काठमाडौँ : भदौ १७ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा फेरि एकपटक उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच जुहारी चल्यो। यसअघि पनि बालुवाटार बैठकमा संविधान संशोधनको विषयमा नेपालका प्रधानमन्त्रीको भारतीय प्रधानमन्त्रीलाई पत्राचार भएको भन्ने विषयमा जुहारी गरेका निधि र रावल समितिमा पनि उस्तै गरी प्रस्तुत भए।
शुक्रबार संसदीय समितिमा मन्त्री निधि र उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीले विशेष दूतको रुपमा पठाएको भारत र चीन भ्रमणबारे जानकारी दिए। उनीहरुले भ्रमणमा भएको भेटघाट र कुराकानीबारे जानकारी दिए। साथै दुवै देशका राष्ट्रपतिलाई भ्रमणको निम्ता दिइएको बताए।
एमाले उपाध्यक्षसमेत रहेका भीम रावलले भारतीय प्रधानमन्त्रीलाई नेपालका प्रधानमन्त्रीले पठाएको पत्र सार्वजनिक गर्न माग गरे। उनले विशेष परिस्थिति भन्दै भएको भ्रमणले समस्या बल्झाउन सक्ने भन्दै राष्ट्रियतामा ख्याल गर्न आग्रह गरे।
एमालेकै राजन भट्टराईले सरकार परिवर्तन लगत्तै उपप्रधानमन्त्रीको तहका विशेष दूत पठाउँदा भविष्यमा पनि छिमेकीको अपेक्षा बढ्न जाने देखिएको उल्लेख गरे। ‘गलत सन्देश गएको छ, कर्मचारीलाइ पठाउनुपर्थ्यो’, उनले भने।
सांसद चुडामणि बिक जंगलीले पनि विशेष परिस्थिति प्रष्ट्याउन माग गरे। साथै फास्ट ट्र्याकको विषय प्रवेश गराए। उनले निधिको बुबा महेन्द्रनारायण निधिसँग आफ्नो विगतमा सम्बन्ध रहेको उल्लेख गर्दै प्रजातन्त्रमा योगदान गरेको मान्छेले ‘स्वेदशको खाएर विदेशको’ गीत गाएको आरोप लगाए।
लगत्तै जवाफ दिने क्रममा निधिले आफूले कुटनैतिक क्षेत्रमा छलफल गरेको उल्लेख गर्दै पत्र सार्वजनिक गर्नु नपर्ने अवस्था जानकारी गराए।
‘तपाइँहरु पनि भविष्यमा सरकारमा जानुहोला। विदेश मन्त्रालय सम्हाल्दा मन्त्रीले पनि सबै कागजात हेर्न पाउँदैन’, निधिले जवाफ दिए।
उनले संविधान संशोधनको विषयमा चर्चा नभएको दावी दोहोर्याशए। साथै पत्र सार्वजनिक गर्ने विषयले गलत परम्परा सुरु हुन सक्ने उल्लेख गरे।
त्यसपछि निधिले एमाले सांसदहरुलाइ व्यङ्ग गर्न थाले। ‘मार्क्स र लेनिनका शिष्यहरुले उठाएका राष्ट्रवादमा कुनै प्रश्न उठाउन चाहन्न’, निधिले भने, ‘प्रजातन्त्र, लोकतन्त्र र राष्ट्रवादमा पाठ आवश्यक छैन।’
उनले ‘चीन र भारतमा एकै विषय राख्दा चीनसँग सम्बन्ध उच्चस्तरको हुने, त्यही विषय भारतमा पेश गर्दा स्वाभिमान विपरित कसरी हुन्छ’ प्रश्न तेर्स्याउँदै थपे, ‘एमालेका साथीहरुको बुझाई ठीक लागेन।’
उनले राजदूत फिर्ता भएको अवस्था र राष्ट्रपतिको निर्धारित भ्रमण रद्द भएको अवस्था र नयाँ सरकार गठन भएको अवस्था विशेष परिस्थिति भएको तर्क गरे।
निधिले आफ्नो भ्रमणका क्रममा फास्ट ट्र्याकको फ पनि उच्चारण नभएको बताए। ‘अरुण तेश्रोमा कतिपय दलको राष्ट्रवादले लोडसेडिङ भइरहेको छ’, निधिले भने, ‘बेहोस तर्कले फास्ट ट्र्याक नबन्नेतिर गइरहेको छ।’
सांसदको प्रतिप्रश्न
निधिले जवाफ दिने क्रममा पार्टीको नाम लिए लगत्तै एमाले उपाध्यक्ष समेत रहेका सांसद भीम रावलले आपत्ति जनाए।
‘यो नेकपा एमाले र कांग्रेसको समिति होइन यो संसदीय समिति हो, गरिमा राखेर कुरा गर्नुस्’, रावलले भने, ‘एमालेको बैठकको निर्णयमा चीन गएकोमा राम्रो, भारत गएकोमा नराम्रो भनेको छैन। तपाईँलाई कसले जानकारी दियो?’
रावलले वाद र विचारधारालाई होच्याइएको भन्दै एमाले नेताको हैसियतमा नभई सांसदको हैसियतमा बोलेको तर्क गरे। ‘संसदीय समितिमा सिद्धान्तहिन कुरा मन्त्रीले गर्न भएन’, उनले भने।
रावलले फास्ट ट्र्याकका विषयमा संसदीय समितिले बैठक राखे प्रस्तावित मोडलमा छलफल गरेर राष्ट्रघात र राष्ट्रवादमा छलफल गर्न तयार रहेको जिकिर गरे।
सांसद चुडामणि बिक जंगलीले निधिले मार्क्सवाद र लेनिनवाद एमालेको विचारको रुपमा अर्थ्याएकोप्रति विरोध गर्दै सोधे – ‘प्रजातन्त्र र लोकतन्त्र विपिले उत्पादन गरेको विचार हो?’
निधि र एमाले सांसदहरुको तर्क सुनिरहेकी सांसद गीता वाग्लेले सभापति प्रभु शाहसँग समय लिएर भनिन् – यो जुहारी खेल्ने ठाउँ होइन। जवाफमा प्रतिप्रश्न गर्ने अधिकार सांसदलाइ छ तर उपप्रधानमन्त्रीलाई लाञ्छना लगाउन पाइन्न।
उपप्रधानमन्त्री निधिको जवाफ
सांसदहरुको प्रतिप्रश्नमा जवाफ दिने क्रममा भने निधिले दलको नाम लिएनन्।
उनले भने – मैले मार्क्सवाद लेलिनवादलाई होच्याएको होइन। राष्ट्रवादमा प्रश्न उठाएको होइन। विपीको चेला हुँ भनेको हो। ‘मेरो बाबुको नामसँग जोडेर एक दलका नेताले प्रश्न गर्नुभयो। उहाँले यस्तो प्रश्न गर्नुभयो कि म सबै काम विदेशीका लागि गर्छु। त्यो रेकर्डबाट डिलिट गर्नुपर्छ’, निधिले भने।
उनले आफूले पनि मार्क्सवाद पढेको दावी गरे। एमाले सांसदहरु र उपप्रधान तथा गृहमन्त्री निधिको बहस अघि नै उपप्रधान तथा गृह मन्त्री कृष्णबहादुर महरा भने काम विशेष उल्लेख गर्दै बाहिरिएका थिए।
निर्णयमा रावलको हस्तक्षेप
समितिको छलफलपछि सभापति प्रभु शाहले कुटनीतिक सन्तुलनका लागि र सम्बन्ध सुधारका लागि सरकारको ध्यानाकर्षण गराउन प्रस्ताव गरे। तर रावलले सुधार भन्ने शब्दमा चित्त बुझाएनन्।
रावलले ‘सम्बन्ध सुदृढ र सुमधुर बनाउन’ राखिनुपर्ने जिकिर गरे। उनले पञ्चशीलको सिद्धान्त र संयुक्त राष्ट्रसंघको बडापत्रको आधारमा सम्बन्ध निभाउने विषय उल्लेख गर्नुपर्ने बताए।
रावलले हस्तक्षेप गरेपछि सभापतिले सबैको सुझावका आधारमा भाषा मिलाएर निर्णय लिइने जानकारी गराए।
from Nepal123.com - उपप्रधानमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच फेरि चल्यो जुहारी
No comments:
Post a Comment