Wednesday, April 27, 2016

दीपकलाई उपाधि

दीपक श्रेष्ठले चौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान्स ६५ वर्षमाथि पुरुष सिंगल्सको उपाधि बुधबार जितेका छन् । फाइनलमा दीपकले गौतमलाल प्रधानलाई ८–२ ले पराजित गरे ।
पुरुष सिंगल्समा संरक्षकभूषण वज्राचार्य र कमल भण्डारी फाइनलमा प्रवेश गरेका छन् । संरक्षकले जितेन्द्र परियार तथा कमल भण्डारीले रेन्जन लामालाई समान ६–२ र ६–१ को सोझो सेटमा हराए । महिला सिंगल्समा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणा फाइनलमा पुगिसकेका छन् ।

भेट्रान्स ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोज राणा, ध्रुव गुरुङ, पृथ्वी थकाली र छेम्बा डुन्डुप सेमिफाइनलमा पुगेका छन् । भेट्रान्स ४५ वर्षमाथि पुरुष डबल्समा सोभितमान श्रेष्ठ र चन्द्र शाही, आशिष सिग्देल र राजेन्द्र भण्डारी, मधु परियार र सुशील पाण्डे, राजु श्रेष्ठ र राजकुमार घिमिरे, कृष्णराज घले र सुवर्ण धाक्वा तथा उमेश शाही र रामेश्वर थापाको जोडी क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

भेट्रान्स ३५ वर्षमाथि पुरुष डबल्समा राजु क्षेत्री र राजेश क्षेत्रीको जोडीले सोभितमान श्रेष्ठ र चन्द्र शाहीको जोडीलाई ६–१ र ७–५ ले हराउदै राजन पौडेल र नवीन चालिसेको जोडीसंग उपाधि भिडन्त पक्का गरे ।

भेट्रान्स ३५ वर्षमाथि पुरुष सिंगल्समा प्रताप मोक्तान, श्रीराम मगर, सुकुमान तामाङ र महेश श्रेष्ठले सेमिफाइनल यात्रा तय गरे । भेट्रान्स ४५ वर्षमाथि पुरुष सिंगल्सको सेमिफाइनल पुग्नेमा कृष्णराज घले, मनोज शाह, देउनम लामा र प्रताप मोक्तान रहेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

दुर्गमको पीडा : डाक्टर आएको पत्र आयो, डाक्टर आएनन्

राजेन्द्र कार्की

जाजरकोट, वैशाख १५ – ६ महिना अघि १५ शैयाको अस्पतालको स्तर बृद्धि गर्दै ५० शैयाको बनाउने सरकारको निर्णयले जाजरकोटका बासिन्दा निकै खुसी भएका थिए । तर ६ महिना बितिसक्दा पनि निर्णय कार्यान्वयन नभएपछि उनीहरु निराश भएका छन् ।

जिल्ला अस्पतालको स्तरबृद्धिसँगै सात जना विशेषज्ञ चिकित्सक, चार जना मेडिकल अधिकृत र अन्य सहायक स्तरका स्वास्थ्यकर्मी सहित ४९ जना स्वास्थ्यकर्मीको दरबन्दी स्वतः कामय भएको भन्दै स्वास्थ्य सेवा विभागले पत्र पठाएको छ । तर चिकित्सक र स्वास्थ्यकर्मी भने अहिलेसम्म आएका छैनन् ।

अस्पतालको स्तरबृद्धि भएसँगै व्यवस्था गरिएको दरबन्दीको पदपूर्ति गर्नमा सरकारले ध्यान नदिएको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । स्वास्थ्य मन्त्रालय अन्र्तगतको स्वास्थ्य महाशाखाले गएको असोज २२ गते एक परिपत्र गरेर जिल्ला अस्पतालको लागि व्यवस्था गरिएको दरबन्दीको जानकारी मात्र गराएको जिल्ला जनस्वास्थ्य प्रमुख डा. राजेन्द्र जिसीले बताउनुभयो ।

डा. जिसीले जिल्ला अस्पतालका लागी व्यवस्था गरिए अनुसारको दरबन्दीको पदपूर्तिका बारेमा महाशाखाले आफूलाई कुनै जानकारी नदिएको बताउनुभयो । गएको असोजमै सरकारले जाजरकोट जिल्ला अस्पतालको स्तरबृद्धि गरेर ५० शैयाको बनाउने निर्णय गरेको थियो ।

असोज २२ गते महाशाखाले जिल्ला अस्पतालका नाममा जारी गरिएको परिपत्रमा ५० सैया रहेको जिल्ला अस्पतालका लागी ११ आँै तहको मेडिकल सुपरिटेन्डेन्ट एक,  बालरोग, स्त्रीरोग, सर्जन, हाडजोर्नी, मानसिक, इनेस्थियोसिय (वेहोस पार्ने) र  फिजिसेन गरि सात जना विशेषज्ञ चिकित्सक सहितको दरबन्दीको ब्यवस्था गरिएको छ ।

त्यस्तै एक जना रेडियोलोजिष्ट, चार जना मेडिकल अधिकृत, एक जना डेन्टिष्ट, एक फिजोयोथेरापीष्ट, एक ल्याव टेक्नोलोजिष्ट, एक नर्सिङ अधिकृत, ३ जना ल्यावटेक्नीसियन, मेडिकल रेकर्डर, ६ जना स्टाफ नर्स, एक डेण्टल स्वास्थ्यकर्मी, ५ जना स्वास्थ्य सहायक, फार्मेसिष्ट, रेडिग्राफर, ल्याप असिष्टेन, ड्राकरोम साहायक, ६ जना अनमी र ११ जना कार्यालय सहयोगी गरी ५९ जनाको दरबन्दी ब्यवस्था भएको भन्दै स्वास्थ्य महाशाखाको पत्रमा उल्लेख गरिएको छ ।

अस्पतालको स्तरबृद्धि भएपछि तीन जना चिकित्सक र एक जना अनमी बाहेक कुनै पनि दरबन्दीको पदपूर्ति हुन नसकेको जिल्ला अस्पतालले जनाएको छ । यसअघि जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा रहँदै आएको जिल्ला अस्पताल स्तरबृद्धिसँगै स्वायात्त संस्थाको रुपमा सिधै स्वास्थ्य सेवा विभाग, स्वास्थ्य महाशाखा र स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने प्रावधान रहेको छ ।

अस्पतालको भौतिक पूर्वाधारको पनि विकास नभएको र दरबन्दी अनुसारका स्वास्थ्यकर्मी पदपूर्ति नभएपछि जिल्लामै विशेषज्ञ सेवा पाउने जाजरकोटका बासिन्दाको चाहना सपनामै सिमित भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहको भनाई छ । ‘निर्णय मात्र गरेर हुँदैन, निर्णय कार्यान्वयन गर्न ढिलाई गर्नु हुँदैन’ उहाँले भन्नुभयो । उहाँले जिल्ला अस्पतालमा निर्माणाधिन भवनहरु समयमै निर्माण सम्पन्न नहुँदा पनि थप समस्या परेकोले सम्बन्धित निकायले भवन निर्माणमा ताकेता गर्न आग्रह गर्नुभएको छ । सामान्य शल्यक्रिया गर्न र प्रसुती गराउनका लागी पनि जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले सरकारले गरेको निर्णय कार्यान्वयन गराई ५० शैयाको जिल्ला अस्पताल बनाउन आफूले सम्बन्धित निकायमा पहल गरिरहेको बताउनुभयो ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपालमा औसतभन्दा कम पानी पर्ने पूर्वानुमान

१५ वैशाख, काठमाडौं । यो वर्ष नेपालमा औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिएको छ ।

मौसमविदहरुका अनुसार प्रशान्त महासागरमा तापक्रम बढ्दै गएको छ । यसको असर मौसमी प्रणालीमा परेको छ ।

नेपालको अधिकांश क्षेत्रमा औषतभन्दा कम पानी पर्ने सास्कोफ बैठकको निष्कर्ष छ । मौसमविद राजु प्रधानांगले अनलाइनखबरसँग भने, ‘नेपालमा औसत पानी पर्ने अनुमान गरिएको छ ।’

श्रीलंकाको राजधानी कोलम्बोमा भएको दक्षिण एसियाली राष्ट्रहरुका मौसमविदहरुको बैठकले दक्षिण एसियामै मनसुन औसत हुने निष्कर्ष निकालेको छ । बैठकमा नेपालको तर्फबाट जल तथा मौसम विज्ञान विभागका शिवप्रसाद नेपाल सहभागी थिए ।

‘प्रशान्त महासागरमा सन् २०१५ देखि इएल निन्योको सक्रियता घट्दै गएकाले मनसुन औसत खालको हुनेछ,’ बैठकले निष्कर्ष निकालेको छ ।

एल निन्यो भनेको के हो ?

जुन महिनादेखि सेप्टेम्बरसम्म मनसुनको अवधि हो । न्युजवीक पत्रिकाका अनुसार एल निन्यो हरेक दुई वा सात वर्षमा देखापर्ने न्यानो पानीको धार हो ।

पानी न्यानो हुनुको अर्थ धेरै वर्षा हुनु हो । घनघोर वर्षा हुँदा बाढी पनि आउँछ । यसबाहेक, समुद्रको न्यानो सतहले तलको पोषक चिसो पानीलाई माथि आउन दिँदैन । त्यसैकारण थुप्रै जल प्राणीहरू र केही चराहरूसमेत आहारको खोजीमा अन्यत्र बसाइँ सर्छन् ।

एल निन्योको सक्रियता घट्दै गएकाले दक्षिण एसियाको पश्चिमी र पूर्वी क्षेत्रमा औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिएको छ । मध्य क्षेत्रमा भने औसतभन्दा बढी पानी पर्ने सास्कोफको निष्कर्ष छ ।

नेपालको हकमा मनसुनी वर्षा औषत मात्रै हुनेछ । नेपालमा गत अप्रिल महिनामा ३० वर्षभन्दा कम पानी परेको थियो ।

पश्चिम भारतमा पनि सुख्खाका कारण कतिपय स्थानमा रेलबाट पानी ओसारेर आपूर्तिको व्यवस्था मिलाइएको थियो । कतिपय स्थानका किसानहरुले पानीकै अभावमा आत्महत्यासमेत गरेको समाचार सार्वजनिक भएको थियो ।

एल निन्योको प्रभावकै कारण भेनेजुयलामा इन्धनको संकट चुलिएपछि सरकारी कर्मचारीहरुलाई हप्तामा पाँच दिन विदा दिइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

फेरिन सक्छ राजनीतिक दलसम्बन्धी बनेको कानुन

काठमाण्डु, १५ वैशाख– व्यवस्थापिका संसद्, राज्यव्यवस्था समिति र निर्वाचन आयोग नेपालबीच राजनीतिक दलसम्बन्धी बनेको विद्येयकमाथि छलफल भएको छ ।

राजनीतिक दल सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विद्येयक–२०७२ माथि निर्वाचन आयोगमा छलफल भएको हो ।

छलफलमा राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले संविधानको कार्यान्वयनका लागि निर्वाचनसम्बन्धी नयाँ कानुनको आवश्यक रहेको स्पष्ट पारे । उनले भने, ‘निर्वाचन आयोगले उपयुक्त कानुन बनाएर दलको व्यवस्थापन गर्न जरुरी छ ।’ सभापति घर्तीले राज्य व्यवस्था समितिमा आएका सुझावलाई निर्वाचन आयोगले समेट्ने अपेक्षा गरे ।

नेपाली काँग्रेसका सांसद गोपालमान श्रेष्ठले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान स्थायी सरकार आवश्यक रहेको भन्दै राजनीतिक दललाई स्वच्छ र पारदर्शी तवरले अगाडि बढाउनुपर्ने बताए ।

नेकपा एमालेका नेता युवराज ज्ञवालीले धेरै पार्टी मुलुकमा आवश्यक नभएको भन्दै पार्टी एकीकरणको कानुनलाई खुकुलो बनाउनुपर्ने बताए ।
एनेकपा माओवादीका सांसद सन्तबहादुर दरैले पार्टी एकीकरणमा दुबै दलको बहुमत पु¥याउने परिपाटी उपयुक्त नभएको धारणा राखे ।
नेकपा मालेका सांसद अइन्द्रविक्रम नेम्वाङले कुल मतको १।५ प्रतिशत मत ल्याउने राजनीतिक दललाई सरकारले अनुदान उपलब्ध गराउने विद्येयकको विरोध गरे ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले समानुपातिक तर्फ सुरक्षा निकाय, कर्मचारी मतदान गर्न पाउने र सो ठाँउमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गलत भएको धारणा राखे ।

छलफलमा सांसद आनन्दप्रसाद ढुङ्गाना, अमरेशकुमार सिंह, भीम आचार्य, सीता गुरुङ, वृजेशकुमार गुप्ता, रामेश्वर फुँयाल, गौरी मल्ल, राजेन्द्र पाण्डेलगायतले राजनीतिक दलको पदाधिकारीमा समावेशी, समानुपातिक, अपाङ्ग, खस आर्य, दलित, जनजाति सबैलाई समेट्न नसक्ने भन्दै यो विद्येयकको बुँदालाई सच्याउन सुझाव दिउ ।
निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबै राजनीतिक दलका प्रतिनिधीसँग छलफल गरेर यो विद्येयक ल्याएको स्पष्ट पारे ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

के भन्छन् पुनःनिर्माणमा खटिएका इन्जिनियर ?

काठमाडौँ। महोत्तरीका धर्मेन्द्रकुमार यादवलाई भूकम्पपछिको पुनःनिर्माण अभियानको सूचनाले भारतको पटनामा जारी शिक्षण पेसा छाडेर प्राविधिक भई स्वदेश फर्कन प्रेरित गर्यो । प्राविधिक विषय पढेर स्वदेशमा भनेजस्तो रोजगारी नपाएर विदेशिएका यादव अहिले पुनःनिर्माण अभियानको रोजगारीसहित पीडितको सेवा गर्ने अवसर पाउँदा प्रशन्न देखिन्छन्।

पुनःनिर्माणका लागि खटिने इञ्जिनियरलाई राष्ट्रिय पुनःनिर्माण प्राधिरण र सहरी विकास मन्त्रालयको आयोजना तथा भूकम्प प्रविधि राष्ट्रिय समाज एनसेट र युएसआइडीको सहयोगमा सम्पन्न दुई दिने अभिमुखीकरणमा सहभागी भएपछि यादवले भने, “मैले यस नयाँ काममा पैसाको मुख हेरेको छैन, राष्ट्रको सेवाको अवसर देखेको छु, अनि सरकारी सेवा प्रवेशले स्थायित्वको सम्भावना पनि मानेको छु ।”

प्राधिकरणले सहरी विकास मन्त्रालयअन्तर्गत पुनःनिर्माणका लागि एकैसाथ एक हजार ३४७ इन्जिनियर खटाएको हो । कुल तीन हजार आवेदक मध्येबाट सो सङ्ख्यामा छनोट गरिएको र त्यत्तिकै सङ्ख्यामा सव इन्जिनियर खटाइएको छ । यी नयाँ जिम्मेवारी बोक्नेलाई निजी आवासका विभिन्न १७ ढाँचा दिइएको छ । स्थानीय प्रकृति र संस्कृति सुहाउँदो घर बनाउन पुनःनिर्माणको नीति बमोजिम उनीहरुले परामर्श दिनेछन् ।

सप्तरीका धीरेन्द्र यादव पनि तालिम पाएर भूकम्प प्रभावित जनताको घरदैलोमा प्राविधिक सल्लाहकारको रुपमा जान पाउँदा खुसी देखिएको छ । यादवले प्रभावितले पाउने घर निर्माणको अनुदान रकमको किस्ता र त्यसका प्रक्रियामा गाविस सचिव र जिल्ला विकास समितिलाई आवश्यक सहयोग पनि गर्नेछन् ।

बीस वर्षअघि इन्जिनियरिङ्मा स्नातक गरेका काठमाडौँका निशा तुलाधर पनि सोही अभियानमा खटिएका छन् । उनी यसअघि एक गैरसरकारी संस्थामा काम गर्नुहुन्थ्यो । प्राधिकरणले महिलाका लागि काठमाडौँ उपत्यका क्षेत्रमा काम गर्न प्राथमिकता दिएकाले तुलाधरले आवेदन दिएको बताए । पुरुष प्राविधिकलाई रोलक्रम १,२,३ अनुसार क्रमशः उपत्यका बाहिरका स्थानमा खटाउने सरकारको नीति छ ।

बाँकेका प्रकाश भण्डारी भविष्यमा सरकारी सेवामा आफ्नो अनुभव र क्षमता देखाउन पाउने सम्भाना देखेकाले आवेदन दिएको जनाए । भण्डारीले भने“यसमा हामीले पैसाको भन्दा पनि देश सेवा र जनसेवालाई बढी जोड दिएका छौ ।”

धनुषा घर भएका सुरेन्द्रकुमार शाह पनि सिन्धुपाल्चोकका एक अन्तर्राष्ट्रिय गैरससको काम छाडेर पुनःनिर्माणको प्राविधिक बन्न आएको बताउँदै देशको सेवा गर्न पाउनु एक प्रकारको धर्म पनि भएको जनाए।

नेपाल इन्जिनियरिङ काउन्सिलमा हालसम्म १३ हजार इन्जिनियर दर्ता भएको देखिन्छ । सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आफू पनि सोही क्षेत्रको उत्पादन भएकाले यति धेरै सङ्ख्यामा राज्यले इन्जिनियर खटाएको यो पहिलो अवसर भएकाले अब मुलुक पुनःनिर्माणको नयाँ चरणमा प्रवेश गरेको बताए ।

नवनियुक्त प्राविधिकलाई आज विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले विदाइ गरेका थिए । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नौकरानीले मालिकसँग गरेको घिनलाग्दो कर्तुत… (हेर्नुस् भिडियो)

विप्लव माओवादीले दलिदियो जिशिअलाई कालोमोसो

काठमाडौँः शिक्षा क्षेत्रमा अनियमितता गरेको र आर्थिक घोटाला समेत गरेको आरोपमा विप्लव माओवादीका कार्यकर्ताले जिल्ला शिक्षा अधिकारीलाई कालोमोसो दलेका छन् ।

काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतमलाई विप्लव माओवादीका कार्यकर्ताहरुले कालोमोसो दलेका हुन् । बुधबार दिउँसो गौतमकै कार्यकक्षमा अखिल क्रान्तिकारीका विद्यार्थीहरुले कालोमोसो दलेका थिए । कालोमोसो दलेलगत्तै माओवादी कार्यकर्ताहरु भागेका थिए । प्रहरीले कालोमोसो दल्नेहरुको खोजीकार्य जारी राखेको छ ।

जिल्ला शिक्षा अधिकारी गौतमले कालोमोसे दल्नेहरुसँग प्रतिवाद गर्दा सामान्य घाइते समेत भएको बताइएको छ । घटना स्थलमा पर्चा छोडेर जिशिअ गौतमलाई शिक्षा क्षेत्रमा अनियमितता गरेको, आर्थिक घोटाला गरेको लगायतका आरोप लगाइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

राष्ट्रपतिको आँखा परीक्षण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आँखा परीक्षण गराएकी छन् ।

राष्ट्रपति भण्डारीले त्रिवि शिक्षण अस्पतालमा बुधबार आँखाको परीक्षण गराएकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता खडानन्द ढकालका अनुसार राष्ट्रपति भण्डारीले विशेषज्ञ चिकित्सकबाट करिब एक घन्टा आँखाको उपचार गराएकी हुन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पुँजी बजारका लगानीकर्ता लघुवित्त तर्फ फर्किएका हुन्? बुधबार लघुवित्तका लगानीकर्ता मालामाल

काठमाडौं । लगानीकर्ता बाणिज्य बैंक र लघुवित्तमा बढी केन्द्रित भएको बजारको पछिल्लो नतिजाले देखाएको छ । दुई साता देखि बाणिज्य बैंकतर्फ केन्द्रित भएका लगानीकर्ताको चाप एकाएक लघुवित्त कम्पनीहरुतर्फ फर्कियो ।
प्रतिकित्ता ५० रुपैयाँ भन्दा बढी कमाउने लगानीकर्ता लघुवित्तकै धेरै भए । सबैभन्दा बढी छिमेक लघुवित्तका सेयरधनीले प्रतिकित्ता तीन सय ३६ रुपैयाँको दरले कमाए । दोस्रोमा वावलम्बन विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता एक सय ६० रुपैयाँको दरले कमाएका छन् ।
निर्धन उत्थान विकास बैंकको सेयर मूल्य प्रतिकित्ता एक सय १८ रुपैयाँको दरले, समिट माइक्रो फाइनान्सको सेयर मूल्य प्रतिकित्ता एक सय पाँच रुपैयाँको दरले र छिमेक लघुवित्तको सेयर मूल्य ८५ रुपैयाँको दरले बढेको छ ।
यस बाहेक पनि विजय लघुवित्तका लगानीकर्ताले प्रतिकित्ता ६२ रुपैयाँको दरले, साना किसान विकास बैंकका लगानीकर्ताले ५९ रुपैयाँका दरले र फस्ट माइक्रोफाइनान्सका लगानीकर्ताले प्रतिकित्ता ४५ रुपैयाँका दरले कमाएका छन् ।
लघुवित्त बाहेक प्रतिकित्ता ५० रुपैयाँ भन्दा धेरै कमाउने लगानीकर्तामा नेपाल लाइफ इन्स्योरेन्स र कसमस विकास बैंकका लगानीकर्ता मात्रै परे ।
प्रतिकित्ता ५० रुपैयाँको हाराहारीमा गुमाउनेमा सप्तकोशी विकास बैंक र मिर्मिरे फाइनान्स र नागरिक लगानी कोषका लगानीकर्ता मात्रै छन् ।

– See more at: http://bizmandu.com/content/-17418.html#.VyCdiPl97IU


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

साढे १३ सय इञ्जिनियर पुनर्निर्माणका लागि गाउँ हिँडे

१५ वैशाख, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त घर तथा संरचना बनाउन १४ जिल्लामा १ हजार ३ सय ४६ जना इन्जिनियर खटिएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधबारदेखि आर्किटेक्ट र सिभिल विषयमा स्नातक तथा स्नातकोत्तर गरेका १ हजार ३ सय ४६ जना युवा इन्जिनियरलाई पुनर्निर्माणका लागि बुधबार भुकम्प प्रभावित १४ जिल्लामा खटाएको हो ।

प्रभावित जिल्लाका हरेक गाविसमा १, नगरपालिकामा ३ र स्रोतकेन्द्रमा ४ जनाका दरले इन्जिनियर परिचालित भएका छन् ।

प्राधिकरणले असार मसान्तसम्मको नियुक्तिपत्र दिए इन्जिनियरलाई दुई दिनभित्र खटाइएको स्थानमा पुग्न भनेको छ । धेरै इञ्जिनियरहरु आजै कार्यक्षेत्रतर्फ लागेका छन् ।

नियुक्ति दिनु पहिले प्राधिकरणले इन्जिनियरहरुलाई आवास पुनर्निमाण सम्बन्धी दुई दिने आधारभूत तालिम दिएको थियो ।

तालिम लिएर गाउँ गाउँमा जान लागेका युवा इन्जिनियरलाई प्रधानमन्त्री केपी शर्मा ओली भने पुनर्निर्माणको काममा जनताको साथ र सहयोग लिन आग्रह गरे ।

तालिमको समापनका क्रममा बुधबार काठमाडौको प्रभा भवनमा प्रधानमन्त्री ओलीले जवानीको जोश देखाएर काम गर्न भन्दै इन्जिनियरहरुलाई प्रोत्साहित गरे । उनले भूकम्प प्रभावितलाई भूकम्प प्रतिरोधी घर बनाउन सक्दो सहयोग गर्नुपर्ने बताए ।

पुनर्निर्माण प्राधिकरणले असार मसान्तसम्मपछि इन्जिनियरको नियुक्ति नविकरण गर्ने बताएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तुँवालोले दुई दिनदेखि हवाई सेवा प्रभावित

डोल्पा : डोल्पामा यातायातको मुख्य साधनका रुपमा रहेको जुफाल विमानस्थलको हवाई सेवा दुई दिनदेखि प्रभावित भएको छ ।

वैशाख पहिलो हप्तादेखि देखिएको धुवाँजस्तो देखिने तुँवालोको कारणले हवाई सेवा प्रभावित भएको हो । नेपालगन्ज डोल्पाको बीच हवाई मार्गमा धुवाँजस्तो देखिने तुँवालोले मार्ग बन्द भएपछि हवाई सेवा प्रभावित भएको तारा एअरका कर्मचारी लङ्क भण्डारीले जानकारी दिए ।

तुँवालोको कारणले दई दिनमा पाँचदेखि सात वटासम्म उडान रद्द भएको भण्डारीले बताए ।

तुँवालोले बुधबार दिउँसोसम्म पनि विमानस्थल छोपेकाले बिहीबार पनि उडार रद्द हुने सम्भावना कम रहेको उनले बताए । उडान नभएपछि यात्रुलाई आवतजावत गर्न असहज भएको छ ।

रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

बिहीबार १२ घण्टा विद्युत आपूर्ती बन्द हुने

म्याग्दी – धौलागिरी, गण्डकी क्षेत्रीमा बिहीबार १२ घण्टा केन्द्रिय प्रशारण लाईनको विद्युत आपूर्ती बन्द हुने भएको छ ।

कास्कीमा निर्माण भएको अपर मादी जलविद्युत आयोजनाको विद्युत केन्द्रिय प्रशारण लाईनमा जाडन गर्नका लागि परिक्षण गर्न विद्युत आपूर्ती बन्द गराउन लागिएको नेपाल विद्युत बेनी विद्युत प्राधिकरण बेनी शाखाले जनाएको छ ।

शाखाका प्रमुख सिताराम शाहका अनुसार बिहीबार बिहान ७ देखि साँझ ७ बजेसम्म परिक्षणका क्रममा प्राबिधिक समस्या आउन सक्ने भएकाले विद्युत आपूर्ती बन्द गराउन लागिएको हो ।

अपर मादी आयोजनाको विद्युत केन्द्रिय प्रशारण लाईनमा जडान गर्ने कार्य सफल भएपछि नियमित रुपमा विद्युत आपूर्ती हुने शाखा प्रमुख शाहले बताए ।

परिक्षण अवधिभर म्याग्दी, पर्वत, मुस्ताङ, बागलुङ, कास्की, तनहुँ, स्याङ्जा, गोरखा र लमजुङ जिल्लाको केन्द्रिय प्रशारण लाईनको विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरणले जनाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भूकम्प जाँदैछ भन्ने जानकारी २० सेकेण्ड पहिले मोबाइलमै थाहा पाउनुस । त्याे कसरी ?

काठमाडौं / नेपालमा भूकम्प आउँदैछ भनेर पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टले चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाको सहयोगमा भूकम्प पूर्व सूचना प्रणाली जडान गरेको हो । आठ महिना अघिदेखि यो प्रविधि जडान गर्ने योजना भएपनि विभिन्न प्राविधिक कारणले एक हप्ताअघि मात्र जडान गर्न सफल भएको नाष्टका प्रविधि प्रमुख सुरेशकुमार ढुङ्गेलले बताउनुभयो ।

censer 1

चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाले निःशुल्क दिएको भूकम्प पूर्व सूचना प्रविधिलाई नास्टले राजधानीका विभिन्न चार ठाउँमा जडान गरेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय भूगर्भ केन्द्रीय विभाग, भृकुटी होटल गोदावरी र सौर्य स्कुल सिनामंगलमा जडान गरिएको हो ।

यसरी जडान गरिएका ठाउँमा भूकम्प आउँदैछ भनेर पूर्व सूचनाका रुपमा साइरन बज्ने चीनको इन्टिच्युट अफ केयर लाइफ संस्थाका उपप्रमुख डा. याङले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो प्रविधि चीन, जापान र मेक्सिकोमा सफल भैसकेको छ, यो प्रविधि प्रयोग गर्ने नेपाल चौथो राष्ट्र हो ।’

यो प्रविधिले भूकम्प आउँदैछ भनेर झण्डै २० सेकेण्ड पहिला नै जानकारी दिने याङले बताउनुभयो । जसले गर्दा नागरिकलाई सुरक्षित रहनुहोस् भनेर संकेत गर्छ ।

चार वटा उपकरण हुन्छन्

यो प्रविधि चारवटा उपकरणको सहायताले सञ्चालन हुने गर्छ । यसमा सेन्सर, कन्ट्रोल सेन्टर, रिसिभर र साइरन हुन्छन् । सेन्सर जति धेरै ठाउँमा जोड्यो त्यति राम्रो हुने गर्छ ।

censer 2

एउटा सेन्सर र अर्को सेन्सरको दुरी १५ किलोमिटरको फरकमा हुनुपर्ने प्रविधि प्रमुख ढुङ्गानाले बताउनुभयो । एउटा सेन्सरको मूल्य १० लाख डलर पर्छ । सेन्सरमा एउटा ब्याट्री पनि हुन्छ । त्यो विद्युतबाट अटोमेटिक चार्ज हुन्छ । अहिले गोरखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली, रामेछाप, काभे्र लगायतका काठमाडौं आसपासका जिल्लामा गरी ३९ वटा सेन्सर जोडिएका छन् । चीनले ३ सय २० वटा सेन्सर दिने भएको छ ।

यसरी सेन्सर जडान गरिएका ठाउँमा भूकम्प गयो भने त्यसको खबर जहाँ कन्ट्रोल सेन्टर र रिसिभर राखिएको हुन्छ त्यहाँ मात्र थाहा हुन्छ । अर्को कन्ट्रोल सेन्टर हो । यसले सेन्सरको सूचना लिएर रिसिभरलाई दिने काम गर्छ । त्यस्तै अर्को कन्ट्रोल सेन्टरसँगै रिसिभर जोडिएको हुन्छ ।
googlemapeq 2

कन्ट्रोल सेन्टरमा आएको संकेत रिसिभरले लिन्छ । रिसिभर चल्न १ किलोवाट बिजुली चाहिन्छ । चार वटा रिसिभर जोडिएपनि अरु ६ वटा रिसिभर पनि चीनबाट आइसकेका छन् । लोडसेडिङ भएको बेला भूकम्प गयो भने यसले सूचना दिन सक्दैन । रिसिभरसँगै तारमार्फत साइरन जडान गरिएको हुन्छ । रिसिभरमा भूकम्पको संकेत आएपछि साइरन बज्ने प्रविधि प्रमुख ढुङ्गेलले बताउनुभयो  ।

कसरी काम गर्छ यो यन्त्रले ?

एक सेन्सर र अर्को सेन्सरको दुरी १५ किलोमिटर हुन्छ । यसरी १५ किलोमिटरको आसपासमा भूकम्प जाँदैछ भने त्यसले पहिला सानो यान्त्रिक हलचल ल्याउँछ । यसरी आउने भूकम्पको यान्त्रिक हलचललाई सेन्सरले तुरुन्त थाहा पाउँछ ।

censer 3

सेन्सरले यो यान्त्रिक हलचललाई इलोक्ट्रोम्याग्नेटिक्स वेभको रुपमा कन्र्भट गर्छ । सेन्सरले इलोक्ट्रोम्याग्नेटिक वेभलाई टेलिकमको नेटवर्कबाट (सञ्चारको उपकरण) को सहयताले कन्ट्रोल सेन्टरलाई जानकारी गराउँछ । यसरी कन्ट्रोल सेन्टरमा जानकारी हुने इलोक्ट्रोम्याग्नेटिक वेभको गति प्रकाशको गति सरह हुने गर्छ ।

प्रकाशको गति भनेको तीन लाख किलोमिटर प्रतिसेकेण्ड हुन्छ । त्यसैले इलोक्ट्रोम्याग्नेटिक वेभ पनि तीन लाख किलोमिटर प्रतिसेकेण्डको दरले दौडन्छ । भूकम्पले क्षति गराउने सरफेस वेभको गति जम्मा तीन किलोमिटर प्रतिसेकेण्ड हुन्छ । त्यसैले भूकम्प कन्ट्रोल सेन्टरमा पुग्नु भन्दा अगाडि नै यसको सूचना पुगिसक्छ ।

googlemapeq 2

कन्ट्रोल सेन्टरसँगै अर्को रिसिभर जडान गरिएको हुन्छ । कन्ट्रोल सेन्टरले भूकम्प आउँदैछ भनेर रिसिभरलाई संकेत गर्छ । यसरी रिसिभरसँग संकेत आइसकेपछि रिसिभरसँगै जोडिएका साइरन बज्न थाल्छन् । यसरी साइरन बज्न थालेपछि भूकम्प आएको हो भनेर थाहा पाउनु पर्ने हुन्छ । साइरन ४ रेक्टर स्केल भन्दा  माथिका भूकम्प आउँदा मात्रै बज्छन् ।

जहाँ रिसिभर राखिएको हुन्छ, त्यहाँ वायरको मार्फत साइरन जडान गरिएको हुन्छ । जस्तो कि अहिले नास्टमा रिसिभर राखिएको छ । गोरखामा सेन्सर राखिएको छ । यदी गोरखामा भूकम्प आयो भने त्यहाँको संकेत रिसिभर राखिएको ठाउँ नास्टमा आउँछ र त्यहाँ साइरन बज्छ ।

यदि नास्टमा ठूलो आवाज आउने साइरन राखिएको छ र त्यो साइरन कीर्तिपुरमा पनि सुनिन सक्छ भन्दैमा कीर्तिपुका नागरिकले पूर्व सूचना थाहा पाउन सक्दैनन् ।  किनभने ध्वनि तरङ्ग तीनसय मिटर प्रतिसकेण्ड कुद्छ । तर भूकम्पले क्षति गराउने सरफेस वेभको गति तीन किलोमिटर प्रतिसेकेण्ड हुन्छ । जसका कारण साइरनको आवाज कीर्तिपुर पुग्नभन्दा पहिला भूकम्पको तरङ्ग पुगिसक्छ । तर साइरन जडान गरिएको वरपर तत्काल ध्वनि तरङ्ग पुग्ने भएकाले रिसिभरको वरपरका नागरिकलाई यसले सुरक्षित रहन संकेत गर्छ ।

भूकम्पको केन्द्रबिन्दु टाढा हुँदा चाँडो साइरन बज्छ

भूकम्पको केन्द्रबिन्दु जति टाढा भयो त्यति नै चाँडो रिसिभरमा पुग्छ र साइरन बज्छन् । यसरी भूकम्पको केन्द्रविन्दु टाढा भएमा २२ सेकेण्ड भन्दा अगाडि नै साइरन बज्ने गर्छन् ।

censer 4
साइरन निरन्तर २० सेकेण्डसम्म बज्छ ।  तर रिसिभर जडान गरिएको ठाउँ वरपर नै केन्द्रबिन्दु छ भने त्यहाँको आसपारको रिसिभरले काम गर्दैन । किनकी रिसिभरले सूचना थाहा पाउनुभन्दा पहिला भूकम्प गइसकेको हुन्छ । तर नजिकको रिसिभरले काम नगरे पनि केन्द्रविन्दु भन्दा टाढाको रिसिभरले काम गर्छ र नागरिकले भूकम्प आउँदै छ भनेर अगाडि नै सूचना पाउँछन् ।

कसैले सेन्सर हल्लाउँदैमा साइरन बज्दैन

त्यस्तै कसैले सेन्सरलाई हल्लाएमा साइरन बजिहाल्छ र नागरिकले दुःख पाउँछन भन्ने पनि हुँदैन । कसैले सेन्सर राखिएको ठाउँ या सेन्सरलाई हल्लाएको भरमा त्यो सूचना कन्ट्रोल सेन्टरमा पुग्दैन ।

हरेक सेन्सर १५ किलोमिटरको दुरीमा जडान गरिएको हुन्छ । यसरी १५ किलोमिटरको दुरीमा रहेका कम्तीमा तीन वटा सेन्सर एकैपटक नहल्ली कन्ट्रोल सेन्टरमा इलोक्ट्रोम्याग्नेटिक वेभको सूचना पुग्दैन ।

भूकम्प आउँदैछ भन्ने जानकारी मोबाइलमै

दोस्रो चरणको कार्यक्रम अनुसार नास्टले मोबाइलमै भूकम्पको पूर्व जानकारी गराउने बताएको छ । जसरी कन्ट्रोल सन्टरले रिसिभरलाई जानकारी गराउँछ । त्यसरी नै कन्ट्रोल सेन्टरले टेलिकमको नेटवर्क प्रयोग गरेर सिधै पठाउन सकिने नास्टका प्रविधि प्रमुख कुमार ढुङ्गेले बताउनुभयो । उहाँका अनुसार यस बारेमा नेपाल टेलिकमसँग कुरा भइरहेको छ ।
censer 5‘सुरुमा टेलिकमका कतिपय कर्मचारीले हामी यस्तो सहकार्य गर्दैनौं तपाईहरु एनसेलसँग सहकार्य गर्नुस् भनेपनि अहिले उहाँहरु पनि सकरात्मक हुनुहुन्छ’ उहाँले भन्नुभयो ‘टेलिकमले हामीसँग यो सम्झौता गरेमा रिसिभर र साइरन चाहिदैन’ उहाँले भन्नुभयो, ‘कोही व्यक्ति कुरा गरिरहेको छ भने पनि त्यसलाई काटेर भूकम्पको सूचना पठाउन सकिन्छ ।’ जसका लागि टेलिकमसँग छिट्टै सहकार्य गर्ने र सबैतिरबाट सहयोग पाएमा अबको झण्डै एक वर्षमा नागरिकले मोबाइलबाटै जानकारी पाउने उहाँले बताउनुभयो ।

नेपालमा आएको भूकम्प चीनमा समेत एकै समयमा थाहा हुने

चीनले यो प्रविधि जडान गर्नुको एउटा मुख्य उदेश्य नेपालमा आएको भूकम्पको सूचना तत्काल चीनमा पु¥याउनु रहेको छ । नेपाल भूकम्पको उच्च जोखिममा रहेको देश मानिन्छ । यसरी नेपालमा आएको ठूलो भूकम्प वा चीनसँग सीमा जोडिएका नाकामा आएका भूकम्पको असर चीनमा पनि पर्न सक्छ ।  यसरी नेपालमा आएको भूकम्पको बारेमा चीनले तल्काल थाहा पाएमा सुरक्षित रहन सक्ने नास्टका प्रविधि प्रमुख ढुङ्गेलले बताउनुभयो ।

अहिले नेपालका चार ठाँउमा जडान गरिएका रिसिभरको नेटवर्क चीनले पनि चिन्दु शहरमा जडान गर्न लागेको इन्टिच्युट अफ केयर लाइफ संस्थाका उपप्रमुख डा. याङले बताउनुभयो  । जसले यहाँको भूकम्पको गतिविधि तत्काल चीनले थाहा पाउँछ ।त्यस्तै नास्टले पनि चीनमा जडान भएका रिसिभरको नेटवर्कलाई नेपालमा जडान गर्ने योजना बनाएको छ ।

जसले चीनका विभिन्न भागमा गएका भूकम्पको सूचना तत्काल नेपालमा थाहा पाई सुरक्षित हुन मद्दत पुग्ने नास्टका प्रमुख ढुङ्गानाले बताउनुभयो ।  उज्यालाे अनलाइनबाट 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘सरकार, हामीले त घर बनाइसकेम्’

‘नेपालको पुनर्निर्माण इन्डोनेसियाजस्तो होला कि हाइटीजस्तो ?’

वैशाख १२ को भुइँचालोपछि धेरैको प्रश्न यही थियो।

सन् २००४ को भुइँचालो र सुनामीले इन्डोनेसियाको आचे प्रान्तमा १ लाख ६० हजारभन्दा बढीको ज्यान गयो। पाँच लाखभन्दा बढी घरबारविहीन भए। नेपालभन्दा कयौं गुणा ठूलो भौतिक क्षति बेहोरेको आचेमा पाँच वर्ष नबित्दै कायापलट भयो। दाताहरूबाट प्राप्त झन्डै ७ अर्ब अमेरिकी डलरले व्यवस्थित घर बने। फराकिला सडक बने। भुइँचालो प्रतिरोधक स्कुल बने। नयाँ अस्पताल बने। नयाँ पुल बने। सिंगो प्रान्त नै नयाँ बन्यो।

उता, २०१० को भुइँचालोले हाइटीमा दुई लाखभन्दा बढीको ज्यान गयो। डेढ लाखभन्दा बढी घरबारविहीन भए। दाताहरूबाट १० अर्ब अमेरिकी डलरभन्दा बढीको सहयोग ओइरियो। आज पाँच वर्षपछि पनि त्यहाँका घरबारविहीन तंग्रिएका छैनन्। उल्टो गरिबी र भोकमरीमा लपेटिएका छन्। र, टहरोमुनि नै जिन्दगी बिताइरहेका छन्।

एक वर्षको अनुभव हेर्दा, नेपाल इन्डोनेसियाजस्तो पुनर्निर्माणमा सफल उदाहरण बन्ने सम्भावना एकदमै धमिलो छ।

एउटा कुरा भने पक्का हो, हाइटीजस्तो तन्नम पनि हुँदैन, कुनै हालतमा।

यसको कारण, नेपाल सरकार हाइटीभन्दा सक्षम छ वा यहाँको पुनर्निर्माण प्राधिकरणको काम प्रभावकारी छ भन्ने कतै होइन। यसको कारण जनता आफैं हुन्। उनीहरू सरकार कहिले आउला र घर बनाइदेला भनेर कुरेर बसेका छैनन्। धेरैले त अहिलेसम्म सरकार देखेकै छैनन्। उनीहरूको कुनै पनि दुःखमा सरकार उभिएकै छैन। उनीहरूले न सरकारबाट केही पाएका थिए न त यसपालि पनि केही पाउने आशै राखे।

त्यसैले त, भुइँचालोको एक महिना नबित्दै हामीले थुप्रै त्यस्ता व्यक्ति भेटेका थियौं, जो भग्नावशेषबाट सग्ला काठ र ढुंगा पन्छाउँदै नयाँ घर बनाउने जोहो गर्दै थिए। आफ्नै बलबूतामा आफ्नो ओत लगाउँदै थिए।

आज, एक वर्षपछि यो रफ्तार निकै बढेको छ।

बारपाक, मनिडाँडाबाट सुस्तरी ओरालो झर्दा दुई सय मिटर तलको झुरुप्प बस्तीबाट ठाकठाक ठुकठुक आवाज एकोहोरो कानमा ठोक्किरहन्छ।

तल, गोरखा राजमार्गको बाह्रकिलोबाट ४८ किलोमिटर उत्तर कच्ची बाटोमा रोडा, ढुंगा, सिमेन्ट, छड बोकेका ट्र्याक्टर ठस्ठस्ती कन्दै उकालो उक्लिरहेका भेटिन्छन्।

बारपाकीहरू घर बनाउँदैछन्।

सुनबहादुर घलेलाई केही दिनमै ढलान गर्ने चटारो छ। उनी भुइँचालोमा भत्केको घरको ढुंगामाथि टुक्रुक्क बसेर फलामे छड करौंतीले काट्दै थिए। भुइँमा बालुवाको थुप्रो थियो। दर्जनभन्दा बढी सिमेन्टका बोरा खात लाएर राखिएको थियो।

‘एक वर्ष त भइसक्यो, दिएको के छ र हाम्रो सरकारले! तिनको भर परेर बसे त हाम्रो जिन्दगी नै टहराको बास हुन्छ,’ सुनबहादुरले भने।

बारपाकमा सुनबहादुर एक्ला होइनन्, जो भुइँचालोमा लडेको घर आफ्नै बलबूतामा जेनतेन उभ्याउँदैछन्। यहाँका अधिकांशले आफ्नो घर आफैं बनाइसके, चाहे त्यो जस्ताकै टहरा किन नहोस्।

पहिलोचोटि बारपाक पुग्नेलाई झुलुक्क हेर्दा पत्याउनै मुश्किल पर्छ, यो गाउँ भुइँचालोमा सिंगै लडेको थियो। यहाँका १ हजार ४ सय ४७ घरमध्ये दुई दर्जन पक्कीबाहेक सबै धस्सिएर जमिनको सतहमा आइपुगेका थिए। ढुंगाले बारेको र ढुंगैले छाएको झुरुप्प बस्ती एकैचोटि झ्याम्म लड्दा ढुंगा र काठले थिचेरै ७० जनाभन्दा बढीको ज्यान गएको थियो।

त्यसयता बर्खा, असिनापानी र हिमपात झेलेका धेरै बारपाकी आज आफ्नै बलमा बौरिन थालेका छन्। ७५ प्रतिशतभन्दा बढीले जस्ताको टहरा छाइसके। ५० वटाभन्दा बढी पक्की घर नै बनिसके। केहीले ढुंगाको गारो उभ्याएका छन्। जस्ताका ती अस्थायी घरले यसपालि बर्खा मात्र हैन, केही वर्ष नै मज्जाले धान्नसक्छ।

यी कसैले सरकारको सहयोगमा घर उभ्याएका होइनन्। नयाँ घर बनाउन सरकारले दुई लाख दिने भनेको उनीहरूले सुन्दै आएका छन्। कसैलाई त्यसको आश भने छैन। घर बनाएका सबैले विदेशबाट छोरा–नातिले पठाइदिएको रेमिटेन्स रकम नै लगानी गरेका हुन्। त्यसमा नपुग ऋण गरेका छन्।

सरकारको बाटो कुर्दाकुर्दा स्थानीयको आँखा कतिसम्म टट्टाइसक्यो भने विस्थापितले धरि पहिलेकै ठाउँ फर्केर घर बनाउन थालिसके।

बारपाक पुग्नुभन्दा लगभग १५ किलोमिटरअघि इसिनान गाउँ आउँछ। पहिरोको जोखिमले विस्थापन समस्यामा परेका बारपाकका आधा दर्जनभन्दा बढी गाउँमध्ये इसिनान एक हो। यहाँका ४३ घर सबै भत्किए। ६ जनाको ज्यानै गयो। भत्केका घरका अवशेष अहिले पनि जस्ताका तस्तै छन्। यहाँका बासिन्दा गाँवै सुनसान पारेर डाँडामाथि चौरमा ‘विस्थापित जिन्दगी’ बाँचिरहेका छन्।

गाउँको सुन्यबीच एउटा घरबाट काठ ठोकेको ठाकठाक ठुकठुक आवाज आइरहेको थियो। त्यहाँ ३४ वर्षीय मनबहादुर गुरुङ र उनका छोरा ओमराज गुरुङ काठ ठोकेर घरको छत हाल्दै थिए।

‘सरकारले देला र घर बनाम्ला भनेर अर्काको जग्गामा कति दिन बस्ने! म त आएँ अब आफ्नै ठाममा। जे पर्ला सो टर्ला,’ मनबहादुरले भने, ‘सरकारले २५ हजारबाहेक एक पैसा दे’को छैन। कति दिन उसको मुख हेरेर बस्नु ! अब त यत्ति भन्नुछ, सरकार तिमी हेर्दै गर, हामीले हाम्रो घर बनाइसकेम्।’

उनले भग्नावशेषबाट जोगाएर राखेका सग्ला काठ प्रयोग गरेर यो नयाँ घर बनाएका हुन्। अब बढीमा एक महिनाभित्र घर पूरा हुन्छ। त्यसपछि उनीहरू सात जनाको परिवार फेरि यहीँ बसोबास गर्न आउनेछन्। पहिरोको जोखिमले मुटु त पक्कै काम्छ, तर त्योभन्दा बढ्ता अर्काको भरमा ‘माग्नेजस्तो जिन्दगी बिताउँदा’ मुटु कामेको उनी बताउँछन्।

‘भैंचालो त झेलियो, अब पैरो पनि यहीँ झेलम्ला, बाँच्नु छ भने जाँ नि बाँचिन्छ, मर्नु छ भने चौराँ नि मरिहालिन्छ,’ उनले भने, ‘मरेँ नि आफ्नै घराँ मरम्ला।’

‘तपाईं मात्र कि अरू पनि फर्कंदैछन् ?’

उनको जवाफ थियो, ‘अहिलेलाई म आएँ, विस्तारै अरू पनि आउँछन्। सरकारले केही गर्दैन भन्ने सप्पैलाई था भइसको।’

सबैतिर दुःख उस्तै छ। सरकारको रफ्तार उही हो। पुनर्निर्माण प्राधिकरणले भुइँचालो पीडितको लगत अद्यावधिक गर्नै भ्याएको छैन। केही जिल्लामा दुई लाख दिने काम बल्ल सुरु भयो। त्यो पनि बैंक खाताको लफडामा अल्झेर धेरैको हात परेकै छैन। सत्तारुढ दलका नेता ‘सक्नेले आफ्नो घर आफैं बनाउँ’ भन्न थालेका छन्।

खासमा यो कसैले भन्नै पर्दैन। अलिकति पनि टेक्ने भुइँ र समाउने लठ्ठी भएका कोही सरकारको भरमा बसेकै छैनन्।

धादिङ, खरी–२ का तारानाथ काप्रीको घर वैशाख १२ को भुइँचालोले भत्काइदियो। त्यो उनको घर मात्रै थिएन, गरिखाने मेलो पनि थियो। सडकनजिकको त्यही घरमा उनको सानो किराना दोकान थियो। खाजा पनि खुवाउँथे। घरसँगै उनको जीवन धान्ने आधार पनि भत्कियो। सरकारले घर बनाउन दुई लाख दिन्छ भन्ने सुनेका काप्रीले गएको बर्खा टहरोमै काटे। हिउँद लाग्दा पनि सरकार नकस्सिएपछि उनी आफैं कस्सिए, आफ्नो घर आफैं बनाउन।

दैनिक आठ सय ज्यालामा कामदार खोजेर उनले गएको फागुनबाट घर बनाउन थालेका हुन्। चैतमा घर तयार भयो। झन्डै तीन लाख रुपैयाँ ऋण लागेको छ। उनको यो घर सरकारद्वारा प्रस्तावित १७ थरीका भुइँचालो प्रतिरोधक मोडलसँग मिल्दैन। उनले कुनै प्राविधिकको सल्लाह पनि लिएनन्।

‘आफ्नै तरिकाले, आफूलाई मन खाने गरी घर बनाएँ। नक्सा पास पनि गरेको छैन,’ उनले भने, ‘सरकारले दिन्छु भनेको पैसा यही घरलाई हेरेर दिए लिन्छु, ऋण तिर्न सजिलो हुन्छ, नभए त्यो नि चाहिएन।’

खरी–२, धुसेनीका कर्णबहादुर आचार्यले त वर्षदिन पनि कुरेनन्। उनले भुइँचालो गएको दोस्रो दिनबाटै घर बनाउन थालेका हुन्।

‘वैशाख १२ गते भैंचालो गयो, १३ गते घर बनाउन थालिहालेम्,’ उनले भने, ‘घरमा १० जना छम्, कोही पुरानो घरको सामान तह लगाउन थालेम्, कोही नयाँ बनाउन थालेम्।’ सारा परिवार जुटेपछि वैशाख महिना सकिँदा–नसकिँदै उनको घर तयार भयो।

उनले पनि कसैको प्राविधिक सहयोग लिएका छैनन्। ‘सरकारले पैसा दिए पनि ठिक छ, नदिए पनि ठिक छ, नदिए भने मलाई अनुदान देऊ भनेर खोज्दै जान्नँ,’ उनले भने।

उता, गोरखा, फुजेल–५ का सिताराम न्यौपानेले जापान बस्ने छोराले पठाइदिएको पैसाबाट घर बनाउन थालिसके। २०४२ सालमा बनेको उनको घर भुइँचालोमा पूरै भत्किएको थिएन। ठाउँ–ठाउँमा चर्किएको भने थियो। उनी चर्किएको घरमा बस्न चाहेनन्। नजिकै टहरो बनाएर ९१ वर्षकी आमासँग बर्खा र हिउँद काटे।

सरकारले अनुदान देला र घर बनाउन थालुँला भनेर बसेका न्यौपानेलाई यो बर्खा पनि टहरामै कट्ला कि भन्ने डर लाग्यो। त्यही भएर जापान बस्ने छोराले पैसा पठाइदिएपछि पक्की घर बनाउन थाले। जेठ मसान्तसम्म घर बनाइसकेर बर्खा अगाडि नै बूढीआमैलाई सुरक्षित ओतभित्रै राख्ने उनको योजना छ।

‘मैले त आफ्नो घर आफैं बनाएँ, अरू पनि धेरैले बनाएका छन्। तर, सरकार, कृपा गरेर घर बनाउन नसक्नेहरूलाई चाँडो हेरिदेऊ। यो बर्खा पनि उनीहरूले टहरोमै काट्न नपरोस्,’ सितारामले भने।

बारपाक, इसिनानका मनबहादुर गुरुङ भन्दै थिए, ‘सरकारले हाम्रातिर मात्र नहेरेको हो कि अरूतिर पनि यस्तै हो? काठमाडौंमा पनि धेरै घर ढलेका छन् भन्छन्, त्यहाँकाले पनि केही पा’का छैनन् त?’

स्थिति उनले सोचेजस्तो छैन। काठमाडौं जिल्लाकै सबभन्दा बढी भुइँचालो प्रभावित साँखुको समस्या गोरखाको जस्तै छ।

साँखुका ६० वर्षीय कृष्णबहादुर प्रजापतिको चारतले घर भत्किएर डेढ तलामा झरेको छ। आधा बचेको माथिल्लो तलामा जस्ता बारेर श्रीमती र छोरीसँग बस्दै आएका छन्। माटोका भाँडा बनाएर बेच्ने उनी त्यही धराप घरको अँध्यारो छिँढीमा आफ्नो पेसा धान्छन्।

उनले यो एक वर्षमा जम्मा तीन थोक पाए : सरकारबाट १५ हजार रुपैयाँ, रेडक्रसबाट १० हजार र भुइँचालो पीडितको कार्ड। सरकारले यहाँको भग्नावशेष पन्छाउनधरि मद्दत नगरेपछि लगभग ४० हजार रुपैयाँ खर्च गरेर आफैं सफा गरेको उनी सुनाउँछन्।

भुइँचालो पीडितलाई सरकारले २ लाख र बैंकले सस्तो व्याजमा २५ लाख रुपैयाँसम्म ऋण दिने भनेको छ। आजसम्म कोही खोजखबर गर्न नआएकाले कृष्णबहादुरले आश मारिसके। ऋण लिन पनि उनीसँग जग्गाको लालपुर्जा छैन। हजुरबा पालाको घर २०४२ सालमै दर्ता गरे पनि अहिलेसम्म लालपुर्जा पाएका छैनन्।

‘सरकारले दुई लाख दिए पनि त्यसले घर बनाउन त के पुग्थ्यो! टालटुल पारुँला भनेको, त्यो पनि खै के हो के!’ उनले भने, ‘हामी गरिब भनुँ भने तन्नम पनि हैनौं, धनी भनुँ भने आफैं घर बनाउने ल्याकत छैन। न माथि उठ्न सक्यौं न तल झर्यौं, बीचको बीचै रह्यौं।’

कृष्णबहादुरका जेठा छोरा वैदेशिक रोजगारका लागि साउदी गएका छन्। कान्छा छोरा वाणिज्य बैंकमा काम गर्छन्। छोरी पढ्दै छिन्। ऋण खोजखाज गरेर यसपालि जसरी भए पनि घर पक्की बनाउने उनको सुर छ।

उनकै छिमेकी सुरेन्द्र श्रेष्ठ त हामी पुग्दा भुइँचालोले भत्केको घर बनाउन इँटा ओसार्दै थिए। उनकी श्रीमती सिमेन्ट र बालुवा घोल्न मद्दत गर्दै थिइन्। ‘सरकारले बनाइदिने भनेको त सुनेको हो, तर कति दिन कुर्नु,’ सुरेन्द्रले भने, ‘यहाँ कतिले टहरा बनाइसके, कतिले पुरानै घर मर्मत गर्न थालिसके।’

अलि पर, साँखु चोकको एउटा भग्नावशेष घरको भुइँतलामा सिलाइबुनाइ पसल चलाइरहेकी सुलोचना श्रेष्ठ मोबाइलमा हिन्दी गीत सुन्दै थिइन्–

तु मेरे साथ साथ आसमाँ से आगे चल

तुझे पुकारता हैं तेरा आनेवाला कल’

भत्केको घरको भुइँतलामा बस्दा पनि उनको अनुहार अँध्यारो छैन। ‘अँध्यारो किन हुनु त, घर पो भत्कियो, हामी त बाँचेका छौं नि,’ मोबाइलको आवाज मधुरो पार्दै सुलोचनाले भनिन्।

उनको घर तीनतलाको थियो। भुइँचालोपछि एक तला मात्र बचेको छ। उनको नौ जनाको परिवार केही समय टहरोमै बस्यो। अहिले भाडाको घरमा बस्न थालेको छ। अब सरकारले नहेरे पनि आफैं घर बनाउनुपर्छ कि भनी सोच्न थालेको उनी बताउँछिन्।

‘सरकारबाट केही होला कि भन्ने आश थियो, खै केही भएन,’ उनले भनिन्, ‘हामी कतै सोध्न गएनौं, कसैले खबर पनि गरेको छैन। घर बनाउँदै गरौं, पछि सहयोग पाइयो भने लिउँला भन्ठानेका छौं।’

‘हुनेहरूले त जग्गा बेचेर भए पनि बनाउलान्। नहुनेलाई सरकारले हेर्दिनैपर्यो, तपाईंहरू त्यत्ति गर्दिनु है,’ उनले छुट्टिने बेला भनेकी थिइन्।

उनको यो सन्देश सरकारले नसुनेको वा नबुझेको होला र!

‘नेपालको पुनर्निर्माण इन्डोनेसियाजस्तो होला कि हाइटीजस्तो ?’

धेरैको प्रश्न अहिले पनि यही छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म समय–सीमा सहितको पुनर्निर्माण योजना सार्वजनिक गरेको छैन।

प्राधिकरणका सदस्य विष्णुबहादुर भण्डारीलाई सोमबार खानी तथा भूगर्भ विभागद्वारा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन क्रममा एक सहभागीले सोधे, ‘तपाईंहरूसँग कुन काम कहिले सक्ने भन्ने टाइम–फ्रेम सहितको योजना छ कि छैन ?

भण्डारीको जवाफ थियो, ‘प्राधिकरण पाँच वर्षको निम्ति गठन भएको हो, हामी सबै काम पाँच वर्षभित्र भ्याउँछौं।’

‘एक वर्ष त केही गर्नुभएन नि!’ ती सहभागीले फेरि सोधे।

‘पाँच महिना मात्र भयो हामी आएको,’ भण्डारीले भने, ‘कति राजनीतिक लफडा भयो भन्ने तपाईंहरूले बुझ्नुपर्छ। हामी आफ्नो काम गरिरहेका छौं।’

प्रश्न जहाँको तहीँ रह्यो। प्राधिकरणले समय–सीमा सहितको योजना सार्वजनिक गर्न सकेन।

यो हिसाबले, नेपाल इन्डोनेसियाजस्तो पुनर्निर्माणमा सफल उदाहरण बन्ने सम्भावना साँच्चै धमिलो छ। एउटा कुरा भने पक्का हो, हाइटीजस्तो तन्नम पनि हुँदैन, कुनै हालतमा।

किनकि, सुनबहादुर, मनबहादुर, तारानाथ, कर्णबहादुर, सिताराम, सुलोचना, कृष्णबहादुर, सुरेन्द्र लगायत धेरैले आफ्नो घर आफैं बनाइसके। कति बनाउने तर्खरमा लागिसके।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रधानमन्त्री ओलीद्धारा सहायकमन्त्री विष्ट पदमुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई बुधबार पदमुक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य विष्टलाई सरकारबाट फिर्ता बोलाउन आग्रह गरेपछि विष्ट पदमुक्त भएका हुन् ।

राप्रपा नेपालले सांसद रेशम लामालाई उक्त पदमा सिफारिस गरिसकेको छ । उनलाई बुधबार साँझमा नै प्रधानमन्त्रीले पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम छ ।

पार्टीले यसअघि नै पार्टीको नीति विपरित अभिव्यक्ति तथा गतिविधि गरेको भन्दै विष्टलाई मन्त्री पदबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

भेनेजुएलामा अब सातामा ५ दिन विदा, २ दिन काम गरे पुग्ने

१५ वैशाख, काटमाडौं ।भेनेजुएलाका सरकारी कर्मचारीहरुले अब सातामा पाँच दिन विदा पाउने भएका छन् । अब दुई दिन मात्र काम गरे पुग्नेछ ।

त्यहाँको सरकारले सरकारी कर्मचारीहरुले दुई दिन मात्र काम गर्ने तत्कालीन नियम लागू गरेको छ । इन्धन संकट टार्न सरकारले तत्काल सातामा पाँच दिन विदा दिन लागेको हो ।

उपराष्ट्रपतिले अब सरकारी कर्मचारीहरु सातामा दुई दिन सोमबार र मंगलबार मात्र कार्यालय आउने घोषणा गरे । उनका अनुसार यो व्यवस्था इन्धन संकट नहटेसम्म कायम रहनेछ ।

एल निन्यो मौसमी प्रक्रियाका कारण पानी कम परेकाले भेनेजुएला अहिले चरम इन्धन संकटमा छ । उसको प्रमुख हाइड्रोइलेक्टि्रक ड्याममा नाटकीय रुपमा पानी घटेको छ ।

तर, विपक्षीले भने कर्मचारीलाई विदा दिने सरकारी निर्णयको आलोचना गरेका छन् ।

भेजेनुएलाका राष्ट्रपति निकोलस मुदुरोले यसअघि नै २.८ मिलियन कर्मचारीलाई अपि्रल र मे मा शुक्रबार पनि विदा दिएका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

एकै घरका चार जनाको सहस्यमय मृत्यु

सल्यान । सल्यानको छाँयाछेत्र रानीगाउँमा एकै घरका चार जनाको रहस्मय मृत्यु भएको छ । सीता खान ठकुरीका परिवारका चार जनाको मंगलबार राती सरहस्यमय मृत्यु भएको हो ।

२३ वर्षिया सीता खान ठकुरी उनकी २ वर्षिया सबिता र पवित्रा ठकुरी तथा उनकी १८ वर्षिया बहिनी गिता गिरी घरमै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी श्याम खत्रीले बताए । घटनाबारे छिमेकीले बुधबार बिहान प्रहरीलाइ खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान सुरु गरेको डीएसपी खत्रीले जानकारी दिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

प्रियंकाको स्वर मनपरेको कि बोल्ड सिन ?

काठमाडौं । फिचर फिल्ममा सर्वाधिक ब्यस्त नायिका प्रियंका कार्की मोडलिङमा पनि उत्तिकै सक्रिय छिन् । पछिल्लो समय मोडलिङमा अलि चुजी बनेकी प्रियंका पछिल्लो समय गीतको शब्द र मोडल हेरेर मात्रै अभिनय गर्छिन   ।

‘हो अहिले मोडलिङ गर्नु अघि अपोजिटमा को छ हेरेर मात्रै अभिनय गर्ने गरेकी छु ।’ उनले भनिन् । उनले आफुलाई भिडियोमा अभिनय गर्न प्रस्ताव राख्ने निर्देशकलाई कुरा गर्नु अघि अपोजिटको तस्वीर मेल गर्न लाउने गरेकी छिन् ।

यति हुँदा हुँदै पनि उनको पकडलाई अन्य ब्यबसायिक मोडलले तोड्न सकेका छैन । अहिले पनि चलेका गायक र भिडियो निर्देशकको पहिलो रोजाइमा प्रियंका नै हुने गरेकी छिन् ।

बोल्ड प्रियंकाले पछिल्लो पटक आफ्नै स्वरमा गीत रेकर्ड गराइनन् मात्रै । आफ्नै निर्देशनमा बोल्ड भिडियो पनि सुट गरिन् ।

‘स्वतन्त्र’ बोलको उक्त भिडियोलाई मन पराउने दर्शकहरु क्रमश बढीरहेका छन् । सामाजिक सञ्जालमा बोल्ड फोटो पोष्ट गरेर बेला बेलामा चर्चामा आउने प्रियंकाको भिडियो हिट हुनुमा उनको स्वर हो कि बोल्ड अभिनय ? भनेर प्रश्न गर्नेहरु धेरै छन् ।

प्रश्न गर्नेहरु जे, सुकै गरुन् । तर, उनका आलोचकहरु समेत फ्यान बन्ने क्रम बढ्दो छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘आकाशमा कति तारा छन्?’- बीरबलको स्वादलाग्दो उत्तर..

राजा अकबरलाई बीरबलको चतुरता अनि बुद्धिको खुबै जाँच गर्न मन लाग्थ्यो। बीरबलसँग पनि आफ्नो सामुन्ने राजाले राखिदिएका चुनौती र समस्याहरूलाई सजिलै हल गर्न सक्ने क्षमता थियो। त्यसैले पनि अकबर र बीरबलको राजामन्त्रीको जोडी देखेर ईर्ष्या गर्नेहरू थुप्रै थिए।

बीरबल त प्रधानमन्त्री थिए, तर उसको यो अधिकार राज्यसभाकै एक सल्लाहकारले खोस्न चाहन्थे। एकदिन सारा राज्यसभाकै अगाडि अकबरले बीरबलको प्रशंसा गर्न थालेपछि उक्त सल्लाहकार जुरुक्क उठे र भने- “हुजूर! हजुरले बीरबललाई बुझ्दै नबुझी प्रशंसा गर्नुहुन्छ। जसलाई हजुरले बुद्धिमानी ठान्नुहुन्छ, ऊ त एक महामूर्ख हो। होइन भने मेरा ३ प्रश्नहरू छन्, जसको उत्तर यदि बीरबलले दिन सक्यो भने मात्रै म पनि उसलाई बुद्धिमानी ठान्छु। तर यदि बीरबलले मेरा तीन प्रश्नहरूको उत्तर दिन सकेन भने उसको प्रधानमन्त्रीको पद मेरो नाममा हुनेछ।”

राजा अकबरलाई पनि ‘के खोज्छस् कानो, आँखो!’ जस्तै भैहाल्यो। बीरबलको चतुरताको परीक्षा लिने अकबरको धोको कहिल्ये पनि पुरा हुँदैन। त्यसैले अकबरले पनि उक्त सल्लाहकारको सल्लाह मानी बीरबललाई प्रश्नको उत्तर दिन आदेश दिए।

तीन प्रश्नहरू यस्ता थिए-

१. आकाशमा कति ताराहरू छन्?
२. पृथ्वीको केन्द्रविन्दु कहाँ छ?
३. यो संसारका कतिजना पुरुष र कहिजना महिलाहरू छन्?

बीरबल पनि कहाँ कम थियो र?

पहिलो प्रश्नको उत्तर दिनका लागि उसले तुरुन्तै एउटा भेडा ल्याए र भने- “यो भेडाको शरीरमा जतिवटा रौँहरू छन्, आकाशमा पनि त्यति वटा नै ताराहरू छन्। यदि हाम्रा सल्लाहकार महोदयलाई विश्वास लाग्दैन भने आफै गन्न सक्नुहुन्छ।”

दोस्रो प्रश्नको उत्तर दिनका लागि बीरबलले भुइँमा केहि रेखाहरू खिचे अनि एउटा लौरी ल्याएर गाढे र भने- “पृथ्वीको केन्द्रविन्दु यहिँनेर पर्छ। यदि सल्लाहकार महाशयलाई कुनै शङ्का छ भने नापे हुन्छ।”

तेस्रो प्रश्नको उत्तर कसरी दिन्छ भन्ने सबैको मनमा उत्सुकता जागिराखेको थियो। यत्तिकै बीरबलले भने- “हुजूर! यो संसारमा कति जना पुरुष र कति जना महिला छन् भनेर ठ्याक्कै गन्न त गाह्रै छ। किनभने यो संसारमा पुरुष र महिलामात्रै छैनन्, हाम्रा सल्लाहकार महोदयजस्ता मानिसहरू पनि छन्, जसलाई न महिला भन्न मिल्छ, न त पुरुष नै! त्यसैले हुजूर, यदि यस्ता न महिला न पुरुषजस्ता मानिसलाई पर हटाउने हो भने मात्रै महिला र पुरुषको ठेट गन्ती निस्किने थियो।”

बीरबलको तीखो उत्तर सुनेर उक्त सल्लाहकार चुप लागेर बस्नुबाहेक अरू केहि गर्न सकेन। अकबर पनि आफ्नो महामन्त्रीको बुद्धि र चतुरता देखेर गदगद हुँदै बसे।

निष्कर्ष– “जहाँ इच्छा, त्यहाँ उपाय!”

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

च्याउ खेतीबाट यसरी फलाउन सकिन्छ पैसा

१५ वैशाख, काठमाडौं । आजभोलि धेरै युवाको एउटै गुनासो सुनिन्छ, ‘देशमा भनेजस्तो काम नै पाइएन ।’  गतिलो रोजगारी भेेटिएन भन्दै विदेशिने यस्ता युवाका लागि गतिलो प्रेरणा हुन्, मकवानपुरका नवराज ढकाल ।

३३ वर्षीय ढकालले गाउँमै बसेर च्याउ खेतीमार्फत गत वर्ष मात्रै २५ लाख रुपैयाँ चोखो मुनाफा कमाए । १४० वटा टनेलमा च्याउखेति गरिरहेका ढकाललाई अहिले भाइहरुले पनि साथ दिएका छन् ।

अहिले झण्डै १६ रोपनी जग्गामा टनेल बनाएर उनले गरेको च्याउखेतीले गतिलै आम्दानी दिइरहेको छ । उनले गतवर्ष गाउँमै किलोको ८० रुपैयाँसम्म लिएर च्याउ बेचे । च्याउको बजारका लागि पनि समस्या नभएको उनको अनुभव छ । ढकालले उत्पादन गरेको च्याउ काठमाडौंका ब्यापारीले गाउँमै पुगेर उठाउँछन् ।

‘च्याउबाट आम्दानी भरपुर छ’ उनी भन्छन्-‘सधैँ एकनासको कमाई हुँदैन ।  लगातार हार नमानी काम गर्ने हो भने आम्दानी सोचेजस्तै हुन्छ ।’

ढकालले च्याउ खेती गर्ने प्रविधि काठमाडौंको बलम्बुमा सिकेका हुन् । पालुङमा ७ वर्षअघि च्याउ खेती सुरु गर्नुभन्दा पहिले बलम्बुुमा निकै अध्ययन गरेको उनी बताउँछन् ।

‘व्यवसायिक रुपमा च्याउ खेतीमा लाग्न यसको प्राविधिक पक्षबारे जानकारी हुनैपर्छ,’ उनी भन्छन्-‘अन्यथा यसमा गरिने लगानी बमोजिम प्रतिफल हासिल हुँदैन ।’

कसरी गर्ने त च्याउ खेती ?

पहाडी क्षेत्रका गाउँघरमा सहजरुपमा गर्न सकिन्छ च्याउखेती । तर, यसबारे व्यवहारिक ज्ञान भने लिनैपर्छ । यो थोरै जग्गामा गर्न सकिने खेती भए पनि विशेष स्याहारको आवश्यकता पनि पर्छ । तर, अन्य खेतीजस्तो धेरै दुःख भने गर्नुपर्दैन ।

यो खेतीमा सामान्य आय भएका परिवारले पनि लगानी गर्न सक्छन् । यसबाट प्रतिफल लिन पनि खासै समय लाग्दैन । त्यसैले सीप सिकेर अठोटका साथ काम गर्दा सफलता निश्चित नै छ ।

नेपालमा खेती गर्न सकिने च्याउ विभिन्न प्रकारका छन् । विशेषज्ञको सल्लाह लिएर आफ्नो ठाउँको वातावरण र उपलब्ध साधनमा आधारित भएर फरक-फरक किसिमका च्याउ खेती गर्न सकिन्छ । नेपालमा अहिले कन्ये च्याउ, गोब्रे च्याउ, सिताके च्याउ र राते च्याउको खेती भइरहेको छ ।

तुलनात्मक रुपमा कन्ये च्याउ अन्यभन्दा सस्तोमा बिक्छ भने अन्य च्याउहरु निकै महंगो हुन्छन् । रातो च्याउको विदेशमा समेत माग छ । काठको ठूटा र मुढामा खेती हुने सिताके च्याउको मूल्य पनि कम्ति छैन ।

च्याउ खेतिका लागि गाउँघरमा सहजै उपलब्ध हुने पराल, केराको पात लगायत सामग्री नै मुख्य हुन् । यसबाहेक टहरा बनाउन खर, बाँस लगायत पनि चाहिन्छ । यि साधन गाउँ घरमा सहज रुपमा पाइने भएकाले यसका लागि ठूलो संघर्ष गर्नु पर्दैन । बजारमा च्याउका बिउ सहजै किन्न पाइन्छ ।

कसरी सिक्ने सीप ?
च्याउखेती गर्ने प्रविधि त्यत्ति अप्ठेरो छैन । अरुले गरेको एकपटक देख्नुभयो भने पनि सिक्न सक्नुहुन्छ । तर, वयवसायिक रुपमा अघि बढ्न तालिम लिएकै राम्रो हुन्छ । यसले तपाईंको आत्मविश्वास मात्रै बढाउँदैन, व्यवसायमा हुने हानीको जोखिम पनि घट्छ । च्याउखेतीको तालिम त्यति लामो अवधिको पनि हुँदैन ।

आफुले उत्पादन गरेको च्याउ देखाउँदै मकवानपुरकी कल्पना श्रेष्ठ

विभिन्न संघ-संस्था र सरकारी निकायले नै यसको लागि तालिमहरु चलाइरहेका हुन्छन् । तपाईंले आफ्नो नजिकको कृषि सेवा केन्द्र वा जिल्ला कृषि विकास कार्यालयमा गएर बुझ्नुभयो भने तालिमबारे जानकारी पाउनुहुनेछ ।

गाउँमा च्याउखेतीको तालिमका लागि योजना बनाउनुभयो भने पनि यि निकायले तपाईंलाई सहयोग गर्नेछन् । विभिन्न संघ-संस्थाले गाउँ-गाउँमै पुगेर यस्ता तालिम चलाइरहेका छन् ।

खेती गर्ने सकिने ठाउँ
च्याउखेती प्रायः चिसो मौसम र ठाउँहरुमा गरिन्छ । गर्मी मौसममा तराईमा भने यो सम्भव नहुने विज्ञहरु बताउँछन् । तर, पहाडी क्षेत्रमा भने यो खेती बाह्रैमास गर्न सकिन्छ । यसका लागि घरको कोठा नै चाहिन्छ भन्ने छैन । घरबाहिर खेतबारी, वा खरका छाप्रो र टहरामा पनि गर्न सकिन्छ ।

त्यस्तै, गाउँमा आˆनै घरवरपरका घाम नलाग्ने छहारीमा पनि गर्न सकिन्छ । यसका लागि सीधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त हुँदैन ।

च्याउ खेती गर्न माटोको सतह अन्यत्रको भन्दा केही अग्लो भएको हुनुपर्छ । जमीनमा पानी जम्न दिनुहुँदैन । तर, यसका लागि प्रशस्त मात्रामा उज्यालोपन चाहिन्छ । गाउँ घरमा यस्तो ठाउँको अभाव पक्कै पनि हुँदैन ।

रोग र कीरा
च्याउखेतीमा हुने खतरा भनेको रोग किराकै हो । यसलाई नोक्सान गर्ने मुख्य रोग नै जंगली च्याउ (कप्राइनस) हो । यो पहिलोपटक आउँदा गोलो सेतो हुन्छ । पछि डाँठ लामो भएर फक्रन्छ र कालो निस्कन्छ । त्यसैले, यसलाई आउनेबित्तिकै झिकिदिनुपर्छ ।

यसमा हरियो, पहेँलो, कालो ढुसी आए पनि त्यति नोक्सान भने हुँदैन । त्यस्तै, यसमा नोक्सान गर्ने अर्को कारण मुसा हो । अरु कीराले भने यसमा त्यति नोक्सान गर्दैनन् ।

रोग किराबाट बचाएको च्याउलाई बेलैमा टिपेर बजार पुर्‍याउन सक्नुभयो भने तपाईंले यो कामबाट हात झिकेर हिँड्नुपर्ने छैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पूर्वाधार पुनःनिर्माण भएपछि किसान हर्षित

बनेपा, भूकम्पले तहसनहस बनाएका सिँचाइका पूर्वाधार पुनःनिर्माण भएपछि किसान हर्षित भएका छन् ।
महादेवस्थानको बगरखोला बाँध सिँचाइ र गौरीबिसौना देउपुर गाविसमा चितेदोभान सिँचाइको पुनःनिर्माण भएपछि उनीहरु हर्षित भएका हुन् । महादेवस्थान गाविस किसान समूहका सचिव नारायणबहादुर विष्टले पूर्वाधार निर्माण पछि चार बालीसम्म लगाउन सकिने बताउनुभयो ।

सिँचाइको पूर्वाधार नहुँदा कृषि उत्पादनमा कमी आएको थियो । अब तरकारी, धान, मकै, गहँुलगायत बालीको उत्पादन बढने किसानले बताएका छन् । गौरीबिसौना देउपुरमा समेत एक बालीबाट तीनबाली उत्पादन गर्न सकिने छ ।

“पहिले तीन मुरी धान उत्पादन हुने खेतमा १५ मुरीसम्म फलाउन सकिन्छ,” विष्टले भन्नुभयो । मौरिसस सरकार र युएनडिपीको सहयोगमा राष्ट्रिय किसान समूहले सिँचाइका २५ वटा परियोजना जिल्लाका छ गाविसमा सञ्चालन गरेको छ । परियोजनामा रु एक करोड तीन लाखको लगानी रहेको र परियोजनामार्फत पुनःनिर्माण बाहेक आयआर्जनको काम भएको राष्ट्रिय किसान समूहका अध्यक्ष उद्धव अधिकारीले जानकारी दिनुभयो ।

आयोजनाको स्थलगत निरीक्षण गर्न गएका युएनडिपीका राष्ट्रिय निर्देशक रेनोड मेयर र नेपालका लागि ब्राजिलका राजदूत मारिया टेरेसा समक्ष स्थानीयवासीले भूकम्पका कारण खानेपानीको मुहान सुकेको र त्यसले पुनःनिर्माणमा कठिनाइ आउने भएकाले सहयोग गर्न आग्रह गरेका थिए । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

के भारतले नेपाल टुक्र्याउन सक्छ ?

कसले उडायो सुर्खेतको आकाशमा अनुमतिबिना ड्रोन ?

सुर्खेत, वैशाख १५ – वीरेन्द्रनगरको आकाशमा झण्डै आधा घण्टाजति ड्रोन क्यामरा उडाइएको छ । प्रशासनसँग अनुमति नलिई कसले ड्रोन उडाएको हो भन्ने पत्ता नलागेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाका अनुसार दुई जना विदेशी नागरिकले ड्रोन क्यामरा उडाएका हुन् । उनीहरुले गणेशचोक नजिकै रातोपुलबाट ड्रोन क्यामरा उडाएर फोटोहरु लिएको स्थानीय बासिन्दाले जनाएका छन् । ड्रोन क्यामरा हेर्न दुई सय जनाभन्दा बढी सर्वसाधारणको भीड लागेको थियो ।

उनीहरुले सुर्खेत उपत्यकाभित्र रहेका सुरक्षा निकायको भवन र सुरक्षाको दृष्टिकोणले अति संवेदनशील क्षेत्रमा पनि ड्रोन क्यामरा उडाएको आशंका गरिएको छ । ड्रोन क्यामरा उडाएपछि उनीहरु आधा घण्टामै सबैलाई छल्दै त्यहाँबाट अन्यन्त्र गएको स्थानीय बासिन्दाले बताएका छन् ।

नेपालको कानून अनुसार प्रशासनसँग अनुमति लिएर मात्रै ड्रोन क्यामरा उडाउन पाइने भएपनि ड्रोन उडाउने अनुमति कसैले नलिएको प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले बताउनु भयो  । उहाँले ड्रोन क्यामरा उडाएको सूचना पाएलगत्तै सुर्खेतका प्रहरी प्रमुखलाई वास्तविकता बुझ्न पठाएको समेत उल्लेख गर्नुभयो । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पूर्व स्वीकृति बिना ड्रोन क्यामरा उडाउनेलाई कारवाही गरिने बताउनुभएको छ ।

सुर्खेतका प्रहरी प्रमुख वीरेन्द्र श्रेष्ठले अवैध रुपमा ड्रोन क्यामरा उडाउने विदेशीको खोजी भैइरहेको बताउनु भयो । उहाँले प्रहरी निरीक्षकहरुको कमाण्डमा प्रहरीहरु परिचालन गरिएको जानकारी दिनुभयो ।

पूर्व स्वीकृतीबिना ड्रोन क्यामराको प्रयोग गरी तस्बिर वा भिडियो रेकर्ड गरेको खण्डमा नागरिक उड्डयन प्राधिकरण ऐन र विद्युतीय कारोबार ऐन अनुसार कारबाही हुने प्रावधान रहेको छ ।

ड्रोनबाट लिइएका तस्बिर र भिडियो सुरक्षा संगठनलाई अनिवार्य रुपमा बुझाउनुपर्ने  गृहमन्त्रालयले जारी गरेको  निर्देशिकामा उल्लेख छ । निर्देशिकाले धार्मिक र सांस्कृतिक स्थल, सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र र हवाई मार्गमा असर पर्नसक्ने क्षेत्रमा ड्रोन उडान रोक लगाएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जेलको कथा सुनाउँदै प्रधानमन्त्रीले भने- ‘कुरा काट्नेहरु पुनर्निर्माण स्वयंसेवामा जानुस्’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणमा सरकारले काम गरेन भनेर कुरा काट्नेहरुलाई एक महिना स्वयंसेवामा जान आग्रह गरेका छन्। पुनर्निर्माणमा जाने इन्जिनियरहरुको अभिमुखीकरण तालिम समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले कुरा काट्नजस्तो सजिलो काम गर्न नहुने भन्दै पार्टीहरुलाई पनि एक महिना स्वयंसेवक परिचालन गर्न आह्वान गरे।

‘सरकारले पुनर्निर्माण गरेन भनेर कुरा काट्नेहरु धेरै छन्, म चाहन्छु- कुरा काट्ने सबै एक महिना पुनर्निर्माणको काममा स्वयंसेवा गर्न जाऊन्,’ प्रधानमन्त्री ओलीले भने, ‘अनि थाहा हुन्छ, काम गर्न र कुरा काट्न फरक रहेछ भनेर।’ उनले त्यसो भनेर आफ्नै कथा समेत सुनाउन भ्याए।

‘एकपटक गाउँमा खोला पस्यो, हामी सबै रोक्नका लागि काम गर्दै थियौं, एक जना सुटबुटमा आएर सिकाउन थाले- यो भएन, त्यो भएन,’ उनले जोडे, ‘अनि मैले भनेँ- जुत्ता खोल्नुस् या लाउनुस् तर तपाईं नै यहाँ अाउनुस्।’

प्रधामन्त्रीले कुरा काट्नेहरुप्रति कटाक्ष गरे पनि पुनर्निर्माणको काममा ढिलाइ भएकोमा स्वीकार गरे। उनले त्यसमा पनि आफ्नै जीवनको अर्को कथा सुनाउन भ्याए।

‘म जेलमा रहँदा अब त छुट्छु जस्तो लाग्थ्यो, म्याद थपेर अर्को पुर्जी आइहाल्ने, अब त छुट्छुहोला भन्यो फेरि नयाँ पुर्जी; एक दिन साँच्चिकै छुट्दा त पत्यारै लागेको थिएन,’ उनले भने, ‘भूकम्प पीडितहरुलाई पनि यस्तै भएको छ। सरकारले राहत दिन्छ, घर बनाउँछ भनेर पत्याउन छोडिसके तर अब सरकारले अब पुनर्निर्माण सुरु हुन्छ, नपत्याई धर छैन।’

प्रधानमन्त्री ओलीले सरकारले के गरिदिन्छ भन्ने भन्दा पनि आफू के गर्छु भन्ने योजना बनाएर अघि बढ्न भूकम्प पीडितलाई सुझाव दिए। ‘सरकारले प्राविधिक सपोर्ट मात्र गर्ने हो त्यसका लागि हामीले इन्जिनियर पठाएका छौ,’ उनले भने, ‘कस्तो बनाउने भन्ने निर्णय तपाईंहरुले नै गर्ने हो।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सहरी विकास मन्त्रालयले राखेको पुनर्निर्माणका लागि जाने इन्जिनियरको अभिमुखीकरण समापन कार्यक्रममा प्रधानमन्त्रीले विदेशमा गएका युवा फर्किएपछि पुन: विदेश जाने अवस्था नरहने समेत भन्न भ्याए। ‘हामी यसरी परिस्थिति निर्माण गर्दैछौं कि विदेशबाट फर्किएकाहरु फेरि विदेश जाने छैनन्,’ उनले थपे, ‘पुनर्निर्माणपछि नवनिर्माण सुरु हुनेछ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

साहशी सुस्मीता

कराँते खेलाडी सुस्मीता तामाङ पछिल्लो समयमा खेलकुद लगायत समाजसेवामा समर्पित व्यक्तिको नाम हो । उनले काठमाडौ लगायत देशका बिभिन्न स्थानमा रहेका बृद्धाश्रम एवम बालआश्रमका असहायहरुलाई सहायता गर्दै आएकी छिन् । त्यसअर्थमा उनको सामाजिक सेवाको कार्यहरु अनुकरणीय छन् । सुस्मीता अव सामाजिक सेवामा मात्र सिमीत रहिनन । आज बिहान उनले आफने खेलकुद कलाको भरपुर सदुपयोग गरेकी छिन् ।
घटना आज बिहान करिब ५ बजे तिरको हो ।  बिदेश जाने शिललिलामा काठमाडौ गेष्टहाउसमा आएर बसेका एक सर्वसाधारणको मोवाइल र केही रकम चोरेर भागेको लुटेरा समुहलाई पक्रिएर प्रहरीलाइ बुझाएर उनले अत्यन्तै साहशी काम गरेकी छिन् ।
अहिलेको स्थार्थी दुनियामा मानिसहरु आफ्नो फाइदा मात्र हेर्छन । तर, पनि सुस्मीताले एक जना पीडितलाई बचाएकी छिन् । यसलाई अनुकरणीय नै मान्नु पर्दछ । बिदेश जाने सिलसिलामा काठमाडौ आएर माछापोखरीस्थित एक गेष्टहाउसमा बसेको मानिसको लुटिएको मोबाइल सेट र रकम लुटेराबाट थुतेर पीडितलाई बुझाउन सफल भएकी छिन उनी । एका बिहानै सडकमा हिडीरहेका मान बहादुर तामाङको मोवाइल ३,४ जनाको समुहले लुटेर भागेको थियो ।
तर,मोबााइल लिएर सम्वन्धित ठाउमा पुग्नुअघि नै सुश्मिताले उनीहरुलाइ लखेटिन । लखेट्दा लखेट्दै उनले धादिङ घर बताउने राजु ढकाललाई गोंगवुसम्म पुगेर समाउन सफल भएकी छिन् । उनले उक्त लुटेरालाई प्रहरीको जिम्मा लगाइसकेकी छिन् । प्रहरीले लुटेराको साथबाट २ थान समासुङ मोबाइल र ७ हजार नगद बरामद गरेको छ । साथै प्रहरीले उक्त व्यक्तिसँग केरकार गरेर उसका अन्य साथिहरुको समेत खोजि गरिरहेको छ ।
लुटेरासँग भएको हाथापाईमा सुस्मीताको दायाँ हातमा चोट समेत लागेको उनले बताएकी छिन् । धादिङ बसेरी घरबताउने राजु ढकाल नाम गरेका लुटेराको तस्विर सहित घटना बिवरण सामाजिक सञ्जालमा पोष्ट गरेपछि अहिले सुश्मीता सबैको बधाईको पात्र बन्न पुगेकी छिन् ।

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

न्यूरोडमा मध्यराति अचम्मको मृत्यु

काठमाडौं, १५ वैशाख । धन हुनु पनि अभिशाप नै रहेछ ! यदि त्यस्तो नहुँदो हो त, खिचापोखरीको एउटा जोडीले न बाँचेर सुख पाउँथ्यो, न मरेर नै !

राजधानीको मुटु न्यूरोडका धनाढ्य बिर्जुरत्न तुलाधर र मलेखुतिर ‘मिठाई’ नामले चिनिने चन्द्रा त्रिपाठीको जीवनमा आएको असहजता हेर्दा भन्न सकिन्छ, सम्पत्तिले मान्टेलाई तनको ‘धनी’ त बनाउँछ, तर मनैदेखि सुखी भने बनाउँदैन रहेछ ! बिर्जु करीब तीन अर्ब सम्पत्तिका मालिक ! सटर र कबलबाट मात्र मासिक ३१ लाख भाडा उठाउने ! दुई वर्षदेखि स्मरणशक्ति क्षय हुने अल्जाइमर रोगले ग्रस्त छन् । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

आइतबार बिहान बिर्जुलाई अस्पताल भर्ना गरियो, त्यसअघि पत्नी चन्द्रा शौचालयभित्रै ‘लाश’ बनेर लडिन् । पतिलाई अस्पताल लगेपछि बल्ल ७४ वर्षीया पत्नीको शव निकालियो । नत्र उनी पनि सक्ड हुनसक्थे । चन्द्रा बिर्जुकी कान्छीपत्नी हुन् । एक महिनाअघिमात्र पतिबाट सम्पत्ति नामसारी पाएकी थिइन् । आइतबार बिहान अकस्मात उनको निधन भयो ।
निधनपछि पार्थिव शरीर पोष्टमार्टमका लागि शिक्षण अस्पताल पुगाइयो ।

प्रहरीमा टिपाइको रिपोर्टअनुसार, शौचालयमा बिहान ७ बजे लडेको अवस्थामा भेटिएको हो । काम गर्नेले देखेपछि नातापातालाई खबर गरे । त्यसपछि सलबलाउने पालो जेठीतिरका सन्तानको । चन्द्रा निःशन्तान थिइन । जेठीतिरकी छोरीसँग उद्योगपति तथा शाहीकालीन अर्थ राज्यमन्त्री डा रुपज्योतिले विवाह गरेका छन् ।

जेठो छोराले बाबुआमालाई जुत्तै जुत्ताले कुटेपछि घरसँगको सम्बन्ध सकिएको थियो । बाबुआमाले उतिबेलै भनेका हुन्, ‘हाम्रो शरीरमा यसलाई छुन नदिइयोस । दागबत्ती दिन नदिइयोस ।’ कान्छो छोरो अपाङ छन् ।

दिदी–भिनाजु (डा.रुपज्योति)सँगै बस्छन् । आमाको पार्थिव शरीरमा कान्छाले दागबत्ती दिँदा सम्पत्ति रुपज्योतितिर जाने भयो । त्यसैले जेठाले शोभाभगवतीमा सौतेनी आमालाई दाबगत्ति दिने कर्तव्य सम्झिएर । तर, छोराहरूले मानेनन् । अस्ति सोमबार जनसेवा प्रहरी बृत्त पुगेका दिदीहरूले भाइ र आमा–बाबुबीचको संवाद सुनाए ।

प्रहरीमा टिपाइएअनुसार चन्द्राको घुँडा र कुहिनामा चोट देखिन्छ । तर, शिक्षण अस्पतालको पोष्टमार्टम रिपोर्टले अर्कै कथा भन्छ । प्रहरीमा भनिएजस्तो मुट र दिमागको असरले उनको धिन भएको हैन । बरु रिपोर्टले भन्छ– ‘मृत्यु अस्वभाविक प्रकारको छ । छातीको तीनवटा करङ चाँच्चिएको छ । टाउकोमा टुटुल्को र चोट छ ।’


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

चाँदीका गहना सहित २ जना पक्राउ

ललितपुर प्रहरीले चाँदीका गहना र भाँडासहित २ जनालाई पक्राउ गरेको छ। रौतहट घर भई हाल कुपण्डोल बस्ने २६ बर्षीय संजय साह र संखमुल बस्ने २२ बर्षीय कमलेस साहलाई प्रहरीले १३ के.जी. ८ सय ग्राम चाँदीका बिभिन्न गर–गहना सहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटीएको प्रहरी टोलीले मंगलबार राति कालो पुलमा चेक जाँच गर्ने क्रममा शंकास्पद अवस्थाका उनीहरुको साथबाट उक्त चाँदीका गहना बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अख्तियारबाट जोगाइदिनु पर्यो हजुर भन्दै दिल्लीको ढोका चहारेर फर्के महरा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगाका प्रमुख लोकमानसिंह कार्कीसँग रिस उठ्नासाथ ‘यो त भारतीय योजनामा आएको हो नी’ भन्नेहरुको कमी छैन ।

कार्कीलाई प्रमुख आयुक्त बनाउन मरिहत्ते गरेर लाग्ने माओवादी नेताहरु नै आफूमाथि आइलाग्छ कि भन्नोसाथ त्यसो भन्न बाँकी राख्दैनन् । तर, तपाईलाई सुन्दा अचम्म लाग्ला, एमाओवादीका एक वरिष्ठ नेताचाहिँ अख्तियारबाट बचाइदिनुपर्यो भन्दै दिल्लीको ढोका चहारेर फर्किएका छन् ।

अख्तियार प्रमुख कार्कीले भन्ने गरेका ठूला माछामध्ये एक एमाओवादी महासचिव कृष्णबहादुर महराले दिल्ली पुगेर साउथ ब्लकदेखि एजेन्सीका माम्छेसम्मलाई आफ्नो बचाव गरिदिन आग्रह गरेको स्रोतले बतायो ।

बुधबार साप्ताहिकबाट


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

तीते करेला खानुको केहि फाईदा अनि केहि बेफाईदा -कसैलाई अमृत कसैलाई विष !

तिते करेलाका फाईदाहरुः

-खानामा रुचि बढाउँछ ।
-छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ ।
-खाएको कुरा राम्ररी पचाउँछ ।
-पेटसफा राख्दछ ।
-कब्जियत हुन दिँदैन ।
-पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई कम गर्दै लैजान्छ ।
-रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ ।
-मधुमेह रोगीलाई
-इन्सुलिनको काम गर्छ ।
-यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, -हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ ।
-यस्तै तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ ।
-औषधिको रूपमा तीतेकरेलको हरेक भाग जस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।
-तीतेकरेलका बियाँ पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।
-साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ ।
-मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहानबेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।
-तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ ।
-यस्तैआगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।
-तीतेकरेलाको पात आगोमा तताएर सिधेनुन सँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।
-बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि -दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।
-तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।
-तीतेकरेलाको जराको रसमा बराबरमात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग -स्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।
अन्य उपयोगितातीते करेलाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।

तीते करेलाको फाईदा मात्रै होइन वेफाईदा पनि छ ।

-गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।
-यसको बढी सेवनले पेटदुख्ने र झाडा हुने सम्भावना हुन्छ ।
-रक्तअल्पता एनिमिया व्लड पे्रसर लो  भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ ।
-तीतेकरेलाको बियाँको घेरामा हुने तत्वलेसाना बालकहरूलाई विषादिको काम गर्छ


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु

चितवन । चितवनका विभिन्न पाँच वटा सामुदायिक वनमा १० वर्षे वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरिएको छ । सरकारले तीन वटा सामुदायिक वनका लागि बजेट विनियोजन गरेको भए पनि सोही बजेट बाँडेर पाँच वटा सामुदायिक वनले कार्यक्रम सुरु गरेका हुन् ।

पूर्वी चितवनको गड्यौलीस्थित पशुपति कैलाशपुरी सामुदायिक वन उपभोक्ता समूहबाट सो कार्यक्रमको शुभारम्भ गरिएको छ । असी वर्षे वैज्ञानिक वन व्यवस्थापनलाई आधार मान्दै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको जिल्ला वन कार्यालय चितवनका प्रमुख गणेश रायले बताउनुभयो ।

वैज्ञानिक वन व्यवस्थापनका लागि प्रत्येक सामुदायिक वनलाई सरकारले रु १५ लाख सहयोग गर्दै छ यद्यपि सरकारबाट प्राप्त बजेट वन विकासका लागि कम भएको उपभोक्ताको गुनासो छ ।

गड्यौलीका शिवपुरी सामुदायिक वन, शिवशक्ति सामुदायिक वन, पशुपति कैलाशपुरी सामुदायिक वन, वनदेवी सामुदायिक वन र जय श्री ब्रह्मस्थानी सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरिएको हो ।

वैज्ञानिक वन व्यवस्थापनका लागि सरकारबाट प्राप्त हुनुपर्ने रकममध्ये रु तीन लाखका दरले पाँचवटै सामुदायिक वनले रकम प्राप्त गरिसकेका छन् ।

सामुदायिक वन उपभोक्ता महासङ्घ चितवनका अध्यक्ष सुरवीर पोखरेलले वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि वन संरक्षणमा स्थानीय खुलेर लाग्ने बताउनुभयो ।

प्रमुख रायले वनको संरक्षण र सदुपयोग नै वैज्ञानिक वन व्यवस्थापन भएको बताउनुभयो । परम्परागत कालदेखि नै वनको संरक्षण हुँदै आएको भए पनि अहिले सबै वनलाई वैज्ञानिकरुपमा व्यवस्थापन गर्ने कार्यक्रम अगाडि बढाइएको रायको भनाइ छ ।

वनभित्र सुकेका पुराना रुखलाई काटेर नयाँ बिरुवा रोप्दै वैज्ञानिक तरिकाले वन व्यवस्थापन गरिने रायले बताउनुभयो । वनमा चरिचरण बन्द गराएर दीर्घकालीन प्रभाव हुने गरी काम गरिने उहाँले बताउनुभयो । चितवनमा पहिलोपटक यो कार्यक्रम सुरु गरिएको हो । जिल्लामा ८० वटा सामुदायिक वन रहेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गरिब र विपन्नलाई निःशुल्क कानुनी सहायता

नवलपरासी: नवलपरासीमा एक वर्षको अवधिमा ४५ जना गरिब र विपन्न वर्गका सर्वसाधारणले निःशुल्क कानुनी सहायता पाएका छन् ।

गरिब र विपन्न समुदायलाई निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएको संस्था कानुन अन्वेषण तथा स्रोत विकास केन्द्रले ४५ वटा मुद्दामा निःशुल्क कानुनी सहायता प्रदान गरेको हो । त्यसमध्ये २५ वटा मुद्दा समाधान भइसकेका छन् भने २० वटा मुद्दामा पैरवी चलिरहेको केन्द्रले जनाए ।

यसरी कानुनी सहायता प्रदान गरिएकामध्ये ११ वटा सम्बन्ध बिच्छेदका, नौ वटा अंशका, सात वटा घरेलु हिंसा तथा जालसाझीलगायत अन्य १८ वटा मुद्दा रहेको केन्द्रले जनाए ।

कानुनी सहायत प्राप्त गर्नेमा पाँच जना पुरुष रहेका छन् भने ४० जना महिला रहेका छन् ।

यसैबीच केन्द्रले जिल्लामा सञ्चालन गरेको मेलमिलाप कार्यक्रमअन्तर्गत ७४ वटा मुद्दा दर्ता भएको छ । जिल्लाका १२ वटा गाविस र ६ वटा नगरपालिकामा सञ्चालन भइरहेको मेलमिलाप कार्यक्रमबाट एक वर्षको अवधिमा ती मुद्दा दर्ता भएको र त्यसमध्ये ५१ वटा समाधान भइसकेको र २३ वटा समाधानको प्रक्रियामा रहेको केन्द्रले जनाए ।

रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अमेरिकामा प्रधानसेनापति क्षेत्रीलाई सम्मान

१५ वैशाख, काठमाडौं । अमेरिका औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षेत्री सम्मानित भएका छन् । अन्तराष्ट्रिय ‘हल अफ फेम’मा प्रधानसेनापति क्षेत्रीलाई सम्मान गरिएको हो ।

अमेरिकी सेनाको कमाण्ड एवम् जनरल स्टाफ कलेज फोर्ट लेभेनवर्थ कन्सासमा तालिम लिएका क्षेत्रीको सम्मानमा लेविस एण्ड क्लार्क सेन्टरमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रधानसेनापति क्षेत्रीको तस्वीर राखेर सम्मान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा ९२ राष्ट्रका एक हजार तीन सय सैनिक अधिकृतहरुको सहभागीता थियो ।

अमेरिकी सेनाको उक्त शिक्षण संस्थाले त्यहाँबाट तालिम सम्पन्न गरी उच्च ओहोदामा पुग्न सफल भएकाहरुलाई यस्तो सम्मान दिने गर्दछ । हालसम्म अन्तराष्ट्रिय ‘हल अफ फेम’मा बिभिन्न राष्ट्रका २ सय ६२ जना सम्मानित भइसकेका छन् । प्रधानसेनापति क्षेत्री सम्मानित भएका २ सय ६१ औं सदस्य हुन् ।

सम्मानपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षेत्रीले शिक्षण संस्था, अमेरिकी सेना र अमेरिकी सरकारप्रति कृतज्ञता एवम् धन्यवाद ज्ञापन गरेका थिए । उनले अन्तराष्ट्रिय ‘हल अफ फेम’को निरीक्षण भ्रमणसमेत गरेका थिए ।

प्रधानसेनापति क्षेत्री आउँदो २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सेनामा जवानदेखि ड्राइभरसम्म ठूलो संख्यामा जागिर खुल्यो, ८ पासलाई अवसर

काठमाडौं, १५ वैशाख । नेपाली सेनाले सैन्य जवानदेखि ड्राइभरसम्म ठूलो संख्यामा जागिर खोलेको छ ।

सेनाको भर्ना छनौट निर्देशनालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै २ हजार २१४ पदमा खुला दरखास्त आह्वान गरेको हो । भर्ना छनौट निर्देशनालयलका अनुसार यी पदहरुमा दरखास्त दिन सामान्य लेखपढ, सीपमुलक तालिमदेखि कक्षा ८ पास गरेको हुनुपर्नेछ ।

जेठ १३ गतेभित्र दरखास्त बुझाईसक्नुपर्ने समयसीमा तोकेको सेनाले सैन्य जवान पदमा १५७५ जना माग गरेको छ ।

यस्तै, अमल्दार बन्दोबस्ती कार्य सिपाही, कुचिकार, ड्राइभर, लोहार, धोबी, केशकर्तक, वेटर, टहलुवा, चर्मकर्मी, सिकर्मी, सयस लगायत पदमा पनि दरखास्त आव्हान गरिएको छ ।

हेर्नुस् सेनाद्धारा जारी गरिएको सूचनाः

senako-suchana


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कहाँ दर्ता गर्ने विदेशबाट ल्याइएको मोबाइल ब्लक हुन नदिन? प्राधिकरणले बनाउँदैछ एप

उमेश पौडेल –

काठमाडौं : विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्न कार्यालय धाउन नपर्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणले आइएमइआई नम्बर दर्ता गर्ने मोबाइल एप बनाउने भएको छ। अधिकतम दश लाख रुपैयाँको लागतमा यो एप बनाउन लागेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।

प्राधिकरणले यही वैशाखदेखि अनिवार्य रुपमा मोबाइलको युनिक कोड (आइएमइआई)  नम्बर अनिवार्य दर्ता गर्नुपर्ने नत्र मोबाइल नचल्ने घोषणा गरेपछि विदेशबाट व्यक्तिगत रुपमा मोबाइल ल्याएर चलाउन खोज्नेहरु दर्ता प्रक्रियाबारे अन्यौलमा छन्।

प्राधिकरणको कमलादीस्थित कार्यालयमा मोबाइल लिएर सोधखोज गर्न आउनेहरु पनि प्रशस्त देखिन थालेका छन् । तर प्राधिकरणले भने बल्ल यसको व्यवस्थापन सम्बन्धी विस्तृत मोडालिटी तयार गर्दैछ।

कात्तिकदेखि मात्रै गलत आइएमइआइ भएको र आइएमइआई नभएको मोबाइललाई ब्लक गर्ने तयारी प्राधिकरणको छ।

मोबाइल एपबाट दर्ता

अन्तरिम निर्देशिकामा व्यवसायिक प्रयोजनबाहेक व्यक्तिगत रुपमा मोबाइल विदेशबाट ल्याउनेले आइएमइआई दर्ता गर्न भर्नुपर्ने फारामको नमूनासमेत राखिएको छ। तर कसरी भर्ने भन्नेबारे केही उल्लेख छैन।

प्रवक्ता अर्याल भन्छन्, ‘मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न प्राधिकरण आउनुपर्दैन। एप बनेपछि तपाईँले इन्टरनेटबाट नै एपमार्फत् दर्ता गराउन सक्नुहुनेछ।’

बन्दैछ अर्को सफ्टवेयर पनि

व्यक्तिगत बाहेक व्यवसायिक प्रयोजनका लागि ल्याइने मोबाइलको आइएमइआई दर्ता गर्नका लागि पनि प्राधिकरणले छुट्टै अर्कै सफ्टवेयर बनाउँदैछ।

यो सफ्टवेयरमा भन्सार तिरेका मोबाइलहरुको आइएमइआई नम्बर इन्ट्री भन्सार विभागले नै गर्नेछ। सफ्टवेयरबाटै मोबाइल सेवा प्रदायक कम्पनी र प्राधिकरणले कुनै पनि मोबाइल वैधानिक तरिकाबाट आएको हो कि हैन भनेर पत्ता लगाउन सक्नेछन्।

एप र सफ्टवेयर दुवैबाट आइएमइआई नम्बर दर्ता नभएको मोबाइल छ भने त्यस्तो अवैध मोबाइल सजिलै पत्ता लाग्ने र नचल्ने गरी नियन्त्रण गर्न प्राधिकरणलाई सजिलो हुनेछ।

सफ्टवेयर निर्माणका लागि प्राधिकरणले लिलाम बढाबढका आधारमा कम्पनी छनौट गर्नका लागि मंगलबार बोलपत्र आह्वान समेत गरिसकेको छ।

‘नेपाल पनि अब ढिलोचाँडो अटोमेसन प्रणलीमा जान्छ र जानुपर्छ’ प्रवक्ता अर्यालले भने ‘प्रविधिको प्रयोग जति धेरै गर्यो त्यति धेरै सेवाग्राहीलाई फाइदा पुग्छ र पारदर्शी पनि हुन्छ।’

प्राधिकरणले अर्थ मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयसँगको समन्वयमा मोबाइल ह्याण्डसेटको पहिचान हुनेगरी आइएमइआई नम्बर अनिवार्य रुपमा दर्ता गर्नुपर्ने व्यवस्था मिलाएको हो।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जवरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सोरहवा– २ बस्ने २३ बर्षीय मिलन भन्ने अकबर बादीलाई प्रहरीले पक्राउ गरेको छ । 

बादीले आइतबार राति सोही ठाउँ बस्ने १२ बर्षीया बालिकालाई छिमेकीको बिबाहमा गई घर फर्कने क्रममा जंगलमा लगेर जवरजस्ती करणी गरेको भनी पीडित बालिकाको आफन्तले मंगलबार प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

व्यापारीको सुनचाँदी लुटी बाँडेर लिएको आरोपमा असईसहित दुई प्रहरीलाई कारबाही3

काठमाडौँ : गत वैशाख ६ गते लहानस्थित विकास ट्रेडर्सबाट न्यू राज्यलक्ष्मी ज्वेलर्स राजविराजका कामदार मो नसिमले २० भरी (तोला) सुन, पाँच केजी चाँदी र ११ थान सुनको सिक्री बोकेर ल्याइरहेका थिए।
राजविराजको रुपनी मोडमा उनलाई सुनचाँदी अवैध रहेको भन्दै सिभिलमा रहेका प्रहरीले रोके। सुनचाँदी नियन्त्रणमा लिए।

उनीहरुले कसैलाई जानकारी नदिई आफैँ बाँडचुड गरे।  अनियमितता गरेको आरोपमा कारबाही गरिएको पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

राजविराजस्थित न्यू राज्यलक्ष्मी ज्वेलर्सका लागि खरिद गरेर ल्याउँदै गरेको सुनचाँदी प्रोप्राइटर शत्रुघन साहको रहेको भन्दै सप्तरीका सुनचाँदी उद्योग व्यवसायी सङ्घका अध्यक्ष राजेशकुमार साहले पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा उजुरी दिए।

अनुसन्धानपछि राजविराज पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले व्यापारीको सुन, चाँदी लुटी आ-आफूबीच बाँडचुँड गरेको आरोपमा सप्तरीका एक असईसहित दुई जना प्रहरीलाई कारबाही गरेको छ।

सप्तरीका प्रहरी सहायक निरीक्षक रामजी चौधरी र प्रहरी जवान ललित झामाथि कार्वाही गरिएको पूर्वाञ्चलका प्रहरी नायब महानिरीक्षक केशरीराज घिमिरेले बताए। साथै, सुनचाँदी प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरी जवान पप्पु यादव र चन्दन यादवलाई समेत नियन्त्रणमा लिई कार्वाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।

पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयले सुनचाँदी प्रकरणबारे छानबिन गर्दा प्रहरीद्वय चौधरी र झाले अनियमितता गरेको दोषी पाइएको र उनीहरु बारेमा अवश्यक छानबिन भइरहेको बताएको छ। रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

श्रद्धालाई ‘ली’सँग भेटाउन चाहन्छन् टाइगर श्रफ…

एजेन्सी। आफ्नो आउन लागेको नयाँ एक्शन थ्रीलर चलचित्र ‘बागी’लाई लिएर बलिउड अभिनेता टाइगर श्रफ एकदमै उत्साहित देखिन्छन्। उनी आजभोली आफ्नी को-स्टार श्रद्धा कपूरका साथ चलचित्रको प्रमोशनमा व्यस्त छन्। यसैबीच हालै एक शुत्रबाट खबर आएको छ कि टाइगरले श्रद्धालाई ‘ली’सँग भेटाउन चाहन्छन्।

को हो ‘ली’?

वास्तवमा, ‘ली’ नागपूर राज्यमा पर्ने चिडियाखानाको ‘बाघ’ हो, जसलाई टाइगर श्रफले पालेका थिए। सन् २०१४ मा आफ्नो डेब्यू चलचित्र ‘हीरोपन्ती’को प्रमोशनको लागि उनी नागपूर गएका थिए। उनले त्यतिबेला त्यहाँको चिडियाघरलाई एउटा बाघको नवजात डमरुलाई आफ्नो नाममा पाल्न लगाएका थिए, जसको लागि सारा खर्च टाइगरले नै भरेका थिए।

Tiger Shroff and Shraddha Kapoor (1)

टाइगरले आफ्नो टाइगरलाई मनपर्ने स्टार ‘ब्रूस ली’लाई समर्पीत गरेर ‘ली’ नाम दिएका छन्। उनी भन्छन् कि बच्चैदेखि नै ब्रूस ली उनलाई खुब मन पर्थ्यो। ब्रूस ली को एक्शन, कला अनि स्टाइलको फ्यान रहेका टाइगर पहिल्यै देखि नै ली जस्तै बन्न चाहन्थे।

श्रद्धालाई ‘ली’सँग भेटाउन चाहन्छन् टाइगर

‘बागी’मा दुवैजनाले शानदार एक्शन दृश्य दिएका छन्। चलचित्रको एउटा गानामा श्रद्धा आफैले आवाज दिएकी पनि छिन्। सुटिङ्गको क्रममा श्रद्धा र टाइगरको बीच एकदमै सामिप्यता बढेको चलचित्रटोलीहरू बताउँछन्। उनीहरूको बीच साझेदारी र समझदारी पनि विकास भएको उनीहरूको बुझाई रहेको छ। यहि समझदारीको कारण नै टाइगरले आफ्नो व्यक्तिगत जीवनमा श्रद्धालाई सामेल गराउन खोजेका हुन्।

तथापी, उनीहरू ‘ली’सँग भेट्न नागपूर कहिले जान्छन् भन्ने कुरा अझसम्म निर्णय हुन नसकेको रिपोर्टले जनाएको छ। टाइगरले यस खबरलाई स्वीकार गर्दै भने- “जान त जाने हो, तर कहिले भन्ने कुरा हो! तर हामी पूरा कोशिस गरिरहेका छौँ।”

टाइगर-श्रद्धाको यो बहुप्रतिक्षित रोमान्टिक-एक्शनले भरिएको ‘बागी’ यहि अप्रील २९ मा रिलिज हुँदैछ। चलचित्रको निर्माण साजिद नाडियाडवालाले गरेका छन् भने साबिर खानले निर्देशन गरेका छन्।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पत्नीको उपचारपछि देउवा अाज भारतबाट फर्कंदै

काठमाडौं :  पत्नीको उपचार सिलसिलामा भारत गएका कांग्रेस सभापति शेरबहादुर देउवा आज स्वदेश फर्कंदै छन्।

कम्मरको समस्या देखिएपछि उपचारका लागि झन्डै दुई साताअघि भारत गएकी आरजुको उपचारमा सहयोग गर्न देउवा पनि वैशाख ६ गते नयाँदिल्ली गएका थिए । नयाँदिल्लीको गुरगाउँ हरियाणास्थित फोर्टिज अस्पतालमा पत्नीको सर्जरी भइसकेको र स्वास्थ्यमा सुधार भइरहेको देउवाले फेसबुकमा लेखेका छन्। आज अपराह्न उनी जेट एयरवेजको विमानबाट काठमाडौं आउन लागेका हुन्।

आरजुको कम्मरको जोर्नीको शल्यक्रिया ‘हिप ज्वाइन रिप्लेसमेन्ट सर्जरी’ गरिएको छ। पारिवारिक स्रोतका अनुसार उनलाई थाइराइडको समस्या पनि छ।

पत्नीको उपचारका क्रममा गए पनि उनले भारतीय विदेशमन्त्री शुषमा स्वराजसँग ९ गते भेट गरेका थिए। स्वराजको निवासमै भएको भेटमा नेपालमा गत वर्ष गएको विनाशकारी भूकम्प र पुनर्निर्माणका विषयमा छलफल भएको थियो।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पशु विकास मन्त्रीको सपना : एक वर्षमा अन्डा, दुई वर्षमा दुध र तीन वर्षमा मासुमा आत्मनिर्भर

पाँचथर : कृषि मन्त्रालय टुक्राएर बनाइएको पशुपक्षी विकास मन्त्रालयका मन्त्री शान्ता मानवीले मुलुकलाई एक वर्षमा अन्डा, दुई वर्षमा दूध र तीन वर्षमा मासुमा आत्मनिर्भर बनाउन सकिने बताएकी छिन्। 
यसका लागि सरकारले पशुपालनको विकासमा दिगो कार्ययोजना बनाउन लागेको उनले बताइन्।

मन्त्री मानवीले पशुपालनको सम्भावना राम्रै भएको र उन्नत जातको नश्ल, पौस्टिक आहार र बजारीकरणको व्यवस्था गर्नसके पशुपालनबाट आत्मनिर्भरसँगै मुलुकको आर्थिक समृद्धि पनि हुने बताइन्।

मुलुकले नयाँ संविधान पाइसकेकाले अब समृद्धिका लागि सबै जुट्नुपर्नेमा उनले जोड दिइन्। रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

द्वन्द्वपीडितको वास्तविक तथ्याङ्कै छैन

काठमाडौं । माओवादी सशस्त्र द्वन्द्वको क्रममा मारिएकाको संख्या कति हो भन्ने एकिन नहुँदा सत्य निरुपण तथा मेलमिलाप आयोगलाई काम गर्न अप्ठेरो परेको छ ।

त्यसैगरी द्वन्द्वका क्रममा घाइते भएका, अंगभंग भएका र पीडितको पनि एकिन तथ्याङ्क छैन । द्वन्द्वकालमा कतिको हत्या भएको, कति अंगभंग भएका र कति पीडित थिए भन्ने एकिन तथ्याङ्क नभएकाले काममा केही अप्ठेरा देखा परेको आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले जानकारी दिए ।
आयोगका अध्यक्ष गुरुङले विभिन्न निकायबाट आउने तथ्याङ्क फरक–फरक भएकाले पीडित नै पहिचान गर्न समस्या भएको बताए ।

फरक–फरक प्रतिवेदन तयार भएकाले यस्ता अप्ठेरो देखिएको हो । माओवादी द्वन्द्वको क्रममा १६/१७ हजार व्यक्ति मारिएको बताइएपनि सन् २०१२ मा संयुक्त राष्ट्रसंघले गरेको अध्ययनअनुसार १३ हजार २ सय ४६ व्यक्ति मारिएका छन् ।

शान्ति मन्त्रालयको गतवर्षको तथ्याङ्कअनुसार मारिने व्यक्तिको संख्या १७ हजार थियो । तर शान्ति मन्त्रालयले यसबर्ष दिएको प्रतिवेदनमा मारिनेको संख्या १६ हजार मात्रै छ ।

त्यसकारण आयोगले माओवादी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानसँग फेरि तथ्याङ्क माग गरेको छ ।

“हामीले कुन तथ्याङ्कलाई आधार मान्ने ?,” आयोगका अध्यक्ष गुरुङले बाह्रखरीसँग भने, “एकीन तथ्यांक कति हो भनेर हामीले अहिले राज्यका विभिन्न निकाय, माआवादी, नेपाल प्रहरी, नेपाल सेना, सरकार, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानसँग कति मारिए र कति अंगभंग भए भनेर तथ्याङ्क मागेका छौं ।”

उजुरीबाट आएको संख्यालाई समेत आधार मानेर वास्तविक तथ्याङ्क संकलन गर्ने उनले बताए ।
सशस्त्र द्वन्द्वको क्रममा भएका मानवअधिकारको गम्भीर उल्लंघन तथा मानवता विरुद्धको अपराध सम्बन्धी घटना र त्यस्तो घटनामा संलग्न व्यक्तिहरुको बारेमा सत्य अन्वेषण तथा छानविन गरी वास्तविक तथ्य जनसमक्ष ल्याउन, समाजमा मेलमिलाप गराई पारस्परिक सद्भाव तथा सहिष्णुताको भावना अभिवृद्धि गर्दै दिगो शान्ति र मेलमिलाप गराउन आयोग गठन गरिएको हो ।

पीडित बनेकालाई न्याय प्रदान गर्न गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगमा अहिलेसम्म १ हजार ५ सय ७३ वटा उजुरी दर्ता भएका छन् ।

पीडित व्यक्ति तथा परिवारका तर्फबाट सोमबार बेलुकासम्म देशभरका कार्यालयमा गरी १ हजार ५ सय ७३ उजुरी दर्ता भएका छन् भने २ हजार ९ सय ८८ फर्म वितरण गरिएको छ ।

आयोगले वैशाख ५ गतेदेखि उजुरी लिन सुरु गरेको हो । आयोगले ६० दिनसम्म उजुरी लिनेगरी कार्यतालिका सार्वजनिक गरेको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष गुरुङका अनुसार विकास क्षेत्र अन्तर्गत पूर्वाञ्चल विकास क्षेत्रमा १ सय ९१ वटा उजुरी दर्ता भएका छन् । त्यसैगरी मध्यमाञ्चलमा १ सय ९२, पश्चिमाञ्चलमा ५ सय ५५, सुदूरपश्चिमाञ्चलमा २ सय ५९ र आयोगको केन्द्रमा ९८ वटा उजुरी दर्ता भएका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पत्रकार दीक्षितको स्वास्थ्यमा सुधार

पूर्वराष्ट सञ्चार उद्यमी एवम् पत्रकार कनकमणि दीक्षितको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

अकुत सम्पत्ति राखेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत शुक्रबार नियन्त्रणमा लिएसँगै उच्च रक्तचापको सामान्य उपचारका लागि भनी अस्पताल लगिएका दीक्षितको शनिबार बिहान एक्कासि रक्तचाप अनियन्त्रित भएपछि वीर अस्पतालको सघन उपचार कक्ष(आइसियू) मा राखिएको थियो ।

उनको उपचारमा संलग्न चिकित्सक मनेन गोर्खालीले रक्तचाप नियन्त्रित भइरहेको जानकारी दिए।

उनले भने, ‘अहिले उहाँको स्वास्थ्यमा सुधार भएको छ । रक्तचापका कारण मिर्गौलामा केही असर देखिए पनि आज आएको ‘रिपोट’ सामान्य देखिएको छ।’

उनलाई हिँड्दा छाती भारी हुने समस्या देखिएकाले मुटुको इसिजी तथा रगतको पनि परीक्षण गर्ने तयारी गरेको डा.गोर्खालीले बताए। रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

Tuesday, April 26, 2016

चीन बारेका ५ रोचक तथ्य

कम्युनिष्ट देश चीनका बारेमा धेरै कुराहरु बाँकी विश्वलाई थाहा हुँदैन । यहाँको शासन व्यवस्थाका कारण मिडियाहरुलाई पूर्ण स्वतन्त्रता नभएकाले चीनभित्रका धेरै कुराहरु गुमराहमै रहन्छन् र पश्चिमा मिडियाहरुले अनेक कुराहरुलाई अनुमानका भरमा बाहिर ल्याउँछन् ।

तर चीनका केही अनौठा तथा सत्य तथ्यहरु भने समय समयमा बाहिर आउँछन् । ती मध्ये केही रोचक तथ्य यस्ता छन्ः

  • तपाइँलाई यो थाहा पाउँदा अनौठो लाग्नसक्छ, चीनको हंगकंगस्थित पोलिटेक्निक विश्वविद्यालयमा ब्रा सम्बन्धी विषयमा स्नातकोत्तरको पढाइ हुन्छ । चीनको सबैभन्दा ठूलो कपडा कम्पनी टप र्फमको फ्याक्ट्रीमा ब्रा ल्याब पनि छ ।
  • चीनका बारेमा एउटा किस्सा के छ भने चिनियाहरु चारखुट्टा उभिएको भनेपछि टेबुल कुर्सी बाहेक सबै चिज खान्छन् । यसको मतलब चिनियाहरु खाने मामिलामा सर्वभक्षी छन् । त्यहाँका कुमार केटाहरुले पिसाबमा उमालेको अण्डा पनि खान्छन्, जुन परम्परा हजारौँ वर्षदेखि चलिआएको छ । यसका लागि कतिपय स्कुलमा पिसाब संकलन पनि गरिन्छ । यसरी पिसाबमा उमालेको अण्डा खानाले कमर, खुट्टा तथा जोर्नी दुख्ने समस्या हुँदैन । चीनमा सांग्ला, मुसा, कुकुर तथा गोहीको मासु पनि खाइन्छ ।
  • चीनको जेलमा यतिधेरै कैदी छन् की मृत्युदण्ड दिनका लागि समेत त्यहाँ मोबाइल मृत्युदण्ड गाडी संचालन गरिन्छ । मिडिया सेन्सरसीपका कारण चीनमा मृत्युदण्ड पाउने घटना सार्वजनिक गरिँदैन । तर मानव अधिकारवादीहरुका अनुसार चीनमा हरेक वर्ष हजारौँलाई मृत्युदण्ड दिने गरिन्छ । चीनमा लागुऔषध, बलात्कार तथा भ्रष्टाचार लगायतका अपराधमा मृत्युदण्ड दिइन्छ । पहिले गोली ठोकेर मृत्युदण्ड दिने गरिएकोमा हाल भने विषालु सुइ दिएर अपराधीलाई मृत्युदण्ड दिइन्छ ।
  • चीनमा सेनाको संख्या निकै धेरै छ । चीनले वर्षेनी सैनिक खर्च २ खर्ब अमेरिकी डलर गर्दछ । चीनको खतरनाक सैनिक तालीम दुनियाभरमा चर्चित छ । तालिमका बेला चिनिया सैनिकहरुलाई गर्धन सिधा राख्नका लागि कमिजको कलरमा तिखो पिन लगाइन्छ । सेनाहरुलाई सर्पको रगत खुवाइन्छ । चिनिया सेनाले कुकुरसँगै हाँस तथा परेवालाई पनि तालीम दिने गरेको छ । १० हजार भन्दा बढि परेवालाई हुलाकीको तालिम दिइएको छ ।
  • चीनको साङ्क्सी प्रान्तको यन्नानमा अझैपनि झण्डै ४ करोड मानिस भूमिगत गुफामा बस्दछन् । त्यहीँबाटै सन् १९३६ मा कम्युनिष्ट विद्रोह सुरुवात भएको थियो । यी गुफालाई किसान गुफा पनि भनिन्छ । यी गर्मीमा चिसो तथा चिसोमा तातो हुन्छन् । यी गुफाहरु हजारौँ वर्ष पूराना हुन् र यी सुविधासम्पन्न छन् । भित्र बिजुली पानी लगायतको सुविधा छ । कतिपय गुफाहरु होटेल तथा रिसोर्टमा बदलिएको छ । चिनिया राष्ट्रपति सी जिनपिङले पनि आफ्नो जिवनका केही समय यिनै गुफामा बिताएका थिए ।
  • चीनको गुआंग्जी प्रान्तको युलिन सहरमा हरेक वर्ष जून महिनामा कुकुरको मासु पर्व आयोजना गरिन्छ । एक अनुमान अनुसार पूरै चीनमा गरी हरेक वर्ष मासुका लागि १ देखि २ करोड सम्म कुकुर काटिन्छ । युलिन सहरको कुकुर मासु फेस्टिवलमा मात्रै १० हजार भन्दा बढि कुकुर मारिन्छ ।

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जिरीको चिया विदेशी बजारमा

जिरी, जिरी टी डेभलपमेन्ट कम्पनी जिरीले उत्पादन गरेको चिया अहिले विदेशी बजारमा निर्यात हुने गरेको छ । जिरीमा उत्पादन गरिएको चिया विदेशी बजारमा निर्यात हुँदा मासिक चार लाख ८० हजार बराबर रुपैयाँ विदेशी मुद्रा जिरी भित्रिने गरेको छ ।

दोलखाको पर्यटकीय नगरी जिरीमा २०५७ सालदेखि व्यावसायिक रुपमा सुरु गरेको चिया खेतीबाट आम्दानी दिन थालेको पाँच वर्षपछि अहिले वार्षिक रुपमा अन्तर्राष्ट्रिय बजारमा एक हजार २०० किलोग्राम चिया निर्यात हुँदा विदेशी मुद्रा जिरी भित्रने गरेको हो । जिरी टी डेभलपमेन्ट कम्पनीले उत्पादन गरेको चिया हाल अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गएको कम्पनीका सेयर सदस्य मिठाबहादुर जिरेलले बताउनुभयो ।

जिरेलका अनुसार हाल स्विजरल्यान्ड, जर्मन, अमेरिका, स्पेन लगायतका देशमा जिरीको चिया निर्यात हुने गरेको छ । मासिक रुपमा हाल ४०० किलो चिया विदेशी बजारतर्पm पठाउँदा वार्षिक १४ लाख ४० हजार रुपैयाँ विदेशी मुद्रा जिरीमा भित्रने गर्दछ । कम्पनीले चिया सिधै विदेशी बजारमा नपु¥याई एजेन्टमार्पmत विदेशी बजारमा चियालाई निर्यात गदै आएको छ । जिरीमा भित्रिने गरेको मूल्य विदेशी बजारको मूल्य नभई कम्पनीको मूल्यअनुसार प्रतिकेजी एक हजार २०० रुपैयाँको दरले हुन आउने रकम हो ।

एजेन्टले कम्पनीको मूल्यभन्दा केही बढीमा विदेशी बजारमा पठाउने हुनाले अझ बढी नै विदेशी मुद्रा जिरी भित्रिने गर्दछ । तर चियालाई विदेशी बजारसम्म लैजाने एजेन्टमार्पmत कति भित्रन्छ भन्ने यकिन भने छैन । जिरेलका अनुसार वार्षिक एक हजार ६०० किलो चिया जिरीमा उत्पादन हुने गर्दछ जसअन्तर्गत एक हजार दुई किलो अन्तर्राष्ट्रिय बजारमा निर्यात हुन्छ भने बाँकी जिरी र राजधानी लगायतका बजारमा प्रयोग गरिन्छ ।

जिरी नगरपालिका–७, कलङको ६०० रोपनी क्षेत्रफल र जिरी नपा–४ रातमाटेमा १५० रोपनी क्षेत्रफलमा लगाइएको चिया खेती शुद्ध अर्गानिक भएको कारण विदेशी बजारमा लोकप्रिय बन्दै गएको हो । जिरीमा नै उत्पादन गरिएको जिरी टीमा कुनै पनि रासायनिक पदार्थ मिसावट नहुने कारण जिरीको चिया अत्यन्त मीठो र शरीरका लागि लाभदायक हुने कम्पनीका अर्का सेयर सदस्य नुर्वु शेर्पाको दाबी छ ।

शेर्पाका अनुसार जिरी टीको माग बढेपनि मागअनुसार चिया उत्पादन गर्न सकिएको छैन । “माग धान्न कठिन छ, माग भएजति उत्पादन गर्न सकिएको छैन । जिरीको चियाको बजार अत्यन्त राम्रो छ”, शेर्पाले बताउनुभयो ।

जिरीमा अन्य कुनै पनि सङ्घसंस्था वा व्यक्तिले उत्पादन गरेको चिया कम्पनीको मापदण्डअनुसार भए कम्पनीले खरिद गर्र्न सक्ने शेर्पाले बताएका छन् । चिया खेतीलाई कृषकले व्यावसायिक रुपमा गर्न सके यसको बजार राम्रो रहेकाले कुनै घाटा नहुने शेर्पाको धारणा छ । तर चिया खेती गर्दा विशुद्ध अर्गानिक हुनु जरुरी रहेको उहाँको भनाइ छ ।

हाल कम्पनीले चारजना स्थानीयवासीलाई रोजगार दिएको छ भने चियाको याममा करारमा स्थानीयवासीलाई कामदारका रुपमा प्रयोग गर्ने गरेको छ । जिरीको चिया जिरी बजारमा रहेका ठूला होटलले बढी प्रयोग गर्ने गरेका छन् भने राजधानीमा पनि यसको माग बढ्दै गएको छ । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

पुरुषको यौनस्वास्थ्य बारे जान्नेपर्ने कुरा

यौन तथा प्रजनन स्वास्थ्यको बारेमा हाम्रो समाजमा खुलेर कुरा गर्ने चलन अझैपनि छैन । तर यौन तथा प्रजननको विषय निकै महत्वपूर्ण विषय हो र यस विषयमा किशोर किशोरी, युवा तथा प्रौढ सबैले जानकारी राख्नुपर्छ ।

पुरुषको यौन स्वास्थ्यका बारेमा केही रोचक तथा महत्वपूर्ण तथ्यहरु यहाँ समावेश गरिएको छ जुन विभिन्न अनुसन्धानबाट पुष्टि भैसकेका छन्:

  • सम्भोगका बेला विर्यमा रहेका लाखौँ शुक्रकिट महिलाको यौनांग हुँदै पाठेघर सम्म पुग्छन् । विर्यमा लाखौँ शुक्रकिट हुने भएपनि केवल एउटा शुक्रकिटले मात्र डिम्ब सँग मिल्ने मौका पाउँछ । डिम्ब र शुक्रकिटको मिलनपछि गर्भाधारण हुन्छ र भ्रुणको विकाश हुन थाल्छ । पाठेघरमा पुगेका अरु शुक्रकिट सोही डिम्बको वरीपरी जम्मा हुन्छन् । डिम्बको वरीपरी शुक्रकिटको थुप्रो देखिनुको अर्थ के हुन्छ भने त्यहाँ भित्र शुक्रकिट र डिम्बबीच मिलन भएको छ अर्थात् गर्भाधारण भैसकेको छ ।
  • अक्जिटोसिन हर्मोनले सम्भोगका बेला महिलालाई मात्र प्रभावित गर्ने मान्यता यसअघि थियो । तर पछिल्लो अध्ययनले के देखाएको छ भने यो हर्मोनले महिला र पुरुष दुबैमा यौनिक सक्रियता बढाउँछ र पुरुषमा सम्भोगका बेला आत्मविश्वास वृद्धि गर्छ ।
  • टेस्टेस्टेरोन पुरुषको सेक्स हर्मोन हो । तर यदि पुरुषको सरीरमा उच्च मात्रामा यो हर्मोनको उत्पादन भयो भने त्यसको असर नकारात्मक हुन्छ । सरीरमा उच्च टेस्टेस्टेरोन उत्पादन भएमा पुरुषमा सेक्सको इच्छा कम हुन्छ, उसले विवाहबाट आफ्नो अपमान भएको सम्भिmन्छ जसका कारण उसको वैवाहिक र यौन जिवन बिथोलिन्छ ।
  • विश्वमा सेक्सका बेला मानिसको मृत्यु हुने गरेका विभिन्न घटना आउने गर्छन् । खासगरी बढि मदिरा सेवन गर्ने, असन्तुलित भोजन गर्ने, कलेजोका रोगी तथा परस्त्रीसँग सम्बन्ध गाँसेका पुरुषहरु सेक्सका दौरान प्राणत्याग गर्ने जोखिम बढि हुन्छ ।
  • पुरुषहरुमा जोखिम मोलेर सेक्स गर्ने रुची बढी हुन्छ । बिसमा एक जना पुरुष असामान्य व्यवहार गर्दै सेक्स गर्न आनन्द मान्छन् । पुरुषहरु सेक्सको मामिलामा सामाजिक बन्धन तोड्न तयार हुन्छन् ।
  • जुन पुरुषलाई सेक्सका बेला चरम आनन्द प्राप्त हुन्छ उसलाई क्यान्सर हुने खतरा कम हुन्छ ।
  • पारिवारिक अवस्थाले पुरुषको सेक्स हर्मोन टेस्टेस्टेरोनलाई प्रभावित गर्छ ।
  • खानपानले मानिसको सेक्सको क्षमतामा सबैभन्दा धेरै असर पार्छ ।

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

अख्तियारले बरिष्ठ अधिवक्ता थापालाई अझै पत्रकार दीक्षितसँग भेट्न दिएन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ अभिवक्ता शम्भु थापालाई  पत्रकार कनकमणि दीक्षितसँग भेट गर्न अझै दिएको छैन ।

२ वैशाखमा विशेष अदालतले कानून व्यवसायीसँग भेट गर्न दिनू भन्ने आदेश दिएपनि अख्तियारले पत्रकार दीक्षितसँग भेट्न थापालाई दिएको छैन् । वीर अस्पतालमा उपाचारत पत्रकार दीक्षितलाई भेट्न अख्तियारको आदेश भन्दै प्रहरीले थापालाई राेक लगाएकाे छ ।

तर, पत्रकार दीक्षितसँग  अर्का अधिबक्ता सतिस खरेललाई भने भेट्न दिइएको छ ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सुशील ज्ञवालीः मैले रानीपोखरीमा भनेको थिएँ, सबै घर वर्षात अगाडि नबन्न सक्छन्

१५ वैशाख, काठमाडौं । भूकम्पपछिको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले पुनर्निर्माणको काम सन्तोषजनक भइरहेको र दाताहरु पनि खुशी रहेको दाबी गरेेका छन् ।

भूकम्पपछि पुनर्निर्माण प्राधिकरण गठन भएको चार महिना बितिसकेको छ । प्राधिकरणले पुनर्निर्माणको कार्यलाई गति दिन नसकेको भन्दै प्रधानमन्त्रीले समेत असन्तुष्टि जनाइरहेका छन् । तर, ज्ञवालीको तर्कचाँहि अलि बेग्लै छ । हेर्नुहोस् ज्ञवालीसँग अनलाइनखबरकर्मीले गरेको कुराकानीः

भूकम्प गएको एक वर्ष बित्यो । सरकार, एनजीओ आइएनजीओ र कतिपयले व्यक्तिगतरुपमै पनि भूकम्पपीडितको राहतमा अर्बौं रकम खर्च गरिसकेका छन् । तर, अझै पनि धेरै जनता त्रिपालमै बस्नुपरेको छ । कतै हामी हाइटीतिर अघि बढिरहेका त हैनौं  ?

हामी आफूमाथि विश्वास गरेर अगाडि बढेका छौं । जसले हामीलाई हैटीकरण हुनबाट जोगाएको छ र जोगाइराख्नेछ । यही भूकम्पका बेला उद्दार र राहतमा जसरी नेपालीहरु एकजुट भए भूकम्पको पुननिर्माणमा पनि नेपालीहरु एकजुट छन् । हामीले सकारात्मक सोच्नुपर्छ, सकारात्मक सोचाइले मात्रै सफलतामा पुर्‍याउँछ । मलाई के विश्वास छ भने पुनर्निर्माण कार्यमा जुट्ने भूकम्प प्रभावित क्षेत्रका जनताकै सहभागितामा हुने पुनर्निर्माण सफल हुन्छ । पुनर्निर्माण राष्ट्रको अभियान भएकाले सबै एक भएर अघि बढेपछि जनता त्रिपालमा बस्नुपर्ने स्थिति आउने छैन ।

काम गर्न नसकेको भन्दै तपाईलाई राजीनामा गर्न दबाव आइरहेको छ भन्ने सुन्नमा आएको छ, सत्य के हो ?

अहिलेसम्म कहीँबाट पनि दबाव हाएको छैन । तपाईले भनेपछि म त पहिलोपटक सुन्दैछु ।

प्राधिकरणलाई एनजीओजस्तै बनाउन लागेको भन्ने आरोप छ नि ?

मलाई लाग्छ, बरु तपाईले सुन्नुभएको होला कि प्राधिकरणले एनजीओहरुलाई पुननिर्माणका लागि काम गर्ने स्वीकृति दिएन भनेर सुन्नुभएको होला । हामीले निश्चित मापदण्ड, निश्चित कार्यविधि र क्षेत्रभन्दा बाहिर गएर एनजीओहरुलाई काम गर्ने कुनै पनि सम्झौता हुँदैन । त्यसैले हामीले एनजीओलाई पुनर्निमाणमा सहभागी गराउनुका लागि निर्देशिका बनाएका छौं ।

पुनर्निर्माण प्राधिकरणको गठन भएको ४ महिना भयो । माघ २ गते पुनर्निर्माण महाअभियानको सुरु पनि गर्नुभयो । तर, अहिलेसम्म पुनर्निर्माणको कामले गति नलिनुको कारण के हो ?

भूकम्प गएको एक वर्ष बितेको सन्दर्भमा हेर्ने हो भने चाहिँ पुनर्निर्माणको अझै चाँडो भइदिएको भए हुन्थ्यो भन्ने आशा हुनु स्वाभाविक हो । तर, प्राधिकरण गठन भइसकेपछि पुनर्निर्माणमा भएको प्रगति सन्तोषजनक छ ।

के-के हुन् ती सन्तोषजनक काम ?

पहिलो काम त पुनर्निर्माण प्राधिकरणले कसरी काम गर्ने भन्ने विषयलाई सम्बोधन गर्न पुनर्निर्माण तथा पुनस्थापना नीति तयार गर्‍यौं । पुनर्निर्माण कार्यविधि बनायौं । संस्थागत संरचनालाई अन्तिम रुप दियौं । विभिन्न दिशातिर फर्किएका विभिन्न धारणा राख्ने दातृनिकायहरु, विभिन्न किसिमका काम गरिरहेका विभिन्न मन्त्रालय तथा सरकारी निकायहरु र भिन्नाभिन्नै धारणा भएका एनजीओ/आइएनजीओहरु, पुनर्निर्माणलाई कसरी अघि बढाउने भन्ने विषयमा राजनीतिक दलहरुमा विभिन्न धारणा भएको अवस्थामा सबैलाई एकै ठाउँमा ल्याउन सफल भयौं ।

दोस्रो, एउटा अधिकृत र नायव सुब्बा कर्मचारी बोकेर म प्राधिकरण प्रवेश गरेको थिएँ । तर, थोरै कर्मचारीले धेरै काम गरेर देखायौं । जग्गा प्राप्ति, जग्गा दर्ता, वन, वातावरणसँग सम्बन्धित कार्यविधिहरु बनायौं । त्यस्तै, एनजीओ/आइएनजीओसँग सम्बन्धित संस्थाहरुलाई कसरी परिचालन गर्ने भन्ने नीति निर्देशक समितिबाट पास भइसकेको छ ।

जनताको निजी आवासको कुरा महत्वपूर्ण थियो । त्यो महत्वपूर्ण कार्यालाई युद्धस्तरमा अघि बढाउन सुरु भएको छ । १ सय ४० इन्जिनियरहरुबाट दोलखामा काम सुरु भएको थियो । १५ सयको हाराहारीमा इन्जिनियरहरु गाउँ-गाउँमा परिचालन भएका छन् ।

भूकम्पले अतिप्रभावित १४ जिल्लामध्ये काठमाडौं उपत्यका बाहेक ९ जिल्लामा भूकम्प पीडितको पहिचानका लागि सर्भेक्षणको कार्य ९० प्रतिशत सकिएको छ । बैशाख १२ अघि नै सर्भेक्षणको काम १०० प्रतिशत सम्पन्न हुन्छ ।

बैशाख १२ गतेसम्म पुनर्निर्माणको पाँच वर्षे खाका सार्वजानिक गर्छौं त भन्नुभयो । तर, वषर्ात लागिसक्यो । अझै पनि भूकम्प पीडितहरु त्रिपालमै बसिरहेका छन् । वषर्ातअघि घर बनाउन सम्भव छैन । उनीहरुको अस्थायी व्यवस्थापनचाहिँ कसरी गर्ने ?

अस्थायी आवासका लागि यसअघि नै सरकारले अस्थायी आवासका लागि १५ हजार रुपैयाँ नगद र जाडोमा न्यानो लुगा किन्नका लागि १० हजार रुपैयाँ वितरण गरिसकेको छ । नागरिक समाज, एनजीओ/आइएनजीओहरुले आवासका लागि विभिन्न राहत सामाग्रीहरु वितरण गरिसकेको अवस्था छ । त्यसको अर्थ के हो भने अस्थायी आवासका लागि जनतालाई पहिलो चरणमा राहत दिने र त्यसपछि स्थायी घरहरु बनाउँदा चाहिँ भूकम्पप्रतिरोधी बनाउने भन्ने हो ।

विगतमा हाम्रो राज्यव्यवस्थाबाट एउटा कमजोरी भयो त्यसबेला हामीले जुन प्रयोजनका लागि रकम दियौं, सो रकम सोही प्रयोजनका लागि खर्च भयो कि भएन भन्ने अनुगम कसैबाट पनि भएको छैन । त्यसबेला कडाइका साथ अनुगमन भएको भए अझै पनि अस्थायी आवासका लागि राहत तथा अनुदान दिइरहनुपर्ने अवस्था रहन्नथ्यो । तर, अझै पनि राज्य जनताको अस्थायी आवासको व्यवस्था मिलाउनबाट पछि हट्न मिल्दैन । अस्थायी आवासको व्यवस्था गर्ने विषय प्राधिकरणको भन्दा पनि गृह मन्त्रालयको हो ।

अन्तराष्ट्रिय समुदायले पनि नेपालको पुनर्निर्माण प्राधिकरण गठन भएपछिको प्रगतिको तारिफ गरेको छ

तपाईले यसो भनिरहँदा पुनर्निर्माणले खासै गति लिएको देखिँदैन, यसमा के-कस्ता अवरोधहरु देख्नुभएको छ ? विदेशमा त यस्ता कामहरु फटाफट हुन्छ भन्छन् ….

त्यस्तो होइन । नेपालको पुनर्निमार्णमा जुन गतिमा काम अघि बढेको छ, त्यो अरु मुलुकहरुसँग तुलना गर्दा कमजोर छैन । जापान, चीन, पाकिस्तान, भारतलगायता मुलुकहरुसँग तुलना गर्दा पुनर्निर्माण प्राधिकरण गठन भइसकेपछि भएको प्रगति यस्तै नै हो ।

प्राधिकरण गठन भएको ३/४ महिनामा ती देशहरुमा कति काम अघि बढेको थियो र हामीले कति अघि बढायौं भनेर तुलना गर्दा अन्तराष्ट्रिय समुदायले पनि नेपालको पुनर्निर्माण प्राधिकरण गठन भएपछिको प्रगतिको तारिफ गरेको छ ।

हामी अहिले जति घरहरुको पुनर्निर्माण गर्ने तयारी गरिरहेका छौं, यो पुस्ताकै सबैभन्दा बढी हो । हामी ८ लाख घरहरुको पुनर्निर्माण गर्दैछौं ।  त्यसैले पुनर्निर्माणको कार्य खाली पुनर्निर्माण प्राधिकरणसँग मात्रै जोडिने विषय नै होइन । यसलाई व्यवस्थित गर्नलाई प्राधिकरणले योजनावद्धरुपमा अघि बढाउनुपर्छ । नत्र पछि समस्या उत्पन्न हुन्छ ।

कम्तिमा पनि हामीलाई ५० हजार कर्मचारी र  हजारौं कामदार आवश्यक छन् । हामीले कामदारका लागि एक हप्तादेखि ३ महिनासम्म तालिमका प्याकेजहरु तयार गरिरहेका छौं ।

कहिलेसम्म जनताले अनुदान पाउँछन् र कहिलेसम्म उनीहरुको घर बन्छ ?

हामीले ठूलो आकारमा दातृ निकायले सहयोग गर्ने पैसा खर्च गर्दैछौं । त्यसका लागि उहाँहरुले भनेका कुराहरु  जसले गर्दा हामीले भूकम्प पीडितको यकिन तथ्यांक निकाल्न सर्भेक्षण गर्नुपरेको हो । छिटो गर्नका लागि १६ सय इन्जिजिनयर प्रयोग गरेर सर्भेक्षणको ९९ प्रतिशतजति काम सकिइसकेको छ ।

हामीले बैशाख १२ गते करिब ४ सयभन्दा बढी गाविसहरुमा भूकम्प पीडित राहतग्राहीहरुको सूची सार्वजानिक गर्‍यौं । ९ वटा गाविसमा त राहतग्राहीसँग सम्झौता पनि भइसकेको छ । अनुदान सम्झौता भइसकेपछि राहतग्राहीले बैंकमा गएर अनुदान रकम लिन सक्नेछन् । ६ भन्दा बढी भूकम्प पीडित घरधुरीले अनुदान नै लिइसकेको रिपोर्ट आएको छ ।

कति भूकम्प पीडितले अनुदान पाएमात्रै भनेर हेर्नुभन्दा पनि भूकम्प प्रभावित क्षेत्रहरुमा अनुदान पुर्‍याउन सक्ने संयन्त्रको विकास भइसकेको छ । अब अनुदान वितरणको कार्य तीब्र गतिमा अघि बढ्छ ।

प्रधानमन्त्रीले सिन्धुपाल्चोकबाट जनताको आवास पुनर्निमाण थाल्नुभएको छ भने राष्ट्रपतिले भूकम्पको केन्द्रविन्दू बारपाकमा भूकम्प स्मारकको उदघाटन गर्नुभएको छ । यसले जनतामा विश्वास अझ बढेर जानेछ । त्यस्तै, विभिन्न ठाउँहरुमा भत्किएका विद्यायलहरुको पुनर्निर्माणका लागि बोलपत्र आहृवान भइसकेका छन् ।

काठमाडौं उपत्यकाभित्र कम्तिमा ४/५ वटा पुरातात्विक सम्पदाहरुको पहिचान गरी पुनर्निर्माणको थालनी गरिएको छ । जनताले निर्माण देख्न चाहेका छन्, हामी पनि ठोसरुपमा निर्माणमै केन्दि्रत रहन्छौं । जनताको आवास निर्माण हाम्रो पहिलो प्राथमिकता हो ।

प्राधिकरण गठन भएपछि पुनर्निर्माणका लागि कति रकम खर्च भयो ?

चालू आर्थिक वर्षमा सरकारले पुनर्निर्मार्णका लागि ९१ अर्ब रुपैयाँ बजेटको व्यवस्था गरेको थियो । जसमध्ये १७ अर्ब रुपैयाँ मन्त्रालयगत हो भने ७४ अर्ब रुपैयाँ प्राधिकरणलाई व्यवस्था गरिएको थियो । मन्त्रालयहरुले पेश गरेका कार्यक्रम र दाताहरुसँग भएको सम्झौतावीच तालमेल मिलेको थिएन, हामीले वृहत छलफलपछि त्यसको तालमेल मिलाइसकेका छौं । आगामी वर्षका लागि विभिन्न मन्त्रालयहरुलाई कार्यक्रम र बजेट प्रस्तुत गर्न भनिसकेका छौं । यसबारे हामी चाँडै नै अन्तिम निचोडमा पुग्छौं । आयोजनाको खर्च हुनका लागि प्रक्रिया त पुर्‍याउनु पर्‍यो नि, अहिले प्रक्रियागत कुराहरुले अन्तिम रुप लिइरहेका छन् ।

चालू आर्थिक वर्षमा छुट्याइएको बजेटमध्ये कति रकम खर्च गर्ने लक्ष छ ?

खर्च कति हुन्छ भन्ने कुरा कार्यान्वयन गर्ने निकायहरुबीचमा भर पर्ने कुरा हो । जे होस्, चालू आर्थिक वर्षभित्र कुल बजेट (९१ अर्ब) को ५० प्रतिशत खर्च हुन्छ भन्ने संसोधित अनुमान छ ।

आगामी आर्थिक वर्षहरुमा चाहिँ कति-कति खर्च गर्ने लक्ष्य छ ? 

मैले अघि नै भनिसकेँ कि, हामीले पाँच वर्षे कार्ययोजना तयारी गरिरहेका छौं । निर्देशक समितिले टुंगो नलगाएसम्म मैले त्यसबारे बोल्न मिल्दैन । मैले पुनर्निर्माण महाअभियान सुरु गरेकै दिन माघ २ गते नै भनेको थिएँ कि बैशाख १२ गतेसम्म हामीले पाँच वर्षे कार्ययोजना सार्वजनिक गर्नेछौ ।

प्राधिकरणमा २०८ जना कर्मचारीको दरबन्दी छ, अहिले हामीसँग १०० जनाको हाराहारीमा कर्मचारी छन्

पुनर्निर्माणका क्रममा दाताहरुकले कतिको दबाव दिइरहेका छन् ?

दाताहरुले त्यस्तो कुनै पनि दबाव दिनुभएको छैन । प्राधिकरण गठन भएपछि प्राधिकरणको योजनाअनुसार काम भएको भन्दै हामीलाई धन्यवाद दिइरहनुभएको छ, जसले हामीलाई हौसला मिलेको छ ।

तपाई दाबी गरिहरनुभएको छ कि पुनर्निर्माण प्राधिकरणले गरेको कामप्रति सबै सन्तुष्ट छन् भनेर । तर, एकातिर प्रधानमन्त्री स्वयंले प्राधिकरणको काम कारवाहीप्रति सार्वजानिकरुपमै असन्तुष्टि व्यक्त गरिसकेको छन् । दातृ समुदाय र नागरिक स्तरबाट पनि प्राधिकरणले काम गर्न सकेन भन्ने आलोचना भइरहेको तपाईलाई थाहा छैन ?

हो, प्राधिकरण गठन हुनुभन्दा अघि खर्च हुन नसकेकोप्रति प्रधानमन्त्री, दातृ निकाय र आम नागरिकहरु असन्तुष्ट भएका हुन् । तर, जब प्राधिकरण गठन भयो र उसले काम थाल्यो, त्यसपछि प्राधिकरणले काम गर्न सकेन भन्ने कुराहरु आएका छन् जस्तो त मलाई लाग्दैन । समग्रमा पुनर्निर्माण ढिलाइ भएकोप्रति चाहिँ सबैको असन्तुष्टि हो । त्यसमा भर्खरै गठन भएको प्राधिरकणको के दोष छ र ?

प्राधिकरणले माघ २ गते पुनर्निर्माण महाअभियान सुरु गर्‍यो । अब चाहिँ पुनर्निर्माणले गति लिन्छ कि भनेर जनताले आशा पनि गरे । तर त्यसपछि भएको प्रगतिलाई हेरेर उत्साह गर्न मिल्ने ठाउँ देखिन्छ र ?

महाअभियानको सुरु भएकै दिनमा मैले रानीपोखरीमा भनेको थिएँ कि सबै घरहरु वर्षाद अगाडि नबन्न सक्छन् ।

तर, तपाईका लागि त प्राधिरकणमा कर्मचारी ल्याउनु नै ठूलो चुनौति भयो हैन ? किन प्राधिकरणमा आउन नमानेका होलान्, कर्मचारीहरु ?

प्राधिकरणमा सानो स्केलमा कर्मचारीहरु हुँदाहुँदै पनि यो परिणाम ल्याउने गरी काम भइरहेको छ, यसलाई विर्षन मिल्दैन । सुरुमा कर्मचारीहरु आउन नमानेपछि पछिल्लो समय कर्मचारीहरु आउने क्रम बढ्दो छ । सामान्यतया प्राधिकरणमा कामको दबाव पनि छ । कर्मचारीतन्त्रमा प्राविधिकरुपमा दक्ष जनशक्तिहरुको पनि कम छ । अब कार्यान्वयन गर्ने निकायकारुपमा सम्बन्धित मन्त्रालयमा विषेश युनिट गठन गर्दैछौं । त्यहाँ पनि जनशक्तिको आवश्यकता छ ।

प्राधिकरणमा २०८ जना कर्मचारीको दरबन्दी छ, अहिले हामीसँग १०० जनाको हाराहारीमा कर्मचारी छन् । थप कर्मचारी आउने क्रम पनि बढ्दो छ । अब समस्या हुन्न । दक्ष कर्मचारीहरुका लागि संयुक्त राष्ट्र संघ लगायतसँग पनि कुरा गरिरहेका छौं ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं