फाल्गुन १६, २०७२- दिल्ली विमानस्थल हुँदै श्रीलंकाको कोलम्बो ‘ट्रान्जिट’ भएर मध्यपूर्वी तथा खाडी मुलुकमा नेपाली युवायुवती ओसार्ने गिरोहका मुख्य दुई एजेन्ट पक्राउ परेका छन् । मानव तस्करीमा संग्लग्न गिरोहबारे प्राप्त सूचनाका आधारमा शुक्रबार वसन्तकुञ्जस्थित एक अपार्टमेन्टबाट ती दुई एजेन्टका साथमा रहेका ११ युवतीको उद्धार गरिएको हो ।
चेलीबेटी बेचबिखन रोकथाममा संलग्न संस्था शान्ति पुन:स्थापना गृहले पाएको सुराकी आधारमा गृहका अधिकारीहरू भारतीय प्रहरीसँगको अनुसन्धानमा जुटेका थिए । युवती ओसारपसारमा संलग्न आरोपित राजन अधिकारी र जीवन पुनलाई रोहिणीस्थित प्रहरी कार्यालय लगिएको छ । दुवैलाई ‘युवती उद्धारको समन्वयमा साथ दिने’ प्रतिबद्धता गराउँदै सुरक्षा निगरानीमा राखिएको छ ।
उद्धार गरिएका युवतीलाई घर फिर्ता गराउन, आवश्यक बयान लिन तथा ‘ट्राभल डकुमेन्ट’ उपलब्ध गराउन शनिबार बिहान नेपाली दूतावास लगिएको थियो । ११ मध्ये एक युवती मात्रै अविवाहित छन् ।
बाँकी विवाहित, पारिवारिक बेमेल भएका र श्रीमान्समेत विदेशमा रहेका छन् । ‘नेपाली गाउँघरबाट युवती ल्याएर केही थाहा पत्तो नभएकै अवस्थामा खाडी मुलुक वा इराक लैजाने यो गिरोहबारे हामीले एक वर्षअघि जानकारी पाएका थियौं,’ शान्ति पुन:स्थापना गृहका कार्यक्रम संयोजक भूमिराज भट्टराईले भने, ‘यस बीचमा दुई महिनाअघि इराक लगिएकी बर्दियाकी एक महिलाको बिचल्ली स्थिति थाहा भएपछि र उद्धारमा समन्वय सुरु गरेपछि हामीले श्रीलंका–ट्रान्जिटको थप गिरोहबारे थाहा पाएका हौं ।’
दूतावासमा काउन्सेलर राम कार्की र सृजना अधिकारीले उद्धार गरिएका युवतीहरूसँग तस्करीका घटनाक्रमबारे बयान लिँदै घरफिर्तीका लागि आवश्यक कानुनी समन्वय गरेका थिए । युवतिलाई राखिएकै ठाउँमा उनीहरूको पासपोर्ट/नागरिकता सहितका सबै कागजात छुटेकाले दूतावासले उपलब्ध गराएको ‘ट्राभल डकुमेन्ट’ का भरमा शान्ति पुन:स्थापना गृह संस्थाको रोहबरमा सबैलाई शनिबार अपराह्न गाडीको बाटोबाट कृष्णनगर हुँदै काठमाडौं लगिनेछ ।
काठमाडौंमा केन्द्रीय अनुसन्धान ब्युरोले उद्धारमा परेका युवतीले रोजेको वैदेशिक रोजगारीको असुरक्षित उपाय तथा गाउँसम्म फैलिएको एजेन्टको सञ्जालबारे अर्को चरणमा छानबिन गर्ने भएको छ ।
कसरी सम्भव भयो उद्धार ?
बर्दिया, बनियाभार घर भएका अम्बरबहादुर थापा र उनकी श्रीमती मञ्जु थारूलाई इराक लैजाने भनेर तीन महिनाअघि स्थानीय एजेन्टको सञ्जालले प्रक्रिया थालेको थियो । सुरुमा दम्पती अम्बर र मञ्जु दुवैलाई इराक लैजाने भनेर मुख्य एजेन्ट राजन अधिकारीले दिल्लीमा बोलाएर एक महिनासम्म साथैमा राखेका थिए ।
त्यसबीच इराकको कुर्दिस्तान (एरबिल) लैजाने भनेर मञ्जुलाई युद्धरत क्षेत्र सिरिया पुर्याइएको स्थितिबारे थाहा पाएपछि अम्बरले श्रीमती घर फर्काइदिन आग्रह गरिरहेका थिए ।
‘म तिम्री श्रीमती फर्काउँछु, तर त्यसको सट्टामा अरू दुई युवती मलाई ल्याइदेऊ’ भन्ने सर्त राखेपछि अम्बर शान्ति पुन:स्थापना गृहसँगको उद्धार योजनामा मिलेर दुई युवती बुझाउन दुई दिनअघि मात्रै दिल्ली उत्रिएका थिए ।
दिल्लीमा नेपाली दूतावास हुँदै भारतीय प्रहरीको समन्वयमा गिरोह पक्राउ गर्न पहल भइरहेका बेला २ युवती बुझाउने बहानामा वसन्तकुञ्ज पुगेका बेला एजेन्टहरू राजन र जीवन पक्राउ परेका हुन् । एजेन्ट पक्राउ गर्न तथा छापा मार्न रोहिणीस्थित एन्टी–ट्राफिकिङ युनिटका एसीपी राकेश दीक्षित, डीसीपी राजीव शर्मासहितले मद्दत गरेका थिए ।
‘भारतीय प्रहरीको अपराध नियन्त्रण शाखाका अधिकारीले इराकमा रहेकी मेरी श्रीमतीलाई फर्काउन मद्दत गर्ने र यसमा एजेन्ट राजनले समन्वय गर्ने सहमति भएको छ,’ दूतावासमा भेटिएका अम्बरबहादुरले भने ।
उनकी श्रीमती मञ्जुलाई पनि श्रीलंका हुँदै इराक लगिएको थियो । इराक गएको एक महिनापछि मात्रै एरविलस्थित एक इराकी मालिकको घरमा काम गर्न पाएकी मञ्जुले आफूलाई नेपाल फर्काउन श्रीमान् अम्बरमार्फत आग्रह गरिरहेकी छन् ।
‘घरफिर्तीमा सबै प्रक्रिया पूरा गर्न पाकिस्तानस्थित नेपाली दूतावासबाट पहल गर्नुपर्ने भन्ने थाहा पाएको छु,’ अम्बरले भने, ‘तर प्रक्रिया र उपाय पहिल्याउन सकेको छैन ।’
शान्ति पुन:स्थापना गृहका अन्तर्राष्ट्रिय मामिला संयोजक सुमन सापकोटाले नेपालबाट तस्करी गरेर दिल्ली हुँदै श्रीलंका, मलेसिया, इराक वा खाडी मुलुक लगिएको अवस्थामा यो विषय सिधै बहुराष्ट्रिय सरोकारमा पर्ने बताए ।
‘नेपाल, भारत वा श्रीलंका मात्रै होइन, तस्करीको यो नेटवर्कबारे गहिराइमा पुग्न सरोकारसम्बद्ध सबै मुलुकको संयन्त्र बन्नु जरुरी देखिन्छ,’ उनले भने । उद्धार गरिएका युवतीमध्ये ५ जना केही पटक दिल्ली विमानस्थल जाँदै अध्यागमनले गरेको शंकाका कारण फिर्ता पठाइएका यात्रु समेत छन् ।
एक महिनामा ४० युवती ओसारपसार
इराक वा कुवेत जाने सपनामा मानव तस्करको चंगुलमा परेर उद्धार गरिएका महिला २० देखि ४० वर्षका छन् । उनीहरूका अनुसार एक महिनाअघि दिल्ली आइपुग्दा उनीहरू बस्ने फ्ल्याटमा २/४ जना मात्रै नेपाली युवती रहेकामा पछिल्लो एक महिनामा ४० भन्दा बढी भेला पारिएका थिए ।
धनकुटा, शिखरकटेरीबाट गत बुधबार मात्रै दिल्ली उत्रिएकी ३४ वर्षीया एक महिलाका अनुसार उनी दिल्ली उत्रिएकै दिन ५ युवतीलाई श्रीलंका उडाइएको थियो । ‘एजेन्टले भन्थ्यो, महिना दिनमा ४० जति केटीहरू श्रीलंका हुँदै कुवेत/इराक जाने गरेका छन् रे,’ दूतावासमा बयान दिने क्रममा उनले भनिन् ।
उनी भने धनकुटाबाट काँकडभिट्टा हुँदै न्युजलपाइगुडीबाट दिल्लीसम्म रेलमा आएकी हुन् । आफू कुवेत जान हिँडेको तर श्रीलंका भएर कुवेत जानुपर्ने बाटोबारे दिल्लीमा आएर थाहा पाएको अनपढ यी महिलाले बताइन् । आफ्ना श्रीमान् विगतमा कतार/मलेसिया बसेर आइसकेको र विदेश नजान सुझाव दिएको भए पनि साथीभाइसँग मिलेर यता आएको उनले सुनाइन् ।
यस्तै, बुटवलबाट ४१ वर्षीया मगर थरकी महिला गाउँमा ३ छोराछोरी छाडेर विदेश–सपनामा दिल्ली आएकी हुन् । उनका श्रीमान् रिक्साचालक छन् भने उनी नेपालगन्ज हुँदै एक जना एजेन्टले मोटरसाइकलमा सीमापार गराएपछि बसमा दिल्लीसम्म आएकी हुन् ।
यी महिलाले विगतमा साउदी अरब गएर आइसकेको र त्यही पुरानै एजेन्टको सहयोगमा अहिले कुवेत हिँडेको बताइन् । नवलपरासीकी एक ३० वर्षीया दर्लामी महिला पनि ३ छोराछोरी गाउँमा छाडेर यता आएकी छन् । दशकअघि कुवेत गएका श्रीमान्ले उतै अर्को विवाह गरेर बसेपछि छोराछोरी पाल्ने उपायमा ‘बिनाखर्च’ कमाइ गर्न घरबाट निस्किएको उनले सुनाइन् ।
उद्धार गरिएकामध्ये ३ जना झापा सदरमुकाम चन्द्रगढी आसपासका आदिबासी महिला छन् । उनीहरू काँकडभिट्टाबाट जलपाइगुडी हुँदै रेलमा दिल्ली उत्रिएका हुन् । उनीहरूलाई दिल्ली पुर्याउन दुई अपरिचित युवक आएका थिए ।
उनीहरूका श्रीमान् गाउँमा मिस्त्री काममा रहे पनि काम नपाएको अवस्थामा घरपरिवारमा सल्लाहले कामको खोजीमा निस्किएका हुन् । बारा, डुमरवानाकी एक दलित समुदायकी महिला रूपन्देहीको खैरेनी हुँदै त्रिवेणी र त्यहाँबाट एजेन्टले सीमा पार गराएपछि गौरवपुर भन्ने ठाउँबाट बस चढेर दिल्ली आएकी हुन् ।
यीमध्ये झापा, चन्द्रगढीकी २४ वर्षीया एक महिलाले दिएको बयानमा १६ दिनअघि दिल्ली आउँदा उनका साथमा अरू ७ युवती थिए । ‘तीमध्ये ३ जनालाई मलेसिया पुर्याइएको खबर सुनेकी छु, अर्की एक कुवेत जाने भनेर श्रीलंकामा अडकिएकी छिन् रे,’ उनले भनिन् । शुक्रबार उद्धारमा परेका ११ मध्ये २ जनाले भने आफूहरू कुर्दिस्तान (इराक) जान हिँडेको जानकारी दिएका छन् ।
यी ११ महिलाले दिएको बयानमा गाउँबाट दिल्लीसम्म आइपुग्दा हरेकसँग २/३ वटा एजेन्टको सम्पर्क रहने गरेको पाइएको छ । उनीहरूले आफ्नो पासपोर्ट काठमाडौंकै प्रमुख एजेन्टलाई जिम्मा दिएका थिए । त्यो कार्गो कम्पनीबाट दिल्लीमा आइपुगेको थियो । यसबारे सम्बद्ध कार्गो कम्पनीमाथि छानबिन हुने भएको छ ।
दिल्लीस्थित श्रीलंकाली दूतावासबाट पर्यटकीय भिसा सहजै पाइने भएकाले दिल्ली–कोलम्बोको बाटोबाट खाडी मुलुक वा मध्यपूर्व जाने चलन बढेको हो । पर्यटकीय भिसा, होटल बुकिङ–स्लिप र साथमा ५ सय डलर भएपछि दूतावासको ‘नो अब्जेक्सन लेटर’ चाहिँदैन । त्यही कारण मानव तस्करले दिल्लीको बाटो रोजेका हुन् ।
त्यसमाथि रोजगारीको खोजीमा रहेका कुनै पनि महिलाबाट पैसा नअसुली वैदेशिक रोजगारीको गन्तव्यमा पुर्याउने प्रलोभनले तस्करीको प्रभाव र पहुँच झनै विस्तार भएको हो । खाडीका कुवेतसहित मध्यपूर्वको इराकजस्ता मुलुकमा घरेलु कामदार जान नेपाल सरकारले प्रतिबन्ध लगाएको छ ।
दूतावास के भन्छ ?
भारतीय प्रहरीको अपराध नियन्त्रण इकाईमा समन्वय गर्न तथा आवश्यक परामर्श दिन नेपाली दूतावासले समन्वय गरेको भए पनि पीडितलाई घर फिर्ता पठाउन खर्च वा सवारी व्यवस्थाको सहयोग जुटाउन सकेन ।
चेलीबेटी बेचबिखन नियन्त्रण तथा उद्धार समन्वयका लागि महिला, बालबालिका तथा सामाजिक कल्याण मन्त्रालयले दिल्लीस्थित दूतावासका लागि सरोकारको प्रयोजनमा खर्च गर्न झन्डै ३० लाख रुपैयाँ विनियोजन गर्दै आए पनि यो रकम हरेक वर्ष ‘फ्रिज’ हुने गरेको छ ।
मानव तस्करीको दिल्ली ‘विशेष ट्रान्जिट’ बनिरहेका बेला दूतावासमा यसबारे बेग्लै इकाई वा समन्वयको प्रावधान हुन सकेको छैन । दूतावासले उद्धार गरिएका महिलालाई काठमाडौंस्थित प्रहरी अनुसन्धान ब्युरोको मातहतमा जिम्मा लगाउने र यसका लागि कागजी मार्ग प्रशस्त गर्ने काम गर्दै आएको छ ।
‘कूटनीतिक नियोगबाट घटनाको अनुसन्धान गर्नभन्दा पनि उद्धार वा क्षतिपूर्तिका कुरामा आवश्यक समन्वय जुटाउन र कागजी प्रक्रिया अघि बढाउन हामी सदैव तत्पर छौं,’ एक कूटनीतिक अधिकारीले भने ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment