Sunday, April 10, 2016

रङगशाला आउनुहोस्, रेस्लिङ हेर्नुहोस्, मनोरञ्जन लिनुहोस्

नेपालमा  ‘अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता’ हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बैशाख ४ गते हुने प्रतियोगितामा १२ देशका व्यावसायिक रेस्लिङ खेलाडीको सहभागिता हुनेछ । रेस्लिङ खेलको विषयमा नेपाल रिङ रेस्लिङ संघकी अध्यक्ष सुनिता थापासँग नेपालपाटीले गरेको कुराकानीः

अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको तयारी कहाँ पुग्यो ?
नेपालमा पनि रेस्लिङ खेलको विकास गर्नुपर्छ भन्ने मान्यताको साथ अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेका हौँ । नेपालका रेस्लरहरुलाई विश्वभर चिनाउने उद्देश्यले गठन भएको रेस्लर संघले पहिलो पटक यस किसिमको प्रतियोगिता गरेको हो । वास्तवमा रियल रेस्लिङ कस्तो हुँदोरहेछ भन्ने ज्ञान पनि दिन गइरहेका छौँ । त्यस्तो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपालमा रेस्लिङको संभावना छ त ?
नेपाल एउटा यस्तो देश हो, जहाँ रेस्लिङको मात्र होइन, जुनसुकै खेलको पनि राम्रो सम्भावना छ । मिहेनत र लगनशीलताबाट रेस्लिङ खेललाई स्थापित गर्न चाहन्छौँ । यसको भविश्य निकै राम्रो छ । रेस्लिङको माध्यमबाट नेपाललाई विश्वभर चिनाउने काममा हामी सफल हुनेछौँ भन्ने विश्वास छ ।

नेपालमा रेस्लिङका चुनौतीहरु के–के हुन ?
चुनौतीहरु धेरै नै छन् । जहाँ पनि बलेकै आगो ताप्छन । हामी रेस्लिङ खेलको विकासका लागि भर्खर संस्थागत रुपमा लागेका छौँ । त्यसकारण पनि हामीबीच धेरै चुनौतीहरु छन् । सुरुवातको अवस्थामा हौसला दिनेहरु निकै कम मात्रामा भेटिन्छन् ।
अर्को कुरा रेस्लिङ ‘फेक’ हो कि ‘रियल’ भन्ने भ्रम पनि छ ।  यसका लागि शारीरिक र मानसिक दुवै रुपमा बलियो हुनुपर्छ ।  कहिलेकाही खेल्दाखेल्दै चोट पनि लाग्न सक्छ । पहिलो पटक संस्थागत रुपमा आयोजना गरिएको यो प्रतियोगिता सफल बनाउने क्रममा पनि हामीले धेरै चुनौतीको सामना गरिराखेका छौँ । अहिलेको चुनौती भोलिको खुशीमा परीणत हुन्छ भन्ने विश्वास छ ।

क्रिकेट, फुटबलजस्तै रेस्लिङले पनि नेपाललाई विश्वमा चिनाउन सक्छ ?
एकदम, यसमा दुईमत नै छैन् । रेस्लिङ भनेको विश्व प्रख्यात खेल नै हो । यो खेलको विकास रफ्तारमा भइरहेको छ । विश्वभर नै यसको स्कोप छ । नेपाली खेलाडीको विकास गर्दा उनीहरुले नेपालको झण्डा लिएर खेल्छन् । उपाधि पनि जित्छन ।  त्यो नेपाल र नेपालीका लागि राम्रो अवसर हुन सक्छ ।

नेपालका उच्च अधिकारीहरुले रेस्लिङको महत्व बुझेका छन् कि छैनन् ?
रेस्लिङ खेलको बारेमा धेरैमा भ्रम छ । यो पनि खेल हो र ? भन्ने पनि छन् । उहाँहरुलाई बैशाख ४ गते रंगशालामा हुने रेस्लिङ प्रतियोगिता हेर्न आग्रह गर्दछु । रिलमा होइन, रियलमा हेर्नुहोस । राज्यको उच्च निकायले यस खेलबारेमा बुझ्न आवश्यक छ । हामी सुरुवाती चरणमा छौँ । अहिले हामीलाई सहयोग र हौसलाको खाँचो छ । हामी भविश्यमा त्यस्तो काम गर्नेछौँ, जसलाई नेपालले गर्व गर्नेछ ।

अन्त्यमा ?
रंगशालामा आएर रेस्लिङ हेरेर सल्लाह सुझाव दिन सवैमा अनुरोध गर्दछु । रङगशाला आउनुहोस्, रेस्लिङ खेल्नुहोस्, मनोरञ्जन लिनुहोस् अनि कमिकमजोरी भए औल्याइदिनुस ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment