Friday, September 2, 2016

तनहुँमा नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

Fake Licence
१७ भदौ,तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँले नक्कली सवारी अनुमति पत्र बनाउने गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । गत सोमबार पृथ्बीराजमार्गस्थित तनहुँको कोत्रे भन्ने ठाउँमा एक ट्रक चालकलाई कार्वाही गर्दा नक्कली लाइसेन्स बनाउने गिरोहबारे खुलेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ग १ क २४७३ नम्बरको ट्रकका चालक प्रेम गुरुङको लाइसेन्स जाँच गर्दा शंकास्पद देखिएपछि अनुसन्धान गर्दा उक्त लाइसेन्स नक्कली भएको भेटिएको थियो । ०३-५२१४७८ नम्बरको उनको लाइसेन्स भेरी अञ्चल यातायात कार्यालयबाट जारी भएको उल्लेख थियो । तर, अनुसन्धान गर्दा उक्त नम्बरको लाइसेन्सको कुनै पनि विवरण भेरी अञ्चल यातायात कार्यालयमा नभेटिएपछि प्रहरीले गुरुङलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा प्रेमले उक्त लाइसेन्स भिनाजु नाता पर्ने धनकुमार गुरुङले बनाइदिएको बयान दिएपछि प्रहरीले लाइसेन्स बनाउने गिरोहको खोजि गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलिले गत बुधबार धनकुमार गुरुङलाई पनि नियन्त्रणमा लियो । उनको साथबाट पनि ०३-५२१४१२ नम्बरको लाइसेन्स बरामद भयो । उक्त लाइसेन्सको पनि कुनै विवरण यातायात कार्यालयमा नभेटिएपछि धनकुमार पनि प्रहरीको फन्दामा परेका थिए ।

धनकुमारले आफूसँग भएको जस्तै लाइसेन्स अन्य व्यक्तिसँग पनि भएको बयान दिएपछि प्रहरीले नक्कली लाइसेन्स बनाउने खास गिरोहको खोजिलाई तिव्र बनायो ।
अर्का अभियुक्त धनबहादुर गुरुङ पनि ०५-६३५५१९ नम्बरको नक्कली लाइसेन्स सहित पक्राउ परेका थिए ।

ड्राइभिङ इन्स्टिच्युटले बनाइदिन्छ नक्कली लाइसेन्स

Munal Driving

नक्क्ली लाइसेन्स बोक्ने ३ जना लगातार पक्राउ परेपछि प्रहरीले ति लाइसेन्स बनाउने गिरोहको खोजि गर्‍यो । नक्कली लाइसेन्स बोकेको आरोपमा पक्राउ परेकाहरुले उक्त लाइसेन्स पोखरा रामबजारस्थित मुनाल ड्राईभिङ इन्स्टिच्युटबाट बनाएको बयान दिएपछि नक्कली लाइसेन्सको थप रहस्य खुल्यो ।

प्रहरी मुनाल ड्राइभिङ इन्स्टिच्युट खोज्दै पोखरा पुग्यो र सञ्चालक बिनोद खड्कालाई पक्राउ गर्‍यो । खड्काले लामो समयदेखि पोखरा नयाँबजारस्थित दिपशिना प्रिन्टर्सका सञ्चाकलसँग मिलेर नक्कली लाइसेन्स बनाउने गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रिन्टर्स सञ्चालक दिपक पौडेल आफैंले लाइसेन्सको डिजाइन गर्ने र यातायात व्यवस्था कार्यालय भेरीको नक्कली छाप लगाएर नक्कली लाइसेन्स बनाउने गरेको खुलेको छ ।

Dipshana press

 

ड्राइभिङ इन्स्टिच्युटमा ड्राइभिङ सिक्न आउनेलाई लाइसेन्स बनाइदिने जिम्मा उनैले लिने गरेका थिए । पौडेलले यातायात कार्यालयको छाप समेत लगाइएको नक्कली लाइसेन्स खड्कालाई पाँच हजारमा बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । खड्काले भने उक्त लाइसेन्स १० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेको भेटिएको छ ।

प्रिन्टर्स सञ्चालक पौडेलको साथबाट यातायात व्यवस्था कार्यालय भेरीको नक्कली छाप, शाखा अधिकृत, नविकरण, परिक्षणकाल लेखिएका नाइलन छाप तथा विभिन्न क्याम्पसका छाप समेत बरामद गरेको छ ।

उनको साथबाट अन्य नक्कली लाइसेन्स तथा एसएलसीका मार्कसिट र सर्टिफिकेट बनाउन प्रयोग हुने कम्प्युटर पनि बरामद गरेर कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।



from Nepal123.com - तनहुँमा नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

No comments:

Post a Comment