नयाँ दिल्ली : प्रधानमन्त्री केपी शर्मा ओली भारतको ६ दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली आइपुगेका छन्। प्रधानमन्त्री ओली नेपाल एअरलाइन्सको रेगुलर फ्लाइटमार्फत दिउसो पौने पाँच बजे दिल्ली उत्रेका हुन्।
प्रधानमन्त्री ओलीलाई भारतका आयुष (आयुर्वेद) राज्यमन्त्री श्रीपद यस्सो नाइकले स्वागत गरे। प्रधानमन्त्रीलाई स्वागत गर्न नाइकसहित परराष्ट्र मन्त्रालयमा नेपाल डेस्क हेर्ने सहसचिव अभय ठाकुर, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय र भारतका सिस्टाचार महापाल पनि विमानस्थलमा पुगेका थिए।
प्रधानमन्त्री ओली आजै साँझ प्रजातन्त्र दिवसको उपलक्ष्यमा भारतस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा सहभागी हुनेछन्।कार्यक्रममा ५ सयभन्दा बढीलाई आमन्त्रण गरिएको दूतावासले जनाएको छ।
शुक्रबारबाटै सुरु भए पनि ओलीले खास भ्रमण भने शनिबारबाट थाल्नेछन्। शनिबार बिहान १० बजे राष्ट्रपति भवनमा ओलीको औपचारिक स्वागत हुनेछ।
ओलीको योजनाः मित्रता सुदृढ
भारत भ्रमणको तीन दिनअघि मंगलबार व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै आफू ‘कसैलाई दोषारोपण गर्न नभइ समझदारी विकास गर्न भारत भ्रमणमा जान लागेको’ बताएका थिए। मित्रतालाई सुदृढ बनाउन आफू भारत जान लागेको उनको दाबी थियो।
‘भारतसँग मित्रतापूर्ण सम्बन्ध अगाडि बढाउन चाहन्छौं। मित्रतापूर्ण सम्बन्ध छँदैछ, बीचमा केही असमझदारीका कुराहरु भए, हिजो केही अप्रिय खालका कुरा लागेपनि ती कुराहरुमा अल्झिएर बस्ने होइन नयाँ शिराबाट, नयाँ वातावरणमा, नयाँ ढंगले मैत्री सम्बन्धलाई अगाडि बढाउनुपर्छ’, उनको भनाई थियो।
‘विवादास्पद सम्झौता गर्दिनँ’
भारत भ्रमणका क्रममा गोप्य सम्झौता हुन्छन् भन्ने ‘आमशंका’ लाई खारेज गर्दै ओलीले भ्रमणअघि पटकपटक कुनै विवादास्पद नगर्ने प्रष्टीकरण दिएका थिए।
२८ माघमा एमाले विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं महाधिवेशन उद्घाटन गर्दै ओलीले ‘विवादास्पद र नेपाललाई नोक्शान हुने कुनै पनि सम्झौता नगर्ने’ बताएका थिए।
ओलीका सत्ता साझेदार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि प्रधानमन्त्री ओलीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्नका लागि मात्र भएको बताएका थिए। भारतसँग चिसिएको सम्बन्धले लामो समय नाकाबन्दी बेहोरेका कारण उनको भ्रमण सम्बन्ध सुधारका लागि भएको प्रचण्डको भनाइ थियो।
भारतको अपेक्षा
प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वसन्ध्यामा भारतले संविधान संशोधनलाई सकारात्मक भन्दै बाँकी विषयमा सकारात्मक चर्चा हुने आशा व्यक्त गरेको थियो।
सीमाङ्कन लगायतका विषयलाई तीन महिनाभित्र टुङ्ग्याउने गरी काठमाडौंमा राजनीतिक संयन्त्र गठन गर्नु र दिल्लीले यस्तो सन्देश दिनु सँगसँगै जस्तो भएको थियो। के नागरिकता लगायतका विषयमा दिल्ली प्रधानमन्त्री ओलीसँग आफ्नो चासो राख्नेछ त? भन्ने प्रश्नमा नयाँ दिल्लीस्थित विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाटमा प्रवक्ता विकास स्वरुपले भने, ‘यो इस्यु मधेसीले पहिलेदेखि उठाउँदै आएकोछ यसमा नेपाल सरकारसँग वार्ता भइरहेको छ।’ ‘हाम्रो अपेक्षा यही छ कि जुन किसिमले दुई वटा संशोधन संविधानको पास भएको छ जसलाई हामीले सकारात्मक कदमको संज्ञा दिएका थियौँ, त्यसैगरी त्यस्तै सकारात्मक दिशामा बाँकी मुद्दामा सकारात्मक चर्चा हुनेछ र छिट्टै नै हल निस्कनेछ’, उनले भने।
मिडिया कभरेज
प्रधानमन्त्री केपी ओलीले ६ दिने औपचारिक भ्रमण गर्ने दिनलाई यहाँका पत्रपत्रिकाले खासै महत्व दिएका छैनन्। दिल्लीबाट शुक्रबार बिहान निस्किएका अधिकांश पत्रिकाहरुमा जेएनयु विवाद नै मुख्य समाचारका रुपमा रहेको छ।
कतिपय पत्रिकाले आजदेखि हुन लागेको भ्रमणबारे उल्लेख गर्नसमेत जरुरी ठानेका छैनन्।
ओलीले ६ दिनको भ्रमणमा के के गर्दैछन् त?
पहिलो दिन शुक्रबार उनी दिउसो साढे ४ बजे दिल्ली पुगे। उनी साँझ नेपाली दूतावासको आयोजनामा प्रजातन्त्र दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनी सहभागी हुनेछन्।
दोश्रो दिन शनिबार बिहान १० बजे उनलाई राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ। साढे १० बजे राजघाटमा प्रधानमन्त्रीले पुष्पअर्पण गर्नेछन्। यस्तै ११ बजे राष्ट्रपति भवनमा भारतका विदेश मन्त्री शुस्मा स्वराजसँग भेट गर्नेछन्। त्यसपछि उनले १२ बजे हैदराबाद हाउस भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन्। दिउसो १ बजे हैदराबाद हाउसमा उनीहरुबीच सम्झौताहरुको हस्तान्तरण हुनेछ। त्यसपछि प्रधानमन्त्रीले ४ बजे राष्ट्रपति भवनमा भारतीय गृहमन्त्री राजनाथ सिंहसँग भेटघाट गर्नेछन्। ४ बजेर ४५ मिनेटमा राष्ट्रपति भवनमै भारतीय वित्तमन्त्री अरुण जेट्लीसँग उनको भेट तयर गरिएको छ। साढे ५ बजे मौलाना आजाद रोडमा भारतका उपराष्ट्रपतिसँग ओलीको भेटको कार्यक्रम राखिएको छ। यस्तै ७ बजे राष्ट्रपति भवनमा भारतका राष्ट्रपतिसँग भेट
तेश्रो दिन आइतबार प्रधानमन्त्री बिहान ९ बजे देहरादुन जानेछन्। साढे १० बजे तेहरी हाइड्रो पावर प्रोजेक्ट भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नेछन्। १ बजेर ५० मिनेटमा दिल्ली फर्केपछि नउ साढे तीन बजे राष्ट्रपति भवनमा भारतीय नेताहरुसँग भेटघाट गर्नेछन्।
चौँथो दिन सोमबार साढे ९ बजे उनले राष्ट्रपति भ्रवनमा भारतीय उर्जा राज्यमन्त्री पियुष गोयलसँग भेटघाट गर्नेछन्। ११ बजे इन्डियन काउन्सिल फर वर्ल्ड अफेयरमा ओलीले सम्बोधन गर्नेछन्। यस्तै साँझ ६ बजे होटेल ताज प्यालेसमा भारतीय उद्यमीहरुसँग बिजनेस मिटिङ गर्नेछन्।
पाँचौ दिन मंगलबार बिहान साढे ७ बजे गुजरातको भुज भ्रमणमा निस्कनेछन्। त्यहाँ भूकम्पपछिको पुनर्निर्माण कार्य अवलोकन गरेपछि ९ बजेर ४५ मिनेटमा उनले होटेल रिजेन्टा रिसोर्टमा गुजरात सरकारको प्रस्तुति अवलोकन गर्नेछन्। साढे ११ बजे भिमासार पुनर्वास क्षेत्रको भ्रमण गर्ने र त्यहाँका स्थानीयबासीसँग छलफल गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्री ओली १ बजेर १५ मिनेटमा मुन्द्रा पुनर्वास क्षेत्र र त्यहीँको जिके अस्पतालको भ्रमण मानेछन्। दिउसो ४ बजे मुम्बइ फर्केर उनी साढे ७ बजे राज भवनमा महाराष्ट्रका गभर्नरसँग भेटघाट गर्नेछन्।
भ्रमणको अन्तिम दिन बुधबार उनी मुम्बईबाट साँझ ५ बजे स्वदेश फिर्ता हुनेछन्।
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment