Friday, February 19, 2016

प्रधानमन्त्रीसँग ​कांग्रेस र मधेसी मोर्चा दिल्ली नजाने

काठमाडौं : आजदेखि हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण टोलीमा प्रतिपक्षी नेपाली कांग्रेस र तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कोही पनि नेता सहभागी नहुने भएका छन्।

भ्रमण टोलीका सदस्यबारे भारतमा रहेको नेपाली दूतावासले दिएको प्रारम्भिक नामावलीमा कांग्रेस नेतृ सुजाता कोइराला र पूर्णबहादुर खड्का, मोर्चाको घटक संघीय समाजवादी फोरमका शिवजी यादव र संघीय सद्भावना पार्टीकी डिम्पलकुमारी झाले दिल्ली नजाने बताएका छन्।

कांग्रेस नेतृ सुजाता कोइरालाले दिल्ली जाने विमानको टिकट क्यान्सिल गर्न लगाएकी उनको सचिवालयले जनाएको छ। कांग्रेसका अर्का सभासद पूर्णबहादुर खड्काले पनि बिहीबार साँझ दिल्ली भ्रमण क्यान्सिल गरेका छन्। फागुन ११ गते पर्ने पार्टीको केन्द्रीय समितिको बैठकका कारण दिल्ली भ्रमण क्यान्सिल गर्नुपरेको उनले बताए।

‘म अरु कारणले दिल्ली नगएको होइन, १३ औं महाधिवेशनको मुखमा आयोजित केन्द्रीय समितिको बैठकमा विधान संशोधन लगायत महत्वपूर्ण विषयमा छलफल हुन लागेको र यसको तयारी पनि गर्नुपर्ने भएकाले प्रधानमन्त्री ज्यूलाई रिक्वेस्ट गरेर क्यान्सिल गरेको हुँ’ उनले भने। खड्काले दिल्ली भ्रमण क्यान्सिल गर्नुको अरु कुनै उद्धेश्य नभएको प्रष्ट्याए। ‘मलाइ नेताहरुले पनि जानुस् नै भन्नुभएको थियो, यो महत्वपूर्ण मिटिङ भएकाले मैले नै क्यान्सिल गरेको हुँ’ उनले भने।

संघीय समाजवादी फोरमका सभासद शिवजी यादवले मधेसी मोर्चाको निर्णय अनुसार आफु दिल्ली भ्रमणमा नजाने बताए। ‘भ्रमण टोलीमा मेरो नाम त छ तर मोर्चाको तर्फबाट भ्रमणमा सहभागी नहुने कुरा भएकाले हामी जाँदैनौं’ उनले पहिलोपोस्टसँग भने।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा नरहेको अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टीकी सभासद डिम्पलकुमारी झाले पनि आफु प्रधानमन्त्री ओलीको टोलीमा दिल्ली नजाने बताएकी छन्। केन्द्रीय कमिटी बैठकका लागि जनकपुरमा रहेकी उनले पहिलोपोस्टसँग टेलिफोनमा भनिन् ‘मलाई भ्रमण टोलीमा राखेकोबारे केही थाहा छैन, तर म दिल्ली जाँदै छैन।’

प्रधानमन्त्री ओलीको भारत भ्रमण टोलीमा मन्त्रीहरु बाहेक १६ जना सभासदको नाम राखिएको छ। जसमा एमालेका लालबाबु यादव, राजन भट्टराई, एकीकृत नेकपा माओवादीका हितराज पाण्डे, शिवकुमार मण्डल केवट, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका जितेन्द्र देव, नेकपा मालेका अइन्द्र सुन्दर नेम्वाङ लगायत रहेका छन्।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment