Wednesday, March 2, 2016

डेपुटी गभर्नरमा यसरी भयो कांग्रेस एमालेवीच भागवण्डा

पुष्प दुलाल

१९ फागुन, काठमाडौं । रिक्त रहेका नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पदमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ । नवनियुक्त सिवाकोटी एमालेनिकट हुन् भने श्रेष्ठ कांग्रेसनिकट हुन् । तर, दुबैको प्रधानमन्त्री केपी ओलीसँग निकटको सम्बन्ध रहेको छ ।

रिक्त रहेको एक पदमा दुईजनाका दरले गभर्नरले सिफारिस गर्नुपर्ने र गभर्नरको सिफारिसका आधारमा मन्त्रिपरिषदले डेपुटी गभर्नरको नियुक्ति गर्नुपर्ने कानूनी व्यवस्था छ ।

सोही व्यवस्था अनुसार गभर्नर डा. चिरञ्जीवी नेपालले दुई पदका लागि पाँच हप्ताअघि नै चारजनाको नाम सिफारिस गरेका थिए । त्यसपछि अर्थमन्त्रीको प्रस्तावमा क्याबिनेटले गभर्नरको सिफारिसमध्येबाटै डेपुटी गभर्नर नियुक्त गरेको हो ।

गभर्नर नेपालले कांग्रेसनिकट तीनजना (नारायण पौडेल, शिबनाथ पाण्डे र शिवराज श्रेष्ठ) र एक जना एमाले निकट (चिन्तामणि सिवाकोटी)को नाम नयाँ डेपुटी गभर्नरका लागि पठाएका थिए ।

तीनजना कांग्रेस निकटको नाम सिफारिस गरेको भन्दै प्रधानमन्त्री र अर्थमन्त्रीले गभर्नरलाई बोलाएरै दुईजना एमाले निकटको नाम राखेर पुनः सिफारिस गर्न दबाब दिएका थिए ।

तर, एकजना आफूनिकट हुनुपर्ने भन्दै गभर्नर नेपालले नाम परिवर्तन गर्ने प्रधानमन्त्रीको दबाबमा टसमस गरेनन् । पाँच हप्तासम्म लगातार दबाब दिँदा पनि गभर्नरले सिफारिस परिवर्तन गर्न मानेनन् ।

जसकारण डेपुटी गभर्नरद्वय गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारीको गत पुस १० गते अवकास पाएपछि रिक्त रहेको पदमा नयाँ नियुक्ति हुन सकेको थिएन ।

सिफारिसमा परेका मध्येबाटै गभर्नर नेपालले नियमन विभागका कार्यकारी निर्देशक शिवनाथ पाण्डेलाई डेपुटी गभर्नर बनाउनुपर्ने अडान राख्दै आएका थिए । पाण्डेले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूमध्ये एकमात्र चार्टर्ड एकाउन्टेन्सी गरेका छन् ।

यसअघि सरकारका सरकारले चार्टर्ड एकाउन्टेन्सी गरेकालार्इ डेपुटी गभर्नरमा प्राथिमकता दिएका थिए । तर, अोली सरकारले गभर्नर नेपाललाई थप दबाब दिने उद्देश्यले पाण्डेको साटो शिवराज श्रेष्ठलाई नियुक्ति गरेको हो ।

को हुन् सिवाकोटी ?

वि.सं. ०२२ साल साउन ६ गते तेह्रथुमको आठराईमा जन्मिएका सिवाकोटी ०४४ साल चैत ७ गते राष्ट्र बैंकको नोकरीमा प्रवेश गरेका हुन् ।

Chintamani-siwakotiप्रधानमन्त्री ओलीसँग सिवाकोटीको भौगोलिक, बैचारिक र व्यक्तिगत निकटता छ । ओली र सिवाकोटी दुबै तेह्रथुमको आठराइबाट बसाईँ सरेर तराई झरेका हुन् ।

सिवाकोटीको स्थायी घर पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको निर्वाचन क्षेत्रअन्तरगत मोरङको अमरदह हो । प्रधानमन्त्री ओलीकै ईच्छामा गभर्नर नेपालले उनको नाम डेपुटी सिफारिस गरेका हुन् ।

सिवाकोटी विद्यालय पढ्दादेखि नै वामपन्थी आन्दोलनमा सक्रिय थिए । १० कक्षा पढ्दा उनी अनेरास्ववियुको स्कुल कमिटी अध्यक्ष भएका थिए । त्यसपछि नेपाल कमर्श क्याम्पस मीनभवनमा पढ्दा ०४३ सालमा अनेरास्ववियुका तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सह-सचिवमा निर्वाचित भएका थिए ।

राष्ट्र बैंकमा ०४४ मा प्रवेश गरेपछि पनि उनी वामपन्थी संगठनमै आवद्ध भए । त्यसबेला राष्ट्र बैंकमा वाम कर्मचारीको नेतृत्व दीपेन्द्रबहादुर क्षेत्रीले गरेका थिए । सिवाकोटीले त्यसबेला क्षेत्रीले नेतृत्व गरेको कमिटीका सहसचिव भएर काम गरे । क्षेत्री गभर्नर भइवरि सेवानिवृत्त भइसकेका छन् ।

जागिरे जीवनमा आन्तरिक लिखित प्रतिस्पर्धामा हरेकपटक भिडेरै बढुवा पाएका सिवाकोटी ०७२ भदौ ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए । राष्ट्र बैंकका १६ जना कार्यकारी निर्देशकमध्ये उनी १२औं बरियतामा थिए ।

नेपालबाटै कानूनमा एलएलबी, बिजनेस प्रशासनमा एमए, अर्थशास्त्रमा एमएसम्मको अध्ययन पूरा गरेका सिवाकोटीले ०६१ मा अमेरिकाबाट वित्तीय तथा मौदि्रक नीतिलाई मुख्य विषय बनाएर ‘विशिष्ठ श्रेणी’मा वित्तीय व्यवस्थापनमा एमबीएसम्मको अध्ययन पूरा गरेका छन् ।

ओलीनिकट शिवराज

कांग्रेसनिकट मानिए पनि नवनियुक्त डेपुटी गभर्नर श्रेष्ठ प्रधानमन्त्री केपी ओलीसँग निकटको साइनो छ । प्रमपत्नी राधिका शाक्य पनि राष्ट्र बैंककै पूर्वकर्मचारी हुन् ।

shibaraj-shresthaकाठमाडौंकै रैथाने परिवारका शाक्य र श्रेष्ठले लामो समय राष्ट्र बैंकको एउटै विभागमा काम गरेका थिए । त्यसबेला उनीहरुबीच अत्यन्तै निकट सम्बन्ध थियो । प्रधानमन्त्रीपत्नीको निकटताका कारण शिवराजलाई डेपुटी गभर्नर बनाइएको बताइन्छ।

नवनियुक्त श्रेष्ठ कांग्रेसका प्रकाशमान सिंह, चिनकाजी श्रेष्ठ, भीमसेन दास प्रधानलगायतका नेताहरुसँग पनि निकट छन् । त्यस्तै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग पनि उनी निकट मानिन्छन् ।

काठमाडौंमा ०२३ साल साउन १५ गते जन्मिएका श्रेष्ठले ०४६ माघ ८ गते राष्ट्र बैंकमा नोकरी सुरु गरेका थिए । ०७० मंसिर १० गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए ।

त्रिभुवन विश्व विद्यालयबाट ०५० सालमा अर्थशास्त्रमा एमए गरेका श्रेष्ठले ०५१ मा भारतबाट बैंक व्यवस्थापन विषयमा डिप्लोमा गरेका छन् । त्यसैगरी, ०५६ मा बेलायतबाट बिजनेस फाइनान्समा एमबीएसम्मको अध्ययन पूरा गरेका छन् ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment