Friday, February 19, 2016

प्रधानमन्त्रीको भ्रमणटोलीमा किन परेनन् आपूर्तिमन्त्री ?

आपूर्ति सचिवलाई पनि लगिएन

७ फागुन, काठमाडौं । भारतसँग ‘सम्बन्ध सुधार गर्न’ प्रधानमन्त्री केपी ओली जम्बो टोली लिएर दिल्ली जाँदै गर्दा आपूर्तिमन्त्री गणेशमान पुन भने शुक्रबार चितवनको माडी पुगेका छन् । मन्त्री पुन शुक्रबार प्रजातन्त्र दिवसमा पनि सहभागी नभई माछा महोत्सव हेर्नतिर लागेका हुन् ।

आजदेखि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ६ दिने राजकीय भ्रमण सुरु गरेका छन् । स्वभाविकरुपमा यो भ्रमणको उद्देश्य नेपाल-भारत सम्बन्ध सहजीकरण गर्दै नाकाबन्दीलाई व्यवहारिकरुपमै खुलाउने हो । यसको अर्थ दुई देशबीच आपूर्ति र पारवहनसम्बन्धी मुद्दाले प्रधानमन्त्रीको भ्रमणमा प्राथमिकता पाउने निश्चित छ ।

तर, यस्तो महत्वपूर्ण छलफलमा आपूर्तिमन्त्रीलाई त लगिएन नै, सचिवहरुको टोलीमा आपूर्ति मन्त्रालयका सचिवलाई समेत सहभागी गराइएन । प्रधानमन्त्री ओलीले नाकाबन्दीलाई बिर्सनुपर्छ भनिरहेका बेला शायद नाकाबन्दीको सम्झना नहोस् भनेर आपूर्ति मन्त्रालयलाई बिर्सिइएको हुनसक्छ ।

भारतले गरेको पाँच महिने अघोषित नाकाबन्दी प्राविधिकरुपमा खुले पनि मागको आधामात्रै तेल भारतीय आयल निगमले दिइरहेको छ । तर, यस्तो बेलामा प्रधानमन्त्रीले आपूर्ति मन्त्रालयलाई भ्रमणमा सहभागी गराउने आवश्यकता महसुस गरेनन् ।

तथापि मन्त्री पुनले आफ्नो मन्त्रालयबाट भारत भ्रमण टोलीमा पर्नु र नपर्नुको खास अर्थ नहुने बताए । चितवनबाटै उनले अनलाइनखबरसँग भने, ‘अन्तराष्ट्रिय व्यापार वाणिज्य मन्त्रालयले हेर्ने र आपूर्ति मन्त्रालयले स्वदेश भित्रिसकेपछि त्यसको व्यवस्था मिलाउने भएकाले मैले यसलाई ठूलो कुरा मानेको छैन ।’

उनले सरकार आपूर्ति व्यवस्था सहज बनाउन लागिपरेको र केही दिनभित्रै उपभोक्ताले पेट्रोलियम पदार्थ सहजरुपमा पाउने बताए ।

प्रधानमन्त्री ओलीसँग भारत भ्रमणमा जानेहरुको सरकारी मानिसहरुको संख्या ४६ छ । निजी खर्चमा जाने नेपाली टोली भने सयभन्दा बढीको छ ।

भारत जाने सरकारी कर्मचारी को-को ?

प्रधानमन्त्री ओलीको राजकीय भ्रमणमा आपूर्ति मन्त्रालयबाहेक सरकारी कर्मचारीहरुको ठुलै टोली छ । मुख्यसचिव सोमलाल सुवेदीसहित एक दर्जन सरकारी कर्मचारीहरु भारत भ्रमणमा जाने टोलीमा परेका छन् ।

sachib haru (1)

भ्रमण टोलीमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिइओ सुशील ज्ञवाली, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, ऊर्जा मन्त्रालयका सचिव सुमनप्रसाद शर्मा, वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय र भौतिक पूर्वाधार मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीसमेत छन् ।

यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशकुमार सुवेदी तथा परराष्ट्र मन्त्रालयबाट शिष्टाचार महापालका रुपमा रमेशप्रसाद खनाल र चक्रकुमार सुवेदी पनि भारत भ्रमणमा गएका छन् ।

यस्तै अर्थमन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल, परराष्ट्र मन्त्रालयका उपसचिव भरत रेग्मी र शाखा अधिकृत हरि ओडारी पनि प्रधानमन्त्री ओलीसँगै भारत भ्रमणमा जाने कर्मचारीको सूचीमा छन् ।

भ्रमणको क्रममा खासै भूमिका नरहने ११ जना सांसद पनि ओलीको जम्बो टोलीमा छन् । पूर्णबहादुर खड्का, भानुभक्त ढकाल, राजन भट्टराई, लालबाबु यादव, हितराज पाण्डे, जीतेन्द्रनारायण देव, विक्रम पाण्डे, सीमा विश्वकर्मा, भक्तबहादुर खपाङ्गी, डिम्पलकुमारी झा र शिवकुमार मण्डल सरकारी खर्चमा भारत जानेहरुको सूचीमा छन् ।

प्रधानमन्त्रीका सल्लाहकार, पत्रकार र व्यवसायी पनि टोलीमा छन् । उनीहरुलाई ताज होटलमा खाने-बस्ने व्यवस्था मिलाइएको छ ।

महतको आलोचना

जम्बो टोली लिएर भारत जान लागेपछि प्रधानमन्त्रीको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा. रामशरण महतले भारतीय पक्षसँग वार्ता गर्न मन्त्री र कर्मचारीबाहेक अरुको भूमिका नहुने भन्दै जम्बो टोलीको औचित्य नभएको बताएका छन् ।

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता महतले ट्वीटरमा लेखेका छन्, ‘पीएमको भ्रमण दलमा जम्बो साइज आवश्यक छैन, वार्तामा केही सरकारी मन्त्री/कर्मचारीबाहेक अरुको भूमिका रहँदैन, भ्रमण आलंकारिक नभै कामकाजी हुनु जरुरी’ छ ।

PMको भ्रमण दलमा jumbo size आबस्यक छैन,बार्तामा केहि सरकारी मन्त्रि/कर्मचारी बाहेक अरूको भूमिका रहँदैन!भ्रमण आलंकारिक नभै कामकाजी हुनु जरूरि।

Capture


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment