१४ वैशाख, पोखरा ।
– मलाई एउटा प्रदेश दिइयोस्, जहाँ म जुवाघरहरु निर्माण गर्न पाऊँ ! निर्धक्कसँग जुवा खेल्न र खेलाउन पाऊँ !
– मलाई एउटा प्रदेश छुट्याईयोस् ! जहाँ म आफूखुशी देहव्यापार गर्न पाऊँ !
– मलाई चाहिं चोर्ने इलाका चाहिन्छ । मैले चोरेर बाँच्न पाउनुपर्छ ।
– मलाई रक्सी खाने क्षेत्र चाहियो । जहाँ ठूल्ठूला रक्सी भट्टीहरु निर्माण गरियोस् ।
नझुक्किनुस् ! माथीका यी मागहरु वास्तविक होइनन् । यो त पोखरामा मञ्चन हुन लागेको ‘पुलिस र प्यास’ नामक नाटकभित्रको संवाद मात्र हो ।
देशमा पछिल्लो क्रममा देखिएको विकृतिलाई सामाजिक यथार्थपरक ढङ्गबाट लेखिएको नाटकलाई पोखरेली रङ्गकर्मीहरुले जिवन्तता दिने प्रयास गरिरहेका छन् । नाटकमा गणतन्त्रपछि विभिन्न समूहले राज्य माग्दै आन्दोलन चर्काएको प्रसङ्गलाई व्यंग्यात्मक ढङ्गबाट नाटकीय रुप दिईएको छ ।
रिहर्सलको अन्तिम चरणमा रहेको ‘पुलिस र प्यास’ नाटक यहि बैशाख १७ र १८ गते पोखरा उद्योग वाणिज्य संघको सभाहलमा प्रस्तुत गरिदैछ । पञ्चामृत नाट्य समूहको प्रस्तुतीमा प्रदर्शन हुन लागेको नाटकको नाटककार तथा चलचित्र निर्देशक कृष्ण उदासीले निर्देशन गर्दैछन् । उनी नाटकका लेखक पनि हुन् ।
नाटकमा पञ्चामृत नाट्य समूहका परिवर्तन, मूना गुरुङ, सबु पाठक, दिलु गुरुङ, शितला अधिकारी, विवस बाबु, आशिष अधिकारी, मनिषा गौतमको अभिनय रहेको छ । नाटकका कलाकार नयाँ अनुहार भए पनि आफूले कुमालेले काँचो माटोलाई मूर्तिको आकार दिएजस्तै जीवन्त अभिनय गराइरहेको उदासीले बताए । नाटकमा ध्वनीमिश्रण रविभूषण पराजुलीले गरेका छन् ।
सुस्ताएको नाटक उक्सेला त ?
पोखरा नाटकको उर्वरभूमी हो । दशक अघिसम्म यहाँ नियमितरुपमा नाटक प्रदर्शन हुने गथ्र्यो । सरुभक्तलगायतको योगदानमा दर्जनौं नाटक मञ्चन भए । यद्यपी यसले निरन्तरता पाउन सकेन ।
त्यसपछिका एक दशक नाटक सुस्त भयो । गत वर्ष ‘अन्तर्राष्ट्रिय रक्सी भट्टी’ पछि यसले पुनः ब्यूँतिने प्रयास गर्यो । तर त्यसपछि अर्को नाटक मञ्चन हुन नसकिरहेको अवस्थामा पञ्चामृत नाट्य समूह जुर्मुराउँदै रिहर्सलमा जुटेको छ । यसमा काँध थापेका छन् नाटककार कृष्ण उदासीले । यो नाटकपछि पोखरामा नाटकको माहौल सिर्जना हुने पञ्चामृत नाट्य समूहको विश्वास छ । यो नाटक प्रदर्शनलगत्तै अर्को एक नाटकको तयारी शुरु गरिने नाट्य समूहका अध्यक्ष परिवर्तनले बताए ।
नाटक प्रदर्शनमा जुटेको पञ्चामृत नाट्य समूह २०७२ सालमा स्थापना भएको हो । पोखरेली पाँच युवा/युवती मिलेर स्थापना गरेको यो समूहले पछिल्लो ३ वर्षदेखी रेडियो नाटक गर्दै आएको छ । यो समूहले रेडियो अन्नपूर्णबाट रेडियो नाटक शुरु गरेपछि हाल पोखराका अधिकांश सञ्चार माध्यममा रेडियो नाटक प्रशारण हुन थालेको छ ।
बसन्त बिन्दुदेखि उदासीको यात्रा
पोखरा बिन्ध्यबासिनी निवासी कृष्ण उदासी पोखरेली नाटक निर्देशक हुन् । उनको पूरा नाम कृष्णप्रसाद बास्तोला हो । राष्ट्रिय उच्च मावि टुँडिखेल पोखराको प्राचार्य समेत रहेका उनी नाटकबाहेक साहित्यका अन्य विधामा पनि कलम चलाउँछन् । उनको पहिलो कृति ‘बसन्त बिन्दु’ नाटक हो । उनले यो नाटक २०४० सालमा लेखेका थिए ।
२०४४ सालमा उनको ‘आँशुको बद्ला’ नाटक पहिलोपटक प्रदर्शन भएको थियो । जसमा उनले पहिलोपटक नाटकमा डेब्यूसमेत गरे । त्यसको २ वर्षपछि उदासिले ‘ब्यथाभित्रको कथा’ नाटकबाट नाटक निर्देशन गर्न शुरु गरेका हुन् । उनको ‘पुलिस र प्यास’ नाटक १०३ औं नाटक हो ।
उनले रेडियो नेपालले प्रदान गर्ने उत्कृष्ट निर्देशकको अवार्ड प्राप्त गरिसकेका छन् । २०५१ सालमा आयोजित राष्ट्रव्यापी रेडियो नाटक महोत्सवमा उनले ‘आस्थाको बस्ती’ नामक नाटकबाट राष्ट्रिय अवार्ड जितेका हुन् । बहुप्रतिभा उदासीले नाटकबाहेक कविता, गजल र कथासमेत लेखेका छन् ।
उदासीले ‘गन्तव्य’ नामक चलचित्रबाट नेपाली चलचित्रको ठूलो पर्दामा डेब्यू समेत गरिसकेका छन् । गत वर्ष नै निर्माण गरिएको उक्त चलचित्र भुकम्पका कारण प्रदर्शनमा ढिलाई हुँदै आएको छ । सो चलचित्र आउँदो जेठ १ गतेबाट प्रदर्शन गर्ने तयारी भइरहेको उदासी बताउँछन् ।
नाटकघरको अभाव
पोखरामा नाटकघरकाे अभाव छ । नाटकघर नहुँदा पोखरा उद्योग वाणिज्य संघको सभाहललाई नै नाटक घर बनाउन बाध्य छन् पोखरेली नाट्यकर्मी । सभाहललाई नाटक घर बनाउँदा कथाले मागेको परिदृष्य निर्माण गर्न कठिन हुन्छ । ध्वनीमा समस्यासमेत देखिने गर्छ । नाटकघर नै नभएको ठाउँमा नाटक प्रदर्शन गर्ने भन्दा प्रायोजकले पनि नपत्याउने नाट्यकर्मीहरु बताउँछन् ।
पछिल्लो क्रममा नाटकघर निर्माणको प्रयास भने भइरहेको छ, तर अहिलेसम्म यसले मूर्तरुप पाएको छैन । झण्डै एक वर्षअघि नाटक घर निर्माणको प्रयासस्वरुप पोखराको नागढुङ्गामा शिलान्यास गरिए पनि डिपिसी गर्नुबाहेक अन्य काम भएकोउ छैन । नाटक घर नहुँदा रिहर्सलदेखी प्रदर्शनसम्ममा समस्या भोग्नुपरेको नाटक निर्देशक उदासी बताउँछन् ।
नाटक घर नहुँदा ‘पुलिस र प्यास’ नाटक पनि गैह्रापाटनस्थित केसी पार्टी प्यालेसमा रिहर्सल भइरहेको उनले जानकारी दिए । नाटकघर बनेमा कलाकारहरुलाई व्यवसायीक बनाउनपनि मद्धत पुग्ने उनको बुझाई छ ।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment