Wednesday, March 2, 2016

सिरहाको उत्तरवर्ती क्षेत्रमा खानेपानीको हाहाकार, नाैवटा इनार सुके

२० फागुन, सिरहा । अन्य वर्ष जस्तै सिरहाको उत्तरवर्ती गाविसहरु अर्थात् चुरेक्षेत्रसँग जोडिएका दर्जनौँ गाविस तथा गोलबजार, मिर्चैया, लहान र धनगढीमाई नगरपालिकाका केही भागमा खानेपानीको हाहाकार मच्चिएको छ ।

पानीको सतह भास्सिएका कारण इनार, बोरिङ, हाते पाइप, पोखरीलगायतका अधिकांश पानीका मुहान सुकेको स्थानीयवासी बताउँछन् ।  अयोध्यानगर गाविसमा झन्डै १० वटा इनार छन् । तर नौवटा इनार सुकिसकेका छन् । अयोध्यानगर–८ चियाबारीमा रहेको एउटा इनारमा मात्र पानी छ । त्यहाँ दिनभरि पानी भर्ने महिला र पुरुषको लाम लागेको हुन्छ ।

अयोध्यानगर–२ की सुमन्त लामा भन्छन् – “गाउँकै नौवटा इनार सुके । एउटै इनारमा अहिले पानी रहेकाले स्थानीयवासीको घुइँचो लाग्ने गर्छ ।” बिहान ४ बजे नै गएर इनारमा पानी भर्न लाइन लाग्नुपरिरहेको बताउँदै उहाँले ढिलो भए इनारमै पानी सुक्ने गरेको उनले बताए  ।

अयोध्यानगरको जस्तै समस्या सिरहाका चन्द्रलालपुर, ढोढना, विष्णुपुरकट्टी, लालपुर, जमदह, फूलवरिया, बडहरामाललगायतका गाविसमा पनि छ । स्वास्थ्य सन्तुलन राख्न कम्तीमा छ लिटर पानी खानुपर्ने हुन्छ । तर १५ गाविसका लाखौँ जनता दैनिक दुई लिटर पानी पनि खान पाउँदैनन् ।

विष्णुपुरकट्टी गाविसका सामाजिक परिचालक जागेश्वर यादवले भने – “विष्णुपुरकट्टी चुरेक्षेत्रसँग जोडिएकाले हाते पाइप जडान हुँदैन । दर्जनौँ इनार सुकेका छन् । त्यसैले यहाँका हजारौँ घरपरिवार खोलाको फोहर पानी खान बाध्य छन् ।”

अयोध्यानगर माविका शिक्षक प्रदीप यादव भन्छन्  – “चुरे क्षेत्रका बासिन्दा पानीमात्र होइन खाना पनि थोरै खाने गर्छन् । दिसा गर्न पनि पानी चाहिन्छ, तर खान त पुग्दैन, अनि कहाँबाट दिसा गर्न पानी ल्याउनु ?” सबैभन्दा बढी समस्यामा यहाँका विद्यालयमा अध्ययनरत बालबालिका परेको उनकाे  भनाइ थियो ।

शिक्षक यादवले भने – “कतिपय अभिभावक आफ्ना छोराछोरीलाई पानीकै समस्याका कारण लहान, गोलबजार, मिर्चैयालगायतका बजारमा पढ्न पठाउँछन् ।” पानीको अभावका कारण यहाँका बासिन्दाले गाईगोरु पाल्नसमेत छाड्न थालेको पीडा पनि उनले बताए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment