दिल निसानि मगर
विभिन्न स्रोतहरुले नेपालको राजधानी ‘काठमाडौं’ एशियाको पहिलो र विश्वको तेस्रो प्रदूषित सहर भनेर पुष्टि गरेका छन् । नांगो आँखाले हेर्दा यहाँको वायुमण्डल निकै धमिलो देखिन्छ । स्वास्थ्य अवस्था सामान्य रहेका मानिसले आँखा पिरो हुने, चिलाउने, घाँटी खसखसाउनेजस्ता समस्या भोगिरहेका छन् ।
काठमाडौंमा अधिकांशले मुखमा मास्क लगाएर हिँडिरहेका देखिन्छन् । आफ्नै सहर आफ्नै लागि गन्हाएको छ । आफू वरिपरिको वातावरण आफ्नै लागि हानिकारक बनिरहेको छ । आफ्नै माटो आफ्नै लागि विष बनिरहेछ ।
आचीमा बसेको झिँगाले ‘प्रफ्युम’ छर्किहालेछ भने पनि त्यो झिँगा नै हो । प्रकृति नै गन्हाउन थालेपछि जतिसुकै कृत्रिम प्रफ्युम छर्के पनि हामी फोहोरी देशका झिँगा हौँ । हो, हामी नेपाली र झिँगाबीच खासै अन्तर छैन । झिँगा फोहोरको थुप्रोमा बस्छ, हामी पनि बसेकै छौँ । झिँगा शौचालयको वरिपरि चियाको जूठो गिलास चुस्दै बस्छ । हामी पनि त्यसै गरेका छौँ । जानुहोस् रत्नपार्कको आकाशेपुलमुनि जहाँ, खुला शौचालय र खुला चिया पसल एकै ठाउँ जोडिएका छन् । झिँगा र मानिसहरू एकैसाथ झुम्मिएका छन् ।
सहरको किनारमा घरभन्दा ठूलो फोहोरका थुप्रा छन् । घरअगाडि ठिंग उभिएको हुन्छ एक स्थानीय मानिस । तर, आफूअगाडि थुपि्रएका फोहोरका डंगुरहरू उठाउनका लागि ऊसँग एक चिम्टी विवेक छैन । चोक र गल्लीमा दुर्गन्ध यति धेरै फैलिरहेको छ, मानौँ कि काठमाडौं भनेको एक सार्वजानिक शौचालय हो । र, देशभरका मानिसहरू दिशा, पिसाब गर्नका लागि यहाँ आइपुग्छन् । कोही छन् कि यसो दायाँ वायाँ हेर्यो, छैनन् भने सडकमा ठिंग उभिएर जो-कोहीले पनि पिसाब फेर्न सक्छ । काकताली मिलेमा दिसा समेत गर्न सक्छ ।
पैदलयात्रीहरू आवात-जावत गर्नका लागि निर्माण गरिएको काठमाडौंका आकाशे पुल ती कुनै पनि हालतमा पुलजस्ता देखिन्नन्, ती फुटपाथे पसल बनेका छन् । दुई-चार थान लुगा समातेका पोके व्यापारीले सिंगो पुल नै कब्जा गरेर पसल फिँजाउन मिल्दैनथ्यो ।
पैदलयात्रीले प्रयोग गर्ने बाटो पोके व्यापारीको पसल बनेको छ । यो सहरलाई कुरुप बनाउनेमा पोके व्यापारीहरूको ठूलो भूमिका छ । तर राज्य कहाँ छ ? कि उल्टै भाडामा दिएर कमिसन खाँदै छ ? थाहा छैन । आकाशेपुल भाडामा दिनका लागि बनाएको त पक्कै होइन होला ।
पर्यटकहरू समेत हिँड्ने मुख्य सडकमा खाजा घर चलाएका व्यापारीले पैदलयात्री नै अल्भिmने गरी बलियो धागोमा टाँगेर सुकुटी सुकाइरहेका देखिन्छन् । मःमः खाने ग्राहकभित्र हुन्छन्, पकाउने भाँडो बाहिर हुन्छ । र, चना, चटपटे चिया, आयुर्वेद जडिबुटी जहाँ उभिएर, जुनसुकै स्थानमा बेचे पनि भयो ।
यो देशमा अनुशासन सिकाउने कुनै नियम-कानुन वा प्रचलन छैन । शिक्षित युवासमेत मीठापान खान्छ, अनि पिच्च बाटोमा थुक्छ । मानौँ कि बाटो बाथरुमजस्तो भएको छ, बाथरुम बाटोजस्तो ।
काठमाडौं सहरका भित्ता र पर्खालहरू राजनैतिक दल र व्यापारिक प्रायोजनका निम्ति निकै अव्यवस्थित ढंगबाट रंगिएको छ । यस्तो लाग्छ कि यी भित्ता अनि पर्खालहरू तिनको पिताजीको निजी बिर्ता हुन्, राष्ट्रिय सम्पत्ति हुँदै होइनन् ।
राष्ट्रिय सम्पत्तिको त सम्मान हुन्छ, जे गरे पनि हुँदैन । बिजुलीको खम्बामा पोस्टर टाँसेको आरोपमा जेल जीवन बिताउनुपर्ने कैयौँ देश छन् । हालसालै कांग्रेसको महाधिवेशन हुँदा जताततै टाँसिएका, झुन्ड्याइएका प्रचार सामाग्री अझै उस्तै छन् । पढे-लेखेका तरुण दलका युवाहरू कानमा चमेलीको तेल हालेर सुतेका छन् ।
सवारी-साधनले सात पुस्तादेखि संकलन गरेको धुँवालाई एकैचोटि फ्याँकेजस्तो सडक नै धुँवामय बनाइदिन्छन् । यो सहरलाई दूषित बनाउन मुख्य रुपमा थोत्रा सवारी-साधनका मालिक दोषी छन् । निश्चित किलोमिटरको यात्रा पूरा गरेपछि ती सवारी-साधनलाई आराम दिनुपर्ने हुन्छ ।
तर, काठमाडौंमा बैंस आउँछ । अन्तर्राष्ट्रिय विमानस्थल बाहिर थोत्रा ट्याक्सी लिएर पाखुरा समात्न आइपुग्छन् गेस्ट-हाउस सञ्चालकका सहयोगीहरू । मानौँ कि आज विदेशबाट गेस्ट आएको होइन कुनै चोर, लुटेरा वा अपराधी आएको हो ।
फोहोर संकलन गर्ने डस्टबिन सिंगो काठमाडौंभरि खोज्दा पनि भेटिन्न । महानगरपालिकाका दुई-चार महिलाले एकाविहानै कुचो समातेर काठमाडौं सफा राख्न निस्किन्छन् ।
उनीहरू सफा गर्दै जान्छन्, फोहोर फ्याँकिँदै जान्छन् । हिँड्दै छ, पाइला मेट्दै छ भनेजस्तो । सडक किनारको ढल, नाली खोतल्यो भने जंगबहादुर राणाको पालादेखिको हिलोमैलो एकैसाथ भेटिन सक्छ । यहाँका मानिस बरु वेश्यालय र रक्सी दोकानलाई चिटिक्क पारेर सफा गर्न तयार छन् । तर, घरअगाडिको सडक सफा गर्दा यिनलाई नाफा हुँदैन ।
संस्कारमा नहुर्केको अनपढ नेपाली नागरिक नै किन नहोस् । यदि ऊ केही समय विदेश बसेर आयो भने काठमाडौं सहर देखेर कि ऊ हाँस्छ कि गम्भीर हुन्छ । विदेशमा उसले फलफूल खाएपछि त्यसको बोक्रा फोहोर व्यवस्थापनको सम्बन्धित टोकरी नभेटिँदासम्म खल्तीमा राख्छ ।
तर, काठमाडौंमा फ्यात्त सडकमा फ्याँक्ने सुविधा पाउँछ । गम्भीर यस अर्थमा कि आफ्नो देशको राजधानी किन लाजधानी जस्तो छ भनेर । मेरो देशमा किन संस्कार वा सिस्टम छैन भनेर । मानिसहरू किन अनुशासनहीन र जिम्मेवारीविहीन छन् भनेर ।
सडक किनारमा बिजुलीका तार बेतमासले झुन्डिरहेका छन् । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई रतन्धो लागेको छ । सानो-सानो कुराले सहरको सुन्दरतालाई कति कुरूप बनाउँछ भन्ने कुरा तिनलाई थाहा नभएको पनि होइन, किनभने अध्ययन भ्रमणको सिलसिलामा विदेश घुमेर तिनीहरूले राज्यका करोडौँ रकम स्वाहा पारेका छन् । तर खै किन होला काठमाडौंलाई सुन्दर बनाउन ती मरिकाटे लाग्दैनन् । कतिपय स्थानमा झुण्डिएका तारहरूले पैदलयात्रीको टाउको छुनै लागेका छन् ।
काठमाडौंको कैयौँ स्थानमा कच्ची बाटो छ । सवारी हुइँकिँदा धुलो उडेर जमिन नै ढाकिदिन्छ । तर, सडक विभाग चुपचाप छ । बरू सडक विभागका ती कर्मचारी कार्यालयभित्रै तास खेलिरहेको अवस्थामा रंगेहात पक्राउ परेको अखबार आउँछ । तर, सडक सुन्दर बनाउन सडक किनारमा फूलहरू रोपेको, बगैँचा निर्माण गरेको समचार कहिल्यै आएन । ट्राफिक संकेतको त कुरै छोडौँ, ‘जेब्रा क्रसिसको’ संकेतहरू पनि मेटिएका छन् । उभिएर शताब्दी बिताएको बूढो रूखजस्तो थकित देखिन्छ, काठमाडौं ।
सरकार कहाँ छ ?
शहरी विकासदेखि वातावरण मन्त्रालयसम्म गठन गरेको छ सरकारले । वातावरण, सरसफाइ र सहरी विकासका नाममा वाषिर्क करोडौँ रुपैयाँ निकासा हुन्छ । विदेशी दाता र एनजीओ, आइएनजीओले पनि आफ्नै तबरबाट करोडौँ डलर यस्तै शीर्षकमा खर्च गरेका प्रतिवेदन सार्वजनिक हुन्छन् । तर, यी मन्त्रीहरूले आफ्नै नाकमा झिँगा भन्केको देख्दैनन् । कूटनैतिक नियोगका हाकिमलाई समेत थाहा छैन कि सहरी विकासका निम्ति हाम्रो मुलुकबाट आएको करोडौँ डलर कसले झ्वाम्म पार्यो भनेर । एनजीओ, आइएनजीओको त कुरा अलि लामो हुन्छ ।
आफ्नो नाकमा किन झिँगा उडेर आई बस्यो भन्ने रहस्य खोज्दैनन् मन्त्रीहरूले । मन्त्रीले रहस्य खोजिदिएको भए काठमाडौंका गल्ली र चोकहरूको फोहोर प्रशोधन गरेर कच्चा पदार्थ बनाउन सकिन्थ्यो । दिल्लीका भैयाहरूले पुराना बोतल, फलाम, प्लास्टिकलाई कवाडीको रुपमा संकलन नगरिदिने हो भने सिँहदरबार भित्रै हैजा आउने ठूलो खतरा देखिन्छ ।
यो देशका भीआईपी, भीभीआईपी यही थकित सहरका थोत्रा सडकमा रवाफका साथ ‘साइरन’ बजाउँदै हुइँकिन्छन् । तर, तिनलाई आफू फोहोरी देशका मानिस हौँ भनेर कत्ति पनि आत्मग्लानी हुन्न ।
छन त सरकार यहीँ छ । यही फोहोरका डंगुरबीच विदेशीले उपहार दिएको ‘प्रफ्युम’ छर्केर कालो सिसाबाट देखिरहेछ, आफूले हाँकेको देशको यो दुर्गति । उसले सोचिरहेछ, आगामी सम्बोधनका लागि आवश्यक उखानहरू टुक्काहरू, भ्रमहरू, ढाँटकपट र छलछामहरू । तर सोचिरहेको छैन यी बिजुलीका तार किन जमीन छुन लागेका होलान् भनेर । सडक किनारमा थुपि्रएका यी फोहोरहरू किन डिस्पोजल नगरिएका, यी मुख्य कच्ची सडकहरू किन पिच नगरिएका भनेर पनि सोचिरहेको छैन ।
सोच्नका लागि फुर्सद चाहिन्छ । फुर्सद निकाल्नका लागि समय चाहिन्छ । समय व्यवस्थापनका लागि इच्छाशक्ति चाहिन्छ । इच्छाशक्तिका लागि दिमाग चाहिन्छ । हाम्रा नेताको काम पनि छैन, फुर्सद पनि छैन । सधैँजसो दौडधूप केका लागि त, देश कंकाल बनाउनका लागि ?
जाबो देशको केन्द्रबिन्दु राजधानीको फोहोर व्यवस्थापन गर्न नसकेपछि अरु केही गर्न सकिन्न । घर वा मानिसको सभ्यता भनेको सफा-स्वच्छता सुग्घर हो कि होइन ? फोहोर देशको सभ्यताको प्रचार विदेश जगतमा घृणित हुन्छ भन्ने हेक्का हुँदाहुँदै नीति र योजनालाई कार्यान्वयनमा किन नल्याउने ?
सरकारका सचिवहरू सरकारमा बसुन्जेल शक्तिकेन्द्रको चाकडी गर्न व्यस्त हुन्छन् । पदबाट पेन्सिन लिएर बिदा भएपछि चर्चा कमाउनका लागि मात्रै भए पनि झाडू समातेर वागमती नदी सफा गर्न निस्कन्छन् । उदाहरणका लागि लीलामणि पौड्याल । राज्यस्तरबाटै नीति बनेन र यसलाई कार्यान्वयन गर्न राज्यका संरचना खटिएनन् भने केही हुनेवाला छैन । बाबुराम नेतृत्वको नयाँ शक्तिको ‘क्लिन, गि्रन काठमाडौं’ जे भने पनि यो क्षणिक चर्चाका लागि गरिएका प्रचारवादी काम हुन् ।
राज्यका संरचनाहरू जिम्मेवार नबनेसम्म कुनै एक व्यक्ति वा समूहको इच्छा, चाहना र भावनाबाट परिवर्तन सम्भव देखिन्न । नगरपालिका, महानगरपालिका, उपमहानगरपालिकाका कर्मचारी दिनभरि घाम तापेर बस्ने, कुनै नीति योजनाहरू निर्माण नगर्ने हो भने एकजना मानिस झाडु बोकेर सडकमा निस्किँदैमा सहर सफा हुँदैन ।
कामचोरलाई घोक्रेठ्याक लगाएर काममा लगाउनका लागि सिस्टम -प्रणाली) को विकास गर्नु आवश्यक छ । यो सहर प्रदूषित हुनुमा नागरिकहरू भन्दा सरकार नै दोषी छ ।
काठमाडौंलाई कसरी सुन्दर सहर बनाउने ?
काठमाडौंलाई कस्तो बनाउने भनेर लामो समयदेखि विभिन्न तहमा बहस हुँदै आइरहेका छन् । विज्ञले आफ्नो धारणा पनि बेला-बेलामा राखी नै रहन्छन् । तर, काठमाडौं जस्ताको तस्तै छ । देशको राजधानी भएकाले पक्कै पनि काठमाडौंसँग देशवासीको भावना, सम्बन्ध र परिचय छ ।
तर, काठमाडौंले जुन मात्रामा स्वदेशी, विदेशीको मन जित्नुपर्ने थियो, त्यो छैन । काठमाडौंलाई मेट्रोसिटी र साइकल सिटीको रुपमा विकास गर्न सकियो भने सडकमा सवारीको चाप स्वतः घट्छ र वायु प्रदूषित हुन पाउँदैन ।
फुटपाथका र पोके व्यापारीलाई मुख्य सडकपेटी र आकाशेपुलबाट तत्काल हटाउनुपर्दछ । अहिले भएको के छ भने सडकका किनारहरू पुल-पुलेसा, मन्दिर, पेटी, गुम्बा, मैदान जहाँ पायो, त्यहीँ एउटा च्यादर ओछ्यायो, पसल थाप्यो । काठमाडौं सहरलाई कुरुप बनाउन यिनीहरूको ठूलो भूमिका छ । सभ्य र विकसित देशहरूमा जहाँ गए पनि कसैले यस्तो किसिमको अनुशासनहीन काम गरिरहेका हुँदैनन् । यिनै कारण पनि विदेशीको अगाडि हामी लज्जित हुनुपरेको छ । आकाशे पुल पैदलयात्रीका लागि बनाइएको हो कि व्यापारीलाई पसल फिँजाउनका लागि बनाइएको हो ? सरकारले जवाफ दिनुपर्दछ ।
सहरको मुख्य सडक उप्किँदाबित्तिकै कालोपात्रे गरिहाल्ने पद्धतिको विकास हुन जरुरी छ । हामीकहाँ त के छ भने एउटा भौतिक निर्माणका लागि अर्को आर्थिक वर्ष कुर्नुपर्ने । जेसुकै भत्कियोस्, कोही कसैलाई प्रवाह छैन ।
काठमाडौंको विभिन्न चोक, गल्ली कच्ची छन् । तिनलाई तत्काल कालोपत्रे गर्नुपर्दछ । सडक किनारमा रहेका फोहोरका थुप्रालाई दैनिक रुपमा व्यवस्थान गर्नुपर्दछ । आज जम्मा भएका फोहोर भोलि वा दुई दिनभित्र निश्चित स्थानमा व्यवस्थापन गर्न नसके दुर्गन्ध स्वतः फैलिन्छ ।
सडकको किनारमा फूलबारी, बगैँचा बनाउने कुरा त टाढाको सपनाजस्तो भयो । तर, पैदलयात्री र सडक किनारमा बसोबास गर्ने मानिसले प्रयोग गरेका सामानबाट निस्कने फोहोर संकलनका लागि प्रत्येक दश मिटरको दूरीमा ठूला आकारमा बाल्टी राखिनुपर्छ । फोहोर चिज सडकमा जथाभावी नफाल्ने संस्कार स्थापित हुँदै गयो भने स्वतः आदतको रुपमा स्थापित हुन्छ । र, पुस्ताले त्यही चिजको अनुशरण गर्दछन् । स-साना बालबालिकाले सडकलाई माया गर्छन् र सिक्छन् सामाजिक प्राणी हुनुको दायित्वबोध ।
काठमाडौंको ढल निकास पनि एकदमै अव्यवस्थित छ । फोहोर ढललाई कुनै नदीसम्म लगेर मिसाइदिने काम मात्र ढल निकास होइन । वागमती नदी प्रदूषित हुनुको कारण यिनै ढलहरू मिसिएकाले नै हो । जबसम्म ढलको उचित व्यवस्थापन हुन्न, तबसम्म वागमती मात्र होइन कुनै पनि नदी सफा रहन्नन् ।
काठमाडौंका कैयौँ स्थानमा ढल फुटेर फोहोर सडकमा निस्केका छन् । ढल रोकिएका -ब्लक) भएका छन् । वर्षा यामको समयमा झन् समस्या हुन्छ । त्यसैले ढलको सहज निकास अपरिहार्य छ ।
फलफूल वा प्याक गरिएका खाजा खायो, निस्केका फोहोर फ्याट्ट सडकमा फ्याँक्यो । अहिलेसम्म भएकै यस्तै छ । सडक फोहोर हुनका लागि हामी सबैको दोष छ । त्यसैले कम्तिमा हामीले हाम्रो कारण निस्केका फोहोरलाई आफैँ ठीक तरिकाले व्यवस्थापन गर्नुपर्दछ । कसैले जानाजान वा अटेर गरेर सडकमा थुक्दै हिँड्छ, दिसा-पिसाब गर्छ, फोहोर फ्याँक्छ भने त्यसलाई कडा कारबाही गर्नका लागि नियम बनाउनुपर्दछ । त्यो नियम सरोकारवाला निकाय र असल नागरिकले युद्धस्तरमा पालना गर्नुपर्दछ ।
व्यापारिक विज्ञापन र राजनैतिक प्रयोजनका निम्ति ठुल्ठूला होडिङ बोर्डहरू झुन्ड्याइएको छ । यस्तो कुनै ठाउँ बाँकी छैन, जहाँका पर्खाल नकोरिएका हुन्, पोस्टर नटाँसिएका हुन् । पर्यटकहरूका निम्ति वा सहरको सुन्दरताका निम्ति परिचित महत्त्वपूर्ण स्थानमा यस्ता प्रचारलाई तत्काल बन्देज लगाइनुपर्दछ । नियमलाई कसैले नमानेमा वा उल्लंघन गरेमा कडाभन्दा कडा कानुनमार्फत दण्डित गरिनुपर्दछ । यो देशको दुर्गति हुनुमा नियम-कानुन आफू पनि नमान्ने र अरुलाई पनि नमान्न उक्साउने प्रवृत्ति जिम्मेवार छ । अबदेखि यस्तो नगरौँ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment