Friday, February 19, 2016

मलेसिया कमाउन आएका बुद्ध तामाङ अकस्मात साथी र काकालाई नचिन्ने भए

रामचन्द्र नेपाल

‘बिचरा, बिहे गरेको होला कि नहोला ? यस्तो उमेरमा रोग लागे छ ? केही पनि थाहा पाउँदैन ? हातमा कसरी हो घाउ भएको ? यस्तो मानिस किन विदेश आएको होला ? यस्तो त कसैलाई पनि नपरोस्,’ नेपाली दूतावास क्वालालम्पुरमा सेवा लिन आएका सेवाग्राही यस्तै-यस्तै खासखुस गरिरहेका थिए, सोमबार दिउँसो ।

यसरी सबैको बिचरा-पात्र बनिरहेका थिए, बुद्ध तामाङ । जो क्वालालम्पुरबाट करिब चार सय किलोमिटर जोहोरबहरुको एक रेस्टुरेन्टमा काम गर्थे । बुद्धले २७ माघदेखि अस्वाभाविक व्यवहार देखाए- केही नबोल्ने, हेरिरहने, रिसाउने र भाँडाकुँडा फाल्ने ।

बुद्ध र रोशन तामाङ साथी हुन्, दश महिनाअघि एउटै जहाजबाट मलेसिया आएका, दुवै मिल्ने साथी । दुवैको घर बाह्रबिसे-८ सिन्धुपाल्चोक ।

Buddha-Tamangजब बुद्धले मानसिक सन्तुलन गुमाए, तत्कालै रोशनले बुद्धको काका पर्ने सुवास तामाङलाई मलेसियामै फोन गरे, ‘बुद्धलाई त के भो के ? जे पायो त्यसैले हान्छ, कुरा बुझ्दैन, भाँडाकुँडा सबै फाल्छ । पागलजस्तै भएको छ ।’

सुवास छाँगाबाट खसेझैँ भए । भने, ‘आज तिमीहरूले उसलाई सम्हालेर राख, म भोलि आउँछु ।’

मलेसियाको कम्पनीमा भनेका बेला कसले पो बिदा पाउँछ र ? सुवासले भोलिपल्ट बिदा पाएनन् । जसोतसो मिलाएर पर्सिपल्ट उनी जोहोरवारु पुगे । त्यहाँ पुग्दा बुद्धको अवस्था बेहाल थियो ।

‘ए बुद्ध के भयो तँलाई ?’ सुवासले सोधे । तर, उनले उत्तर दिएनन् एकोहोरो हेरिमात्र रहे । तेरो नाम के हो ? उनले भने बुद्ध हो । थुप्रै प्रश्न सुवासले गरे तर बुद्धले केहीको पनि उत्तर फर्काएनन् ।

जे पायो त्यहीले हिर्काउन थालेपछि साथीहरूले डोरीले हात बाँधिदिएका रहेछन् । त्यही डोरी फुकाउन थाल्दा बाँधिएको हातमा घाउ बसिसकेको थियो । जे पायो, त्यहीलाई हिर्काउँदा खुट्टाहरूमा समेत घाउ भइसकेको थियो ।

कम्पनीले हेरेन

बुद्ध मलेसिया आएको दश महिना भए पनि तीन महिना अघिदेखि अवैधानिक भएर काम गरिरहेका थिए । त्यसैले उनलाई कम्पनीले कुनै वास्ता गरेन ।

त्यसपछि सुवासले ट्याक्सी रिजर्भ गरेर क्वालालम्पुर नेपाली दूतावाससम्म ल्याएका थिए, करिब १५ हजार रुपैयाँ (छ सय रिगेट) तिरेर ।

‘दुई भाइ छन्, यो जेठो हो । घरमा दुई दिदी, दुई बैनी र आमाबुबा छन् । खासै पढेन, नौ कक्षासम्म पढेको थियो । कमाएर केही गर्ने हो काका भन्थ्यो । आज यो अवस्था भयो,’ सुवासले भने ।

केहीबेरमा प्रहरीको गाडी आइपुग्यो, त्यसलगत्तै सुविधा सम्पन्न एम्बुलेन्स पनि । सबै चाँजोपाँचो नेपाली दूतावासले मिलाएको थियो । मानिसहरूको घुइँचो अझ थपियो । तत्कालै बुद्धलाई एम्बुलेन्समा राखियो । काका सुवास पनि एम्बुलेन्समै अस्पताल पुगे ।

काकाले उपचार गराउँदै

यतिबेला बुद्धको उपचार क्वालालम्पुर अस्पतालमा भइरहेको छ । अस्पतालमा पहिलो दिन भर्ना हुन र एक्सरेका लागि मात्रै करिब ५५ हजार (२११५ रिंगेट) खर्च लाग्यो, सुवासले बुझाए ।

थप उपचार गराउन सुवासलाई चिन्ता छ । थप उपचारका लागि सुवासले नेपाली दूतावासलाई आग्रह गरिसकेका छन् । बुद्धको परिवार बुद्धलाई तत्कालै नेपाल फर्काउन चाहन्छ, तर बेहोसी अवस्थामा रहेका बुद्धलाई तत्कालै नेपाल फिर्ता हुन भने त्यति सम्भव देखिएको छैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment