Thursday, March 24, 2016

डोटीमा चितुवा मृत फेला

११ चैत, भीमदत्तनगर । डोटीको सानागाउँ गाविसमा एउटा चितुवा मृत अवस्थामा भेटिएको छ । जिल्ला वन कार्यालय, डोटीले दिएको जानकारीअनुसार बुधबार सानागाउँ जङ्गलस्थित खोला किनारमा चितुवा मृतावस्थामा भेटिएको हो ।

जिल्ला वन कार्यालय, डोटीका प्रमुख वन अधिकृत बद्री कार्कीले चितुवा मारेको नभई एकापसमा लडेर घाइते भएको हुनसक्ने जानकारी दिए ।

‘चितुवा मरेको बारे प्रहरीलाई जानकारी आएपछि हामीकहाँ खबर आएको हो’, उनले भने, ‘सो विषयमा विस्तृत अनुसन्धान हुँदैछ ।’ रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

साउनदेखि आइपिओको शेयर परे पछि मात्र पैसा तिर्नुपर्ने, के हो एएसबीए प्रणाली ?

नेपाल धितोपत्र बोर्डले साधारण शेयर आवेदनका दौरान शेयर बाँडफाँड पछि मात्र आवेदकको खाताबाट रकम खिच्ने व्यवस्था लागू गर्ने भएको छ । आगामी साउनदेखि धितोपत्र बोर्डले आवेदन फारममा नै बैंक खाता राख्न लगाएर शेयर माग गरेको रकम रोक्ने प्रणाली एएसबीए अर्थात एप्लिकेशन सपोर्टेड बाई ब्लक्ड एमाउण्ट प्रणाली कार्यान्वायनमा ल्याउन लागेको हो ।

अहिले शेयर आवेदकले आफ्नो खाता भएको बैंकको चेक बुझाउनुपर्ने नियम थियो । एएसबीए प्रणाली लागू भए पछि आवेदकको बैंक खातामा पैसा ब्लक गरिने भए पछि आवेदन फारम मात्र बुझाउँदा हुन्छ ।

बोर्डले बैंकको चेक जम्मा गर्ने, शेयर बाडँफाटँ भएपछि शेयर नपरेको रकम फेरि बिक्री प्रवन्धकमार्फत चेकबाटै फिर्ता गर्नुपर्ने प्रकृया लामो र झण्झटिलो भएको भन्दै यस्तो व्यवस्था  गर्न लागेको हो । नयाँ व्यवस्था लागू गरे पछि साधारण शेयर आवेदन प्रकृया छिटो र सहज हुनुका साथै आइपिओ निष्काशनका दौरान हुने अनियमितता नियन्त्रण हुने धितोपत्र बोर्डको बुझाई छ ।

मेरोलगानीसंग कुरा गर्दै धितोपत्र बोर्डको प्रवक्ता निरज गिरीले भने ‘साउनदेखि निष्काशन हुने साधारण शेयरमा यो व्यवस्था अनिवार्य गराउने गरि गृहकार्य भैरहेको छ । यस सम्बन्धमा राष्ट्र बैंक लगायतका निकायसंग छलफल चलिरहेको छ ।’

एएसबीए प्रणाली भनेको बैंक तथा वित्तीय संस्थामा निक्षेप रहेका लगानीकर्ताहरूले शेयरमा आवेदन दिंदा शेयर बाँडफाँटपछि आफूलाई शेयर परे बराबरको रकममात्र निक्षेप खाताबाट भुक्तान गरिदिने व्यवस्था सहितको बैंकिङ सेवा हो ।

यो प्रणाली लागू भए पछि आफूले मागे जति शेयर नपरेमा शेयर नपरेको रकम फिर्ता लिन फेरी आवेदन बुझाएको स्थानबाट चेक लिने तथा बैंकमा फेरी चेक जम्मा गर्न जानुपर्ने झण्झटको अन्त्य हुन्छ । यसका साथै शेयर निष्काशन गर्ने कम्पनीको चेक व्यवस्थापनमा हुने खर्च पनि कटौती हुन्छ ।

एएसबीए प्रणाली यस अघि नै सुरु गर्ने भनिए पनि साधारण शेयरमा डिम्याट अनिवार्य नगरी प्रणाली कार्यान्वायन हुन नसक्ने तर्फ मर्चेण्ट बैंकरहरुले बोर्डको ध्यानाकर्षण गराउँदै आएका थिए । अहिले सबै प्रकृया अघि बढिसकेको अवस्थामा एएसबीए प्रणाली लागू गराउन बोर्डले अग्रसरता देखाएको हो ।

बोर्ड प्रवक्ता गिरी भन्छन् ‘साउनदेखि साधारण शेयरका लागि डिम्याट खाता पनि अनिवार्य गरिएको अवस्थामा यो व्यवस्था पनि लागू भए पछि शेयर निष्काशन प्रकृया पारदर्शी हुनेमा हामी विश्वस्त छौं ।’

गिरीका अनुसार साधारण शेयर निष्काशन प्रकृया सहज बनाउँदै गर्दा त्यसको बाँडफाँड अवधि पनि छोट्याउने तयारीमा बोर्डले गृहकार्य गरिरहेको छ । साधारण शेयर निष्काशन तथा बाँडफाँडको अवधि छोट्याउँदा लगानीकर्ताको लगानी लामो समयसम्म बन्धक नहुने पक्का छ ।

तर बैंकहरु रियल टाइम ग्रस सेटलमेण्ट अर्थात आरटीजीएस प्रक्रियामा नजाँदासम्म भने एएसबीए प्रक्रिया लागू गर्न कठिनाइ हुने देखिन्छ । यो अवस्थालाई समाधान गर्न राष्ट्र बैंकले भुक्तानी तथा राफसाफ विभाग खडा गरेर आरटीजीएसलाई कार्यान्वयन गर्ने प्रकृया अघि बढाएकाले त्यस पछि मात्र यो व्यवस्था सहज रुपमा लागू हुने देखिन्छ ।

एएसबीए प्रणालीमा बैंकहरुको भुमिका महत्वपुर्ण हुने भएका कारण नियमकले बैंकहरुले गर्न सक्ने अनियमिततालाई भने नजिकबाट नियमन गरिरहनु पर्ने हुन्छ । लगानीकर्ताले लगानी गर्न चाहेको शेयर बराबरको रकम बैंकले आवेदकको निक्षेप खातामा रोक्का गरिदिन्छ । यसरी रोक्का गरिएको रकम फुकुवा नहुन्जेल लगानीकर्ताले चलाउन पाउने छैनन् ।

शेयर बाँडफाँटपछि लगानीकर्तालाई परेको शेयर बराबरको रकम बैंकले भुक्तानी गरिदिन्छ भने बाँकी रकम खातामा नै रहन्छ । यो प्रकृयामा बैंकसँग राम्रो पहिचान बनाएका आवेदकहरुले आफ्नो खातामा भएको रकमभन्दा बढी रकमका लागि पनि आवेदन दिन सक्ने भएकाले त्यसमा बोर्डले आँखा पुर्याउनै पर्ने हुन्छ । यो प्रणाली लागू भए पछि ओभरड्राफ्ट लोन तथा अरु विभिन्न किसिमका ऋणका आधारमा आवेदन दिन पाउने वा नपाउने भन्ने विषय अर्को बहसको विषय हुने देखिन्छ ।

एएसबीए सुविधा दिए वापत बैंकले महशुल लिने कि निशुल्क रुपमा यो सेवा दिने भन्ने सम्बन्धमा केही पनि उल्लेख छैन ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

जापमालाका दाना १०८ किन हुन्छन् ?

धार्मिक अनुष्ठान, जाप आदिमा ईश्वरको ध्यान, नाम १०८ नामले, १०८ दाना भयेको माला जप्दै गरिन्छ। यस्को कारण के हो ? १०८ नाम, १०८ दानाको जापमाला किन भन्ने कुरा “परमात्मा ईश्वर तत्व” नामक पुस्तकमा यसरी स्पष्ट पारीयेको छ।

सगुण ब्रह्म १२ आदित्यको रुपमा मानियेको भनियेको छ। यी आदित्यहरु अदितिका पुत्र थिए,जो बर्षका १२ महिनालाइ प्रतिनिधित्व गर्छन् ।

निर्गुण ब्रह्म ९ अन्कलाइ प्रतिनिधित्व गर्छ जसको जसरी गुणन गर्दा परिणाम ९ नै निस्किन्छ।

उदाहरण:-
९×१=९
९×२=१८ (१+८=९)
९×३=२७ (२+७=९)
९×४=३६ (३+६=९)
९×५=४५ (४+५=९)
९×६=५४ (५+४=९)
९×७=६३ (६+३=९)
९×८=७२ (७+२=९)
९×९=८१ (८+१=९)
९×१०=९०(९+०=९)
९×११=९९ (९+९=१८=१+८=९)
९×१२=१०८(१०+८=१८=१+८=९)

यहाँनेर आएर ९ अर्थात निर्गुण र १२ सगुण ब्रह्म मिलेका छन जस्ले १०८ संख्या निर्धारित हुन्छ र यसलाई जोडदा घटेर पुन: ९ मा सिमित हुन्छ। त्यसैले जापमालामा १०८ दाना हुन्छन्। तर मुलत: ९ अन्क नै प्रमुख छ जसको महत्व कहिल्यै कम हुदैन न त यसको विशेषता बदलिन्छ नै। यसले परब्रह्मको अपरिबर्तनिय यथार्थलाई प्रतिबिम्बित गर्छ। ती सबै जसको अस्तित्व छ ती ब्रह्म बाहेक केही होइनन चाहे दृश्य(सगुण) हुन अथवा अदृश्य (निर्गुण)।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

इन्धन कालोबजारीलाई रिहा गर्न माग गर्दै पूर्वमा आन्दोलन

११ चैत, विराटनगर । सहकर्मीको रिहाइको माग गदै पेट्रोलियम  ढुवानी चालक संघले विराटनगरमा इन्धनको ढुवानी बन्द गरेको छ । संघको बन्दका कारण तीन दिनदेखि पूर्वाञ्चलका १२ जिल्लामा इन्धन ढुवानी हुन सकेको छैन ।

एकसाता अघि विराटनगरको धिताल पेट्रोल पम्पबाट ट्यांकरमा डिजल हालिरहेको अबस्थामा १९ हजार लिटर बढी डिजलको टयाङ्कर चालकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई मोरङ प्रहरीले कालोबजारी ऐनअन्तर्गत मुद्दा समेत चलाएको छ ।

इन्धनको कालोबजारीमा संलग्न भएको आरोपमा मुद्दा चलाइएका मजदुरलाई छाड्न दबाब दिँदै चालक संघले इन्धनको ढुवानी बन्द गरेको हो । संघको बन्दका कारण पूर्वी नेपालका १२ जिल्लामा सञ्चालित पेट्रोल पम्पहरुमा इन्धनको अभाव शुरु हुन थालेको छ ।

भारतको बरौनीबाट इन्धन ल्याए पनि चालकहरुले नेपाल आयल निगमको क्षेत्रिय डिपोमा इन्धन खाली गर्ने र डिपोबाट इन्धान अन्यत्र लाने काम रोकेको निगमका क्षेत्रिय कार्यालय विराटनगरका प्रमुख भुवन रेग्मीले जानकारी दिए ।

‘बजारमा इन्धनको सहज आपूर्ति नभइसकेको अबस्थामा चालकहरुले गरेको बन्दका कारण इन्धन आपूर्तिमा थप समस्या आएको छ,’ प्रमुख रेग्मीले भने ।

विराटननरस्थित निगमको क्षेत्रीय डिपोबाट कोशी र सगरमाथा अन्तर्गत १२ वटा जिल्लामा इन्धन वितरण हुँदै आएको थियो ।

प्रहरीले इन्धनको कालोबजारीमा संलग्नलाई कुनै पक्षको दवावमा छोड्न नसक्ने मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्दिप भण्डारीले बताए ।

‘मध्यराति पम्पबाट इन्धनको कालोबजारीका लागि काम गरिन्छ भने यस्ता व्यक्तिलाई कानुनी कारबाही गरेर छाड्ने छु,’ उनले भने ।

साभारः अनलाईन खबर


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

गोरखा तुवाँलोले ढाकियो, श्वासप्रश्वासमा समस्या

११ चैत, गोरखा । तुवाँलोले डाँडाकाँडा ढाकेपछि श्वासप्रश्वास र आँखाले हेर्न समस्या भएको गोरखावासीले गुनासो गरेका छन् ।

विगत तीन दिनदेखि कुहिरोजस्तै बाक्लो तुवाँलो लाग्दा गोरखा बजारलगायत गाउँ गाउँका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ । धुवाँको पिरो जस्तै तुवाँलोले आँखा र नाक पिरो बनाएको मसेलका शीत्तल गुभाजुले बताए ।

उनले भने, ‘वातावरण प्रदूषणले गर्दा श्वासप्रश्वासमा केही असर पर्नुका साथै आँखा, नाक पिरो हुने समस्या छ । यस्तो हुनु जलवायु परिवर्तनका कारण हो कि अन्य कारण होला ?’

जङ्गलमा लागेको डढेलोको धुवाँले आँखा हेर्न समस्या भएको अनुमान गरिए पनि डढेलो नै नलागेका क्षेत्रमा पनि समस्या उस्तै रहेको स्थानीयवासीले टेलिफोनमा बताएका छन् ।

गोरखा नगरपालिका–५ हिलेपोखरीका ८६ वर्षीय नेत्रमणि आचार्यले अहिलेको जस्तो पिरो तुवाँलो पहिले कहिल्यै अनुभव नगरेको बताए । ‘पहिले पनि तुवाँलो लाग्थ्यो । तर अहिलेको जस्तो आँखा पोल्दैनथ्यो, पिरो हुँदैनथ्यो,’ उनले भने । बर्सेनि वसन्त ऋतु (चैत्र–वैशाख)मा तुवाँलो लागे पनि पिरो तुवाँलोको अनुभव अहिले मात्रै गरेको उनले बताए ।

हेलिकप्टर उडाउन पनि समस्या

तुवाँलोले सदरमुकाम आसपास क्षेत्रका साथै हिमाली भेगमा पनि असर पुर्याएको छ । प्रोकका पेमाडुण्डुप लामाले भने, ‘हावाहुरीपछि आएको तुवाँलोले एक्कासि ढाक्यो । आँखामा पिरो बनायो ।’ हिमाली भेगमा यसअघि तुवाँलो लाग्दैनथ्यो । ‘नजिकैका हिमाल पनि प्रष्ट देखिएन,’ उनले भने । उत्तरी भेगमा बुधबार हावाहुरी आएपछि तुवाँलो लागेको हो ।

जताततै तुवाँलोले ढाकेकाले डाँडाकाँडा नदेखिँदा हेलिकप्टर उडाउन समस्या हुने बताइएको छ । यस्तै बाक्लो तुवाँलोले गर्दा सडकमा सवारी साधन (मोटरसाइकल, स्कुटर) सञ्चालनमा पनि उत्तिकै समस्या भएको चालक बताउँछन् । केहीले आँखा सुरक्षित राख्न चस्माको प्रयोग गरेका छन् । रासस


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कपिलवस्तुमा ११ बर्षीया बालिका बलात्कृत

११ चैत कपिलवस्तु । कपिलवस्तुको हर्दौना गाविसमा ११ बर्षीया भारतीय बालिका बलात्कृत भएकी छन् ।

भारत सिद्धार्थनगरको अररी ग्राम पञ्चायत अन्तर्गत कप्सिहवाका ११ बर्षीया बालिकालाई हर्दौना गाबिस ८ मुजहनीका २२ बर्षीय बादशाह फकिरले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

भारतबाट मुजहनी स्थित आँप बगैचामा आँपको पात बटुल्न आएकी उनलाई बुधवार फकिरले जबरजस्ती गरि सोतवा नाला किनारको रहरबारीमा बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार पछि रगताम्य अवस्थामा सीमा प्रहरी चौकी हर्दौना सम्म पुर्‍याइएकी उनलाई उपचारका लागी जिल्ला अस्पताल तौलिहवामा राखिएको छ ।

पीडक फकिर भने घटना लगत्तै फरार रहेको र निजको खोजी जारी रहेको सीमा प्रहरी चौकी हर्दौनाका प्रहरी नायब निरिक्षक शिव कुवँरले जानकारी दिए । पीडितलाई न्याय प्रदान गर्न साथी संस्थाको आस्था परियोजना अन्र्तगत गाबिसमा गठित पुरुष समुहका सदस्यले समन्वय गरेका छन् ।

घटनाबारे जानकारी पाए सगै साथी संस्थाको आस्था परियोजनाका संयोजक खग प्रसाद चापागाई, पुरुष समुहका सदस्य तथा निर्वतमान गाबिस अध्यक्ष बेदी प्रसाद यादव, परियोजनाका सामाजिक परिचालक राजेश कुमार मिश्रले घटनाको स्थलगत अवलोकन गरेका थिए ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मालालाई ‘हे कान्छी’ भन्दै भूवन केसी (भिडियो)

चलचित्रको पर्दामा देखिन छाडेपछि अहिले नायक भूवन केसीलाई म्यूजिक भिडियो खेल्ने रहर जाग्न थालेको छ । चलचित्रको पर्दामा छोरा अनमोल केसी हाबी भएपछि भूवनको क्रेज खस्किएको छ । यसैले पनि होला उनी अब भिडियो खेलेर दर्शकमाझ आफ्नो उपस्थित जनाउन लागिपरेका छन् ।

विधान कार्कीले निर्देशन गरेको ‘हे कान्छी’ बोलको गीतको म्यूजिक भिडियोमा नायक केसी मोडल माला लिम्बुको साथमा देखिएका छन् । सुजन तिमिल्सिनाको स्वर तथा संगीत र भूपेन्द्र खड्काको शब्द रहेको यो गीतको भिडियोमा निशान घिमिरेको सम्पादन, हरि हुमागाँइको छायांकन, दीपक मान सिंहको कोरियोग्राफी छ ।

भिडियोमा मालालाई भट्टी पसलकी साहुनीको रुपमा देखाइएको छ भने भूवनले उनलाई संझेर गीत गाएका छन् । गीतको शब्द, स्वर र संगीत औषत खालको भएपनि भिडियोको मेकिङ राम्रो छ । दृश्यमा पनि निर्देशकले कञ्जुस्याँइ गरेका छैनन्  ।


यो समग्री नेपाल१२३.com मा पुरै पढौं