Tuesday, April 26, 2016

चितवनका अधिकांश ड्राइभिङ सेन्टर मापदण्ड विपरित

१४ वैशाख, चितवन । चितवन जिल्लामा सञ्चालित अधिकांश ड्राइभिङ सेन्टरहरु नियमविपरीत सञ्चालन भइरहेको पाइएको छ । मापदण्ड पूरा नगरेका र नविकरण तथा दर्ता नभएका ड्राइभिङ सेन्टरहरु जिल्लामा धेरै छन् ।

सवारी चालक अनुमतिपत्र नभएका र अनुभवी पनि नभएका चालकहरुले गाडी चलाउन सिकाउने गरेका छन् ।

चितवनमा हाल सञ्चालमा रहेका ड्राइभिङ सेन्टरहरुमध्ये १९ वटाले मात्र इजाजत प्राप्त गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । १० वटाले विना इजाजत ड्राइभिङ सिकाइरहेका छन् ।

‘सवारी चालक प्रशिक्षण दिन ड्राइभिङ ट्रेनिङ सेन्टरसँग अनिवार्य रुपमा ४ विद्या जग्गा उपलब्ध हुनुपर्ने प्रावधान छ,’ जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख राजन भेटवालले भने, ‘मापदण्ड पूरा नगर्नेहरु धेरै छन् ।’

सवारी तथा यातायात व्यवस्था ऐनको दफा १५९ मा सवारी प्रशिक्षण केन्द्र, मर्मत केन्द्र तथा सबै किसिमको सवारीसाधनको बडी निर्माण गर्न चाहने व्यक्ति फर्म, कम्पनी वा संस्थाले विभागमा दर्ता गर्नुपर्ने उल्लेख छ ।

विभागका निर्देशक एवम् प्रवक्ता बसन्त अधिकारीले भने साना तथा घरेलु उद्योग वा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरी प्यान नम्बर लिएर विभागमा दर्ता गरेपश्चात् मात्रै यस्ता प्रशिक्षण केन्द्र सञ्चालन गर्न योग्य हुने बताए । विभागका अनुसार देशभर सवारी मर्मत केन्द्र तथा प्रशिक्षण केन्द्र ११ सयको हाराहारीमा सञ्चालित छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मापदण्ड पूरा गर्न र इजाजत पत्र लिन ड्राइभिङ ट्रेनिङ सेन्टरहरुलाई अनुरोध गरेको छ । राम्रोसँग प्रशिक्षण नपाएकै कारण सवारी दुर्घटना बढेको निष्कर्षमा पुगेको चितवन ट्राफिक प्रहरीले ड्राइभिङ सेन्टरका सञ्चालकहरुलाई एकै ठाउँ राखेर छलफल गरी यस्तो अनुरोध गरेको हो ।

छलफलमा सहभागी चितवनका ड्राइभिङ सेन्टरका सञ्चालकहरुले भने सरकारबाट सहयोग नपाएको गुनासो गरे । ‘यहाँ जग्गा महंगो छ, राज्यले गाडी सिकाउन ४ विघा जग्गा चाहिन्छ भन्छ, जग्गा पाउनै मुस्किल छ, पाए पनि महगो छ,’ कुमार ड्राइभिङ सेन्टरका सञ्चालक राजाराम परियारले गुनासो पोखे, ‘राज्यले पनि हामीलाई सुविधा दिनुपर्‍यो नि ।’

ड्राइभिङ सेन्टरका सञ्चालकहरुले लर्निङ्ग लाइसेन्स भएका चालकहरुको बीमा गर्न समेत माग गरेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment