१६ भदौ, काठमाडौ । कृषि राज्यमन्त्री राधिका तामाङ अनलाइनखबरसँग कुरा गर्दागर्दै आफ्नै कार्यकक्षमा भक्कानिइन् । विवाह गरेको ३७ दिनमै पति गुमाएकी सहिदकी पत्नी राधिका मन्त्रीको कुर्सीमा बसिरहँदा आफ्ना श्रीमान र जनयुद्धका सहिदलाई सम्झेर रोएकी हुन् ।
नेपालको राजनीतिक इतिहासमा माओवादी नेतृत्वको १० वर्षे जनयुद्ध विभिन्न कोणबाट सधैँ सम्झिरहने कालखण्ड हो । सशस्त्र युद्धमा १७ हजार नागरिकले ज्यान गुमाए । बाँच्नेहरु बेलाबखत सांसद, मन्त्री र प्रधानमन्त्रीसम्म बनिरहेका छन् । यही मेसोमा कृषि राज्यमन्त्री बन्न पुगेकी छिन्- नुवाकोटकी राधिका तामाङ ।
अहिले पनि कतिपय माओवादी नेता-कार्यकर्ताहरु जनयुद्धका दिनहरु कोट्याउँदा भक्कानिन्छन् । राज्यमन्त्री राधिकासँगको कुराकानीमा पनि यस्तै भयो । पुराना दिन कोट्याउनासाथ उनी मन्त्रालयभित्रै रोइन् ।
युद्धका दिनहरुको सम्झना कत्तिको आउँछ भन्ने अनलाइनखबरको प्रश्नमा राज्यमन्त्री तामाङ भावुक बनिन् । र, भनिन्, ‘कृषि विकास राज्यमन्त्रीको कुर्सीमा बसेर कुरा गर्दैछु, तर आजसम्म दिल खोलेर खुशी भएको दिन मेरो स्मरणमा छैन । ‘
भूमिगत जीवनको सम्झना
राधिका तामाङको जन्म नुवाकोट जिल्लाको लिखु भन्ने दुर्गममा गाउँमा भयो । स्कुल पढ्दा पढ्दै भूमिगत भएकी तामाङले युद्धकालमा नुवाकोट जिल्ला जनसरकार प्रमुखको जिम्मेवारीसमेत सम्हालिन् ।
०५७ सालमा विद्यार्थी संगठन विस्तारको एकसाता लामो अभियानमा सहभागी भएकी तामाङ पूर्णकालीन भइसकेकी थिइनन् । तर, घरबाट हिँडेको केही दिनमै प्रहरीले उनलाई खोज्न थाल्यो र परिवारले पार्टीमै बस्नु, नर्फकनु भन्ने खबर पठाएपछि उनी पूर्णकालीन कार्यकर्ता भइन् ।
‘त्यतिबेलासम्म मलाई हतियार दिइएको थिएन । लौरो थियो, झोला बोकेर हिड्थेँ । तर, निधारमा रातो कफन बाँधेर हिँड्दा गर्व लाग्थ्यो ।’ राज्यमन्त्री तामाङ पुराना दिन सम्झँदै भन्छिन्,-‘पहिलो दिन हतियार बोक्दा उत्साहले भरिएकी थिएँ ।’
कुराकानीकै क्रममा उनले युद्धका सम्झना सुनाउन थालिन् । शुरुमा हाँस्दै कथा सुनाउँदै गरेकी तामाङ एकाएक गम्भीर बनिन् । र, भनिन्, ‘युद्धमा खुशीको कुनै दिन हुँदैनथ्यो । धेरै साथीहरु गुमायौँ, भर्खर भेटेका साथी केहीबेरमै कहिल्यै नभेट्ने अवस्था हुन्थ्यो ।’
यति भनिनसक्दै उनी रुन थालिन् ।
हेर्नुस् भिडियो
जनयुद्धमै श्रीमान गुमाएकी सहिदपत्नी तामाङले भनिन्- ‘युद्धमा खुशी हुनै सकिएन । युद्ध जितेको दिन पनि साथीहरु गुमाएका हुन्थ्यौँ र रुँदै हिँड्थ्यौँ ।’
वि.सं. ०६१ फागुन १ गते उनीहरुको विवाह भयो । तर, विवाहको एक महिनामै चैत्र ७ गते उनका श्रीमानलाई सेनाले मारिदियो ।
‘मेरो आफ्नो कुरा गर्दा, आजसम्म म दिल खोलेर खुशी हुन सकेकी छैन,’ उनले अनलाइनखबरसँग भनिन्- ‘पछिल्लो समयमा आइसकेपछि केही उपलब्धीहरु देखिएका छन् । केही आशाहरु पलाएका छन् । म आफैँ राज्यमन्त्री भइसकेँ । तर, आज यो कुर्सीमा बसेर कुरा गर्दासम्म म दिल खोलेर खुशी हुन सकेकी छैन । खै किन हो, मसँग त्यस्तो कुनै खुशी नै छैन ।’
शिक्षकलाई कालो मोसो दलेर भूमिगत
वि.सं. ०५७ सालमा माओवादी जनसेनामा भर्ती हुन पुगेकी तामाङ त्यतिबेला जम्मा १५ बर्षकी मात्रै थिइन् । उनी सम्झिन्छिन्, ‘म राजनीतिमा प्रवेश गरेको धेरै पछि मात्रै थाहा पाएँ ।’
नुवाकोटको दुर्गम गाउँ लिखुमा जन्मिएकी तामाङ सात कक्षामा पढ्दै गर्दा ०५५ सालमा एउटा विद्यार्थी संगठनमा आवद्ध भइन् । तर, उनलाई कुन विद्यार्थी संगठनमा संगठित भएँ भन्नेसमेत ४ महिनापछि मात्रै थाहा भयो ।
तामाङ समुदायमा छोरीले पढ्नुहुँदैन भन्ने भावना थियो । ०५५ सालमा स्कुलमा विद्यार्थी संगठन बनाउने भन्दै केही नयाँ मानिसहरु आए । गरिबको पक्षमा काम गर्ने हो भनेपछि राधिका पनि संगठित भइन् । तर, उनलाई उनीहरु माओवादी हुन्, र माओवादी निकट विद्यार्थी संगठनमा आवद्ध भएँ भन्ने थाहा पाउन चार महिना लाग्यो ।
हिजो हाम्रो एजेण्डामा असहमति जनाएर हामीलाई आतंककारी भन्नेहरु आज त्यही परिवर्तनको जगमा राष्ट्रपति बनेका छन् , यहाँनेर हाम्रो जित भएको छ
राज्यमन्त्री तामाङ भन्छिन्, ‘अन्यायको विरुद्ध लड्छ रे भन्ने सुनेर, त्यसरी म संगठित भएँ । अझ मुख्य कुरा त म आफ्नै शिक्षकको दूर्व्यवहारका कारण पनि माओवादी भएँ ।’
उनले अगाडि भनिन्- ‘आफ्नै शिक्षकले छात्राहरुलाई निकै दूर्व्यवहार गर्न थाले । उसको पहिले नै तीनवटा श्रीमती थिए । मेरी एकजना साथीलाई दूर्व्यवहार हुँदा आफैँले देखें र प्रतिवाद गरेँ । संगठनका तर्फबाट मेरै नेतृत्वमा शिक्षकलाई कालो मोसो दलियो । र, पढ्न छाडेर बन्दुक बोकेर हिँडियो ।
केही अर्थमा जित्यौँ तर पूरा होइन
‘हामीले जे सपना देखेका थियौँ, ती हुबहु पूरा भएनन् । तर, केही उपलब्धी भएका छन्,’ राधिका आफ्नो राजनीतिक यात्राको बचाउ गर्दै भन्छिन्- ‘हिजो परिवर्तनको एजेण्डा उठाएर हिँड्दा धेरै मारियौँ । आतंककारी भन्दै लखेटियो । हाम्रो आधा रगत बग्यो । तर, हिजो हाम्रो एजेण्डामा असहमति जनाएर हामीलाई आतंककारी भन्नेहरु आज त्यही परिवर्तनको जगमा राष्ट्रपति बनेका छन् । यहाँनेर हाम्रो जीत भएको छ ।’
त्यसैगरी आतंककारीको बिल्ला भिराएर दिनरात लखेटिएका महिलालाई आज सभामुख बनाएको भन्दै मन्त्री तामाङले यसलाई उपलब्धिका रुपमा व्याख्या गर्न खोजिन् । उनले भनिन्, ‘न्यायालय प्रमुखमा विभेदमा परेकी महिला छिन्, त्यहाँ मैले लडेको युद्धको भूमिका छ । हामीले उठाएका मुद्दाहरु समानताका थिए, समानुपातिक-समावेशीको कुरा थियो, त्यो अभ्यासमा आएको छ ।’
राज्यमन्त्री तामाङले दोहोर्याइन्, ‘कलिलै उमेरमा राजनीतिको ‘र’ उच्चारण गर्न नजान्दै युद्धमा होमियौँ, आफ्ना मान्छेहरु गुमायौँ । उनीहरुले यसलाई मनन गर्लान् नगर्लान्, तर यति बेला खुशी लाग्छन् ।’
हतियार बोकेको पहिलो दिन
राज्यमन्त्री तामाङले हतियार बोकेको स्मरण यसरी सुनाइन्-
म नुवाकोट दुई नम्बर इलाकामा खटिएकी थिएँ । त्यतिबेला मलाई दुईवटा मात्रै गोली जाने बारबोर राइफल बोकाइएको थियो ।
सानी थिएँ, त्यसैले पनि साथीहरु कसैले पनि पत्याउँदैनथे । यसले गरेर खान्छे भन्ने उहाँहरुलाई विश्वास नै थिएन । भाग्छे भन्ने अनुमान गर्थे ।
बन्दुक बोकेको पहिलै दिन खोला तर्ने क्रममा चिप्लेर लड्दा एउटा गोली हरायो । तर, मलाई कुनै कारबाही भएन ।
सेल्टरमा पुगेपछि पनि म सुत्न भन्दा पनि हतियार पुछेर, टल्काएर बस्थेँ । मलाई हतियारको निकै माया लाग्थ्यो । केही समयपछि म सेनाबाट इलाकामा फर्कें । त्यसपछि बन्दुक बोक्ने अवसर मिलेन ।
इलाकामा फर्केपछि आत्मसुरक्षाका लागि एलगेडी (ग्रिनेट बम) बोकेर हिड्थेँ । मानिसहरु बम बोकेको देखेपछि धेरै पर भाग्नुहुन्थ्यो । तर, मलाई त्यसको यति माया लाग्थ्यो कि सधैँ सिरानीमा हालेर सुत्थेँ । त्यतिखेर म आफैँ ग्रिनेट बनाउने गर्थेँ । तर, अहिले बिर्सिएँ ।
पहिलो पटक फायर छोड्दा
फायर छोडेको छु । नुवाकोट शिखर बेंसीमा मशाल जुलुस आयोजना भयो । अन्तिममा सेनाको व्यारेक लक्षित फायर छोड्ने कार्यक्रम थियो ।
म आफैँ त्यो टिमको कमाण्डर थिएँ र आफैँले फायर खोल्ने निर्णय गरेर फायर छोडेँ । तर, हतियारमा धेरै बारुद्ध भरिएको रहेछ, धक्काले म तल्लो पाटामा खसेर पछारिएँ । तर मैले मान्छेलाई नै निसाना लगाएर फायर छोडेको छैन ।
सेनामाथि ग्रिनेट हानेर बाँचेको दिन
सिन्धुपाल्चोक र नुवाकोटको सीमाना, कुदुमछाप भन्ने लेखबाट झर्दै थियौँ । हामी जुन गाउँ पुगेका थियौँ, त्यहाँ सेना गइसकेको रहेछ । म आफैँले देखेँ । मैले हरियो लुगा लगाएकी थिएँ र घाँस भएतिर लुकेँ । सेना नजिकै थियो, त्यत्तिकै भाग्न सक्ने अवस्था नै थिएन ।
त्यतिबेला माओवादीलाई सेनाले तीन तरिकाले बुझ्थ्यो । आर्मीले बन्दुके कि झोले भनेर सोध्यो, त्यहाँको एउटा मान्छेले झोले भन्यो । त्यसपछि केटा कि केटी भनेर सोध्यो । महिला भनेपछि पुरै खोज्न थाल्यो ।
बेस्कन खोजेपछि म त्यहाँ सुरक्षित हुने स्थिति देखिन र सँगै भएको ग्रिनेट प्रहार गरेर जंगलतर्फ भागेँ । म दुईदिनपछि नुवाकोट पार्टी सम्पर्कमा पुग्दा साथीहरुले मेरो माया मारिसकेका रहेछन् ।
सपनाहरु धुमिल भएनन्
युद्धमा हामीवीच को पहिले सहिद हुने भन्ने प्रतिस्पर्धा नै हुन्थ्यो । को मन्त्री हुने, को धनी हुने भन्ने इच्छा थिएन ।
साथीलाई कसरी जोगाएर आफु सहिद हुने भन्ने भावना थियो हिजो युद्धमा । तर, युद्धविराममा फर्किएपछि हामी माओवादीहरु बिग्रियौँ ।
दुःख पनि लाग्छ, हिजोको सद्भाव, माया र एकतामा आज हामी छैनौँ । हिजोको भावनात्मक एकता कमजोर बनेको छ । त्यै पनि सबै सक्किसकेको छैन, सम्भावनाहरु बाँकी छन् ।
केसी र महतको पैसाको राजनीति
कलिलो उमेरमा युद्धमा होमिएँ, केही सिकेँ, धेरै गुमाएँ । तर आज बोल्न सक्ने भएकी छु । म राजनीतिकरुपमा नुवाकोटमा बहादुरसिंह तामाङ, अर्जुननरसिङ केसी, रामशरण महतहरुलाई च्यालेञ्ज गर्न सक्छु । तर, पैसाको आडमा चलेको राजनीतिमा म पैसाले मान्छे किन्न सक्दिँन । म, उहाँहरुले राजनीतिक आस्थाबेगर नै एकमात्र विपन्न गरिव परिवारको उद्धार गरेको उदाहरण हेर्न चाहन्छु । त्यस्तो छ जस्तो लाग्दैन ।
from Nepal123.com - श्रीमानलाई सम्झेर कार्यकक्षमै रोइन् कृषिराज्यमन्त्री !
No comments:
Post a Comment