Wednesday, March 2, 2016

कांग्रेस यसकारण धनीहरूको पार्टी होः डा. पोखरेल

२० फागुन, काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष एवं अर्थशास्त्री डा. गोविन्दराज पोखरेलले कांग्रेस गरिबहरूको पार्टी नभई धनीहरूको पार्टी भएको बताएका छन् । कांग्रेसले सबै जनतालाई धनी बनाउने भएकाले कांग्रेस धनीहरूको पार्टी भएको उनको दाबी छ ।

कांग्रेसको १३औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवारसमेत रहेका पोखरेलले कांग्रेस वामपन्थीहरूजस्तो गरिब बढाएर उनीहरूमाथि नै राजनीति गर्ने दल नभएको दाबी गरे ।

‘वामपन्थीहरू गरिबका पार्टी हुन्, गरिबीको अन्त्य भएपछि उनीहरूको अस्तित्व रहँदैन,’ पोखरेलले भने, ‘कांग्रेस पुँजीवादी पार्टी हो । किनभने, कांग्रेस सबै गरिबलाई धनी बनाएर मुलुकबाट गरिबी हटाउन चाहन्छ ।’

वामपन्थी दलहरूले आफूले गरेको स-सानो कामलाई पनि प्रचार गरेर ब्रान्ड बनाएको तर कांग्रेसले ठुल्ठूला काम गरेर पनि प्रचार नगरेका कारण ओझेलमा परेजस्तो देखिएको उनको धारणा छ । कांग्रेस गरबलाई २-४ हजार बाँडेर सस्तो लोकपि्रयता कमाउनेतिर भन्दा पनि मुलुकको दिगो विकासबारे सोच्ने पार्टी भएको उनी बताउँछन् ।

कांग्रेसबारे पोखरेलको विश्लेषण-

सुशीलका पालामा १५ खर्ब लगानीको वातावरण बन्यो

सुशील कोइराला प्रधानमन्त्री हुँदा मुलुकमा आर्थिक विकासको अर्को ढोका खुल्यो । पहिलो कुरा मुलुकले संविधानसभामार्फत नयाँ संविधान पायो । त्यति मात्र होइन, उहाँको पालामा तत्कालै १५ खर्ब रुपैयाँ बराबरको लगानीका लागि ढोका खुलेको छ । २० खर्बको कुल गार्हस्थ्य उत्पादन भएको देशमा १५ खर्ब लगानी भित्र्याउने वातावरण बनाउनु भनेको निकै महत्त्वपूर्ण कुरा हो ।

कांग्रेसले अब दिनुपर्ने जोड

कांग्रेसले मूलतः अब चारवटा काम गर्नुपर्छ । दोस्रो चरणको सुधारका कार्यक्रम व्यापक रुपमा सञ्चालन गर्नुपर्छ । त्यसपछि समाजवादका तीन अवयवलाई सँगसँगै बढाउनुपर्छ । विद्युत्को उत्पादन र प्रसारण-लाइनमा कांग्रेसले विशेष जोड दिनैपर्छ । सुशील कोइराला नेतृत्वमा भारतसँग विद्युत् व्यापार सझौता भइसकेको छ । अन्तरदेशीय प्रसारण-लाइन निर्माण गर्ने सम्झौता भइसकेको छ ।

अर्को भनेको पर्यटन नै हो । विश्वको २५ प्रतिशत जनसंख्या रहेका छिमेकी देशका पर्यटक भित्र्याउन सक्ने प्रोडक्टहरू बनाउन सक्नुपर्छ । भारतले गाडी बनाउँछ भने हामीले गाडीको सिट त बनाउन सक्छौं नि ! उत्पादन बढाउनका लागि विदेशबाट आउने रेमिट्यान्स उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्छ । त्यसका लागि लगानीको सुरक्षा गर्ने नीति अवलम्बन गर्नुपर्छ । लगानीको सुरक्षाका विषयमा समाजवादको दोस्रो आयामले कभर गर्छ ।

पहिलो चरणको सुधारमा कांग्रेसले ठूलो लगानी भित्र्याउन खोजेको हो । अब स-सानो लगानीलाई पनि प्रोत्साहन र सुरक्षा दिनुपर्छ । उत्पादन बढाएर छिमेकी देशसँग अन्तरनिर्भरताको स्थिति सिर्जना गर्नुपर्छ । व्यापारमा अन्तरनिर्भरता भयो भने राजनीतिक बाधा-व्यवधानहरू स्वत हट्छन् ।

अहिलेको आवश्यकता भनेको लगानी, लगानी र लगानी नै हो । जनताको प्रतिव्यक्ति आम्दानी नबढाई जनताको खुसी जित्न पनि सकिँदैन । हामीले आर्थिक समृद्धिको अबको मौका चुकायौं भने अरुले ओभरटेक गर्न सक्छन् । त्यसैले यो महाधिवेशनपछि कांग्रेस आर्थिक विकासमा केन्दि्रत हुनुपर्छ ।

कर्मचारीतन्त्रलाई निजी क्षेत्रमैत्री

हाम्रा सरकारी सेवामा कार्यरत कर्मचारीलाई निजी क्षेत्रबारे पर्याप्त ज्ञान छैन । उहाँहरू ल्ोकसेवाको कोर्स पढेर स्थायी जागिर खान पुग्नुभएको हो । निजी क्षेत्रको फाइल एक महिना अड्काउँदा कस्तो असर पर्छ ? यसबारे कर्मचारीलाई ज्ञान दिलाउनु अत्यावश्यक छ । जबसम्म कर्मचारी तन्त्रलाई निजी क्षेत्रको साथी बनाउन सकिँदैन, तबसम्म जतिसुकै राम्रा नीति ल्याए पनि लगानी भित्रिन कठिन हुन्छ ।

कहाँ चुक्यो कांग्रेस ?

०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले आफ्ना राजनीतिक तथा आर्थिक सुधारका काम सुरु गर्‍यो । त्यसैको प्रभाव स्वरुप मुलुकमा २३० वर्षपछि ०५६ सालमा ७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त भएको थियो । जुन हालसम्मकै उच्च आर्थिक वृद्धिदर हो । केही सुधारका काम भइरहेका थिए ।

त्यतिबेलै माओवादीले ध्वंसात्मक आन्दोलन सुरु गर्‍यो । माओवादी आन्दोलनले मुलुकमा राजनीतिक अस्थिरता बढ्यो । राजनीतिक अस्थिरताले सुधारका काम प्रभावित भए । जबसम्म राजनीतिक समस्याको राजनीतिक रुपमै व्यवस्थापन हुँदैन, तबसम्म नीतिहरू कार्यान्वयन गर्न सकिँदैन ।

गाउँमा गरिखाने मान्छे, उद्योग सञ्चालन गर्न खोज्ने उद्यमशील मान्छे माओवादी आन्दोलन, चन्दा-अपहरण र असुरक्षालगायत कारण बस्न सकेनन् । उद्यमशील मान्छेलाई शोषकका रुपमा हेरियो । कुनै पनि व्यक्ति उद्यमी बन्नु भनेको सिंगो राष्ट्रलाई फाइदा हुनु हो । उद्यमी मान्छेले सरकारलाई कर तिर्छन्, जसले गर्दा राष्ट्रको ढुकुटी बलियो हुन्छ ।

नीतिगत रुपमा कांग्रेस कहीँ पनि चुकेको छैन । कांग्रेसले सुरु गरेको नीतिलाई सबैले स्वीकार गरिसकेकाले यो मान्यता नै स्थापित भइसकेको छ । कांग्रेस अन्तर्राष्ट्रिय मूल्य-मान्यता अनुसार पनि छ । तर, मुख्य राजनीतिक दल भएर पनि माओवादी द्वन्द्वको राजनीतिक व्यवस्थापन गर्न ढिलो गरेर कांग्रेस चुकेको हो । हुन त माओवादी द्वन्द्वको व्यवस्थापन कांग्रेसले नै गर्‍यो । तर, त्यो निकै ढिलो भयो । कांग्रेस नचुक्दो हो त माओवादी द्वन्द्वको व्यवस्थापन १० वर्षअघि नै हुन्थ्यो । ०५४/५५ सालतिरै माओवादी द्वन्द्वको राजनीतिक व्यवस्थापन भएको भए आज देश यो अवस्थामा हुने नै थिएन ।

निजीकरण नै आर्थिक विकासको सूत्रधार

निजीकरणलाई गलत व्याख्या गरेर कांग्रेसलाई पुँजीपतिहरूको पार्टीको बिल्ला भिराइएको मात्रै हो । त्यसबेला उदारीकरण सुरु नगरेको भए आज हाम्रो अर्थतन्त्रको आकार निकै सानो हुन्थ्यो । निजीकरणले उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने प्रक्रिया सुरु हुँदै थियो । तर, माओवादी द्वन्द्वले निजी लगानीकर्ताहरू आतंकित भए, जसकारण निजी लगानी बढ्ने माहोल नै बनेन ।

समाजवादका तीन आयाम

अहिले धेरैले कांग्रेसलाई समाजवाद छाड्यो भन्छन् । समाजवाद अमूर्त छ । समाजवाद भनेको सबैलाई बराबर खान-लाउन दिने भन्ने जनबुझाइ छ । वास्तवमा समाजवाद त्यो होइन । समाजवादभित्र तीन आयाम छन् । उत्पादन, सामाजिक सुरक्षा र वितरण समाजवादको मूल लक्ष्य हुन् ।

सुधार सुरु गरियो तर माओवादी द्वन्द्वले निम्त्याएको राजनीतिक अस्थिरताका कारण समाजवादको पहिलो आयाम -उत्पादन) नै गर्न सकिएन । सहरमा स्थापना भएका उद्योगमा मजदुर संगठनका नाममा हडताल गरेर दुःख दिइयो । गाउँमा भएको सिर्जनशील मान्छेहरूलाई त्यहाँबाट लखेटियो । ठीक त्यही बेला दातृ निकायले गाउँगाउँमा गैरसरकारी संस्था खुले ।

सुरुमा उनीहरूले सामाजिक काम गरे, जसले सिर्जनशील युवालाई सरल काममा लगाए । मान्छेहरू जागिरमा लाग्न थाले । उद्यमीहरू जागिरमा लागे । यदि कांग्रेसले माओवादी द्वन्द्वको व्यवस्थापन त्यसबेलै गर्न सकेको भए गाउँका उद्यमशील मान्छेहरू विदेश र सहर पलायन हुने थिएनन् ।

समाजवादको पहिलो लक्ष्य भनेको पुँजी उत्पादन गर्नु हो । जब उत्पादन बढाएर राष्ट्रको ढुकुटी भरिन्छ, तब जनताको सामाजिक सुरक्षा र बिमामा खर्च बढाउनुपर्छ भन्ने हो ।

औषधि नपाएर रोगले र खान नपाएर भोकले कोही पनि नमरोस् भन्ने नै बीपीको समाजवादको लक्ष्य हो । उत्पादन बढाउन नसक्दा २००० वर्ष पुरानो गि्रसको प्रजातन्त्र संकटमा पर्छ कि जस्तो भएको छ । हाम्रो प्रजातन्त्र त बल्ल चार-पाँच वर्षको थियो । कांग्रेसको काँधमा प्रजातन्त्रलाई संस्थागत आर्थिक सुधार र राजनीतिक व्यवस्थापन गर्नुपर्ने दायित्व थियो । नेताहरू जेलनेल बसेर आएका हुनाले कांग्रेसका नेतासँग राजनीतिक व्यवस्थापन गर्ने क्षमता प्रदर्शन गर्न सकेनन्, किनभने उनीहरू पनि सिक्दै थिए । सानो बच्चाले क-ख सिक्दा धेरै पेन्सिल भाँच्छ नि, त्यस्तै भयो ।

कांग्रेसले नै बुझेनन् बीपीको समाजवाद

कांग्रेसले ल्याएका सुधारका कार्यक्रम राम्रा थिए । तर, कांग्रेसभित्रकै कतिपय मान्छेले समाजवादको गुदी पूर्णरुपमा बुझिसकेका पनि थिएनन् ।

शिक्षा, स्वास्थ्यजस्ता सामाजिक आयाम पनि कांग्रेसले सुरु गरेको थियो । विकेन्द्रीकृत शासन प्रणालीको थोरबहुत प्रयास पनि कांग्रेसले नै गरेको हो । सुरुमा कांग्रेसले गाविसमा ५० हजार रुपैयाँ दिएको थियो । गाउँहरूमा खर्च गर्न सक्ने क्षमताको विकास गर्दै बजेटको आकार बढाउँदै लानुपर्छ भन्ने कांग्रेसको नीति थियो । तर, सस्तो लोकपि्रयताका लागि एमाले सरकारले त्यसलाई बढायो । व्यवस्थापन गर्ने क्षमता नभएकाले बजेटको आकार बढाएपछि गाउँगाउँसम्म भ्रष्टाचारले जरा गाड्यो । पैसा बाँडेर कहिल्यै पनि देश र जनताको हित हुँदैन । कालिकोटका दुर्गम गाउँमा एमबीएस डाक्टर पठाउने कि कालिकोटका मान्छेलाई हेलिकप्टर चढेर अन्यत्र स्थानमा उपचार गर्न आउन सक्ने बनाउने ?
(पुष्प दुलालसँग कुराकानीमा आधारित)


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment