नारायण अधिकारी
काठमाडौं, वैशाख १४ – ‘दुई दिनमा एक छाक खान पनि पाइएन । अहिले यहाँ भरे कहाँ थाहै नहुने, दोडिदैं सकियो एक वर्ष’ भूकम्पको एक बर्ष यसरी सम्झिनुभयो मनोपरामर्शदाता राजन केसीले, ‘म र श्रीमती गोदावरीको आफ्नो खेतमा जौं काटिरहेका थियौं । जमिन हल्लियो । इँटा भट्टा नजिक छ, त्यहाँ आएका गाडीले जमिन हल्लायो भनेर सोचेको मात्र थिएँ, भट्टाको चिम्नीले झण्डै आफ्नो ज्यान लगेन ।’
इँटाको चिम्नीबाट ज्यान जोगाएका केसीले भूकम्प गएको दिनदेखि अहिलेसम्म भूकम्प पीडितलाई मनोपरामर्श दिँदै दिन बित्ने गरेको छ । उहाँ भूकम्प जाने बित्तिकै टुँडिखेलमा पुग्नुभयो ।
त्यसबेला मानिस चिच्याउँदै ‘मलाई डर लागिराख्या छ । म टेण्टमा जान सक्दिन । टेण्टले मलाई किचेर मार्छ, अब म बाँच्न सक्दिन’ भनेको उहाँको दिमागमा अझै ताजै छ । यसरी तर्सेका नागिरकलाई उहाँहरुले परामर्श दिँदै आउनुभयो ।
उहाँले ती आत्तिएका मानिसलाई सम्झाउँदै भन्नुभयो, संसारमा सबैभन्दा शक्तिशाली मान्छे हुन्छ, मान्छले आँट गरेमा भूकम्प भन्दा ठूला प्राकृतिक विपत्तीबाट पनि बच्न सकिन्छ, धैर्य गर्नुस् ।
तपाईंहरु नआत्तिनुस्, साथमा हामी छौं । यसरी आत्तिएको मनलाई थोरै भएपनि मलमपट्टि लगाउने काम केसीले गर्नु भयो । १२ गते भूकम्प गएपछि १३ गतेबाट उहाँ मनोपरामर्शका लागि भन्दै घरबाट निस्कनुभयो । ‘१३ गतेपछि कमै मात्र मेरा घरमा बास भएको छ’ केसीले भन्नुभयो, ‘खाना पनि दुई दिनमा एक पटक खाइन्थ्यो अहिले त्यस्तो चाहिँ छैन ।’
केसी पहिला वीर अस्पतालमा रहेको ट्रमा सेन्टरमा गएर बिरामीहरुलाई मनोपरामर्श दिन थालनुभयो । ट्रमा सेन्टर, टुडिखेल, भक्तपुर, कीर्तिपुर लगायतका ठाउँमा शिविर राखेर केसीको समूहले आत्तिएका भूकम्प पीडितलाई बाँच्ने आधार सिकाउन थाले ।
स्वास्थ्य विभागसँग मिलेर परामर्श
भूकम्पका धक्काहरु निरन्तर आइरह्यो । जसले नागरिकलाई झन अत्याउन थाल्यो । ‘आफूलाई पनि डर त नलागेको कहाँ हो र, अरुका अगाडि डराउनु भएन’ केसीले भन्नुभयो । भूकम्प निरन्तर गएपछि उहाँहरुले स्वास्थ्य विभागसँग समन्वय गरेर परामर्श गर्न थाल्नुभयो ।
यसरी परामर्श दिँदै केसी काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट जिल्लामा पुग्नुभयो । सिन्धुपाल्चोकमा उहाँ जानुभन्दा पहिला डरले स्कुल पढ्न बालबालिका आउने गरेका थिएनन् । ‘जब मैले घरघरमा गएर आमा, बा र केटाकेटी सबैलाई सँगै राखेर मनोपरामर्श गर्न थाले त्यसपछि विस्तारै स्कुल आउने विद्यार्थीको संख्या बढ्यो’ उहाँले भन्नुभयो ।
अझै मनोपरामर्श आवश्यक
भूकम्प गएको एक वर्ष भएसक्दा पनि मनोपरामर्शदातालाई भ्याइनभ्याई छ । केसीले एक वर्ष अघिदेखि दिन थाल्नुभएको परामर्श अहिलेपनि निरन्तर चलिरहेको उहाँले बताउनुभयो ।
‘अगुल्टाले हानेको कुकुर विजुली चम्कँदा तर्सन्छ भनेजस्तै भूकम्प गएको एक वर्ष बितिसक्दा पनि नागरिक त्रसित छन् । एक वर्ष वितिसकेपनि भूकम्पमा परेर बाँचेकाहरु लाई मनोपरामर्शको अवाश्यक पर्ने गरेको छ’ उहाँले भन्नुभयो ।
उहाँले अहिले भक्तपुरमा दुई सय भन्दा बढी भूकम्प पीडितलाई मनोपरामर्श दिइराख्नु भएको छ । मानिसहरु अझै आत्तिने, परकम्प आउँदा पनि आत्तिएर भाग्ने, निद्रा नलाग्ने, रिंगाटा लाग्ने भएकाले परामर्श दिएको उहाँ बताउनुहुन्छ ।
भक्तपुरका पीडित पहिलाको तुलनामा अहिले धेरै कम भएकाले अबको केही दिनमा परामर्श दिनु नपर्ने उहाँले बताउनुभयो । त्यसपछि अरु जिल्लामा गएर मनोपरामर्श दिने उहाँको योजना छ ।
खासगरी आफ्ना आफन्त गुमाएका, घाइते भएका र घरवार गुमाएकाहरुलाई अझै मनोमरामर्श चाहिने मनोपरामर्शदाताहरुले बताउने गरेका छन् । यसरी तर्सिनुलाई असामान्य परिस्थितिमा देखिने समान्य प्रतिक्रियाको रुपमा लिनुहुन्छ मनोपरामर्शदाता केसी ।
पीडितले आत्महत्या गर्न थाले
भूकम्पबाट जसोतसो ज्यान जोगाएका भूकम्प पीडितले आत्महत्या गर्न थालेको मनोपरामर्शदाता केसीले बताउनुभयो । तर्सेका नागरिकलाई उचित मनोपरामर्शको आवश्यकता पर्ने हुन्छ ।
समयमा मनोपरामर्श नपाए पीडितले आत्महत्या रोज्ने गर्छन् । यतिजनाले आत्महत्या गरे भनेर ठ्याक्कै भन्न नसकेपनि भन्दै केसीले भन्नुभयो ‘हामीलाई भक्तपुरबाट धेरै फोन आएको छ, भूकम्प पीडितले आत्महत्या गरे भनेर ।’
आफ्ना आफन्त गुमाएपछि वा आफ्नो अंगभंग भएपछि भविष्य अन्धकार देख्न थालेपछि आत्महत्या गर्ने गरेको उहाँले बताउनुभयो ।
यसरी भूकम्पबाट तर्सिएका नागरिकलाई सान्तवना दिँदै बाँच्ने आत्मबल बढाउन मनोचिकित्सकले महत्वपूर्ण भूमिका निभाउनु पर्ने उहाँ बताउनुहुन्छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment