काठमाडौँ, १७ भदौ । नेपाल चिकित्सक सङ्घको उपत्यका बाहिरको चुनाव आजबाट सुरु भएको छ ।
आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयनका लागि सङ्घको चुनाव उपत्यका र जिल्ला गरी दुई चरणमा हुने तालिकाअनुसार आज र भोलि हुन लागेको हो ।
उपत्यका बाहिर आज र भोलि चुनाव भएपछि उपत्यकामा यही भदौ २१ देखि २५ गतेसम्म हुनेछ ।
आज र भोलि झापा, विराटनगर, धरान, जनकपुर, लहान, राजविराज र वीरगन्ज, चितवन, बुटवल, पोखरा, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढी र जुम्लामा निर्वाचन भइरहेको छ ।
सङ्घको १३ पदाधिकारीका लागि दुईवटा प्यानलबाट २६ र एक स्वतन्त्र गरी २७ जनाको उम्मेदवारी परेको छ । कोसीमा एकजनाको स्वतन्त्र उम्मेदवारी परेको हो । निर्वाचन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ ।
सङ्घमा हाल पाँच हजार ३०५ जना मतदाता रहेका छन् । मध्ये उपत्यका बाहिरको मतदाता सङ्ख्या एक हजार ५००को हाराहारीमा रहेको छ ।
नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका दुई चरणको निर्वाचनमा प्रजातान्त्रिक चिकित्सक समूह र पेसागत समावेशी चिकित्सक समूह र प्रतिस्पर्धामा छन् ।
तीन वर्ष कार्यकालका लागि १३ सदस्यीय कार्यसमितिका निम्ति दुवै समूह उम्मेदवारी घोषणा गरेर निर्वाचन प्रचारप्रसारमा लागेका छन् ।
काँगे्रस निकट मानिएको प्रजातान्त्रिक समूहबाट डा मुक्तिराम श्रेष्ठ र पेसागत समावेशी चिकित्सक समूहबाट डा रमेश ढकाल अध्यक्ष पदका लागि प्रतिस्पर्धामा उत्रनुभएको छ ।
यसैगरी प्रजान्त्रिक समूहबाट वरिष्ठ उपाध्यक्षमा डा ढुण्डी पौडेल, उपाध्यक्षमा डा मुकुन्द दाहाल, महासचिवमा डा लोचन कार्की, कोषाध्यक्षमा डा रश्मीप्रसाद यादव, सहसचिवमा डा अभिमन्यु झा र सहकोषाध्यक्षमा डा प्रकाश बुढाथोकी रहनुभएको छ भने समावेशी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा डा सन्तोष पौडेल, उपाध्यक्षमा डा सिवेन्द्र झा, महासचिवमा डा अजयकुमार मिश्र, कोषाध्यक्षमा डा रक्षा श्रेष्ठ, सहसचिवमा डा शैलेशमणि पोखरेल र सहकोषाध्यक्षमा समीर शर्माले चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
अध्यक्षका प्रतिस्पर्धी डा मुक्तिराम श्रेष्ठले संविधानले व्यवस्था गरेअनुसार स्वास्थ्य सेवा सबैको अधिकार भएकाले त्यसको कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।
उहाँले चिकित्सक र स्वास्थ्य संस्थाको सुरक्षाका लागि अगाडि बढी र चिकित्सक र बिरामीबीचको सम्बन्ध सुधार्न आवश्यक भएकाले त्यसतर्फ लाग्ने उल्लेख गर्नुभयो ।
अर्का अध्यक्षका प्रतिस्पर्धी डा रमेश ढकालले स्वास्थ्य क्षेत्रमा रहेका विसङ्गतिलाई हटाउन आफूले उम्मेदवारी दिएको बताउनुभयो । चिकित्सा पेसामा परिवर्तन गर्न आवश्यक रहेकाले त्यसका लागि लाग्ने उहाँको भनाइ छ ।
विसं २००७ मा स्थापित सङ्घमा अहिलेसम्म प्रजातान्त्रिक प्यानलले चुनाव जित्दै आएको छ । यसपटक पनि दुई तिहाइ बहुमतले जित्ने डा श्रेष्ठले बताउनुभयो । देशभर १७ हजार चिकित्सक भए पनि सबैलाई सङ्घमा आबद्ध गराउनु दुवै प्रतिस्पर्धी समूहका लागि चुनौतीको विषय हो ।
from Nepal123.com - चिकित्सक सङ्घको निर्वाचन आजबाट सुरु
No comments:
Post a Comment