि काम गर्न सक्छ भन्नेमा म आशावादी छु।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment