चिरञ्जीवी पौडेल
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा उनी लगातार कयौं दिनसम्म सञ्चारमाध्यमका ‘हेडलाइन’ बनेका थिए । नेपालको संसदमा दिएको भाषणपछि त मोदीको नाम बालकदेखि बृद्धसम्मलाई कन्ठ भयो ।
त्यसको दुई वर्षपछि नेपालका प्रधानमन्त्री भारतको राजकीय भ्रमणमा जाँदा त्यस्तो केहि भएन । भारतीय अखबारहरुका प्रथम पृष्ठमा ओली थिएनन् । भित्री पेजमा फुटकर समाचारहरुमा उनी सिमित भए । सर्वसाधारणले त नेपालका प्रधानमन्त्री भारत आएको र गएको पत्तोसम्म पाएनन् ।
रोटीबेटीको सम्वन्ध रहेको भनिने भारतका नागरिकको नेपालप्रति खासै चासो र जानकारी पाइएन । मैले दिल्लीका विभिन्न स्थानमा विभिन्न औकातका भारतीयहरुसँग उनीहरुको नेपालसम्वन्धि धारणा बुझ्ने प्रयत्न गरेँ । तर, पढेलेखेका र सचेत भनिनेहरु धेरैले गर्ने उत्सुकता नै देखाएनन् । नपढेका र सामान्य काम गर्ने भारतीयहरुमा नेपालको बारेमा छेउ न टुप्पोको जानकारी पाइयो ।
अटो (मिटर टेम्पो) मा यात्रा गर्नेर् क्रममा सेतै दाह्री फुलेका एक चालकलाई मैले नेपालको बारेमा के थाहा छ भनेर सोधेँ । उनले भने, ‘नेपाल तो हमारा पडोसी है ।’ नेपालको राजधानी कहाँ हो भन्ने प्रश्नको पनि उनले सही जवाफ दिए । त्यसपछि मैले हौसिदै सोधेँ, ‘नेपालको प्रधानमन्त्रीको नाम थाहा छ ?’
उनले केहिबेर सोचेर भने, ‘सायद महेन्द्र हे ।’ थप प्रश्न गरिनँ उनलाई ।
यी टेम्पुचालककै हाराहारीमा रहेछ दिल्लीका धेरै सर्वसाधारण नागरिकको नेपाल-ज्ञान । नेपालका प्रधानमन्त्री आफ्नो देशको भ्रमणमा आएकोबारे उनीहरु जानकार थिएनन् । नेपालको मधेस आन्दोलन र भारतीय नाकाबन्दीका विषयमा पनि धेरैले अनभिज्ञता दर्शाए । गत वैशाखमा आएको भुकम्पको विषयमा भने धेरैले सुनेका रहेछन् ।
‘काठमाडौंका टावर क्या हुआ ? दुरुस्त हुुवा कि नहिँ ?’ करोलबाघमा फुटपाथ व्यापार गर्ने सोनु गुप्ताले सोधे । उनले धरहराको कुरा गरेका रहेछन् । मैले धरहरा पहिलेजस्तै बनाउन नेपालको प्रधानमन्त्रीकै अग्रसरतामै अभियान सुरु भएको बताए । ‘अब पहिले जैसा तो थोडी बन पाएगा ?’ उनले आशंका व्यक्त गरे ।
राजघाट नजिकको सडकमा जुत्ता पालिस गरिरहेका व्यक्तिले खुट्टै तानुँला झैं गरी बोलाए । ‘भाइसा’ब, पालिस करके जाइए न’ भन्दै उनी चिच्याइरहेका थिए । ‘ठिक छ’ भन्दै म टुलमा बसेर उनलाई जुत्ता दिएँ । जुत्ता पालिस गर्दै गर्दा मैले उनलाई उही प्रश्न राखे, ‘नेपालको बारेमा के थाहा छ ?’
‘हम पढे लिखे थोडी न हे । कुछ नहि पता ।’ उनले जवाफ दिए ।
करोलबाघमा रहेको होटल प्याराडाइजका म्यानेजर सरोज मिश्रले नेपालको विषयमा चाख दिएर कुरा गर्न खोजे ।
‘तपाईंका प्रधानमन्त्री किन भारत आएका हुन्, कति दिन बस्छन्, मधेसमा आन्दोलन किन भइरहेको छ,’ लगायत आधा दर्जन जति प्रश्न राखेपछि मैले उनलाई सोधेँ, नेपालको कुनै नेता चिन्नुहुन्छ ?
‘हाँ गिरिजा कोइरालाजीको जानता हुँ,’ उनले भने, ‘ओ क्या कर रहे है आजकाल ?’ मैले गिरिजाको उहिल्यै देहान्त भएको बताएपछि उनी ‘स्तब्ध’ बने ।
‘भले आदमी थे । बहुत अपसोस हुआ’ भन्दै उनले दुःख व्यक्त पनि गरे ।
भारतको विदेशमन्त्रालय रहेको साउथब्लक तर्फ लम्कदै गर्दा बाटोमा सेन्ट्री बसेका सुरक्षाकर्मीले रोके । त्यहाँ आउनुको प्रयोजन सोधे । हामी तीन भाई (परशुराम काफ्ले र सन्तोष घिमिरेसहित) ले भन्यौं, ‘हामी नेपालबाट आएका पत्रकार हौं । विदेश सचिवले आयोजना गरेको पत्रकार सम्मेलनका लागि आएका हौं ।’
‘नेपाल ?’ ती सुरक्षाकर्मीले आँखिभुईं खुम्च्याए, ‘कौन से स्टेटका हे यै ?’
हामीले नेपाल कुनै भारतीय राज्यमा नभएर अलग देश भएको बतायौं । त्यसपछि उनले थप एक दर्जन जति सवाल जवाफ गरेर हामीसँग हात मिलाउदै भने, ‘हमारे देशमे आप लोगोँका स्वागत है ।’
करोलबामा नेपालको विषयमा धेरै जानकारी राख्ने एक युवा पनि भेटिए । उनी कलेजका विद्यार्थि हुन् । उनले आफ्नो धेरै नातेदारहरु नेपालमा रहेको भन्दै काठमाडौं र पोखरा घुम्न मन लागेको बताए । उनलाई नेपालका प्रधानमन्त्री भारत भ्रमणमा आएको जानकारी पनि रहेछ । तर, प्रधानमन्त्रीको नाम भने सही भन्न सकेनन् ।
(नयाँ दिल्लीबाट फर्केर)
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment