Friday, February 19, 2016

प्रम ओली आजदेखि भारत भ्रमणमा, के लेखे आज भारतीय मिडियाले?

नयाँ दिल्ली : प्रधानमन्त्री केपी ओलीले ६ दिने औपचारिक भ्रमण गर्ने दिनलाई यहाँका पत्रपत्रिकाले खासै महत्व दिएका छैनन्। दिल्लीबाट आज बिहान निस्किएका अधिकांश पत्रिकाहरुमा जेएनयु विवाद नै मुख्य समाचारका रुपमा रहेको छ।

कतिपय पत्रिकाले आजदेखि हुन लागेको भ्रमणबारे उल्लेख गर्नसमेत जरुरी ठानेका छैनन्।

द हिन्दुको विचार पृष्ठमा आज नेपाली पत्रकार कनकमणि दीक्षितको लेखलाई प्राथमिकताका साथ छापिएको छ। ‘लिमिट्स टु इन्डियन एक्सेप्सनलिजम’ शीर्षकमा दीक्षितले लेखेको लेखको हाइलाइट्समा राखिएको छ- ‘केपी शर्मा ओलीले उहिलेका कुरा खुइलिएर गए भन्दै अन्तर्राष्ट्रिय कानुन, पञ्चशील र असल छिमेकीपनाको उल्लङ्घन हुने गरी गरिएको नाकाबन्दीका बारेमा उल्लेख नगर्न सक्छन्। तर यदि नेपाललाई सार्वभौम रुपमा पुनिर्माण गर्न दिए मात्रै पनि गल्ती सुधारतर्फको ठूलो कदम हुनेछ।’

लेखको अर्को हाइटलाइटस् तानिएको छ- ‘नयाँ दिल्ली एकपक्षी रुपमा काम गर्न चाहन्छ र नेपाल भारतको भुटानदेखि बंगलादेश र श्रीलंकासम्मको एडभेन्चरिजमको दौडमा अन्तिम देश भइरहेको छ। नेपालको सार्वभौम स्टायटसलाई बिस्तारै धुमिल पार्ने प्रयासभन्दा यसको सम्मान गर्नु भारतकै हितका लागि उपयुक्त हुनेछ।’

उनले नयाँ दिल्लीका थिङ्कट्याङ्क र ओपिनियन मेकरहरुले संविधानै नपढी यसको आलोचना गरेको आरोपसमेत लगाएका छन्।
हिन्दुस्तान टाइम्सको २१ औँ पृष्ठमा प्रधानमन्त्री केपी ओलीले हिजो गरेको पत्रकार सम्मेलनको समाचार छापिएको छ। ‘म कार्ड खेल्ने जुवाडे हैन, त्यसैले कार्ड खेल्नेमा म विश्वास गर्दिनँ’ भन्ने प्रमको भनाईलाई समाचारमा हाइटलाइट्स तानिएको छ।

इन्डियन एक्सप्रेसले युवराज घिमिरेको बाइलाइनमा सातौँ पृष्ठमा प्रम ओलीको त्यही पत्रकार सम्मेलनको समाचार छापेको छ जसको शीर्षक राखिएको छ- भारतसँग मित्रता फेरि बनाउन (रिबिल्ड) चाहन्छु। सबहेडलाइनमा छ- ‘नेपालका प्रम ओली आजदेखि ६ दिने भ्रमण सुरु गर्दैछन्, ४६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।’

नेपालबारे इन्डियन एक्सप्रेसले अर्को समाचार पनि छापेको छ, पूर्वराजा ज्ञानेन्द्रको। ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देशलाई भित्री पृष्ठमा फोटोसहित समाचार छापिएको छ।

हिन्दी भाषाका पत्रिका मध्ये जागरणले २४ औँ पृष्ठमा ‘साढे चार वर्षपछि नेपालका प्रधानमन्त्रीको आधिकारिक यात्रा आज, भारतीयहरुको नागरिकताको मुद्दा उठ्नेछ’ शीर्षकमा समाचार छापेको छ।

भारतका घोर विरोधी मानिने ओलीले आफ्नो पहिलो विदेश यात्राका रुपमा भारतलाई चयन गर्नुले छिमेकी देश नेपालका लागि भारत निकै महत्त्वपूर्ण छ भन्ने देखाएको पत्रिकाको टिप्पणी छ।

पत्रिकाले स्रोतलाई उद्‍धृत गर्दै भारतले दुई वटा जलविद्युत आयोजनामा सहयोग गर्ने घोषणा गर्ने उल्लेख गरेको छ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment