Saturday, February 27, 2016

चामल पुर्‍याउन डोल्पा गएको हेलिकप्टरबाट एउटा ‘सडकबालक’ काठमाडौं आयो

तिलक घिमिरे ‘निर्मल’

‘भाइ तिम्रो नाम के हो ?’ मैले सोधेँ । अन्दाजी १३ वर्षजतिको उसले कालिमाटी लेखनाथ पौडेलको सालिकअगाडि पाइपको बारमा एक हातमा आफूभन्दा ठूलो प्लास्टिकको बोरा बोकेको थियो र अर्को हातले सीताराम दूधको पाकेटमा डेन्ड्राइड हालिएको सानो पाकेट सुँघिरहेको थियो ।

उसले पनि बडो मज्जाको जवाफ दियो, ‘किन चाहियो तपाईंलाई ?’  यसो सम्झिएँ, हो पनि, उसको नाम सोध्ने मेरो काम थिएन । उसको जवाफले मसँगै रहेको साथी मज्जाले हाँस्यो ।

तिलक घिमिरे 'निर्मल'

तिलक घिमिरे ‘निर्मल’

म अलिअलि हच्किएँ र अति नै मायालु लवजमा भने, ‘चिनेको भाइजस्तो लागेर सोधेको ।’ उसले अब अलि नरम भावमा अंग्रेजीमा भन्यो, ‘नो मेन्सन ।’ अबचाहिँ परिस्थिति एकैछिन अगाडिको भन्दा राम्रो भइरहेको थियो । मैले कुरा गर्ने निधो नै गरें र पुनः सोधे, ‘मलाई तिम्रो नाम भन्न मिल्दैन हो भाइ ?’ उसले जवाफ दियो, माइकल ।

मेलै भनेँ, ‘भाइको त अंग्रेजी नाम पो रहेछ ।’ ऊ हाँस्यो ।

‘अनि, माइकल भाइको घर कता पर्‍यो नि ?’ उनले डोल्पा बताए ।

‘डोल्पा भनेको त साह्रै टाढा छ हैन माइकल भाइ ?’

‘हो, धेरै टाढा छ, हामी गाउँलेहरु चाहिँ काठमाडौं आइपुग्न ७/८ दिन जति लाग्छ, तर मेरो गाउँबाट यहाँ आउन कुइरेहरुलाई १० दिन भन्दा धेरै लाग्छ ।’

डोल्पाबाट काठमाडौंसम्म कसरी आइपुगेको भनी सोधेँ । उसले ‘आज मसँग ट्याम छैन कुरा गर्न’ भन्यो । मैले उसलाई लेखको मुख्य पात्र बनाउन उपयुक्त ठानेँ र उसलाई भोलि पनि भेट्न भनेँ । ऊ एक हातले डेन्ड्राइड तान्दै अर्को हालमा काँधमा ठूलो धोक्रो भिरेर प्लास्टिक टिप्न लाग्यो । मैले ऊ पर पुगुन्जेल हेरिरहेँ ।

कालिमाटीको तरकारी बजारको गेटमा डोकोमा बेच्न राखेको एक सुन्तला निकालेर ऊ भाग्न खोज्छ । तर साहुजीले समातेर लात्ताले हिर्काउँछ र आमाबाबुको नाम जोडेर अपाच्य शब्द प्रयोग गरी तथानाम गाली गर्छ । ‘बोहोनी समेत नभएको बेलामा खा***ले झुर गरायो’ भनेर मुर्मुरिन्छ ।

मलाई त्यो उसको गालीको शब्दले बडो नमज्जा लाग्छ र ‘सुन्तलाको पैसा म दिन्छु उसलाई छोड्दिनुस् साहुजी’ भन्छु । उसले छोड्दिन्छ । मैले उसैसँग १ केजी सुन्तला किनेर एउटा साहुलाई दिन्छु । वरपरका मान्छे र अन्य व्यापारी पनि ‘यिनीहरुको जातै यस्तै हो ।’ भनेर कुरा काट्छन् ।

रुममा पुग्छु र उसको कथासँग सम्बन्धित रहेर कसरी राम्रो आर्टिकल लेख्ने भनेर गम्छु तर मेलोमेसो नै आउँदैन । भोलिपल्ट त्यसै ठाउँमा पुगे । केहीबेरको प्रतीक्षापछि ऊ आएर भन्यो, ‘ओ ब्रो हल्का ढिला भयो आउन, सरी है ।’ उसले एकजना साथीलाई ज्वरो आएको र उपचार तथा रेखदेखका लागि १ संस्थामा पुर्‍याएर आएको बतायो ।

म बडो भावुक भए र सोचेँ, ‘अनि उसलाई कहिलेदेखि ज्वरो आएको रहेछ माइकल ?’ उसले ‘हिजो माल खोज्न पाइएन पानी परिरहेर अनि झ्याप हान्न पनि चान्स मिलेन त्यही भएर भोकै बसेको र पानीमा हल्का भिजेकाले बिरामी भएको’ बतायो ।

मैले खाना खायौ त भनेर सोधेँ । उसले संस्थामा गएर मासुभात खाएको बतायो ।  त्यसपछि डोल्पादेखि काठमाडौंसम्मको यात्रा सुनाउन आग्रह गरेँ । उसले १ पाकेट खुकुरी चुरोट किनिदिन आग्रह गर्‍यो । तर, मैले त्यति नै पैसामा मःमः खुवाउने सर्त राखेँ । ऊ आफ्नो कथा भन्न राजी भयो ।

उसको जीवन-कथा बडो मार्मिक रहेछ । डोल्पाको विकट गाउँमा घर । जहाँबाट मानिसहरु से-फोक्सुन्डो ताल र राष्ट्रिय निकुञ्ज हेर्न तथा घुमफिर गर्न जाँदा रहेछन् । सदरमुकाम दुनैबाट लगभग तीन दिनजति लाग्ने रहेछ, उसको गाउँ पुग्नलाई । उसको वास्तविक नाम माइला । सोही माइला नै पछि सहर छिरेपछि अपभ्रंश हुँदै माइकल भएको । माइला ११ वर्ष उमेरसम्म गाउँमै चौँरी चराउने काम गर्थ्यो । जब उसको बाबुको भीरबाट लडेर मृत्यु भयो, त्यसको लगभग ७ महिनापछि उसको आमा पनि पोइला गइछिन् । माइलाको १ जना बहिनी रहिछिन् हाल उनी १२ वर्षकी भइन् ।

माइकलचाहिँ १४ वर्षमा हिँड्दै रहेछ । आमा पोइला गएपछि ११ वषर्ीय माइलाले साहुको चौँरी चराएर बहिनीलाई हुर्काइरहेको थियो । त्यति बेला उसकी बहिनी गौरी नौ वर्षकी मात्र थिइन् । लगभग ५ महिना जति चौँरी चराएछ उसले । एकदिन भोट माग्न आएका नेताले उनी र गौरीलाई काठमाडौं लगेर धेरै पढाइदिने भनेर चामल पुर्‍याउन गएको खाद्य संस्थानको हेलिकप्टरमा हालेर सुर्खेत हुँदै काठमाडौं ल्याएछन् । त्यो नेताको एकजना कुइरेसँग चिनजान थियो । त्यही भएर उसको संस्थामा राख्न ल्याएको रहेछ । तर उनीहरु काठमाडौं आउँदा त्यो कुइरे आफ्नो देश फर्किसकेको हुनाले ती दाजुबहिनीलाई नेताले त्यहीँ छोडेर ‘एकछिनमा आउँछु है’ भनेर हिँडेको आज तीन वर्ष भइसक्यो, अझै भेट भएको छैन ।

डोल्पाको त्यो अनकन्टार वनमा बसेको माइला र गौरीलाई काठमाडौंको भीडभाडले वाकवाकी लाग्न थालेछ । त्यो नेता नआएपछि उनीहरु आत्तिँदै रुँदै बसेछन्, गोंगबुको बसपार्कमा । उनीहरु रोएको देखेर एकजना होटलवाला आएर भाडा माँझ्ने काम गर्छस् भनेर सोधेछन् । माइला र गौरीले सहमत जनाएर हुन्छ भन्दै भाडा माझ्ने काम सुरु गरेछन् ।

काठमाण्डौंको भाषा उनीहरुले राम्ररी बोल्न नजान्ने तर बुझ्न चाहिँ बुझ्ने । चामलको खाना, दाल, तरकारी, अचार हालेको खाएकै थिएनन्, डोल्पामा हुँदा । केही समय त उनीहरुलाई भात रुच्दै रुचेन । २ महिना जति बितेपछि एकजना मोटी-मोटी देखिने महिला आएर गौरीलाई आफ्नो घरमा काम पनि गर्ने, पढाउने पनि भनेर लिएर गइन् । तर ती मोटी महिला को हुन् न उनलाई थाह थियो, न त गौरीलाई । त्यस होटलमा लगभग नौ महिना काम गरेपछि उसले साहुजीसँग लुगा किन्न दुई सय रुपैयाँ माग्दा दिएनछन् । उसलाई काम गर्न मन पनि हराउँदै गयो । एकदिन चियाको कप फुट्दा साहुको छोरोले पिटेको हुँदा उसले काम छोडेर सडक जीवन अंगाल्न पुगेको रहेछ । सडकमा लगभग २ वर्षजति भयो, ऊ बस्न थालेको । ६ महिनाअगाडि गौरीको बारेमा बुझ्न त्यही पुरानो साहुसँग जाँदा उसले त होटल बेचिसकेको र अर्कैले किनेको पो रहेछ ।

म साह्रै भावुक भएँ, उसको कथा सुन्दा । उसका पनि कथा कहँदै जाँदा गला अवरुद्ध थिए, आँखा टिलपिलाइरहेको थियो । मैले मःमः खान उसलाई होटलमा लगेँ । होटलवालाले तपाईंभित्र टेबुलमा बस्नुस्, यो ‘खाते’ यहीँ उभिएर खान्छ भन्यो । माइला जोडले कराउँदै भाग्छ, ‘साला खान्न तेरो मःमः, हो म ‘खा**’ हुँ ।’

म अवाक् भएँ र मःमः पसलको साहुसँग झोक्किएँ र उनलाई त्यस्तो भन्ने अधिकार कसले दियो भनेर अलि कड्किएँ । त्यतिञ्जेल ऊ विष्णुमतीपुल नजिकै पुगिसकेको थियो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment