Sunday, April 10, 2016

नेम्वाङको प्रश्नः चुनाब हरुवाहरुले विरोध जनाउँदैमा संविधान कसरी अलोकतान्त्रिक ?

– विकाश पराजुली
बुटवल, २८ चैत । संविधानसभाका अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङले संविधान कार्यान्वयनका लागि सबैदल एकजुट हुनुपर्ने बताएका छन् ।

उनले संविधान निर्माणका क्रममा दलहरु एकमत भए जस्तै कार्यान्वयन गर्न पनि सवै एकजुट हुनुपर्ने बताए । आईतबार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेम्वाङले नेपालको संविधान विश्वकै उत्कृष्ट र समावेशी भएकोले यसको कार्यान्वयन जरुरी रहेको बताए । उनले भने- ‘संविधानसभाका ९० प्रतिशत भन्दा धेरैको सहमतिमा बनेको संविधानका विरुद्ध छरिएका अनावश्यक भ्रमहरु चिर्न अब सबै नेपालीहरु एकजुट भएर लाग्नुपर्ने बेला आएको छ ।’

एमाले स्थायी समिति सदस्यसमेत रहेका पूर्व सभामुख नेम्वाङले संविधानको कार्यान्वयन गर्दै समृद्ध मुलुक निर्माणका काममा केन्द्रित हुन जिम्मेवार दलहरुलाई आग्रह गरे । लामो पहल र प्रयास स्वरुप नेम्वाङ सभामुख भएकै बेलामा ०७२ असोज ३ गते संविधानसभाबाट पहिलोपटक मुलुकले संविधान पाएको थियो । उतिबेला संविधान जारी हुने केहीसमय अगाडि सम्म देखिएका जटिलता र अनेक षड्यन्त्रहरुलाई चिर्दै दलहरुले जसरी संविधान जारी गरी ऐतिहासिक काम गरे अब त्यसैगरी कार्यान्वयनमा देखिएका जटिलता, चुनौती र षड्यन्त्रलाई चिर्न पनि एकताबद्ध बन्न जरुरी रहेको नेम्वाङको भनाइ थियो ।

“जुन सुकै मुलुकमा पनि संविधानमा असन्तुष्टिहरु हुन्छन् तिमध्ये ठूला र लोकतान्त्रिक भनिएका मुलुकहरुमा पनि कहाँ कस्ता असन्तुष्टिहरु छन मैले सबै बुँदागत रुपमा भनिदिन्छुु” नेम्वाङले भने- “नेपालमा ९० प्रतिशत भन्दा धेरैले सहमति जनाएको, संसदमा प्रतिनिधित्व गर्ने सबै दलले स्वीकार गरी प्रयोग गरिसकेको र १० प्रतिशत भन्दा पनि कम र त्यो पनि चुनाब हारेकाहरुले विरोध जनाउँदैमा संविधान कसरी अलोकतान्त्रिक हुन्छ ?”

प्रेस चौतरी नेपाल रुपन्देहीका अध्यक्ष अमृत गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव धिरज पौडेलले गरेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment