भुइँचालोमा परेर मृत्यु भएकी छोरी सपनामा आइन्। भनिन्, ‘आमै भ्या लौ (आमा बिहे गर)।
कमिस्या तामाङले सोधिन्, ‘खाल्जेङ लाबा (कोसँग गर्ने)?’
छोरीले ससुरा पर्नेतिर देखाइन्।
….
नुवाकोट, त्रिशूलीबाट आठ किलोमिटर उत्तर रसुवाको बेत्रावतीनजिकै नौबिसेका खेतका गह्रामा जस्ताको छानो र जस्ता नै बारेर बनाइएका थुप्रै टहरा छन्। वैशाख १२ को भुइँचालोले गाउँ नै भास्सिएपछि हाकु र डाँडागाउँ गाविसका ८ र ९ नम्बर वडाबाट विस्थापित भएर यहाँ आइपुगेका हुन् उनीहरू।
बेत्रावतीनजिकै विस्थापितका चार शिविर छन्। सबैभन्दा ठूलो शिविर नौबिसेको हो, जहाँ १७३ विस्थापित परिवार ओत लागिरहेको छ। १७३ परिवारमध्ये एक्लो एकल महिला हुन् कमिस्या तामाङ।
नुवाकोटको त्रिशूलीबाट करिब २५ किमि उत्तरतिर रसुवाको हाकुमा जन्मिएकी कमिस्याले ६४ वर्षसम्म अनेक तीतामिठा क्षण भोगिन्। जतिसुकै दुःखकष्ट भए पनि आफ्नो घर प्रिय लाग्ने भइहाल्यो। जीवनको उत्तराद्र्धमा आफू बसी आएको घर छाडेर ‘शरणार्थी’ जस्तो भइएला भन्ने उनले सोचेकीसम्म थिइनन्।
भइदियो त्यस्तै । उनको ‘सर्वस्वहरण’ भएको दिन थियो त्यो।
हाकुको छिमेकी गाविस डाँडागाउँ। डाँडागाउँको छिमेकी गाविस ठूलोगाउँ। सिरसिर हावा चलिरहने ठूलोगाउँको डाँडाबाट झरेर बेलुकीपख म यो शिविरमा पुगेको थिएँ, चैत अन्तिम साता।
कमिस्याको टहरोमा पुग्दा क्षितिजमा अघिसम्म देखिएको सुन्तला रङको घामले छुट्टी लिइसकेको थियो। उनीचामल पखाल्दै रहिछन्। ढोकाबाट छिर्दै मैले भनेँ, ‘म तआज आमाकोमै भात खाने।’ उनी खुलेर हाँसिन् मात्र।
उनको अनुहारको भाव हेर्दा म कुनै एनजिओको मान्छे हुन सक्थेँ। यहाँ कोही नौलो मान्छेले सोधपुछ गर्न थाल्यो भने ‘तपाईं कुन संस्थाबाट सर’ भनेर सोध्ने सम्भावना बढी हुन्छ।
उनी नेपाली भाषाभन्दा तामाङमै प्रस्ट बोल्न जान्दछिन्। उनको टहरोसम्म मलाई लगिदिने उनका छिमेकी तथा ‘महाविनाशकारी भूकम्पपीडित समिति’का अध्यक्ष पूर्णबहादुर तामाङले म पत्रकार भएको जनाउ दिए।
साँघुरो टहरोको पछिल्तिर जस्ताले बारेर बनाएको कोठामा एउटा फराकिलो खाट छ। खाटमा झुल टाँगिएको थियो। छेउमा एउटा रेडियो र वरिपरि केही खित्रिङमित्रिङ सामान थिए। म त्यही खाटमा बसेँ। त्रिशूली नदीबाट आइरहेको हावाले कमिस्याको चुल्हाको धुवाँलाई म बसेको खाटतिर धकेलिरहेको थियो।
मेरा आँखा पिरो भएर रसाए। करिब एक घन्टाको बसाइमा उनका आँखा भने पटकपटक रसाए। त्यतिबेलासम्म आगोको धुवाँ हराइसकेको थियो। उनका आँखा त जलिरहेको मनको बह पोख्दा आँशु बनेर रसाएका थिए।
म उनको कथा सुन्न थालेँ। मलाई पुर्याउन गएका पूर्ण र कामी तामाङ उनको जीवनकथा उल्था गरिदिन्थे।
भुइँचालो जाँदा उनी वनमा दाउराघाँस गर्न गएकी थिइन्। जंगलमा पहिरो गएर ढुंगामुढा गुल्टिए। उनी जसोतसो बाँचिन्। घरमा कोही नभएकाले आत्तिहाल्नु पर्ने पनि थिएन। तर, चिन्ता छोरीको थियो, जो पराई घर गएकी थिइन् र आफ्नो भन्नु बाँकी त्यही एउटी छोरी थिइन्।
घाँसदाउरा लिन गएकी उनी रित्तै घर फर्किइन्। फर्कंदा आफू बसी आएको घर थिएन। वस्तुभाउलाई घरले पुरिसकेका थिए। सुरुमा त उनी होसमै थिइनन्।
उनी छोरीको घर पुगिन्। छोरीलाई त पहिलो खेपको भुइँचालोले नै पुरिइसकेको थियो। उनलाई आस थियो, छोरी ज्युँदै पो छे कि! तर, घर खोस्रिदिने कसले? ढलेको घर कसैले खोतलेन। दुईतीन दिनसम्म अरु घर खोतल्दै गर्दा थुप्रै छिमेकी जीवितै भेटिएकाले पनि उनलाई छोरी ज्युँदै हुन सक्छे भन्ने आस मरिसकेको थिएन।
चार दिनपछि छोरी मृत फेला परिन्। एक वर्षकै बीचमा उनलाई दोस्रो ठूलो बज्रपात प¥यो। छोरी बित्दा उनका बा बितेको एक वर्ष पनि पुगेको थिएन।
चक्करले घरमाथिको डाँडा नै घुमिरहेजस्तो लाग्यो उनलाई। ‘आफ्नो भन्नु सिर्फ एउटी छोरी थिई। बुढेसकालको एक्लो ज्यानलाई अब कसले हेर्ला?’ उनलाई पीर पर्नु स्वाभाविकै थियो। श्रीमान्ले छाडेर गएको बीसौं वर्ष बित्यो। श्रीमान्को मृत्यु हुँदा पनि उनी यति धेरै दुःखी भएकी थिइनन्, जति छोरीको मृत्यु हुँदा भइन्।
यसअघि नै दुई सन्तान गुमाइसकेकाले ‘संसारको रितै यस्तो हो’ भन्ने बुझेर मनलाई बलियो बनाएकी थिइन्, सायद!
उनले तीन सन्तानलाई जन्म दिएकी थिइन्। एउटी छोरीले जन्मिएको तीन महिनामै संसार छाडिन्। एउटा छोरो १० वर्ष पुग्दै थिए, साथीहरूसँग खेल्न जाँदा गाउँनजिकै ढुंगाले च्यापिएर मृत्यु भयो।
दुई सन्तान गुमाए पनि श्रीमान् थिए, अर्की छोरी थिई, माइती थिए। यिनै उनका पीर भुलाउने मेसो बनेका थिए।
उमेरले जति बुढो बनाउँदै गयो, उनका दुःखपीर झन् बढ्दै गए। श्रीमान् बिते, बा बितेको वर्ष दिन नपुग्दै छोरी बितिन्। ‘माइती छन्’ भन्नलाई भाइ त थिए तर हेलाँ गर्थे।
किन?
यसको आफ्नै कथा छ।
छोरी हुर्कँदै थिइन्। गाउँले मान्यताअनुसार उनको बिहे गर्ने बेला भएको थियो। तामाङ समुदायमामा चेला–फूपू चेली वैवाहिक सम्बन्ध स्विकार्छ। कमिस्याका भाइका छोरा पनि हुर्किसकेका थिए। भाइले दिदीसँग रक्सी राखेर बुहारी बनाउन भान्जी मागे। उनले ‘मारे पाप, पाले पुण्य’ पारामा भदासँग छोरीको बिहे गरिदिन मन्जुरी जनाइन्।
आमाको पो भदा थियो र मन प¥यो। कमिस्याकी छोरीलाई मन परेको थिएन। केही वर्षपछि उनकी छोरीले आफैंले रोजेर गाउँकै अर्कै पुरुषसँग बिहे गरिन्। त्यसपछि भाइले दिदीलाई ‘शत्रु’ व्यवहार गर्न थाले। भाइले वास्ता नगरे पनि बा थिए, छोरी थिइन्। नयाँ ज्वाईं पनि पाइहालिन्।
छोरीको घर नजिकै थियो, लुगाफाटो छोरीले नै दिन्थिन्। घरमा अलि मीठो पाक्यो भने कचौरामा ल्याएर खुसुक्क दिन्थिन्। घरमा एक्लै भए पनि उनले कहिल्यै एक्लो महसुस गर्नुपरेको थिएन।
विस्तारै तिनै आफ्ना भन्नाले पनि छोड्दै गए। बा बिते, छोरी बितिन्, घामपानीबाट जोगाउने घरले पनि धोका दियो। १२÷१३ मुरीसम्म कोदो उब्जने बारी थियो। अब त याद मात्र उब्जिन्छन् कमिस्याका दिमागमा।
उनको टहरोबाट गाउँको करेसाबारीभन्दा नजिक पर्छ त्रिशूली नदी। त्यही नदीको मुहान गोसाइँकुण्डबाट हावा ठोक्किन आइपुग्थ्यो उनको गाउँमा। हिउँको हावा खाएर हुर्किएकी कमिस्यालाई त्रिशूली नदीले शितल दिन सक्दैन।
चिसो पानीले बनेको ज्यानमा नौबिसे टारमा लाग्ने घामले तातेको पाइपमा बग्ने पानीको स्वाद मीठो लाग्ने कुरै भएन। बाख्रापाठा, कोदो बेचेर गर्जो टार्ने कमिस्यालाई अचेल मजदुरी नगरी सुख छैन। उनी कहिले गिट्टी कुट्न जान्छिन् त कहिले खेतबारीको काम गर्न। ‘सरकारले पाँच सय रुपैयाँ एकल महिला भत्ता त दिन्छ तर मन लागेको बेला एक छाक मीठोमसिनो खान पनि पुग्दैन,’ उनले भनिन्, ‘यहाँ त जे खान मन लागे पनि पैसा पर्छ।’
‘के खान मन छ आमा?’ मैले सोधेँ।
तामाङ जातिभित्रै पर्ने घलेले राँगाको मासु नखाँदा रहेछन्। उनलाई कुखुराको मासु पाए दिनकै खान मन रहेको सुनाइन्।
काठमाडौं घुम्न जान मन छ आमा?
‘पाए त आफ्नै ठाउँ जान हुन्थ्यो नि।’ उनलाई राम्रोसँग थाहा छ, उनको घर भएको ठाउँ बस्नका लागि सुरक्षित छैन। तर, उनलाई त्यही ठाउँको याद आउँछ। भाषा, संस्कृति र सरसामानको अभाव खड्किरहँदो रै’छ। उनलाई अहिले बसिरहेको ठाउँमा सधैं बस्ने हो भने भाषा र संस्कृति लोप हुन्छ कि भन्ने चिन्ता पनि रहेछ।
अहिले बसिरहेको ठाउँमा उनको मन फिटिक्कै रमाउँदैन। छोरीकै यादले सताइरहँदो रहेछ। ‘नयाँनयाँ मान्छे आउँदाचैं रमाइलो लाग्छ है आमा?’ ‘केको रमाइलो लाग्छ नि अर्काको जक्कामा?छोरा भन्नु नि छैन छोरी भन्नु नि छैन। एक्लो छ, जाउँ भने कहाँ जान्छ? बसुँ भने कसरी बस्छ? रमाइलो भन्नु केमा छ र? नयाँनयाँ मान्छे आएर नाचगान देखाउँदा मन एकछिन त भुलिन्छ, उतिन्खेरै छोरीको याद आइहाल्छ।’ छोरीको याद अचाक्ली सताउन थालेपछि रेडियो खोल्दी रहिछन्। धेरैजसो छोरीको फोटो हेरेर बस्दी रहिछन्।
कुरा गरिरहँदा उनले टाटेपाटे बोराको एउटा ठूलो झोला खाटको कुनाबाट निकालिन् र छोरीको फोटो हातमा लिएर गालामा सुम्सुम्याएजस्तो गर्न थालिन्।
सरकारले कमिस्याजस्तै यहाँका विस्थापितलाई कहिले पुनर्वास गराउने हो टुंगो छैन। मर्ने बेलासम्म आफ्नै घर भएको हेर्न मन छ उनलाई। उनले सरकारको आश मारिसकिन्। ‘के गर्छ सरकारले? केही गर्दैन।’
यति भन्दा उनले प्रस्टैसँग नेपाली बोलिन्।
…
भुइँचालो गएको एक महिनाजति त उनले फिटिक्कै सपना देखिनछन्। विपनाका कुरा पनि एकैछिनमा सम्झनाबाट उत्रिसक्थे। एक महिनापछि विस्तारै सपनाका कुरा सम्झिन थालिन्। त्यसपछि त उनी टन्नै सपना देख्थिन्। केही सपना उनको मनमा गडेर बसेका छन्।
घरमा एउटा सानो बच्चा उनीसँगै थियो। उनी घरनजिकै र बच्चा घरको पिँढीमा थियो। एक्कासि उनी उभिएको ठाउँ विस्तारै भास्सिँदै गयो। उनी तलतल पुगिन्। एकैछिनमा उनलाई पहिरोले पुर्यो।
सपनामा कहिलेकाहीँ भुइँचालोमा परेर मृत्यु भएकी छोेरी आउँछिन् र भन्छिन्, ‘आमा भोक लाग्यो। उनी भात पकाइवरी थालमा राखेर दिन खोज्दा अगाडि भएकी छोरी गायब हुन्छिन्। उही छोरी कहिलेकाहीँ पुरानो घरको चुह्लोमा आएर भात पकाउँछिन् र थालमा राखेर आमालाई खान दिन्छिन्। र, आफू नखाई बिलाइहाल्छिन्। कमिस्याले सम्झेअनुसार छोरीले सपनामा तीनपटक खाना पस्केर दिइन्
।
छोरीसँगै जोडिएका अरु अनौठा सपना पनि छन्।
छोरी कहिलेकाहीँ उनी भएठाउँ उनीसँगै रुन पनि आइपुग्छिन्। भन्छिन्,‘कहिलेकाहीँ तिमी एक्लै प¥यौ आमा, मैले तिमीलाई पाल्न सकिन, तिमी पनि म भएठाउँ आउ भन्छे।’
सपनामै एकपल्ट छोरीले बिहे गर पनि भनिछन्। ‘आमा तिमी एक्लै भयौ। म पनि त्यहाँसम्म आउन सक्दिन। बिहे गर बरु। एक्लै नबस।’ छोरीले यसो भनेपछि उनले सपनामै सोधिन्, ‘कोसँग गर्ने नि?’ उनले आमाको ससुरा पर्नेतिर देखाइछन्।
‘सपना देखेपछि डर लाग्छ कि रुन मन लाग्छ आमा? कि के हुन्छ?’
‘क्यान नरुनु त नि, छोरीले तेसो भनेसी,’ उनले भनिन्, ‘डर त लाग्दैन, निराश हुन्छु।’
सपनामै भाइसँग पनि बाझाबाझ पर्छ उनको। ‘भाइसँगचाहिँ कस्तो कुरा हुन्छ नि?’ मैले सोधेँ।
‘तैंले मलाई हेलाँ गरिस्,’ कमिस्याले भनिछन्।
‘तिमी चुप लागेर बस। म केही गर्न सक्दिन,’ भाइ झर्किएर भन्दा रहेछन्।
हुन पनि भाइले केही गरेका छैनन्। भुइँचालो गएको वर्ष दिन बित्न लाग्दा उनको टहरोमा एक दिन एक पाउ बाख्राको मासु छाडेर हिँडेछन्।
त्यो दिन उनीसँग विदा मागेर म अर्कैको घरमा गएर बसेँ। भोलिपल्ट बिहान पुग्दा कहराईको तरकारी चुल्हामा बसाउन ठीक्क परेकी रहिछन्। कहराईमा कुखुराको मासु रहेछ, हिजो बेलुकीको। तरकारी तताएर त्यही कहराईमा पानी बसाइन् र उम्लिएपछि छ्याम्बा (ढिँडो) ओडाल्न थालिन्। म उनीसँग कुरा गर्दै थिएँ, पल्लो टहरोका छिमेकी आइपुगे।
मैले उनीहरुसँग कुरा गर्न थालेँ।
उनीहरुको भनाइमा कमिस्या बिहान उठ्दा आँखाका डिल सुन्निएका हुन्छन्। के भयो भनेर सोध्दा छोरीको सपना देखेर रोएको भन्छिन् रे! पहिले खासै रक्सी नखाने कमिस्या अचेल प्रत्येक दिन रक्सी खान थालेको छिमेकी बताउँछन्।
‘मैले कमिस्यालाई हो त आमा’ भनेर सोधेँ। उनले भनिन्, ‘खान्छ। अचेल त दिनकै खान्छ।’
यत्तिकैमा ढिँडो पाक्यो। उनले सोधिन्, ‘छ्याम्बा खान्छ?’
मैले भनेँ, ‘थोरै खाने। तर, म मासुचाहिँ खाँदिन।’
‘किन?’ उनका छिमेकीले सोधे।
मैले केहीको पनि मासु नखाने बताएँ।
उनी टहरोबाहिर निस्किइन् र टहरोकै कुनामा रोपेको लसुन, खुर्सानी, धनियाँ, गोलभेँडा टिपेर ल्याइन्। सिलौटामा पिसिन् र कचौरामा ढिँडो र अचार हालेर दिइन्।
खानुअघि नै मैले उनलाई सोधेँ, ‘आमा मर्न डर लाग्छ कि लाग्दैन नि?’
‘मरेपछि के थाहा हुन्छ र डराउनलाई?’ यति भन्दा उनी खित्का छाडेर हाँसिन्।
अचारको पीरोले मेरा आँखामा आँशु रसाए। पीरोले रसाएको आँखा त केहीछिनमै ओभाइहाल्यो।
तातो जस्ता, बाहिरपट्टी लामखुट्टे भुन्भुनाइरहने झुलभित्र कमिस्याका आँखा अझै रसाइरहेका छन्! मनमा गडेको पीरोको आयु खुर्सानीको भन्दा असंख्य गुना लामो हुन्छ सायद!
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment